शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २३ साल: २०३८ महिना: बैशाख अंक:

निर्णय नं. १४२९  ने.का.प. २०३८               अङ्क १

फुल बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री धरेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०३७ सालको रि.फु.नं. ४७

आदेश भएको मिति :  २०३८।१।१२।६ मा

निवेदक : का.जि. जितपुर फेदी गा.पं. वडा नं. ३ जितपुर बस्ने झंकनाथ न्यौपाने ।

विरुद्ध

विपक्षी : का.जि. धर्मस्थली गा.पं. वडा नं. ८ बस्ने चम्पकप्रसाद उपाध्याय घिमिरे

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मर्ने साविक मोहीको यो झंकनाथ न्यौपाने भू.सं.ऐन, ०२१ को दफा २६ बमोजिम जग्गाधनिले पत्याउने नाता भित्रको नभई भतीजा नाताको हुँदा सो दफा २६ को व्यवस्था अनुसार मोही हक प्राप्त हुन नआउने ।

 (प्रकरण नं. ८)

(२) जग्गाधनीबाट जग्गा कमाएको कबुलीयत हुनुपर्नेमा सो कबुलीयतको अभावमा मोही कायम नहुनेमा मोही कायम गरी मोही प्रमाणपत्र दिने गरेको विपक्षी भू.प्र.का.को निर्णय...बदर गर्ने ठहराएको डिभिजन बेञ्चको निर्णय मनासिव ठहर्ने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

उल्लिखित मुद्दा :

आदेश

        न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी झंकनाथ न्यौपानेले चढाएको निवेदनपत्रमा यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट ०३४।९।१८ मा छिनिएको उत्प्रेषण रिट निवेदन मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

        २.  तथ्य र निवेदन जिकिर यस प्रकार छ : धर्मस्थली गा.पं. वडा नं. ७ (क) कित्ता नं. २५ को सीम जग्गाको क्षेत्रफल रोपनी ५१४० जग्गाको साविक जग्गाधनी लानीमाया स्थापितले मिति ०३३।६।११ गतेमा हालै देखिको बक्सपत्र पास गरी दिए अनुसार सो जग्गाको जग्गाधनी प्रमाणपूर्जा विपक्षी भू.प्र.काबाट मैले प्राप्त गरी सकेकोले कानून अनुसारको जग्गाको जग्गाधनी म भएको सो जग्गाको जग्गाधनी प्रमाणपूर्जाको मोहीको महलमा हरिकृष्ण न्यौपाने भनी जनिएको निजको मृत्यु भएको र निजको मृत्युपछि मेरो दाता आफैंले सो जग्गा जोती आउनु भएका तैपनि निजको छोरा छन् भनिन्छ तर हालसम्म निजको छोरा र पत्नी नमेटिएको र छोरा र पत्नी समेत कसैले पनि जग्गा कमाउन पाउँ भनी भन्न समेत नआएको हुँदा मैले नै बाली लगाई भोगचलन गरी आएको छु । उक्त जग्गाको यो सालको धान आश्विन ९ गते काटी भित्राएपछि सो धान काटे भनी विपक्षी झंकनाथले प्र.जि.अ.को का.मा निवेदन दिनु भएका सिलसिलामा म निवेदक सो कार्यालयमा हाजिर भई छलफल हुँदा म निवेदकलाई बुझ्दै नबुझी ०३४।६।२ को निर्णयले भनी विपक्षी भू.प्र.ले निज झंकनाथलाई मेरो जग्गाको मोही कायम गरिदिनु भएको कुरा मैले ०३४।६।११ गते थाहा पाएँ र ०३४।६।१२ गते द.नं. १३८ को नक्कल पाउन निवेदन दर्ता गरेको नक्कल दिनु भनी तोक लागेपछि आजसम्म नक्कल पाउन सकिन र यस विषयमा मलाई अनभिज्ञ पारी मेरो कानूनी हकको लागि अदालत गुहार्नलाई समेत अन्यायको स्थिति पारी दिने नियत गरेको । भूमिसम्बन्धी ऐन, २०२१ अनुसार मोही हुनलाई सोही ऐनको दफा ३४(१) अनुसार मोही र जग्गावालाको बीचमा तोकिए बमोजिम लिखत कबुलीयत हुनुपर्ने र दोहोरी दुवै पक्षले लिई राख्नु पर्ने दुवैको सहिछाप भएको कबुलीयतको अर्काे १ प्रति जग्गावालाले स्थानीय पञ्चायतमा दाखिल गर्न पर्ने बाध्यात्मक कानूनी व्यवस्था छ र मोहीको हैसियतले कमाउन जानु अगावै ०२१।९।९ को राजपत्रमा तोकिए बमोजिमको कबुलीयत देखि भू.सु.ऐनको दफा ३४(१) बमोजिम कबुलीयत भइसकेको हुनु पर्दछ भनी मात्र मोही हुन सक्दछ । अन्यथा मोही हुन सक्दैन । यस कुराको पुष्टिको लागि निवेदक लेवाकान्त भट्टराई समेत विपक्षी भू.सु.कार्यालय रूपन्देही भएको २०३१ को रि.फु.नं. ४० निर्णय नं. ९६१,०३३।१।११ गतेको सम्मानीत सर्वोच्च अदालतको निर्णय नजीरबाट पनि व्याख्या भइसकेको छ । भू.सु.ऐन २६ अनुसार मोहीको मृत्यु भएपछि मोहीको पति पत्नी छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्ति मात्र मोही हुनसक्ने सो बाहेक अरू मोही हुनसक्ने विकल्प नै छैन भन्ने सर्वोच्च अदालतबाट मोही सम्बन्धी मुद्दामा कैयौं नजीर र कानूनी व्याख्याहाले प्रष्ट गरी सकेको छ । विपक्षी झंकनाथ मृतक हरिकृष्णको छोरा होइनन् यस अवस्थामा हरिकृष्णबाट झंकनाथमा सर्ने व्यवस्था पनि भएन विपक्षी झंकनाथको मेरो दाता र मसँग कबुलीयत भए गरिएको छैन यदि दाता लानीमायाले गरी दिएको भए भू.सु.ऐन दफा ३४ बमोजिमको कबुलीयत हुनको साथै दफा २६ (ख) अनुसार तोकिएको अधिकारीलाई १ महीनाभित्र सूचना दिई सक्नु पर्ने साथै म जग्गाधनीलाई बुझ्दै नबुझी गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत भई त्यस्तो निर्णय बदर हुन्छ भनी कतिपय सिद्धान्त प्रतिपादित भइसकेको छ भन्ने समेत उल्लेख भएको छ ।

        ३.  विपक्षी भूमिप्रशासन कार्यालय काठमाडौंको लिखितजवाफमा निवेदकले मिति ०३३।६।११ मा सो जग्गा बकस पाउँदा मोही हरिकृष्ण भन्ने स्वीकार गरी लिएको र निवेदकका दाता लानीमाया स्वयंले बकस दिनु अघि झंकनाथसँग ०३१।०३२ सालको बाली बुझी लिई जग्गा जोती आउने मोही भनी उल्लेख गरी भर्पाई दिएकोले उक्त जग्गा निवेदकको दाताले भई झंकनाथलाई मोही मानी सकेको देखिन आयो । जग्गा निवेदकको हकमा आएपछिको अवस्थामा जग्गा कमाएको भई मोही कायम गर्नुपर्ने भए निवेदकलाई बुझी निर्णय दिनु पर्ने थियो । तर प्रस्तुत मुद्दामा त्यसो नभई भू.सु.ऐनको संशोधन सहितको दफा २५ को उपदफा २ ले मुख्य वार्षिक उब्जनीको एक बालीसम्म कमाउने व्यक्ति पनि हक प्राप्त मोही हुनसक्ने व्यवस्था गरेको निवेदकको दाता लानीमायाले २ वर्षको बाली बुझी लिई मोही भनी मानी भर्पाई दिएकोले मोहियानी हकको प्रमाणपत्र पाउन सक्ने कानूनी आधार समेत भएकोले कार्यालयको ०३४।६।२ को निर्णय कायम राखी रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने समेत उल्लेख गरेको रहेछ ।

        ४.  विपक्षी झंकनाथको लिखितजवाफमा विवादास्पद जग्गा धेरै अघि देखि मेरा जेठाबाबु हरिकृष्णले कमाई आएको उहाँको छोरा नभएको म उहाँकै घरमा बसी काम गर्दथे, भू.सु.ऐन प्रारम्भ हुनु अघिदेखि मैले कमाई आएको थिए । श्रेस्तामा जेठाबाबुको नाम भएपनि वास्तविक जग्गा जोत्ने जोताहा म नै हुँ सो जग्गा जेठाबाबुले छायादेवीलाई दृष्टि दिनु भएको जेठाबाबु ०२३ सालमा बितीसक्नु भएपछि सो दृष्टि रुपैयाँमैले बुझाई भू.प्र.का.काठमाडौंमा लगत समेत पठाएको छु । ०२३ सालमा हरिकृष्ण मृत्यु भएदेखि यो ०३४ साल बाह्र वर्षसम्म मैले एकलौटी जोती आएको कुरा पनि स्थानीय सर्जमिनबाट एकिन हुन्छ विपक्षीले ०३३।६।११ मा मात्र जग्गा बक्स गरी लिएको भन्नु हुन्छ, २०३२ सालको कूत लानीमायालाई बुझाई भर्पाई लिएको छु । ०३३ सालको कूत बुझी नदिएकोले जिल्ला कार्यालय भूमिप्रशासन शाखा काठमाडौंमा धरौट राखेको छु निवेदकको लेखाईमा कति पनि सत्यता छैन भन्ने कुरा प्रष्ट देखिन्छ र भू.सु.ऐन, ०२१ को ३४(१) अनुसार कबुलीयत हुनुपर्ने भन्ने उल्लेख गर्नुभएको छ । यसबाट विपक्षीलाई मद्दत गर्दैन विपक्षीले ०३३ सालमा मात्र बकस पाएको हो मैले भूमिसम्बन्धी ऐन लागू हुनुभन्दा अघि देखि नै कमाई आएको वास्तविक कुरालाई लोप गरी हकै प्राप्त नभएको विपक्षीको रिट निवेदन खारेजको लागि सविनय निवेदन गर्दछु भन्ने समेत उल्लेख भएको ।

        ५.  साविक जग्गाधनी लानीमाया स्थापितले ०३३।६।११ गते जे जो गर्नुपर्ने गरी खानु भनी रजिष्ट्रेशन पारित गरी मलाई हालै देखिको बकसपत्र गरी दिनु भए अनुसार मेरो निर्विवाद हक भई जग्गाधनी प्रमाणपूर्जा समेत लिएको सो जग्गाधनी प्रमाणपूर्जाको मोही महलमा हरिकृष्ण न्यौपाने भनी जनिएको निजको मृत्यु पछि मोहीको पत्नी वा छोरा कोही भए नभएको पत्ता नलागेको हुँदा उक्त जग्गाको जग्गाधनी र मोहीको हैसियतले म आफैंले जग्गा भोगचलन दशकर्म गरी आएकोमा विपक्षीलाई मोही कायम गर्ने गरेको निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ लागू भएपछि उक्त ऐनको दफा २५ को उपदफा (२) बमोजिम मोहियानी हक प्राप्त गर्न जग्गावालासँग दफा ३४(१) बमोजिम लिखत कबुलीयत गरी वार्षिक उब्जनीको एक बाली सम्म कमाएको हुनुपर्ने कानूनी व्यवस्थाको सन्दर्भमा जग्गावालासँग कुनै लिखत कबुलीयत नगरी त्यसै जग्गा कमाउने निवेदकहरू लाई निजहरूले मोहियानी हकको प्रमाणपूर्जा पाएको नाताले मात्र मोही कायम गर्न वा कानूनबमोजिम मोहियानी हक प्राप्त भएको संझन नमिल्ने भन्ने समेत रि.फु.नं. ४० निवेदक लेवाकान्त भट्टराई समेत विपक्षी जि.भू.सु.अ.जि.भू.सु.का.रूपन्देही भएको उत्प्रेषणको मुद्दामा ०३३।१।११।६ मा फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित भएकोले प्रस्तुत केशमा पनि लिखत कबुलीयतको अभावमा मोही कायम गर्ने गरेको निर्णय उक्त प्रतिपादित सिद्धान्तको समेत विपरीत हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने ०३४।९।२८ को डिभिजन बेञ्चको निर्णय ।

        ६.  प्रस्तुत मुद्दा दोहर्‍याउने विपक्षी झंकनाथ तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले साविक जग्गाधनीले साविक दर्तावाला मोही हरिकृष्ण मरेपछि झंकनाथलाई मोही गरी बाली बुझी भर्पाई गरी दिएको हुँदा कबुलीयत हुनुपर्ने अवस्था छैन भू.प्र.कार्यालयले निज झंकनाथ मोही कायम गरेको सदर हुनुपर्छ भन्ने र भू.प्र.कार्यालयतर्फबाट खटि आउनु भएका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरले जग्गाधनीबाट भर्पाई लिई कमाएको हुँदा कबुलीयतको आवश्यकता छैन भन्ने र रिट निवेदक चम्पकप्रसाद तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अनुपराज शर्माले विपक्षी झंकनाथ साविक मर्ने मोहीको जग्गाधनीले पत्याउने नाताभित्र नपर्ने हुँदा निज मोही कायम हुन कबुलीयत हुनुपर्ने प्रष्टै छ सो नहुनाले निज मोही कायम हुनसक्ने होइन भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।

        ७.  यसमा निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा रिट निवेदनको विपक्षी झंकनाथ न्यौपानेले डिभिजन बेञ्चको निर्णय दोहर्‍याई पाउँ भनी दिएको निवेदनमा दोहर्‍याई हेरी छिनी दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम निर्णयार्थ पेश हुन आएको रहेछ ।

        ८.  साविक जग्गाधनी लानीमायाले मलाई बकसपत्र गरिदिएको मोही हरिकृष्ण न्यौपानेको मृत्यु पछि मोहीको पत्नी वा छोरा कोही नभएको हुँदा म आफैंले भोगचलन गरी आएकोमा झंकनाथलाई मोही कायम गरेको भू.प्र.कार्यालयको निर्णय बदर गरिपाउँ भन्ने मुख्य रिट निवेदक चम्पकप्रसादले जिकिर लिएकोमा मुद्दा दोहर्‍याउने विपक्षी झंकनाथ न्यौपानेले आफ्नो लिखितजवाफमा विवादास्पद जग्गा जेठाबाबु हरिकृष्ण न्यौपानेले कमाई आउनु भएका जेठाबाबु ०२३ सालमा मृत्यु भएको सर्जमिनबाट प्रष्ट हुन्छ, ०२३ सालदेखि मैले एकलौटी जोती आएको भन्ने उल्लेख गरेको र निज झंकनाथले जोत नामसारी गरी जोताहा निस्सापाउँ भनी भू.प्र.कार्यालयमा दिएको निवेदनमा पनि मेरो जेठाबाबु हरिकृष्ण न्यौपाने जोताहा भई कमाई आएको ०२३ सालमा परलोक भएको सो जग्गा ०२३ साल देखि अद्यापी सम्म मैले नै कमाएको भन्ने समेत उल्लेख गरेकोबाट मुद्दा दोहर्‍याउने निवेदक झंकनाथले ०२३ साल देखि कमाएको भनाई देखिन्छ । मर्ने साविक मोही हरिकृष्णको यो झंकनाथ न्यौपाने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ बमोजिम जग्गाधनीले पत्याउने नाताभित्रको नभई भतिजा नाताको हुँदा सो दफा २६ को व्यवस्था अनुसार मोही हक प्राप्त हुन आउने भएन भूमिसम्बन्धी ऐन लागू भएपछि २०२३ साल देखि जग्गा कमाएको भन्ने भएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (२) बमोजिम निज झंकनाथले मोही हक प्राप्त गर्नको लागि ऐ.ऐन दफा ३४(१) बमोजिम जग्गाधनीबाट कबुलीयत गरी कमाएको हुनुपर्ने सो देखिन नआएको । भू.प्र.कार्यालयमा साविक जग्गाधनी लानीमायाले गरेको बयानमा झंकनाथलाई रसीद दिएको छ्रैन भन्ने समेत बयानमा विवाद उपस्थित गरेको देखिएको यस स्थितिमा साविक मोही हरिकृष्ण परलोक भएपछि ०२३ सालदेखि कमाएको भन्ने झंकनाथलाई उपरोक्त लेखिएबमोजिम जग्गाधनीबाट जग्गा कमाएको कबुलीयत हुनुपर्नेमा सो कबूलीयतको अभावमा मोही कायम नहुनेमा झंकनाथलाई मोही कायम गरी मोही प्रमाणपत्र दिने गरेको विपक्षी भू.प्र.कार्यालयको ०३४।६।२ को निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गर्ने ठहराएको डिभिजन बेञ्चको ०३४।९।१८ को निर्णय मनासिव ठहर्छ । यो आदेश विपक्षी भू.प्र.कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

म सहमत छु ।

 

न्या. बासुदेव शर्मा

 

माननीय न्यायाधीश श्री हेरम्बराजको राय

        ९.  यसमा विवादास्पद जग्गाको मोही प्रमाणपत्र पाउँ भन्ने झंकनाथको निवेदनपत्रमा मोही कायम गर्ने गरी विपक्षी भू.प्र.कार्यालयबाट निर्णय गरेको देखिएको निज झंकनाथले दिएको लिखितजवाफमा जेठाबाबुका भनाई अनुसार मैले भूमिसम्बन्धी ऐन प्रारम्भ हुनुभन्दा अघि देखि कमाई आएको छु भन्ने उल्लेख गरेको तर १ नं. लगत भरेको र २ नं. अनुसूची प्रकाशित गरेको छ भन्ने निज झंकनाथले भन्ने देखाउन सकेको छैन । साविक जग्गाधनी लानीमायाले ०३२ सालको कूत बुझेको रसीद दिएको भन्ने पनि लिखितजवाफमा उल्लेख गरे पनि निज लानीमायाले भू.प्र.कार्यालयमा गरेको बयानमा निज झंकनाथलाई रसीद गरी दिएको छैन भनी बयान गरेको भू.प्र.कार्यालयबाट सो रसीदलाई सद्दे कीर्ते सुनाई तहकिकात नगर्ने भएकोले अदालतबाट त्यस्तो रसीद दिएको भनी झंकनाथले डिग्री गराएको समेत नदेखिएकोले उपरोक्त कारणको आधारमा मुद्दा दोहर्‍याउने झंकनाथ न्यौपाने मोही कायम हुन नसक्नेमा मोही कायम गर्ने गरेको विपक्षी भू.प्र.कार्यालयको निर्णय बदर गर्ने गरेको डिभिजन बेञ्चको ०३४।९।१८ को निर्णय मनासिव ठहर्छ । तर्क वेगल भएपनि ठहरसँग सहयोगीहरूको रायमा सहमत छु ।

 

न्यायाधीश

 

इति सम्वत् २०३८ साल वैशाख १२ गेत रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु