शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१५० - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

फैसला मिति : २०७०।६।१४

२०६७-CR-१०९१

 

मुद्दा : कर्तव्य ज्यान  ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला झापा, मेचीनगर न.पा.वडा न. १३ घर भै हाल कारागार कार्यालय, झापामा थुनामा बस्ने वर्ष ३५ को भगतलाल टुडु

विरूद्ध

विपक्षी/वादी : किशोर टुडु सतारको जाहेरीले नेपाल सरकार

 

  • अपराध हुँदाको परिस्थिति, निजको पारिवारिक अवस्था, निज प्रतिवादीका सानासाना बच्चासमेत भएको र पहिलेदेखि नै प्रतिवादीले आफ्नो पत्नीलाई मार्नुपर्ने सम्मको योजना नभएको नदेखिएको एक्कासी परिस्थितिव रिस उठी प्रहार गरेको कारणबाट मृत्यु हुन गएको देखिएकोले ऐनबमोजिम सजाय गर्दा चर्को पर्न जाने हुँदा निज प्रतिवादीलाई १० वर्ष कैद गर्दा न्यायको उद्देश्यसमेत परा हुन

(प्रकरण नं.८)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता लीलामणि पौडेल

विपक्षी/वादीका तर्फबाट :

अवलम्बित नजीर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा.जि.न्या.श्री अर्जुनप्रसाद कोइराला

पुनरावेदन तहमा फैसला गर्नेः

मा.न्या.श्री पुरूषोत्तम पराजुली

मा.न्या. श्री मोहनबहादुर कार्की

      

 

फैसला

                न्या.गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :

                मिति २०६४।१२।१७ गते राति गर्मीका कारण आमा छोरा घर बाहिर सुतेको ठाउँमा जिल्ला झापा, मेचीनगर नगरपालिका वडा नं.१३ बस्ने छिमेकी जुगनु भन्ने व्यक्ति मेरो दाजु भगतलाल टुडुको घरमा आई मेरो भाउजु फुलमाया टुडुलाई यौनसम्पर्क गर्दै गरेको अवस्थामा दाजुले भेटी रिसको आवेगमा आई घरमा रहेको फरूवाले भाउजु फुलमाया टुडुलाई प्रहार गर्दा भाउजुको घटनास्थलमै मृत्यु भएको हुँदा मेरो भाउजुलाई मेरो दाजु भगतलाल टुडु र जुगनु भन्ने व्यक्तिले कर्तव्य गरी घटनास्थल मै मारेको हुँदा किटानी जाहेरी गरेको छु । निजहरूलाई पक्राउ गरी कानूनबमोजिम गरी पाउँ भन्ने मिति २०६४।१२।१८ को जाहेरी दरखास्त ।

                भगतलाल टुडुको फुसको टाटी टिनको छानो भई पूर्व ढोका भएको घर सो घरको ढोकाको पश्चिममा मृतक फुलमाया टुडु सतारको उत्तर टाउको, दक्षिण खुट्टा भई उत्तानो अवस्थामा उनीको बर्कोले शरीरलाई ढाकेको पाटको बोरामाथि मृत अवस्थामा रहेको लास रहेको दुबै खुट्टा खुम्चिएको, नीलो ब्लाउज, कटनको हरियो पहेलो सारी लगाएको, कपाल कालो, नाक सुख्खा, आँखा बन्द, कान सामान्य, मुख खुल्ला, दायाँ हात कम्बरमा सटेको, बायाँ हात अर्ध खुम्ची पेटमा राखेको, दुबै हात नीलो कालो भई सुन्निएको, नाडी भाँचिएको जस्तो भएको, टाउको पछाडिपट्टी २ इन्चको चोट भएको, नीबाट तरल पदार्थ निस्किएको र मलद्वारबाट दिसासमेत निस्किएको भन्नेसमेत व्यहोराको लासजाँच मुचुल्का ।

                जिल्ला झापा, मेचीनगर नगरपालिका वडा न.१३ स्थित पूर्वमा भगतलाल टुडुको छाप्रो, पश्चिम थापाको खेत, उत्तरमा नारायण सतारको खेत, दक्षिणमा चक्लेट राजवंशीको खेत यति चार किल्लाभित्र रहेको भगतलाल टुडुको फुसको टाटी टिनको छानो भई पूर्व ढोका भएको घर, सो घरको ढोकाबाट भित्र पसी हेर्दा मृतक फुलमाया टुडु सतारको उत्तानो अवस्थामा मृत लास रहेको, सो लास विभिन्न ठाउँमा काटिएको अवस्थामा रहेको, खुनहरू यत्रतत्र छरिएको अवस्थामा रहेको र खुनको टाटालाई पानीले पखाली सो घरको आँगनमा २ वटा कोदालो रहेको सो कोदालोमा बाँसको बिड लगाएको र कोदालोमा रगतको टाटा रहेको र घरको बाहिरपट्टि रण्डामा एउटा खाट रहेको, सो खाटमा भएको कपडा यत्रतत्र छरिएको र सो कपडामा समेत रगत लागेको र सो खाटमा भएको कपडा र कोदालोसमेत बरामद गरेको भन्नेसमेत व्यहोराको घटनास्थल तथा बरामदी मुचुल्का ।

                मिति २०६४।१२।१७ गते राति म मेरो आमासँग घरभित्र सुतेको थिएँ । त्यतिखेर आमा र बुबाको झगडा परी बुबा बाहिरपट्टि सुत्नुभयो । गाउँकै जुगनु भन्ने मानिस पनि हाम्रो घरमा आई रक्सी खाई बरन्डामा सुतेक थिए । राति एक्कासी १२ जेतिर जुगनु भन्ने व्यक्ति मेरो आमा सुतेको ठाउँमा आई आमामाथि चढी यौनसम्पर्क गरेको र सो कुरा मेरो बुबाले देखेपछि निज जुगनु भन्ने व्यक्तिलाई खेदाई मेरो आमालाई कोदालोले हिर्काउनुभयो र आमाको शरीरबाट रगत आएपछि घरबाहिर खाटमा आमालाई सुताई म र बुबा घरभित्र सुत्यौं । त्यसपछि म निदाएछु र बिहान उठेर आमालाई हेर्दा आमा नबोलेकाले आमा मरी सकेको जस्तो लाग्यो भन्नेसमेत व्यहोराको मृतकको छोरा सुनिललाल टुडुले आफ्नो सहोदर काका किशोर टुडुको रोहबरमा गरी दिएको घटना विवरण कागज ।

                जुगनु भन्ने मेरोघरमा मिति २०६४।१२।१७ गते आई रक्सी र खाना खाएपछि मेरो श्रीमती फुलमाया र छोरा सुनिलाल घरभित्र, बरन्डामा म र आँगनमा निज जुगनु सुतेका थिए । रातिको समय न भएन, जुगनुलाई हेर्दा नदेखेकाले कता गएछ भनी हेर्दा घरको उत्तरपट्टिको टाटी भत्काई घरभित्र पसी मेरो श्रीमती फुलमाया सतारमाथि चढी राखेको देखी ढोकामा लात्ताले हानी भित्र पसी जुगनुलाई ४/५ थप्पड हानेपछि भाग्न सफल भयो । त्यही रहेको फरूवा देखी टिपेर श्रीमती फुलमायामाथि प्रहार गरे । त्यही फरूवाको चोट मेरी श्रीमती फुलमायालाई लाग्न गई उनी बरन्डामा गई सुतेकोमा सोही फरूवाको चोटको कारण शरीरबाट खुनसमेत निस्केकाले श्रीमतीको मृत्यु भएको हो । घटनाको बारेमा कसैलाई जानकारी नगराई बसेकोमा मिति २०६४।१२।१८ गते प्रहरी आई मृतकको घटनास्थल लास जाँच मुचुल्कालगायत पोष्टमार्टमसमेत गरेको हो । मैले नै फरूवाले कुटी श्रीमतीलाई कर्तव्य गरी मारेको हो । जुगनु मेरी  श्रीमतीमाथि चढी रहेको देखेपछि रिसको आवेगमा घरभित्र रहेको फरूवाले हान्दा निजको टाउको, हातलगायतका स्थानमा लागी मृत्यु भएको हो भन्नेसमेत व्यहोराको भगतलाल टुडु सतारले अधिकारप्राप्त अधिकारिसमक्ष गरेको बयान ।

                मिति २०६४।१२।१७ गते म मेरो घरमा नै थिएँ । भगतलालको घर मेरो घर नजिकै पर्छ । निजको घरमा राति निजले आफ्नो श्रीमती फुलमाया टुडुलाई कोदालोले हानी मारेको रहेछ । उक्त कुरा बिहान उज्यालो भएपछि निजको घरमा मानिसहरू आएको देखी के भएछ भनी हेर्न जाँदा निज फुलमाया टुडु आफैँ कालगतिले मरेको जस्तो लागेन । मलगायत अन्य मानिसहरूले निज भगतलाल टुडुलाई सोधपुछ गर्दा निजले नै कोदालोले हानी मारेको हुँ भने । मैले बुझेसम्म गाउँकै जुगनु भन्ने व्यक्तिले राति फुलमाया टुडुसँग अनैतिक यौनसम्पर्क गरेको निज प्रतिवादी भगतलाल टुडुले देखेकाले फुलमाया टुडुलाई कोदालोले हानी मार्नुपर्ने कारण जुगनुको अनैतिक कार्यले गर्दा भएकाले निजलाईसमेत कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको पुष्पा सुब्बाले गरी दिएको घटना विवरण कागज ।

                मिति २०६४।१२।१७ गते म मेरो घरमा नै थिएँ, भगतलालको घर मेरो घर नजिकै पर्छ । निजको घरमा बिहान उज्यालो भएपछि मानिहरू आएको देखी के भएछ भनी हेर्न जाँदा निज फुलमाया टुडु मृत अवस्थामा आफ्नो घरभित्र कोठामा देखे र भगतलाल टुडुलाई के भएको भनी सोध्दा मेरो श्रीमती मर्‍यो भनेकाले र लासको अवस्थालाई हेर्दा विभिन्न ठाउँमा काटेकोले आफैँ  कालगतिले मरेको जस्तो लागेन । गाउँ समाजका मानिसहरूले निज भगतलाल टुडुलाई सोधपुछ गर्दा निजले मैले नै कोदालोले हानी मारेको हुँ भनेकाले निजले मार्नुपर्ने कारण मैले बुझेसम्म गाउँकै जुगनु भन्ने व्यक्तिले राति फुलमाया टुडुसँग अनैतिक यौनसम्पर्क गरेको निज प्रतिवादी भगतलाल टुडुले देखी फुलमाया टुडुलाई कोदालोले हानी मारेको र जुगनुको अनैतिक कार्यले त्यस्तो भएकाले निजलाईसमेत कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको दिपेन्द्र चौधरीले गरी दिएको घटना विवरण कागज ।

                मिति २०६४।१२।१७ गते राति घरमा नै थियौ, घटनाको बारेमा उक्त रात हामीले केही पनि थाहा पाएनौ । भोलिपल्ट बिहान भगतलाल टुडुका घरमा छिमेकीहरू भेला जम्मा भएको देखी हेर्न जाँदा फुलमाया टुडुको मृत्यु भएको थाहा पाएका हौं । के कसरी निजको मृत्यु भएको भनी सोधखोजी गर्दा जुगनु भन्ने व्यक्ति भगतलालको घरमा सुतेको र राति सुतेको स्थानमा नभएपछि खोजी गर्दा फुलमाया टुडु सुती रहेको ठाउँमा जुगनु भन्ने व्यक्ति गई अनैतिक यौनसम्पर्क राख्दै गरेको निज प्रतिवादी भगतलाल टुडुले देखेर कोदालोले हानी मारेको भन्ने बुझेको हुँदा निज प्रतिवादी भगतलाल टुडुले कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्नेसमेत व्यहोराको सुलेखा चौधरी, सतेन्द राजवंशी, मनरथ ढकाल, का रिजालसमेतले गरी दिएको प्रायः एकै मिलानको स्तुस्थिति मुचुल्का ।

                मिसिल संलग्न सबूद प्रमाणबाट प्रतिवादी जुगनु भन्ने मधेशी मण्डलले मृतकको घरमा टाटी भत्काई रक्सी खाएर मातेको मृतकलाई जर्जस्ती करणी गरेको र प्रतिवादी भगतलाल टुडुले सो कुरा थाहा पाई ढोकामा लात्तिले हानी घरभित्र पसी जुगनुलाई कुट्न खोज्दा निज भागेको र त्यही रहेको फरूवाले निजको श्रीमती मृतक फुलमाया टुडुलाई टाउकोसमेतमा प्रहार गर्दा फुलमाया टुडुको मृत्यु भएको वारदात पुष्टि हुँदा प्रतिवादी भगतलाल टुडुलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीतको कसूरमा सोही महलको १३(१) नं. बमोजम सजाय गरी र अर्का प्रतिवादी जुगनु भन्ने मधेशी मण्डलले मुलुकी ऐन, र्जस्ती करणीको महलको १ नं विपरीत कार्य गरेकाले ऐ. महलको ३ नं को देहाय (५) नं. बमोजिम तथा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७ नं. बमोजिमको कसूर अभियोगमा जर्जस्ती करणीको महलको ३(५) नं. तथा ज्यानसम्बन्धीको महलको १७(३) नं. बमोजिम सजाय गरी पाउँ भन्नेसमेत र फरार प्रतिवादी जुगनु भन्ने मधेशी मण्डललाई अदालतबाटै वारेन्ट जारी गरी पाउँ भन्ने व्यहोराको अभियोगपत्र ।

                जुगनु भन्ने मधेशी मण्डल मेरो घरमा मिति २०६४।१२।१७ गते आएको र रक्सी खाने कुरा भई मैले १ ग्लास, मेरो श्रीमती फुलमाया दिउँसैदेखी रक्सीले मातेकाले आधा ग्लास दिएँ । जुगनु भन्ने मधेशी मण्डलले ३ ग्लास खायो । राति भई सकेपछि जुगनु भन्ने मधेशी मण्डलले यहीँ सुत्छु घरमा जान्न भनेकाले घरको आँगनको खाटमा सुताई म न्डा र मेर श्रीमती र छोरा घरभित्र सुतेका थियौं । रातको ३ बजेतिर जुगनु भन्ने मधेशी मण्डललाई हेर्दा नदेखेकाले कता गएछ भनी हेर्दा घरको उत्तरपट्टिको टाटी भत्काई घरभित्र पसी मेर श्रीमती फुलमाया सतारमाथि चढी राखेको, टाटी भत्केकाले अलिअलि उज्यालो भएकाले देखे । मैले निज जुगनु भन्ने मधेशी मण्डललाई बिँड भएको फरूवाले हिर्काउँदा निज जुगनु भत्केको टाटीबाट भाग्न सफल भयो । त्यही फरूवाको चोट मेरी श्रीमती फुलमायालाई लाग्न गई सोही चोटको कारणले मेरो श्रीमतीको मृत्यु भएको हो । मैले एक फरूवामात्र हिर्काएको हो ।  वारदात भएको फरूवा यही हो । मैले श्रीमतीलाई कुटन खोजेको थिइनँ, जुगनु भन्ने मधेशी मण्डललाई कुट्न खोजेको हुँ भन्नेसमेत व्यहोराको भगतलाल टुडु सतारले अदालतमा गरेको बयान ।

                पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी यी प्रतिवादी भगतलाल टुडु सतारलाई अ.बं.११८(२)बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने सुरू अदालतको मिति २०६५।१।१५ को आदेश ।

                जुगनु भन्ने मानिसले मेरो भाउजुलाई करणी गरेको देखेर मेरो दाजुले जुगनु भन्ने मानिसलाई फरूवाले हिर्काउँदा निज तर्केका कारण उक्त फरूवाले भाउजुलाई लागेको र सोही चोटका कारण मृत्यु भएको हो । मेरो दाजुको छोरा सुनिलले भनेको सुनेर जाहेरी दिएको हो भन्नेसमेत व्यहोराको जाहेरवाला किशोर टुडु सतारले अदालतमा गरेको कपत्र ।

                प्रतिवादी जुगनु भन्ने मधेशी मण्डल अनुसन्धानकै क्रमदेखि फरार रहेको देखिदा निजको हकमा मुलुकी ऐन, अ.बं. १९० नं. बमोजिम मुल्तवीमा राखिदिएको छ र अर्का प्रतिवादी भगतलाल टुडुले बाँसको बिँड भएको कोदालोले प्रहार गरी मृतक फुलमाया टुडुलाई कर्तव्य गरी मारेको पुष्टि भएको हुँदा निजले आरोपित कसूर गरेको ठहरेको निज भगतलाल टुडुलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । साथै मृतक र प्रतिवादीबीच पति पत्नीको नाता रहेको, आफ्नो पत्नीमाथि परपुरूषले करणी गरेको अवस्था निज प्रतिवादीले देखेको कारणबाट प्रस्तुत घटना भएको र मार्नुपर्नेसम्मको पूर्व रिसइबि नभएको आधारमा ऐनबमोजिमको सजाय गर्दा चर्को पर्ने देखिदा मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम प्रतिवादीलाई ५ वर्ष मात्र कैद सजाय हुन राय पेश गरिएको छ भन्ने सुरू झापा जिल्ला अदालतको मिति २०६६।९।२६ को फैसला ।

                जुगनु भन्ने मधेशी मण्डलले मेरो श्रीमतीलाई करणी गरेको देखेपछि निज मधेशी मण्डललाई फरूवा टिपी टाउकामा प्रहार गर्दा निज तर्केकोले सो प्रहार श्रीमतीलाई लाग्न गई श्रीमतीको मृत्यु भएको हो । मेरो मृतकलाई मार्ने मनसाय नहुँदा मैले कर्तव्य गरी मारेको भनी अर्थ गर्न मिल्दैन । अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गर्दा कसूरलाई स्वीकार नगरी नै बयान गरेको छु । मलाई नपढी नसुनाई सही गराएका मात्र हुन् । जाहेरवालाले जुगनुलाई हिर्काउन खोज्दा भाउजुलाई लागी मृत्यु भएको भनी अदालतमा मैले गरेको बयानलाई समर्थन हुने गरी अदालतमा आएर कपत्र गरिदिएबाट पनि निजको मृत्यु भवितव्यबाट भएको प्रष्ट छ । अतः मैले श्रीमतीलाई मार्ने नियत राखी कर्तव्य गरी मारेको नभई भवितव्य पर्न गई मृत्यु भएको हुँदा सुरू झापा जिल्ला अदालतबाट मिति २०६६।९।२६ मा भएको फैसलामा चित्त नबुझेकोले सो फैसला उल्टी गरी सफा पाऊँ । साथै सफाइ नपाउने भए पनि सो लगाएको राय बदर गरी पाउँ भन्ने प्रतिवादी भगतलाल टुडुको पुनरावेदनपत्र ।

                प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीउपर ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिमको कसूरदार ठहर गरी अ.बं. १८८ नं. बमोजिम ५ वर्षमात्र कैदको सजाय गर्नु मुनासि हुने भनी राय लगाई भएको सुरू झापा जिल्ला अदालतको मिति २०६६।९।२६ को फैसला मुनासिबै देखिदा सदर हुने ठहर्छ । श्रीमतीलाई मार्ने मनसाय नभई भवितव्यबाट निजको मृत्यु भएको अवस्थामा सुरूको फैसला उल्टी भै सफा पाउँ भन्नेतर्फको प्रतिवादी भगतलाल टुडुको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, इलामको मिति २०६७।६।१९ को फैसला ।

                मैले जुगनु मण्डललाई प्रहार गर्न लागेको फरूवाले श्रीमतीलाई लाग्न गई भवितव्य भै मृत्यु भएको हुँदा झापा जिल्ला अदालतले मलाई सर्वस्वसहित जन्मकैद गर्ने गरी गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, इलामको मिति २०६७।६।१९ को फैसलालाई उल्टाई सफाइ पाउने गरी हक इन्साफ पाऊँ । सफाइ नपाउने अवस्था विद्यमान रहे भएमा पनि ५ वर्ष मात्र कैद गर्ने गरी व्यक्त गरेको अ.बं.१८८ नं. बमोजिम राय सदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदनपत्र ।

                नियमबमोजिम दैनिक पेशीसूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी भगतलाल टुडुको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लीलामणि पौडेलले जुगन भन्ने मधेशी मण्डलले घरभित्र सुतीरहेकी आफ्नी श्रीमतीलाई करणी गर्दै गरेको देख निजलाई फरूवाले प्रहार गर्न खोज्दा निज तर्क भाग्न सफल भएबाट अकस्मात श्रीमतीलाई लाग्न गएको हो । मार्ने नियतले प्रहार गरेको नभई भवितव्यबाट मृत्यु भएको हो । मेरो पक्षलाई कसूरबाट सफाइ गरी पाउँ त्यस्तो हुन नसके पुनरावदेन अदालतबाट भएको १८८ को राय कायम सदर गरी पाउँ भन्ने व्यहोराको वहस सुनियो ।

                यसमा जुगन भन्ने मधेशी मण्डलले मृतकको घरमा टाटी भत्काई रक्सी खाएर मातेकी मृतकलाई जजस्ती करणी गरेको र प्रतिवादी यी भगतलाल टुडुले सो कुरा थाहा पाई करणी गर्नेलाई कुटन खोज्दा निज भागी फरार भएको र त्यही रहेको फरूवाले निजको श्रीमती फुलमाया टुडुलाई टाउकोसमेतमा प्रहार गर्दा मृत्यु भएकोले निजलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सजायसमेत गरी पाउँ भन्ने अभियोग दावी रहेकोमा माग दावीबमोजिम सजाय हुने सुरू फैसला, सो फैसलाउपर प्रतिवादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत, इलामबाट सोही फैसला सदर गरी अ.बं. १८८ नं. बमोजिम वर्ष ५ कैद सजाय हुन व्यक्त गरेको राय फैसलाउपर प्रतिवादीको पुनरावेदन पर्न आएको देखियो ।

                यसमा मिसिल अध्ययन गरी विद्वान कानून व्यवसायीको हस जिकरसमेत मध्यनजर गरी मलतः पुनरावेदन अदालत, इलामबाट भएको फैसला मिले नमिलेको के रहेछ र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकर पुगन सक्ने नसक्ने के रहेछ सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।

                2. निर्णयतर्फ विचार गर्न मिसिल अध्ययन गरी हेर्दा मिति २०६४।१२।१७ गते राति जिल्ला झापा, मेची न.पा. १३ स्ने जुगनु भन्ने व्यक्ति मेरो दाजु भगतलाल टुडुको घरमा आई सुतेको र राति मेरी भाउजु फुलमाया टुडुलाई यौन सम्पर्क गरेको अवस्थामा दाजुले भेटी रिसको आवेशमा आई घरमा रहेको फरूवाले भाउजु फुलमाया टुडुलाई प्रहार गर्दा भाउजुको घटनास्थलमा मृत्यु भएकोले कारवाही गरी पाउँ भन्नेसमेत जाहेरी दरखास्त परेकोमा सो सम्बन्धमा अनुसन्धान हुँदा लास जाँच मुचुल्का, घटना विवरण कागज शव परिक्षण प्रतिवेदन र मौकामा भएका बयान कागजसमेतका प्रमाणहरूबाट मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने देखिन आयो ।

                3. अब जाहेरवालाले उल्लेख गरेबमोजिम य प्रतिवादीको फरूवाको प्रहार गर्दाको चोटबाट नै मृतकको मृत्यु भएको हो होइन भन्नेसम्बन्धमा मिसिल हेर्दा २०६४।१२।१७ गते जुगनु भन्ने व्यक्ति बेलुका मेरो घरमा आएका थिए । खाना र रक्सी खाई सकेपछि घरभित्र भूँइमा ओछ्‍यान लगाई मेरी श्रीमती र छोरा सुतेका  थिए । म न्डामा खाटमा र जुगनु बाहिर सुतेको थियो । रातिको समय कति बजेको थियो यकीन थाहा भएन म ब्यूँझदा जुगनु सुतेको ठाउँमा नदेखी कहाँ गएछ भन हेर्दा निज मेरो घरको टाटीको बेरा भत्काई मेरी श्रीमती सुतेको ठाउँमा गई माथि चढीरहेको देख मैले ढोकामा लाताले हानी भित्र प्रवेश गरी निज जुगनुलाई ४/५ थप्पड हाने सोही समयमा निज भाग्न सफल भए र मैले घरभित्र हेर्दा बाँसको बिड भएको फरूवा देखी सोही फरूवा टिपी श्रीमती फुलमाया टुडुमाथि प्रहार गरे सो प्रहार निजको हात टाउको र अन्य कुन कुन ठाउँमा लाग्यो मलाई थाहा भएन । निज फुलमाया टुडु रन्थनिदै बाहिर निस्कीन, मैले निजलाई फरूवाले प्रहार गरी रहे र निज बरन्डाको खाटमा आई सुतेकी र निजको शरीरबाट रगत बगी रहेको थियो । केही छिनपछि हेर्दा निजको मृत्यु भई सकेकोले मैले बोकी निज सुतेकी स्थानमा लगी सुताई दिए । निज मेरी श्रीमतीलाई मैले नै फरूवाले कुटी कर्तव्य गरी मारेको हुँ । मेरी श्रीमतीलाई मार्नमा कसैको संलग्नता थिएन भन कसूर पूर्णरूपमा स्वीकार गरी बयान गरेको पाइन्छ । निज प्रतिवादीको अदालतसमक्षको बयानमा श्रीमतीमाथि जुगनु चढी रहेको देखी निज जुगनुलाई बिड भएको फरूवाले हिर्काउदा निज भाग्न सफल भयो र त्यही फरूवाको चोट श्रीमतीलाई लाग्न गई सोही चोटको कारण श्रीमतीको मृत्यु भएको हो । मैले एकपटकमात्र हिर्काएको थिए र बरामद भएको फरूवासमेत सनाखत गरी बयान गरेका छन् । निजले अदालतमा गरेको बयानमा आफ्नो मौकाको बयान प्रहरीको डर त्रासमा परी वा कुटपीट गरी इच्छा विरूद्ध गराई लिएको बयान हो भन भन्न नसकी केवल नपढी नसुनाई सहीछाप गराई लिएको हो भन्नेसम्म लेखाई दिएको देखिन्छ । तर प्रहरीले प्रतिवादीबाट निजले नभनेको कुरा लेखाई दिनुपर्ने कुनै कारण र अवस्था खुलाएको छैन ।

                4. अदालतसमक्ष प्रतिवादीले आफूले १ चोटमात्र फरूवाले हानेको भने पनि अपराधको सम्बन्धमा खडा भएका मुचुल्काहरू त्यसमा व्यक्त भएको कुराहरूको अतिरिक्त मिसिल संलग्न शव परिक्षण प्रतिवेदनमा मृतकको शरीरमा परेका विभिन्न चोट र खिचिएका फोटोमा देखिएका चोटहरूबाट समेत प्रतिवादीको भनाई सत्यमा आधारित देखिएन । शव परिक्षण प्रतिवेदनमा Cause of death multiple visceral injury brain and lung भन्ने उल्लेख भएको, प्रहरीमा गरेको निजको साबिती, किटानी जाहेरी, निजको छोराको कागज र अन्य घटनास्थल मुचुल्काका मानिसको भनाईसमेतका कागजबाट अभियोग पुष्टि भएको अवस्था देखियो ।

                5. यसरी प्रतिवादीले आफ्नी श्रीमती अर्कोसग करणी गर्न लागेको अस्थामा देखी श्रीमती मार्ने मनसायका साथ पटकपटक जोखिमी फरूवाले हान्ने कार्य गरेबाट मृतकको मृत्यु भएको भन्ने अभियोग दावीलाई पुष्टि गरेको नै देखिन्छ ।

                6. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. को व्यवस्था हेर्दा धार भएको वा नभएको जोखिमी हतियारगैरले हानी रोपी घोची ज्यान मारेमा ...... ज्यानमारा ठहर्छ । सर्वस्वसहित जन्मकैदको सजाय गर्नुपर्छ भनी उल्लेख भएबाट यी प्रतिवादीले फरूवाले पटकपटक प्रहार गर्दा मृतक श्रीमतीको मृत्यु भएबाट निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरित १३(१) नं. बमोजिमको कसूरदार ठहर्‍याई गरेको पुनरावेदन अदालत, इलामको फैसला मिलेकै देखियो ।

                7. अब प्रतिवादीलाई ऐनबमोजिम सजाय गर्दा चर्को पर्ने हुँदा मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम ५ वर्ष कैद सजाय गर्ने भन पुनरावेदन अदालतसमेतबाट राय व्यक्त भएको सम्बन्धमा विचार गर्दा प्रतिवादी लोग्ने स्वास्नी नाताका भएका, घर बाहिर सुतेका जुगनु भन्ने मधेशी मण्डल घरभित्र पसी आफ्नी श्रीमतीसग शारीरिक सम्बन्ध राखेको देखी थाहा पाई तत्काल आवेगमा आई जुगनु भन्ने करणी गर्ने व्यक्ति भागेका अवस्थामा आफ्नी श्रीमतीलाई फरूवाले पटकपटक हान्ने कार्यबाट मृत्यु भएको देखिदा पुनरावदेन अदालतले ५ वर्ष कैद सजाय गर्ने रायसग सहमत हुन सकिएन ।

                8. अपराध हुँदाको परिस्थिति, निजको पारिवारिक अवस्था, निज प्रतिवादीका सानासाना बच्चासमेत भएको र पहिलेदेखि नै प्रतिवादीले आफ्नो पत्नीलाई मार्नुपर्ने सम्मको योजना नभएको नदेखिएको एक्कासी परिस्थितिव रिस उठी प्रहार गरेको कारणबाट मृत्यु हुन गएको देखिएकोले ऐनबमोजिम सजाय गर्दा चर्को पर्न जाने हुँदा निज प्रतिवादीलाई १० वर्ष कैद गर्दा न्यायको उद्देश्यसमेत परा हुन जाने भएकाले निज प्रतिवादीलाई मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम १० वर्ष कैद सजाय हुन्छ ।

                9. अत: एव प्रतिवादी भगतलाल टुडुलाई अभियोग दावीबमोजिम ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर्‍याई पुनरावेदन अदालत, इलामबाट मिति २०६७।६।१९ मा भएको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । प्रतिवादी भगतलाल टुडुको पुनरावेदन जिकर पुग्न सक्दैन । प्रतिवादीलाई मुलुकी ऐन, अदालती न्दोवस्तको महलको १८८ नं. बमोजिम १० वर्ष कैद हुन्छ । अरूमा तपसिलमोजम गर्नु ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी भगतलाल टुडुलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद भई मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहरेकाले सोहीबमोजिम लगत कसी कैद असुल गर्नु भनी सुरूमा लेख पठाई दिनू -----------------------

प्रस्तुत पुनरावेदनको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिन -------------------------------

 

उक्त रायमा सहमत छु ।  

न्या. बैद्यनाथ उपाध्याय

 

इति संवत् २०७० साल असोज १४ गते रोज २ शुभम् ।

 

इजलास अधिकृत : टेकराज जोशी 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु