शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४४८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २३ साल: २०३८ महिना: असार अंक:

निर्णय नं. १४४८  ने.का.प. २०३८       अङ्क ३

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३६ सालको रि.फु.नं. ४८

आदेश भएको मिति : २०३८।२।२।६ मा

 

निवेदक : जिल्ला धनुषा तारिपट्टि सिरसिया गा.पं. वडा नं. १ बस्ने दुखरन साहु हलुवाईको हकमा ऐ, तुल्सी साहु हलुवाई

विरुद्ध

विपक्षी : जनकपुर अञ्चल अदालतका अञ्चल न्यायाधीश श्री केशवप्रसाद उपाध्याय समेत

 

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

 

(१) जग्गा खिचोला पर्न आएको कुरामा उजूर गर्ने हदम्याद जग्गा मिच्नेका १८ नं. बमोजिम प्रतिवादीले प्रमाणपूर्जा लिएकोबाट दर्ता गरेको फिराद हदम्याद भित्र नै दर्ता भएको हुँदा खारिज गर्न नमिल्ने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट :

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय विद्वान अधिवक्ता श्री दमन ढुंगाना

आदेश

       प्र.न्या. नयनबहादुर खत्री : सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।८।२५ को निर्णय दोहर्‍याई पाउँ भनी निवेदकले श्री ५ महाराजाधिराज सरकारका हजुरमा न्यायिक समिति मार्फत चढाएको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने मौसुफ सरकारबाट हुकुम बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाका संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ वादी दुखरन साहु हलुवाई प्रतिवादी धनेश्वर यादवको धनुषा जिल्ला सखुवा गा.पं. वडा नं. २(ङ) कि.नं. ११७ को ०१६२ जग्गाको दर्ता बदर मुद्दा धनुषा जिल्ला अदालतमा दायर भई कारवाही चलेकोमा वादीको फिराद म्याद भित्रको नभएको भनी उक्त जिल्ला अदालतबाट खारेज हुने गरी निर्णय भएकोमा सो खारेज फैसला बदर गरी इन्साफ तहकिकात गर्न शुरूमा मिसिल पठाउने गरी जनकपुर अञ्चल अदालतबाट फैसला भए उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी धनेश्वर दयाल यादवको मध्यमाञ्चल क्षेत्रीय अदालतमा निवेदन परेकोमा पुनरावेदन गर्ने अनुमति प्राप्त नभए उपर निज धनेश्वर दयाल यादवको यस अदालतमा रिट निवेदन पर्न आएको रहेछ ।

       २. अञ्चल अदालतको निर्णय वादी दावाभन्दा बाहिर रहेकोले अ.बं.१८४ क.१८५ र १८९ को विपरीत छ । दुखरन साहुले ०२४ सालमा नै नापी भएको कुरालाई लिएर २०३१ सालमा नालिश गर्न पाउने होइन नापीबाटै खिचोला भएको ठहर्छ भन्ने कुरा सम्मानीत सर्वोच्च अदालतबाट ने.का.प, २०३० पृष्ठ ३०२ मा समेत प्रतिपादित सिद्धान्तले प्रष्ट गरेको छ सोको विपरीत अञ्चल अदालतको निर्णय प्रत्यक्ष त्रुटिपूर्ण छ । जग्गा दर्ता धनी प्रमाणपूर्जाको मितिले २ वर्ष म्याद गणना गर्न पाउने होइन । सो फिराद जग्गा नापजाँच ऐन, २०१९ मा व्यवस्थित म्याद भित्रको छैन । स्वयं क्षेत्रीय अदालतले ओमहरिराज भण्डारी विरुद्ध जयबहादुर पाण्डेका जग्गाखिचोला मुद्दामा ०३३।१२।५ मा गरेको निर्णय विपरीत छ । चलितर दासलाई राम चरित्रयादव सम्झी धनेश्वरको बाबु ठहराएको आधारमा अञ्चल अदालतले गरेको निर्णयमा भ्रमात्मक तथा न्यायिक मनको अभाव रहेको सिद्ध छ भन्ने समेत धनेश्वर दयाल यादवको रिट निवेदन जिकिर ।

       ३. ०३४।३।२२ को डिभिजन बेञ्चको आदेश अनुसार प्राप्त भएको विपक्षीहरूको लिखितजवाफमा निम्न बमोजिम जिकिर लिइएको छ : रिट निवेदनमा उल्लेख गरिएको नजीरहरू यसमा मिल्दो देखिँदैन कानूनको परिधिमा रही कानूनबमोजिम दिएको आदेशमा कुनै पनि त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालको जग्गा नापजाँच ऐन, २०२९ बमोजिम ४५ दिनभित्र उजूर नगरेको भनी शुरूले खारेज गरेको इन्साफ मिलेको नदेखिएकोले सो फैसला बदर गरी दिएको कानूनबमोजिम भए गरेकै हुनाले यस अदालतबाट भएको फैसला बदर हुनुपर्ने भन्ने जिकिर साँचो नहुँदा रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने समेत जनकपुर अञ्चल अदालतको अधिकार प्राप्त अदालतले गरेको निर्णय फैसला अन्तिम आदेश उपर पनि बेइमान पनाको आफूले जग्गा खरीद गरेको कागज अदालतको आदेशानुसार दाखिल समेत नगरी अदालतलाई अवरोध गर्ने व्यक्तिलाई मौका मिल्न जाने र न्यायिक मनले कानूनी आधारमा गरेको फैसलालाई रिटको निवेदन लाग्ने होइन भन्ने समेत दुखरण साहु हलुवाईको लिखितजवाफ ।

       ४. ०२४ सालमा नै निवेदक धनेश्वर दयालले विवादास्पद जग्गा सर्भे नापीमा दर्ता गराएको छ उक्त म्यादबाटै हदम्यादको गणना हुनुपर्नेमा जग्गाधनी दर्ता प्रमाणपूर्जा पाएको मितिबाट हदम्याद गणना गरी दुखरण साहु हलुवाईको उजूरीलाई हदम्याद भित्रको ठहर्‍याई इन्साफ तहकिकात गर्न जिल्ला अदालतमा मिसिल पठाउने गरेको जनकपुर अञ्चल अदालतको इन्साफ त्रुटि नभएको भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ त्रुटिपूर्ण देखिँदा उपरोक्त फैसला आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी दिने ठहर्छ भन्ने समेत ०३५।८।२५ को डिभिजन बेञ्चको आदेश ।

       ५. प्रस्तुत मुद्दा दोहोर्‍याई दिनु भन्ने हुकुम प्रमांगी साथ संलग्न न्यायिक समितिको सिफारिश पर्चामा विवादास्पद जग्गा ०२४ सालको सर्भे नापीमा दर्ता हुने राम चलितरको छोरा सर्सिया वार्ड नं. ५ बस्ने धनेश्वर यादवले मेरो जग्गा होइन भुलले मेरो नाउँमा दर्ता भएको लगत कट्टा गरिपाउँ भनी कागज गरी भूमिप्रशासन कार्यालय धनुषाको निर्णयले ०२९।५।१ मै लगत कट्टा भएको र यी निवेदक दुखरण साहुले मेरो जग्गा ०२४ सालको सर्भे नापीमा राम चलितरको छोरा धनेश्वर यादवले दर्ता गराए भनी २०२५ सालमै सर्भे डोरमा उजूरी निवेदन गरेको भन्ने धनुषा जिल्ला अदालतको निर्णयमा उल्लेख भएको देखिन्छ । उक्त अनुसार बदर भइसकेको दर्ता उपर उजूर गर्नुपर्ने स्थिति रहेको देखिन आउँदैन उक्त सर्भे नापीमा दर्ता हुने वार्ड नं. ५ को धनेश्वरको दर्ता बदर भएको र विपक्षी रिट निवेदक वार्ड नं. ३ बस्ने धनेश्वर दायलले आफ्नु उजूरी बयान र रसीदमा लेखिएको भन्दा बढी भएकै कि.नं. ११७ को जग्गा ०१४ अरूले दावी गर्न आएमा छाडिदिने शर्त राखी कागज गरी उक्त कि.नं. ११७ को सबै जग्गा दर्ता गराएको र सो दर्ता उपर निजले दर्ता गराएको ०२९।५।१ का मितिले मुलुकी ऐन जग्गा मिच्नेको १८ नं. को म्याद २ वर्षभित्र निवेदक दुखरण साहु हलुवाईको विपक्षी वडा नं. ३ बस्ने धनेश्वर दयाल यादवको नाउँमा दर्ता भएको विवादास्पद जग्गाको दर्ता बदर गरी मेरो नाउँमा कायम गरिपाउँ भनी गरेको उजूर म्याद भित्रको होइन भन्न सकिने देखिएन भन्ने उल्लेख भएको रहेछ ।

       ६. विपक्षी मध्यमाञ्चल क्षेत्रीय अदालततर्फबाट खटी उपस्थित हुनुभएका विद्वान वरिष्ठ सरकारी अघिवक्ता श्री केदारनाथ उपाध्याय तथा विपक्षी धनेश्वर दयाल यादवको तर्फका विद्वान अधिवक्ता श्री दमन ढुंगानाको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा डिभिजन बेञ्चले गरेको निर्णय मिले नमिलेको के हो निर्णय दिनु पर्ने हुन आएको छ ।

       ७. यसमा विवादको जग्गा ०२९ साल भाद्र ५ गतेमा धनेश्वर यादवले जग्गा प्रमाण समेत पाई सकेको भनी बदर हुन नसक्ने गरी ०३०।११।२२ मा भू.प्र.बाट निर्णय भयो । नापी हुँदा मेरो हक नरहेकोले मेरो नाउँमा सर्भे नापी हुन सकेको हो विपक्षी धनेश्वर यादवको दर्ता बदर गरी मेरो नाउँमा दर्ता गराई पाउँ भन्ने प्रस्तुत रिटको विपक्षी दुखरन साहु हलुवाइको फिराद परेकोमा ०२४ सालमा सर्भे भएको कुरालाई लिएर ६ वर्ष पछि नालिश लाग्न नसक्ने भन्ने धनेश्वर यादवको कुरालाई नै खम्बीर गराई धनुषा जिल्ला अदालतले गरेको फैसला बदर हुन्छ भनी जो बुझ्नु पर्ने प्रमाण बुझी इन्साफ तहकिकात गर्न शुरूमा पठाइने ठहराई जनकपुर अञ्चल अदालतबाट फैसला भएको छ जनकपुर अञ्चल अदालतको फैसलामा कानूनी त्रुटि रहेको छ, भनी धनेश्वर दयाल यादवले रिट निवेदन दर्ता गरेको क्रममा २०२४ सालबाटै हदम्यादको गणना गर्नु पर्ने हुनाले अञ्चल अदालतको फैसला बदर गर्न उत्प्रेषणको आदेश जारी गर्ने भनी डिभिजन बेञ्चबाट फैसला भएको छ ।

       ८. उक्त फैसलामा त्रुटि दर्साउँदै मुद्दा दोहोर्‍याउन निमित्त न्यायिक समितिबाट जाहेर गरेकोमा नेपालको संविधानको धारा ७२ ख बमोजिम श्री ५ महाराजाधिराज सरकारबाट मुद्दा दोहोर्‍याई दिने हुकुम बक्से अनुसार यो मुद्दा फुल बेञ्चमा पेश भएको छ र यसमा दुखरन साहु हलुवाइको फिरादपत्र नालिश गर्ने हदम्याद भित्र परेको छ छैन भन्ने कुरामा जनकपुर अञ्चल अदालत क्षेत्रीय अदालतको र डिभिजन बेञ्चको राय फरकफरक भएको आधारले कुन मितिमा यो मुद्दा गर्नुपर्ने कारण परेको हो र कुन ऐनले नालिश गर्ने हदम्याद कति हुन्छ भनी निर्णय गर्नु परेको छ आफ्ना हकको जग्गामा अरूले खिचोला गर्न आएको मुद्दा जग्गा मिच्नेका १८ नं. बमोजिम नालेस लाग्ने कुरामा दुइमत देखिन आएन त्यस्तो खिचोला गरेको मिति कुन हो भनी नापी गरेका बखत २०२५ सालमा सर्भे डोरमा दुखरन साहु हलुवाइले उजूर गरेको देखियो । धनेश्वरको उजूरबाट नापीमा दर्ता गराउने धनेश्वरको नाउँ खारेज भई विपक्षी धनेश्वरको नाउँमा दर्ता प्रमाणपूर्जा गरेको कारणले आफ्नु जग्गामा खिचोला गर्ने यही दर्तावाला धनेश्वर हुन आएको हुँदा र त्यस्तो पूर्जा पाएकैबाट विपक्षका धनेश्वरले हक गर्न पाएको देखियो साथ साथै धनेश्वर यादवको नाउँमा प्रमाणपूर्जा दिएपछि प्रस्तुत मुद्दा गर्नुपर्ने कारण हुन आयो जग्गामा खिचोला पर्न आएको कुरामा उजूर गर्ने हदम्याद जग्गा मिच्नेका १८ नं. बमोजिम प्रतिवादी धनेश्वर यादवले ०२९।५।१।४ मा प्रमाणपूर्जा लिएकोबाट ०३१।१।२४।३ मा दर्ता गरेको यो फिराद हदम्याद भित्र नै दर्ता भएको हुँदा खारेज गर्न मिल्दैन जनकपुर अञ्चल अदालतबाट तहकिकात गर्ने ठहराएको मनासिव छ । यस अदालतको डिभिजन बेञ्चको निर्णय बमोजिम गर्नुपर्दैन । नियमबमोजिम गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या. हेरम्बराज, न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३८ साल जेष्ठ २ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु