निर्णय नं. ३२६७ - कर्तव्य ज्यान

निर्णय नं. ३२६७ ने.का.प. २०४४ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
सम्वत् २०४४ सालको फौ. साधक नं. १५१
मुद्दा : कर्तव्य ज्यान ।
वादी: आनन्द कुमार लिम्बूको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
प्रतिवादी:जि.झापा माहानी झोडा गा.पं. वार्ड नं.१ घर भै हाल झापा कारागारमा कैदमा बसेको चन्द्र हाङ्ग लिम्बू ।
ऐ.ऐ बस्ने हर्कमाया लिम्बुनी ।
फैसला भएको मिति: २०४४।३।२६।६ मा
जन्म दिने बाबु जस्तो हिन्दू धर्ममा सर्वोपरी मान्य नाताका पूज्य महान चिजलाई घातक जोखिमी हतियार प्रयोग गरी मार्नसम्मको जघन्य अपराध गर्ने अभियुक्तलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सजायँ गर्ने गरी गरेको साधक जाहेरी फैसला मिलेको देखिने ।
(प्रकरण नं. १३)
वादी तर्फबाटःX
प्रतिवादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.सुरेन्द्र प्रसाद सिंहः पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।७।३ को फैसला बमोजिम साधकको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ ।
२. २०४०।१२।२ गते अंशको कुरामा रिसाई रहेका दाजु चन्द्रहाङ भाउजू हर्कमाया समेतले बाबु खड्ग बहादुरलाई भाउजूले समाउने, दाजुले खुकुरीले काट्ने गरी काटे, बाबु भूइँमा लड्नु भयो, पक्राउ गर्न खोज्दा भागे । उपचार गर्न ल्याउँदा ल्याउदै बाटैमा बाबुको मृत्यु भयो । अभियुक्तहरूलाई पक्राउ गरी सजायँ गरिपाउँ भन्ने समेत आनन्द कुमारको जाहेरी ।
३. मृतक खड्ग बहादुरको दाहिने हातको काखी मुनी, सोही हातको पछाडि पाता देखि दाहिने दुधको सिधा माथिसम्म लाग्ने जोखिमी हतियारले काटेको आलो घाउ, सो घाउँबाट प्रशस्त रगत बगेको भन्ने समेतको लाश जाँच प्रकृति मुचुल्का ।
४. बाबु खड्ग बहादुरसँग अंश विषयमा झगडा भई रहन्थ्यो । २०४०।१२।२ गते ६–७ बजेको समयमा मैले प्रहार गरेको खुकुरीको चोटबाट बाबुको मृत्यु भएको हो । घटना घटेको ४–५ दिन अगाडि बाबुले सोही कुरा निकाली मेरो श्रीमती डिल्ली दमार्ईसँग लागेको भनी बेइज्जती र लान्छना लगाउनु हुँदा मैले बाबुलाई यसरी बेइज्जत नगर्नु होस भन्दा मलाई हिर्काउनु भयो र मैले पनि २–४ थप्पड हिर्काएको थिएँ । यसरी कचकच गर्दा यस बुढालाई नमारी हुँदैन भनी श्रीमतीले र मैले अठोट गर्यौं र २०४०।१२।२ गते बाबु बेलुकी घर आइपुग्नासाथ डिल्ली दमाईको र अंशको कुरा निकाली कचकच गर्न थाल्दा हाम्रो झगडा हुन थाल्यो बाबुले एउटा खुकुरी टिपी मलाई हान्न खोज्नु भयो । मैले सो खुकुरी खोसी बाबुलाई दुई खेप हाँने चोट दाहिने हातको काखी मुनी र ढाडमा लाग्यो त्यसपछि बाबु रगतपक्ष भई भूइँमा लड्नु भयो र म खुकुरी लिई भागें भन्ने समेत प्र.चन्द्रहाङ लिम्बूले प्रहरीमा गरेको कागज ।
५. अभियुक्त चन्द्रहाङले खड्ग बहादुरलाई काटी फालेको खुकुरी बरामद गरी दाखिला गरेको बरामदी मुचुल्का ।
६. २०४०।१२।२ गते ससूरा खाना खान लाग्दा जेठाज्यू चन्द्रहाङ आई खुकुरीले हान्नु भई भागी गए भन्ने समेत जाहेरवालाकी श्रीमतीको भनाई र खाना खाँदा छोरा चन्द्रहाङ कताबाट आई पतिलाई काटेछ ट्याक्क गरेको आवाज सुनी बाहिर निस्किदा २ चोटी काटी सकेको रहेछ हामीले खुकुरी खोस्यौं । निज भागी बेपत्ता भयो, पतिलाई उपचारको लागि लाँदालादैँ बाटैमा मृत्यु भयो भन्ने समेत मृतकको श्रीमतीको भनाई र जाहेरवालाको दाजु चन्द्रहाङले खड्ग बहादुरलाई काट्यो भन्ने हल्ला सुनी आउँदा घाइतेलाई उपचारको लागि अस्पतालतर्फ लाँदालादै सोही चोटबाट मृत्यु भएको हो भन्ने समेत अधिकांश सरजमीनका मानिसहरूको भनाई भएको सरजमीन मुचुल्का ।
७. चन्द्रहाङले खड्ग बहादुरलाई खुकुरीले हान्ने र हर्कमायाले समाती मार्न सहयोग दिई मृतकको हत्या गरेको प्रमाणित हुन आएको हुँदा चन्द्रहाङ लिम्बू उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) नं. र फरार रहेकी हर्कमाया लिम्बुनी उपर ऐ.को १७(२) नं. अनुसार सजायँ हुनुपर्ने भन्ने समेत प्रहरी प्रतिवेदन ।
८. प्रहरीमा भएको बयानमा सुनाउँदै नसुनाई सही गराएका हुन् । बाबुलाई मैले खुकुरी हानी हत्या गरेको होइन । बाबु भात खाइरहेको अवस्था दमार्ई कै कुरा निकाली भनाभन झगडा हुँदा बाबुले एक्कासी खुकुरी टिपी मलाई हिर्काउँदा मैले खुकुरी खोसें, आमा भाइ आनन्द, तारा लिम्बूनी, हर्कमाया भई छुट्याउन खोज्दा बाबुले मेरो नाडी नछोड्दा दुवैजना एकै ठाउँमा लड्न गई मेरो हातमा भएको खुकुरी अचानक बाबुको काखी मुनी ठक्कर खाई काटेको र ढाडमा पनि झम्टा झम्टी खोसा खोस हुँदा कतिबेला चोट लाग्यो थाहा भएन । आमा र बुहारी ताराले सरजमीनमा मलाई फसाउने नियतले झुठ्ठा लेखाएका हुन भन्ने समेत प्र.चन्द्रहाङले अदालतमा गरेको बयान ।
९. २०४०।१२।२ गते म लोग्नेकै घरमा थिए लोग्ने र ससुरा बाहिर एक्कासी म्याक मुक गरेको आवाज सुनी सासू, देवर, देवरानी समेत बाहिर आउँदा लोग्नेले ससुरालाई काटी रगतपक्ष गरी सकेको रहेछ । हामी बाहिर आउँदा लोग्ने कता भागे थाहा भएन । बिहान ससुरोलाई उपचार गराउन लैजादा मरेको थाहा पाई पीर लागी माइत गएँ । मैले ससुरालई पक्री ज्यान मार्नमा सहयोग गर्यो भन्ने दावा झुठ्ठा हो भन्ने समेतको प्र.हर्कमायाले अदालतमा गरेको बयान ।
१०. प्र. हर्कमाया उपर प्रहरी प्रतिवेदन दावी पुग्न सक्दैन । प्र.चन्द्रहाङ लिम्बूको हकमा निजले खुकुरी जस्तो जोखिम हतियारले आफ्नो बाबुलाई हानेको र सोही चोटले मृतकको मृत्यु भएको देखिँदा निजलाई ज्यानसम्बन्धीको १३(१) नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत शुरु झापा जिल्ला अदालतको फैसला ।
११. शुरुको फैसलामा चित्त बुझेन, उक्त फैसला बदर गरी सफाई गरिपाउँ भन्ने समेत प्र.चन्द्रहाङ लिम्बूले पूर्वाञ्चल क्षेत्रीय अदालतमा दिएको पुनरावेदन ।
१२. प्र.चन्द्रहाङ लिम्बूले मृतक खड्ग बहादुरलाई काटी मारेको कुरा स्वीकार गरी प्रहरीमा गरेको बयानलाई चस्मदिद जाहेरवाला समेतको बकपत्र, लाश जाँच प्रतिवेदन समेतबाट समर्थन भइरहेको देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । निजले कसूर गरेको ठहर गरी ज्यानसम्बन्धीको १३(१) अन्तर्गत सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरु झापा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।७।३।२ को साधक जाहेरी फैसला ।
१३. यसमा मृतक खड्ग बहादुर लिम्बू कर्तव्यबाट मरेको भन्ने कुरामा विवाद देखिँदैन। मिति ०४०।१२।२ गते अंशको कुरामा रिसइवी भइरहेको र अभियुक्त प्रतिवादी मृतकको जेठो छोरा भएको र मृतकले निजकी श्रीमतीलाई अवाच्य भनेको रिसबाट मैले प्रहार गरेको खुकुरीका २ चोटबाट मेरा बाबुको मृत्यु भएको हो भनी अपराधमा पूर्ण साविती भई प्रहरी समक्ष कागज गरेको र वारदात झगडा गरेकोमा र जखमी हतियार खुकुरी लिएकोमा साविती हुँदै सोही कुरालाई समर्थन गर्दै निजले अदालतमा बयान गरेको पाइन्छ । सो कुरालाई चस्मदिद निज मृतककी श्रीमती र अभियुक्तकी आमा भाइ र भाइ बुहारी समेतका सरजमीन समेतले समर्थन गरी बकपत्र गरेको समेत देखिन्छ । यस्तो स्थितिमा निज अभियुक्तको जन्म दिने बाबु जस्तो हिन्दू धर्ममा सर्वोपरि मान्य नाताका पूज्य महान चिजलाई त्यस्तो घातक जोखिमी हतियार प्रयोग गरी मार्नसम्मको जघन्य अपराध गर्ने अभियुक्त प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सजायँ गर्ने गरी शुरु झापा जिल्ला अदालतले गरेको फैसला उपर अभियुक्त प्रतिवादी चन्द्रहाङ लिम्बुको परेको पुनरावेदनमा शुरुको इन्साफ सदर गर्ने गरी गरेको साधक जाहेरी फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । साधकको लगत काटी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्र केशरी बास्तोला
इतिसम्वत् २०४४ साल आषाढ २६ गते रोज ६ शुभम् ।