निर्णय नं. ३२८८ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. ३२८८ ने.का.प. २०४४ अङ्क ११
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४४ सालको रिट नं.१५९०
विषय : उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।
निवेदक : काभ्रेपलाञ्चोक जि. खनाल थोक गा.पं.वडा नं.६ बस्ने ङेमा लामा ।
ऐ.ऐ बस्ने उत्तरध्वज लामा ।
ऐ.ऐ बस्ने मोहन सिंह लामा ।
विरुद्ध
विपक्षी : वन नियन्त्रकको कार्यालय, काभ्रेपलाञ्चोक मुकाम धुलिखेल ।
आदेश भएको मिति:२०४४।८।२०।१ मा
वन नियन्त्रकको कार्यालयले निर्णय गरी निवेदकलाई कुनै जनाउ दिएको रिट निवेदनबाट देखिँदैन, यस्तो स्थितिमा प्रस्तुत विवादमा निवेदकको कुनै हक हनन् भएको भन्न सकिने अवस्था नदेखिने ।
(प्रकरण नं. ४)
निवेदक तर्फबाटःX
विपक्षी तर्फबाटःX
उल्लेखित मुद्दाःX
आदेश
न्या.हिरण्येश्वरमान प्रधान: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. हाम्रो पूर्खा पालादेखि भोगी आएको रैकर जग्गा २०२१ सालमा भूमि सुधार लागू हुँदा ७ नं. फाँटवारी जोताहा अस्थायी निस्सा समेत म निवेदक मध्येको ङेमा लामाका नाउँमा दर्ता भएको हाल आवादी दर्ता दौलथ सिंहको नाउँमा भएको निजबाट राजीनामा गरी मेरो हक भएको पूर्व जुडीखोला, नागे कुलो मुनी आफ्नै खेत, उत्तर छबिलाल दक्षिण जुडिखोला यति ४ किल्ला भित्रको कित्ता १ र आफ्नै खेत, पश्चिम बाटो उत्तर नन्दलाल, दक्षिण छबिलाल यति ४ किल्ला भित्रको कुलो मुनी खेत ।१।१० र रातो माटो खेत ।४।१० को कित्ता र जग्गाको मोठ किल्ला पूर्व जुँडी खोला, नागे कूलो पश्चिम शेरा उत्तर नन्दलाल र गाडेपानी खोल्सा दक्षिण छबिलाल यति ४ किल्ला भित्रको जग्गा सालको तिरो रु. ।६८ लागेको र रातो माटो नाँगे डाँडा खेत माटो १–१० को तिरो रु. ६८ लागेको उपरोक्त जग्गा नापनक्शा हुँदा खनालथोक गा.पं. वार्ड नं. ६ को कि.नं. ६१५, ३०३, २६९ कित्ताकाट भएको र दाप्चा पञ्चायत वडा नं.५ को कि.नं. ५ को जग्गा विर्ता उम्मूलन ऐन, २०१६ अन्तर्गत मेरा नाउँमा रैकर दर्ता भएको ठिपासावारी बिजन ।१।१ को तिरो रु. ।९९ को पूर्व ठिपासावारी पूर्व बाटो पर्ने नौमान, उत्तर आवादी बारी, दक्षिण आवादी नै वाटो यति ४ किल्ला भित्रको १ किल्ला समेत ३ कित्ता घर बसोवासको जग्गालाई काभ्रेपलाञ्चोक वन नियन्त्रक कार्यालयका कर्मचारीहरू २०४४।८।४ मा आई यो कटेरा उठाउ, यहाँ वृक्षारोपण हुँदैछ भनेकाले माल कार्लालयमा हेर्दा दर्ता लगत समेत कट्टा भएको नभई फिल्डबुकको नक्कल ०४४।८।६ मा मागी हेर्दा जोताहाको महलमा जंगल जग्गाधनीको महलमा वन प्र.बाट वन क्षेत्र रोक्का भनी लेखिएको रहेछ ।
३. २०४३।३।१२ मा नापी भएको नापनक्शा भएको नापी टोली उठेपछि २०३५।९।२६ मा रोक्का भनी जनाएको हुँदा मेरो सम्पत्तिमा हामीहरूलाई बुझ्दै नबुझी हामीलाई भन्ने कुरा भन्ने कुनै मौका नदिई एकाएक रोक लगाएको कानुनसंगत छैन । हाम्रो नाउँमा साविक दर्ता लगत छँदाछँदै कानुनद्वारा अधिग्रहण नगरिएको कुनै अधिकारीको आदेश बेगर ठाडो फिल्डबुकको कैफियतमा लेखेको कुरा कानुनसंगत नहुँदा विपक्ष तर्फबाट गरिएको रोकुवा निर्णय समेतको कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर रहेछ ।
४. नियम बमोजिम दैनिक कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत निवेदनमा निवेकको माग बमोजिम प्रत्यर्थीबाट लिखित जवाफ मगाई विचार गरिरहनु पर्ने नपर्ने के हो । सो सम्बन्धमा हेर्दा, यसमा हाम्रा नाउँको दर्ता लगत कट्टा नभई फिल्डबूकको जोताहाको महलमा जङ्गल जग्गाधनीको महलमा वन प्र.बाट वन क्षेत्र रोक्का भनी लेखाएको हुँदा उक्त काम कारवाही बदर गरिपाउँ भन्ने निवेदकको मुख्य जिकिर देखिन्छ । वन नियन्त्रकको कार्यालयले सो सम्बन्धमा निर्णय गरी निवेदकलाई कुनै जनाउँ दिएको रिट निवेदनबाट देखिँदैन । यस्तो स्थितिमा प्रस्तुत विवादमा निवेदकको कुनै हक हनन् भएको भन्न सकिने अवस्था नदेखिँदा प्रत्यर्थीबाट लिखित जवाफ मगाई रहनु परेन । प्रस्तुत निवेदन खारेज हुन्छ । फाइल नियमानुसार बुझाई दिनु ।
इतिसम्वत् २०४४ मार्ग २० गते रोज १ शुभम् ।