निर्णय नं. १४४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १४४५ ने.का.प. २०३८ अङ्क २
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
सम्वत् २०३७ सालको रिट नम्बर ९२३
आदेश भएको मिति : २०३७।१२।१२।४ मा
निवेदक : जि. महोत्तरी लोलरपट्टी गा.पं. वडा नं. २ बस्ने राम रत्नठाकुर भूमिहार
विरुद्ध
विपक्षी : भूमिसुधार अधिकार भूमिसुधार कार्यालय जि.महोत्तरी लोहारपट्टी गा.पं. वडा नं. ७ बस्ने दिल महमद शेष
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) भू.सं.ऐन, ०२१ को नियम ६ अनुसार विपक्षीका नाउँमा २ नं. अनुसूची प्रकाशित भएकोमा नियम ७ अनुसार निवेदकको विरोध नपरेको र उक्त अनुसूची समेतको आधार लिई सबूत प्रमाणको मूल्यांकन गरी अधिकार प्राप्त अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएकोले रिट निवेदन खारेज हुने ।
(प्रकरण नं. ८)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभूनारायण चौधरी
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : विपक्षी भूमिसुधार कार्यालयको ०३७।३।७।६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ ।
२. तथ्य यस प्रकार छ : निवेदकका सँगोलका बाबुका नाउँमा जम्मा जग्गा विगाहा १–३–० को १ नं. लगत भरी २ नं. लगत प्रकाशन भएको हाल नापीमा निवेदक जग्गाधनी भएको लोहर पट्टि गा.पं. वडा नं. ६ (क) कि.नं. ४७ को ०–६–० वार्ड नं. ७ कि.नं. ३१५ को १–९–० मध्ये ०–९–० समेत जग्गा जोती आएको मोही प्रमाण पाउँ भन्ने दिल महमद शेषको वादी विपक्षीले मेरो जग्गा कमाई आएको छैन भन्ने निवेदकको प्रतिवाद भएकोमा वादीले १ नं. लगत भरी २ नं. लगत प्रकाशन भई जग्गाधनीको दर्ता प्रमाणपूर्जामा निजको नाम अंकित भएकोले भू.सं.ऐन, २०२१ नियम ९(१) बमोजिम ३ नं. मोहियानी हकको स्थाई प्रमाणपत्र दिने ठहर्छ भन्ने भूमिसुधार कार्यालय महोत्तरीबाट ०३७।३।७।६ मा निर्णय भएको रहेछ ।
३. उक्त निर्णय बदर गराइपाउँ भनी यस रिट निवेदनमा लिएको जिकिरहरू यस प्रकार छन । विपक्षीले जगरनाथ ठाकुरको नामको जग्गाको १ नं. अनुसूची भरेको र २ नं. अनुसूची समेत प्रकाशित भएको भन्दै दावी बमोजिमको प्रमाणमपत्र दिने निर्णयमा पुगेको देखिन्छ । यस अवस्थामा सर्वप्रथम विपक्षी अधिकारीबाट दावीको जग्गाको दर्ता श्रेस्ता बुझी मात्र निर्णयमा पुग्नु पर्नेमा वास्तविक प्रमाणको छानविन नै नगरी सम्बन्धी प्रमाण नै नबुझी न्यायिक मनको सर्वथा अभावमा निर्णय गरिएको बदरभागी छ । २ नं. अनुसूची प्राप्त गरेको भन्दै जुनसुकै व्यक्तिको जग्गामा पनि मोहियानी हकको दावी गर्न सकिँदैन । विपक्षीले मेरो जग्गाको १ नं. अनुसूची भरेको र २ नं. अनुसूची प्रकाशित गरेको छैन । नापीमा मेरो कि.नं. ४७ र कि.नं. १३३ मा भूलबाट विपक्षीको नाम फिल्डबुकमा अंकित भई मेरो जग्गाधनी प्रमाणपूर्जामा समेत उल्लेख हुन गएको कारणबाट नाजायज फाइदा उठाउन सक्छु कि भनी दावी गर्न आउनु भएका हो भन्ने समेत उल्लेख गरेको रहेछ ।
४. विपक्षीहरू बाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने ०३७।५।२०।६ को सिङ्गलबेञ्चको आदेश ।
५. विपक्षी दिल महमद शेषको लिखितजवाफमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) अनुसार मोहीको हैसियतले मैले रामरत्न ठाकुरको जग्गा निजका पिता जगनाथबाट प्राप्त गरी कमाउँदै आएको हुँ । जग्गाधनी प्रमाणपूर्जामा पनि मेरो नाउँ भरिएको छ, १ नं. लगत भरी नियम ६ बमोजिमको लगत प्रकाशन भएको सो लगतमा चित्त नबुझे नियम ७ बमोजिम उजूर गर्न सक्नु पर्ने सो समेत नगर्नु भएबाट म मोहीकायम हुने स्थिति अनुरूप नै भूमिसुधार अधिकारीले मलाई मोहीको प्रमाणपत्र प्रदान गर्नुभएको भन्ने जिकिर लिएको रहेछ ।
६. विपक्षी भूमिसुधार कार्यालय महोत्तरीको लिखितजवाफमा भूमिसम्बन्धी ऐन र तत्...सम्बन्धी नियमहरूमा व्यवस्था भएको प्रकृया अनुसार तयार भएको १ नं. मोहीको लगत प्रकाशित भएको २ नं. अनुसूचीमा उल्लेख भएको जग्गा नै रिट निवेदकको नाममा दर्ता भएको र दिल महमद शेषले मोहीको हैसियतबाट जोती आएको कुरा नापजाँच ऐनबमोजिम खडा भएको श्रेस्ता र जग्गाधनीले पाएको प्रमाणबाट समेत प्रष्ट हुन्छ । त्यस्तोमा अधिकार प्राप्त अधिकारीबाट बुझ्नु पर्ने प्रमाण बुझी भएको निर्णयले कानूनको हक हनन् भयो भन्ने बेमनासिव हो भन्ने समेत जिकिर लिएको रहेछ ।
७. निवेदकतर्फका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले विपक्षी दिल महमद शेषले जगरनाथ ठाकुरको नामको जग्गाको १ नं. अनुसूची भरेको र २ नं. अनुसूची प्रकाशित हुँदैमा निवेदकका नाउँको जग्गाको मोही प्रमाणपत्र बनाउने भूमिसुधार कार्यालयको निर्णय बदर गरिनु पर्छ भन्ने र विपक्षी दिल महमद शेषको तर्फबाट विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले निवेदकका एकाघरका बाबु जगरनाथका पाला देखि मोही भई कमाई आएको र जग्गा नापजाँच हुँदा जग्गाधनीको नाममा निवेदक र मोहीको नाममा दिल महलद शेष कायम भई जग्गा दर्ता श्रेस्ता खडा भएकोमा मोहीको प्रमाणपत्र दिने गरेको भूमिसुधार कार्यालय महोत्तरीको निर्णय कानून अनुरूप नै छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
८. यसमा विद्वान अधिवक्ताहरूको बहस समेत सुनी प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा भूमिसम्बन्धी ऐन, २०२१ को नियम ६ अनुसार विपक्षीका नाउँमा २ नं. अनुसूची प्रकाशित भएकोमा नियम ७ अनुसार निवेदकको विरोध नपरेको र उक्त अनुसूची समेतको आधर लिई सबूत प्रमाणको मूल्यांकन गरी अधिकार प्राप्त अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएकोले प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमबमोजिम बुझाई दिनु ।
म सहमत छु ।
प्र.न्या. नयनबहादुर खत्री
इति सम्वत् २०३७ साल चैत्र १२ गते रोज ४ शुभम् ।