शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४४३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक:

निर्णय नं. १४४३ ने.का.प. २०३८             अङ्क २

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

सम्वत् २०३७ सालको रिट नं. १३६४

आदेश भएको मिति : २०३८।१।९।३ मा

निवेदक : नेपाली किराना सेन्टर मखन काठमाडौंको प्रोपाईटर का.जि.मखन टोल बस्ने केशवलाल फैजु

विरूद्ध

विपक्षी  : कर कार्यालय काठमाडौंसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कर निरीक्षकको प्रतिवेदन र कर अधिकृतको प्रतिवेदनमा आयकर ऐन, २०३१ को दफा ३३(४) को कानूनी व्यवस्था अनुसार निवेदक करदाताको खुद आय कायम हुने यस किसिमबाट यसरी खुद आय हुने भन्ने आधार उल्लेख नगरेको कुन आधारमा कसरी निवेदकको खुद आय कायम हुने हो उक्त पर्चामा पनि प्रष्ट उल्लेख भएको देखिँदैन । कर अधिकृतको प्रतिवेदन अनुसार भनी खुद आय कायम गरेको र त्यसको आधारमा समेत कुनै खुलेको नदेखिएकोले उपरोक्त ऐनमा व्यवस्थित आधारलाई अवलम्वन नगरी हचुवा किसिमबाट निवेदकको खुद आय कायम गरेको भन्ने प्रष्ट देखिन आउने ।

(प्रकरण नं. १०)

निवेदकतर्फबाट   : विद्वान अधिवक्ता श्री शुसिल कुमार सिन्हा

विपक्षीतर्फबाट   : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

उल्लिखित मुद्दा :

आदेश

        प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

        २.  तथ्य यस प्रकार छ : निवेदकले आ.व.३४+३५ श्रा.आ.को विवरण पेश गरेकोमा करदाताको कारोवार चल्ती व्यापार समेत विचार गर्दा करदाताको भनाई भन्दा क.नि.को प्रतिवेदन मनासिव देखिन्छ । निजको खास व्यापार जिरा मरीज नरिवल जस्ता चिजहरूको कारोबार भएको र खासगरी स्थानीय खरीद भन्दा आफैंले भारतबाट माल सामान झिकाई कारोबार गरी आएको देखिँदा निजको बिक्री अंश रू.१०,६०,०००।लाई नै कायम गरी ६ प्रतिशत खुद आय आर्जन गरेको हुनु पर्दछ । न्यायोचित्त अनुमानबाट आय कायम गर्नु पर्ने भएकोले पेश गरेको छ भनी पेश गरेकोमा करदाताले बयानमा आफ्नो नाममा रू.३,००,०००।आयात गरेको र प्रसेन्टेजमा रू.४,००,०००।को सामान ल्याएको भनी बयान दिएकोले कर निरीक्षकको प्रतिवेदन तथा क.अ.को राय मनासिव भएकोले क.अ.को प्रतिवेदन अनुसारको बिक्रीमा ६ प्रतिशतले हुने आय रू.६३,६००।कायम गरिएको भन्ने ०३६।१२।१९ मा पर्चा र कर निर्धारण आदेश समेत भएको रहेछ ।

        ३.  उक्त आयकर निर्धारण निर्णय बदर गरिपाउँ भनी निवेदक केशवलाल फैजुले दिएको प्रस्तुत रिट निवेदनपत्रमा कुनै सबूत प्रमाण र कानूनी आधार बेगर हचुवा तवरले कर कार्यालय काठमाडौंले आयकर फछर्यौटको आ.व.३४।३५ श्रा.अ.मा प्रत्यायोजित अधिकार अनुसार भन्दै ०३६।१२।१९ मा आयकर निर्धारण आदेश गर्नु भएको कुनै आधार नखुलाई कानून विपरीत भएको प्रष्ट छ । नेपाल आयकर नियम, २०२० को नियम २१(२) अनुसार आयकर निर्धारण आदेशमा खुद आय कसरी कायम गरिएको हो सोको स्पष्ट विवरण खुलाई करदातालाई दिनु पर्नेमा सो विपरीत आयकर निर्धारण आदेशमा उल्लिखित आएको अंक कसरी ठहर गर्नु भएको कुनै कुरा नलेखी त्यस फर्मको आ.व.३४।३५ को आय विवरण सम्बन्धमा व्यापार कारोबार स्थितिको विचार गरी आयकर ऐन, ०३१ को दफा ३३(२) अनुसार न्यायोचित आधारमा खुद आय रू.६३,६००।कायम गरी कर निर्धारण गरी आयकर फछर्यौट आयोगको प्रत्यायोजित अधिकार अनुसार कर निर्धारण गरिएको छ भन्ने मात्र उल्लेख भएकोबाट प्रत्यक्ष कानूनी त्रुटि भएको छ हाम्रो बयानमा उल्लिखित खरीद व्यापारको अंक भन्दा बढी कारोबारको खरीद र बिक्रीको अंक कायम गर्नुको लागि कुनै तथ्ययुक्त आधार हुनुपर्ने तथा दफा ३३(५) तथा प्राकृतिक न्यायका सिद्धान्त बमोजिम मुख नमिलेका हाम्रो विपरीतका कुराका सन्दर्भमा मलाई खण्डन गर्ने मौका दिनु पर्नेमा सो केही नगरी व्यक्तिगत घारणले सरकारी रेकर्ड र पक्षको भनाइलाई वास्ता नगरी कारोबार परिमाण कल्पित रू.१०,६०,०००।मानी ६/ प्रतिशतले हिसाब गर्नुभएको कुनै कारण हुनु पर्नेमा सो उल्लेख गर्न सक्नु नभएबाट कल्पित तथ्य रहीतको खुद आय निर्धारण भएको प्रष्ट छ । कर अधिकृतज्यूले प्रत्यायोजित अधिकार बमोजिम कर निर्धारण गरिएको भनी आयकर निर्धारण आदेशमा उल्लेख छ । तसर्थ आय निर्धारण गर्ने एक अधिकृत र कर निर्धारण गर्ने अर्को अधिकृतलाई अधिकार प्रत्यायोजित भएको भन्ने कतैबाट देखिए सुनिएको नहुँदा कानून विपरीत जसरी गरे पनि हुने आधार विपरीत आयकर निर्धारण आदेश भएको प्रष्टछ । उत्प्रेषणको आदेश जारी गरी ०३६।१२।१९ को आयकर निर्धारण आदेश र सोही मितिको पर्चा समेत बदर गरिपाउँ भन्ने समेत मुख्य निवेदन जिकिर लिएको रहेछ ।

        ४.  आयोगको कामहरू मध्ये वार्षिक खुद आय रू.१,००,०००।सम्म आय कायम हुने करदाताको सम्बन्धमा कानूनबमोजिम कारवाही गरी आयकर निर्धारण गरी केश फछर्यौट गर्ने काम सम्वन्धित कर प्रमुख अधिकृतलाई यो आयोगले सुम्पिएको र सो बमोजिम नै कर कार्यालय काठमाडौंको सम्बन्धित प्रमुख कर अधिकृतबाट कानूनबमोजिम निर्णय भएकोले रिट निवेदन खारेज हुने भन्ने समेत विपक्षी कर फछर्यौट आयोगको लिखितजवाफ ।

        ५.  खुद आय निर्धारण गर्दा दफा ३३(४) को सकभर ध्यानमा राख्नु पर्ने केही आधारहरू अवलम्वन भएकै छ र कर निरीक्षकले दिएको तथ्य पूर्ण गोप्य प्रतिवेदन र करदाताको बयान गते वर्ष कायम भएको खुद आय र त्यस्तै किसिमको कारोबार गर्ने अन्य करदातालाई कायम गरिएको खुद आयकरलाई दृष्टिगत राखी खुद आय कायम भएको हुँदा तथ्ययुक्त आधार नखुलेको भन्ने हुँदा सो आयकर निर्धारण आदेश उपर राजस्व न्यायाधीकरणमा पुनरावेदन लाग्न सक्ने कानूनी व्यवस्था हुँदा पुनरावेदन तहको अन्य उपचारको बाटो छाडी रिट क्षेत्रमा आएको हुँदा समेत रिट निवेदन खारेज हुनुपर्ने भन्ने समेत विपक्षी कर कार्यालय काठमाडौंको लिखितजवाफ ।

        ६.  यसमा निवेदक केशवलाल फैजुको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शुसिलकुमार सिन्हाको र विपक्षी कर कार्यालयतर्फबाट समेत खटी आउनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनी निर्णय तर्फ हेर्दा प्रत्यर्थीको न्यायोचित अनुमानद्वारा खुद आय कायम गरेको ०३६।१२।१६ को गैरकानूनी पर्चा र कर निर्धारण गरेको आदेश समेत बदर गरिपाउँ भन्ने मुख्य निवेदकले जिकिर लिएको छ ।

        ७.  न्यायाचित अनुमानद्वारा खुदआय कायम गरेको प्रत्यर्थीको ०३६।१२।१९ को पर्चा हेर्दा करदाताले बयानमा आफ्नो नाममा रू.३,००,०००।आयात गरेको र प्रसेन्टेजमा रू.४,००,०००।सामान ल्याएको भनी बयान दिएकोले कर निरीक्षकको प्रतिवेदन तथा क.अ.का राय मनासिव भएकोले कर अधिकृतको प्रतिवेदन अनुसारको बिक्रीमा ६ प्रतिशतले हुने आय रू.६३,६००।खुद आय कायम गरी निर्णय गरेको देखिन्छ ।

        ८.  न्योयोचित अनुमानद्वारा आयकर निर्धारण गर्ने सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा आयकर ऐन, २०३१ को दफा ३३(४) मा कर अधिकृतले उपदफा २ बमोजिम न्यायोचित अनुमानद्वारा खुद आय निर्धारण गर्दा सकभर देहायको आधारलाई ध्यानमा राख्नु पर्नेछ भन्ने देहाय (क) मा कर निरीक्षकका आदेश सहित तथ्यपूर्ण ठहर्‍याएको गोप्य प्रतिवेदन (ख) मा यस्तो किसिकको अरू करदाताको यस्तै किसिमको कारोबार वा व्यवस्थामा के कति खुद आय निर्धारण भएको छ सो आधार (ग) मा कर अधिकृतले त्यस्तो करदाताको सम्बन्धमा प्राप्त गरेको अन्य कुनै प्रमाण वा तथ्य पूर्ण प्रतिवेदन वा (घ) मा कर अधिकृतले मनासिव सम्झेको अन्य आधार भन्ने उल्लेख भएको छ ।

        ९.  प्रस्तुत मुद्दामा खुद आय काममा परेको पर्चामा कर निरीक्षकको तथा अधिकृतको प्रतिवेदनलाई आधार लिई कर अधिकृतको प्रतिवेदन अनुसार भनी खुद आय कायम गरेको छ सो पर्चामा नै कर निरीक्षकको प्रतिवेदन भनी उल्लेख भएको व्यहोरामा मौजदात रू.८०,०००।भारतबाट पैठारी रू.७,००,०००।र स्थानीय बजार खरीद रू.३,५०,०००।साल तमामी मौजदात ७०,०००।भएको भनी प्रतिवेदनमा उल्लेख भएको भन्ने र खास व्यापार जीरा मरीज खरीद भन्दा आफैंले भारतबाट माल सामान झिकाई कारोबार गरी आएको देखिँदा निजको बिक्री अंक रू.१०,६०,०००।लाई कायम गरी ६ प्रतिशत खुद आय आर्जन गरेको हुनु पर्दछ । न्यायोचितबाट आय कायम गरेको हुनुपर्ने भन्ने कर अधिकृतले पेश गरेको भन्ने समेत लेखिएको छ ।

        १०. उपरोक्त पर्चामा उल्लिखित कर निरीक्षकको प्रतिवेदन र कर अधिकृतको प्रतिवेदमा उक्त आयकर ऐन, २०३१ को दफा ३३(४) को कानूनी व्यवस्था अनुसार निवेदक करदाताको खुद आय १०,६०,०००। कायम हुने आधार यो यस किसिमबाट यसरी खुद आय हुन भन्ने आधार उल्लेख नगरेको कुन आधारमा कसरी निवेदकको खुद आय १०,६०,०००। कायम हुने हो उक्त पर्चामा पनि प्रष्ट उल्लेख भएको देखिँदैन । कर अधिकृतको प्रतिवेदन अनुसार भन्ने खुद आय कायम गरेको र त्यसको आधार समेत कुनै खुलेको नदेखिएकोले उपरोक्त ऐनमा व्यवस्थित आधारलाई अवलम्बन नगरी हचूवा किसिमबाट निवेदकको खुद आय कायम गरेको भन्ने प्रष्ट देखिन आएको छ ।

        १२. तसर्थ उपरोक्त उल्लिखित अनुसार उक्त कानूनी आधारको प्रतिकूल खुद आय कायम गरेको ०३६।१२।१६ को निर्णय र सो अनुसार कर निर्धारण गरेको आदेश समेत त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेश जारी गरी बदर गरिएको छ अब कानूनबमोजिम गर्नु भनी प्रत्यार्थीको नाउँमा परमादेश समेत जारी हुने ठहर्छ यो आदेश प्रत्यर्थी कहाँ पठाउन प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०३८ साल बैशाख ९ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु