शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक:

निर्णय नं. १४४४  ने.का.प. २०३८               अङ्क २

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

सम्वत् २०३४ सालका रिट नं. ९३३

आदेश भएको मिति :  २०३७।१२।२५।३ मा

निवेदक : जि.कपिलबस्तु हनुमाननगर गा.पं. वडा नं. ८ मौजा पडरीया बस्ने बंशीचाई

विरुद्ध

विपक्षी  : ऐ.ऐ. बस्ने पिंगल चाई समेत

बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) साविक भूमिसुधार अधिकारीले निर्णय भइसकेको कुरामा असर पर्ने गरी हाल सोही भूमिप्रशासकले निर्णय गर्न पाउने अधिकार भएको नदेखिएबाट अघि भएका निर्णयमा असर पर्ने गरी प्रत्यर्थी भूमिप्रशासकले गरेको उक्त निर्णय त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. ९)

आदेश

        न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

        २.  तथ्य यस प्रकार छ : जो.अ.नि.बदर मुद्दा चली तिरथ अहिरलाई कच्ची २ विगाहा पींगल अहिरलाई कच्ची ३ विगाहा खुट्टरलाई कच्ची २ विगाहा इनरमनलाई कच्ची ४ विगाहा पोंगललाई कच्ची ४ विगाहा रामरतनलाई कच्ची ४ विगाहा बन्ने अहिरलाई कच्ची १ विगाहा श्री राम अहिरलाई कच्ची ४ विगाहा अतवारीलाई कच्ची २ विगाहाको प्राप्त जो.अ.नि.सदर भई बढी जग्गाको जो.अ.नि.बदर हुने ठहरी ०२८।१०।१० मा फैसला भएको हाल सर्वे नापी हुँदा जो.अ.नि.बमोजिम सम्पूर्ण जग्गा नापी गराई मोही दर्ता गराई लिएकोले फैसला बमोजिम ईनरमन चाइलाई कि.नं. ३०७ मा पिंगललाई कि.नं. ३१४ मा राम रतनलतई कि.नं. ३५०, ६७ मा श्री राम अहिरलाई कि.नं. ३४५ मध्ये उत्तरतर्फबाट ०१३८ मा खुटुरलाई कि.नं. १५ मा अवधरामलाई कि.नं. ३३ मा अतवारीको छोरा प्यारेलाई कि.नं. १०७ मध्ये उत्तरतर्फबाट ०० मा बन्ने कहारलाई कि.नं. ३० मध्ये पूर्वतर्फबाट ०० मा मोही कायम राखी कि.नं. ३४,७५ बाट ईनर नाउँ गराई ३४५ मध्ये दक्षिणतर्फबाट ०० र कि.नं. ३२३ बाट श्री रामको कि.नं. ४१, १८६ बाट पिंगलको नाउँ कि.नं. ५१, १००, , १५५ बाट रामरतनको नाउँ कि.नं. ३२४ बाट खुटुरको नाउँ ३३२ बाट अवधरामको नाउँ कि.नं. ११७ र १०७ मध्ये दक्षिणबाट ०१ बाट प्यारेतेलीको नाउँ कि.नं. ३० मध्ये पश्चिम तर्फबाट ०१ बाट बन्ने कहारको नाउँ कट्टा गरिपाउँ भन्ने निवेदक बंसीचाइले विपक्षी भूमिप्रशासन शाखामा दिएको उजूरीमा जो.अ.नि.को आधारमा नै हाल नापीमा मोही दर्ता गराई मोहियानी हकको प्रमाणपत्र समेत प्राप्त गरी सकेको जग्गाधनी दर्ता प्रमाणपूर्जा पाएपछि म्यादभित्र उजूर गरेको समेत नदेखिएको हुँदा प्राप्त गरेको मोहियानी हकको प्रमाणपत्रमा उल्लेख भएको जग्गा प्रतिवादीहरूले नै जोतेको ठहर्छ भन्ने ०३४।४।१२ मा विपक्षी भूमिप्रशासन शाखाबाट निर्णय भएको रहेछ ।

        ३.  उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक बंसी चाइले दिएको प्रस्तुत रिट निवेदनपत्रमा मोही भई जोतेको भन्दा बढी जग्गा लेखाई लिएकोमा बढी जति लेखिएकोमा मोही बदर गरिपाउँ भन्ने मेरो निवेदन परी बढी लेखाएको जति मोही बदर हुने ठहरी ०२८।१०।१० मा फैसला भयो । सर्भे हुँदा पुनः बढी जग्गामा मोही लेखाई लिएकोले ०२८।१०।१० मा फैसला भई कायम भए बमोजिमको कायम गरी बढी लेखाए जतिको मोहीबदर गरिपाउँ भनी ०२८।१०।१० मा भएको निर्णय कायान्वयनतर्फ निवेदन गर्दा भूमिप्रशासकले आफ्नो कार्यालयबाट पहिले भएको निर्णयलाई उल्टाउने गरी ०३४।४।१३ मा निर्णय गर्नु भयो एकपटक निर्णय भइसकेको कुरामा अ.बं.८५ नं. अन्तर्गत त्यसै अड्डाबाट अर्को निर्णय गर्न मिल्दैन पहिले भएको निर्णयलाई बदर गर्न सक्ने अधिकार नभएको हुनाले अधिकार क्षेत्रको अभावमा भएको निर्णय अ.बं.३५ नं. ले स्वतः निश्कृय तथा बदरभागी छ । ०२८।१०।१०।२ मा भएको निर्णयलाई कार्यान्वयन गरी दिए पुग्नेमा मोहीतर्फ पुनः गर्नुभएको त्रुटिपूर्ण तथा कानून विपरीतको निर्णय छ उत्प्रेषणको आदेश जारी गरी बदर गरिपाउँ भन्ने समेत मुख्य निवेदन जिकिर लिएको रहेछ ।

        ४.  निवेदकले जग्गाधनी प्रमाणपूर्जा पाएपछि म्याद भित्रै उजूर गर्नु पर्नेमा नगरी मोही स्थायी प्रमाणपत्रलाई समर्थन गरी बसेकोबाट प्रतिवादीहरूले नै जातेको ठहर गरी गरेको यस कार्यालयको मिति ०३४।४।१९ को निर्णय कानून अनुरूप नै भएको हुँदा रिट निवेदन खारेज हुनुपर्ने भन्ने समेत विपक्ष जिल्ला कार्यालय भूमिप्रशासन शाखा जि.कपिलवस्तुको भूमिप्रशासकको लिखितजवाफ ।

        ५.  अघिदेखि नै जोताहा निस्सा र मोहियानी हकको प्रमाणपत्र समेत पाएको छु सर्भे नापी भई मोहियानी हक प्राप्त गरेको कानूनी विधिलाई जग्गा नापजाँच ऐन र भूमिसम्बन्धी ऐनको कार्यविधि अपनाउँन जानु पर्नेमा नगई रिट निवेदन गर्नुभएको हो रिट निवेदन खारेजको लागि अनुरोध गर्दछु भन्ने समेत एकै मिलानको विपक्षी इनरमन चाई १ पिंगल चाई १ श्री राम अहिर १ राम रतन केवल १ समेतको पृथकपृथक लिखितजवाफ ।

        ६.  विपक्षी बन्ने कहार १ खुदुटुर अहिर १ अवधराम अहिर १ अतवारी तेली १ समेतका नाउँमा जारी भएको सूचनाको म्यादभित्र लिखितजवाफ प्राप्त नभएको ।

        ७.  यसमा निवेदक वंसी चाईतर्फबाट उपस्थति विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंहको र विपक्षी भूमिप्रशासकतर्फबाट खटी आउनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरबप्रसाद लम्सालको समेत बहस सुनी निर्णयतर्फ हेर्दा विपक्षीहरूसँग जो.अ.नि.बदर मुद्दा चली बढी जग्गाको प्राप्त जो.अ.नि. बदर हुने ठहरी ०२८।१०।१० मा फैसला भएको हाल नापी हुँदा जो.अ.नि.बमोजिमको सम्पूर्ण जग्गा नाप नक्सा गराई मोही दर्ता गराई लिएभन्ने समेत निवेदकको प्रत्यर्थी भूमिप्रशासक समक्ष परेको उजूरीमा प्राप्त गरेको जो.अ.नि.को आधारमा नै हाल नापीमा मोही दर्ता गराई प्रमाणपत्र समेत प्राप्त गरी सकेको जग्गाधनी प्रमाणपूर्जा पाएपछि म्यादभित्र उजूर गरेको समेत नदेखिएको हुँदा प्राप्त गरेको मोहियानी हकको प्रमाणपत्रमा उल्लेख भएको जग्गा जोतेको ठहर्छ भन्ने ०३४।४।१२ मा निर्णय भएको देखिन्छ ।

        ८.  मिति ०२८।१०।१० मा निर्णय भएको भनेको पेश भएको निर्णयको नक्कल हेर्दा यिनै प्रत्यर्थीहरूले प्राप्त गरेको वडी जग्गाको जो.अ.नि.बदर गर्ने ठहराई जिल्ला भूमिसुधार कार्यालयबाट निर्णय भएको रहेछ ।

        ९.  मुख्यतः प्रस्तुत मुद्दामा यिनै प्रत्यर्थीहरूले पाएको जो.अ.नि.को बढी जग्गाको जो.अ.नि.बदर हुने गरी ०२८।१०।१० मा निर्णय भइसकेकोमा उनै प्रत्यर्थीहरूले सोही जो.अ.नि.को आधारमा नै हाल नापीमा मोही दर्ता गराई मोहियानी हकको स्थायी प्रमाणपत्र पाइसकेको भन्दै मोहियानी हकको प्रमाणपत्रमा उल्लेख भएको जग्गा जोतेको ठहर्छ भनी भूमिप्रशासकले निर्णय गरेकोबाट बढी जग्गाको जो.अ.नि.बदर गर्ने गरेको उक्त अघिको ०२८।१०।१० को निर्णयमा असर पर्न जाने गरी निर्णय गरेको प्रष्ट देखिन आएको छ । यसरी अघि ०२८ सालमा नै साविक भूमिसुधार अधिकारीले निर्णय भइसकेको कुरामा असर पर्ने गरी हाल सोही भूमिप्रशासकले निर्णय गर्न पाउने अधिकार भएको नदेखिएबाट अघि ०२८।१०।१० मा भएको निर्णयमा असर पर्ने गरी प्रत्यर्थी भूमिप्रशासकले ०३४।४।१२ मा गरेको उक्त निर्णय त्रुटिपूर्ण निर्णय देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । यो आदेश प्रत्यर्थी भूमिप्रशासन शाखामा पठाउन प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

म सहमत छु ।

 

प्र.न्या. नयनबहादुर खत्री

 

इति सम्वत् २०३७ साल चैत्र २५ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु