शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३२६४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

भाग: २९ साल: २०४४ महिना: फागुन अंक: ११

निर्णय नं. ३२६४     ने.का.प. २०४४      अङ्क ११

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको रिट नं. २५३५

विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 

रिट/निवेदीका:मोरङ जिल्ला डग्राहा गा.पं. वा.नं. ४ बस्ने कुलमती थरुनी ।

विरुद्ध

विपक्षी : भू.सु.का. मोरङको भू.सु. अधिकारी श्री ऋषिराम न्यौपाने ।

      मोरङ जिल्ला डग्राहा गा.पं. वार्ड नं. ५ बस्ने टुक्सी देवी थरुनी ।

आदेश भएको मिति: २०४४।८।२०।१ मा

     जग्गावालालाई मोही रोजाउने कार्यविधि नअपनाई मोही नामसारी गर्ने निर्णय गरेको पाइन्छ, त्यसरी ऐनले निर्दिष्ट गरे अनुसारको मोही रोजाउने कार्यविधि पुरा नगरी रिट निवेदकको जग्गाको हकमा सम्म मोही नामसारी गर्ने गरेको हदसम्मको प्रत्यर्थी भूमि सुधार कार्यालयको निर्णय त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

प्रत्यर्थी तर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री जित बहादुर कार्की

उल्लेखित मुद्दाःX

आदेश

प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय मोरङको मिति २०४२।१०।२३ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ :

२.    जिल्ला मोरङ डग्राहा गा.पं.वडा नं. ४(क) स्थित कि.नं. ३५, ३७, ८८, १०८ को जग्गाको स्वामित्व म मा निहित छ र जग्गाधनी प्रमाण पूर्जा पाएको छु । उपरोक्त जग्गाहरू मोहीको हैसियतले बतरुखां थारुले जोती आउनु भएकोमा निजको मृत्यु पश्चात निजका परिवार समेतले जोत कमोद गरी बाली बुझाउन इन्कार गर्नु भएको हुँदा २०२६ सालपछि म आफैंले आफ्नो जग्गा जोती भोगी आएको छु । २०३० सालमा जोताहाका श्रीमती कुलमती थरुनीले उल्लिखित जग्गा कमाउन नसकिने व्यहोरा भनेको हुँदा निर्विकल्प रुपमा मैले नै कमाई आएको छु । विपक्षी टुक्सीदेवी थरुनीले म बतरुखाँकी श्रमिती हुँदा पतिले कमाई आउनु भएको उक्त जग्गाको मोही नामसारी गरिपाउँ भनी भू.सु.का. मोरङमा निवेदन गर्नु भएको रहेछ । उल्लिखित जग्गाहरू मोही बतरुखाँ थारु भएकोमा स्वीकार गर्नु भएको र वादीले जग्गा नजोतेकोमा प्रतिवादीले कानुनी प्रमाण पेश गर्न नसकेको भन्ने आधारबाट भूमि सुधार कार्यालय मोरङका भूमि सुधार अधिकारी ऋषिराम न्यौपानेले मिति २०४२।१०।२३ मा निर्णय गर्नु भयो जुन निर्णय पूर्णतः गैरकानुनी छ ।

३.    बरुत खाँको मृत्युपछि विपक्षी टुक्सीदेवी एवं निजको परिवारले उल्लिखित जग्गा जोत्नु भएको छैन । यदि विपक्षीले जग्गा जोतेको भए म जग्गाधनीलाई सालसालैको बाली बुझाई भू.सं.ऐनको दफा ३४(२) बमोजिम भर्पाई प्राप्त भएको हुनु अनिवार्य छ तर निजले सो भर्पाई पेश गर्न सक्नु भएको छैन । पतिको निधनपछि २०२६ सालदेखि नै जग्गा विपक्षीले कमाउन छाडी मैले नै जोतेको तथ्यलाई २०४२।२।१७ गतेको सरजमीनले पुष्टी गरेको छ । सरजमीन समेत गरी गा.पं. डंग्राहाले मोही नामसारी सिफारिश गरेको भन्ने जुन अधार भू.सु.का. को निर्णयमा व्यक्त गरिएको छ त्यो तथा कथित सरजमीनमा मलाई उपस्थित नै नगराइएको हुँदा त्यस्को कानुनी मान्यता नरहने निर्विवाद छ । भूमिसम्बन्धी ऐन, २०२१को दफा २६(१) बमोजिम विपक्षी र निजको छोरा मध्ये पत्याएको व्यक्तिलाई मोही रोज्न पाउने हक अधिकारबाट मलाई भूमि सुधार कार्यालयले वञ्चित गरेको छ । विपक्षी कार्यालयले निज टुक्सीको नाममा मोही नाउँसारी गर्ने निर्णय गर्नु दफा २६(१) अन्तर्गतको कार्यविधि अपनाई विपक्षी अथवा निजको छोरा मध्ये जसलाई मैले रोज्छु निजैको नाउँमा मोही नामसारी हुनु पर्दछ । दफा २६(१) अन्तर्गतको प्रकृया अवलम्बन नगरी विपक्षीको नाउँमा मोही नामसारी गर्ने २०४२।१०।२३ को निर्णय बदरभागी छ । उपरोक्त लेखे  बमोजिम विपक्षी कार्यालयको गैरकानुनी निर्णयबाट निवेदीकाको संविधानको धारा १०(१),११(१),११(२)(ङ) र १५ द्वारा प्रदत्त हक अधिकारबाट वञ्चित भएको छु । कानुनी आधारको वैकल्पिक मार्ग नभएको हुँदा संविधानको धारा ७१ अन्तर्गत यो निवेदन प्रस्तुत गरेको छु । उत्प्रेषण वा आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षीको गैरकानुनी निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

४.    विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जको मिति २०४३।१९।५ को आदेशानुसार प्राप्त भएको लिखित जावफहरूको संक्षिप्त व्यहोरा यसप्रकार छन्ः

५.    पति बतरु खाँ थारुको मृत्युपछि अद्यापि मैले नै विपक्षी रिट निवेदीकाको जग्गा जोती आएको छु । मैले जग्गा जोत्न सक्दिन भनी विपक्षलाई भनेको पनि छैन । मैले बाली नबुझाएको भए भू.सं. ऐन अनुसार तोकिएको हदम्याद भित्र उजूर दावी गरी मोहियानी हकबाट मलाई निष्कासन गर्न पाउने कानुनी हकभित्र निवेदीकालाई सुरक्षितै थियो भने सो केही गर्न नसकेको कारणबाट पनि मैले जग्गाको बाली विपक्षलाई सालसालै बुझाउँदै आएको रहेछु भन्ने कुरा प्रष्ट हुन आएकै छ यसरी लोग्ने बतरु खाँ थारुको मृत्युपछि उक्त जग्गा मैले नै जोती भोगी आएको र किसिम बमोजिम कूतबाली समेत म बाट विपक्षले बुझी लिएपछि मलाई नै रोजेको मान्नु पर्दछ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा पति पत्नी भन्नु लोग्नेपछि र स्वास्नीले पाउने भन्ने कुरा ऐनले नै प्राथमिकता दिएको छ । यस्तोमा मोही रोज्न पाइन्न भन्नु केबल मलाई दुःख दिनु मात्र हो । २०४२।१०।२३ मा भएको निर्णयलाई बदर गरिपाउँ भनी ५ महिना पछि पर्न आएको यो रिट निवेदन विलम्बको सिद्धान्तको आधारमा समेत खारेज गरिपाउँ भन्ने समेत विपक्षी टुक्सीदेवी थरुनीको लिखित जवाफ ।

६.    निवेदक वादी टुक्सीदेवीका पति बतरु खाँ मोही भएको कुरा रिट निवेदीका स्वयंले स्वीकार गर्नु भएको छ र यस कार्यालयको २ नं. अनुसूची तथा मालपोत कार्यालयमा रहेको ज.ध.प्र.पू.बाट पनि समर्थित स्वीकार गरी सकेपछि त्यस पछिको अवधि आएर दफा २६.१(क) को प्रकृया पूरा नभएको अवस्थामा यस्तो मोहीले दफा २६.१ क बमोजिम तोकिएको अधिकारी समक्ष मोहिमा नामसारी गर्ने हक उत्तराधिकारी क्रमले पत्नीको नै हुन्छ । यसरी उत्तराधिकारी क्रम पर्ने पहिलो व्यक्तिलाई नामसारी गरी दिनु पर्ने कुरा तोकिएको अधिकारीलाई अधिकार छ । पत्याउने क्रममा प्रतिवादी रिट कर्ताले मोहिसम्म थियो छोडेको हो, भन्ने किसिमको प्रतिवादसम्म गरेको हुँदा मोही हुने व्यक्तिको जग्गा पत्नीलाई गरिएको हुँदा दफा २६(१) को पूर्ण कार्य विधि अपनाइएको हुँदा रिट पूर्णतः बदरभागी छ भन्ने समेत विपक्षी भूमि सुधार कार्यालय मोरङको लिखित जवाफ ।

७.    निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले प्रत्यर्थीले जग्गा जोत्न नसकी जग्गा रिट निवेदकले नै जोतेको छ । जग्गा प्रत्यर्थीले जोतेको भए कूत बुझाई भर्पाई लिन सक्नु पथ्र्यो सो छैन । भूमिसम्बन्धी ऐनको दफा २६(१) अनुसार मोही रोज्ने हक जग्गाधनीमा छ । सो प्रकृया पुरा नगरी गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री जितबहादुर कार्कीले मोही रोज्न पाउँ भनी रिट निवेदकले मौकामा जिकिर लिन सकेको छैन । मोही छाडेको भनेको छ । नामसारी गर्ने उत्तराधिकारी क्रम अनुसार मोहीको पत्निको नाममा मोही नामसारी गर्ने गरेकोमा कुनै त्रुटी छैन भन्ने समेत र प्रत्यर्थीको वारीस श्रीभक्त भडेलले जग्गा टुक्सीले नै जोती आएको कुरा सरजमीन समेतबाट प्रष्ट  छ । जोत नामसारी लोग्नेपछि स्वास्नीले पाउने नै हुँदा मोही नामसारी गर्ने गरेकोमा कुनै त्रुटी छैन भन्ने समेत बहस गर्नु भयो ।

८.    प्रस्तुत रिट निवेदनमा यस अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

९.    यसमा निर्णयतर्फ हेर्दा वादीले दावी गरेका जग्गाहरू निवेदीकाको स्व. पति बतरु खाँ थारुका नाउँमा मोहिमा दर्ता भएको मालपोत कार्यालय मोरङको जवाफ र यस कार्यालको श्रेस्ता समेतबाट देखिएको र वादीले जग्गा जोत्न छाडेको सबूद प्रमाण प्रतिवादीले पेश गर्न नसकेबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम बुलमनी थरुनी नाउँ दर्ता डंग्राहा वार्ड नं. ४ क को कि.नं. ३५, ३७, ८८,  १०८ र गोमादेवी पौडेल नाउँ दर्ता कि.नं. ३३ को समेत कित्ता जग्गाहरु मृतक बतरु खाँ थारु नाउँबाट निवेदीकाका नाउँमा मोहिमा नामसारी हुने ठहर्छ भनी प्रत्यर्थी भूमि सुधार कार्यालय मोरङले निर्णय गरेको पाइन्छ ।

१०.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही सम्बन्धी हक जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनसक्ने व्यवस्था भए अनुसारको प्रक्रिया अवलम्बन गर्नु पर्ने अनिवार्य व्यवस्था विपरीत मोही नामसारी गर्ने गरेको निर्णय बदरभागी छ भन्ने समेत रिट निवेदन जिकिर देखिन्छ ।

११.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) ले मोही सम्बन्धी हकमोहीको पछि, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्था गरेको छ । यसबाट जग्गाधनीलाई मोही रोजाई निर्णय गर्नु पर्ने हुन्छ । विवादित जग्गाको स्वर्गीय मोही बतरु खाँको प्रत्यर्थी टुक्सीदेवी थरुनी पत्नी र छोरा समेत भएको भन्ने रिट निवेदन लेखाईबाट समेत देखिन्छ । तर प्रस्तुत मुद्दामा प्रत्यर्थी भूमि सुधार कार्यालयले उक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) अनुसार जग्गावालालाई मोही रोजाउने कार्यविधि नअपनाई मोही नामसारी गर्ने निर्णय गरेको पाइन्छ । त्यसरी ऐनले निर्दिष्ट गरे अनुसारको मोही रोजाउने कार्यविधि पूरा नगरी रिट निवेदकको जग्गाको हकमा सम्म मोही नामसारी गर्ने गरेको हदसम्मको प्रत्यर्थी भूमि सुधार कार्यालय मोरङको मिति ०४२।१०।२३।४ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।

१२.   अतः उपर्युक्त उल्लेख भए अनुसार प्रत्यर्थी भूमि सुधार कार्यालय मोरङले रिट निवेदकको जग्गाको हकमा सम्म मोही नामसारी गर्ने गरेको हदसम्मको मिति २०४२।१०।२३।४ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । त्यो आदेशको एकप्रति प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायम म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल मार्ग २० गते रोज १ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु