शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४५३ - जग्गा खिचोला दर्ता बदर

भाग: २३ साल: २०३८ महिना: असार अंक: ३

निर्णय नं. १४५३    ने.का.प. २०३८                        अङ्क ३

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३७ सालको दे.पु.नं.      २२२

फैसला भएको मिति : २०३८।१।१७।४ मा

पुनरावेदक : पाँचथर उमलाबुङ गा.पं. वडा नं. २ बस्ने ललितमान लिम्बुको मु.स.गर्ने लिलानाथ लिम्बु

विरुद्ध

विपक्षी : ऐ.ऐ. वडा नं. ८ बस्ने नरबहादुर लिम्बु समेत

मुद्दा : जग्गा खिचोला दर्ता बदर

(१)   विभिन्न प्रतिवादीहरू उपर एउटै चारकिल्लाभित्रको जग्गालाई लिई फिराद गरेको एउटै झगडाको विषय देखिएकोले उक्त फिरादपत्रबाट सबै प्रतिवादीहरू उपर इन्साफ गर्न मिल्ने नै नदेखिने ।

(प्रकरण नं. १२)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

फैसला

            प्र.न्या. नयनबहादुर खत्री : पूर्वाञ्चल अदालतबाट भएको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको छ ।

            २.    १९८० सालमा मेरा नाउँमा माटो मुरी ४८ मा दर्ता भएको लिमु खोला पश्चिममा मावा डाँडा देखिन तिङग दिङ जाने ठाडो बाटो पूर्व थुम्को डाँडा चुचे ढुंङगा उत्तर यति ४ किल्ला भित्रको धानको ब्यू पाथी २६। जाने उब्जा मुरी ५०। हुने दर्ता तिरो रू.८। लाग्ने पुवा दोभान कुडले भन्ने रैकर जग्गामा २०२१ सालमा प्र.मध्य तिलकबहादुर समेतसँग जग्गा खिचोला मुद्दापरी ०२६।११।१।५ मा स.अ.बाट समेत अन्तिम फैसला भई जिति पाएको । उक्त जिति पाएको केही जग्गा बाँकी राखी झगडा परेको जग्गाको पश्चिम उत्तर कुना पुरानो दोभान जग्गालाई विपक्षीहरू मिली ५ कित्ता पारी ०३२ सालको सर्भे नापीमा जिम्मावालाको रसीद प्रमाण बनाई रानी गाउँ गा.पं.वार्ड नं. ७ च.को कि.नं. २६ प्र.नरबहादुरको नाउँ कि.नं. २७ तिलकबहादुर कि.नं. २८ भुवान सिं.वनबहादुर कि.नं. २९ रामबहादुर, रामप्रसाद कि.नं. ३० सर्वजित ऐन राज समेतका नाउँमा दर्ता गरेकोले दर्ता बदर गरी खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिराद ।

            ३.    फिराद दावी बमोजिम वादीले स.अ.बाट जिति पाएको जग्गा हामीले दर्ता गराएको समेत छैन । सो जग्गा वादीको नाममा दर्ता भएको छुट्टै छ । चुचे ढुड्डा फुटुवा द्रगार देवीथान थुम्की पश्चिम पट्टिको जग्गा जितबहादुरको शेषपछि म तिलकबहादुर र मनबहादुरको शेषपछि म नरबहादुर समेतको बराबर हक पुग्ने जग्गा हुँदा समेत नापीमा कि.नं. २७ को जग्गा तिकबहादुरको नाममा र कि.नं. २६ को जग्गा नरबहादुरको नाममा साहुको थैली तिरी उकास गरी आएको हुँदा हाम्रा नाउँमा दर्ता गरेको हो भन्ने समेत नरबहादुर लिम्बु र तिलकबहादुर लिम्बुको संयुक्त प्रतिउत्तर ।

            ४.    वादी दावीको जग्गा निजको नाममा १२ रोपनी दर्ता हुनुपर्छ । रानीगाउँ गा.पं.वार्ड नं. ७ (च) कि.नं. २८, २९, ३० को जग्गा हाम्रो जिजु बाजे जसपतिका नाउँमा ५० सालमा अर्थ सिंह जम्मा तिरी रू.३। मा दर्ता भएको जग्गा हाल सर्भेमा कि.नं. २८ मा भुवान सिंह कि.नं. २९,३० मा ऐतराज, सर्वजित रामबहादुर, रामप्रसाद समेतले दर्ता गराएको हो । वादीको हकपुग्ने जग्गा दर्ता गराएको होइन भन्ने समेत रामबहादुर लिम्बु समेतको प्रतिउत्तर ।

            ५.    प्रतिवादीहरूले चुचे ढुंड्डा फुटुवा ढुंड्डा र थुम्की डा“डा देवी थान देखि पूर्वपट्टिको वादीको र पश्चिम पट्टिको हामीहरूको जग्गा भनी जिकिर लिएको देखिएबाट झगडा परेको जग्गा पूखा खोला देखि कुन दिशामा पर्छ भनी वादीको वारेसलाई कागज गराउँदा पश्चिम पट्टि पर्छ भनी लेखि दिएको देखिएको र नक्सा नं. २२ को उत्तर पश्चिमपट्टि पुरानो दोभान देखिएको सो दोभान देखि पूर्व दक्षिणको जग्गासम्म वादीले स.अ.को फैसलाले जिति पाएको पुखा खोला पश्चिम पट्टिको जग्गा वादीले जितेको नदेखिएको सो खोला देखि पश्चिम पट्टिको जग्गालाई सोही नक्सामा नं. ३० मा सु.दैवमानले भागेको भन्ने र नं. ३१ मा सुभराजको भाग भनी जनिएको नं. ३२ मा वादीको भनाई जंगबहादुर कै किपट भनेको देखिएकोले समेत पुखा खोला देखि पूर्व निमु खोला देखि पश्चिमको वादीको जग्गा खडा छदाछँदै पुखा खोला पश्चिम हाल झगडा परेको जग्गा वादीको देखिन आएन । जग्गा खिचोला मेटाई दर्ता बदर गरी चलन चलाई पाउँ भन्ने वादीको दावी पुग्न सक्तैन । वादीले प्रतिवादी उपर झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत ०३३।३।२ को पाँचथर जिल्ला अदालतको फैसला ।

            ६.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीले मेची अञ्चल अदालतमा चढाएको पुनरावेदन ।

            ७.    १९८० को दर्ता उत्तार हेर्दा ललितमानले विराएको निमुखोला पश्चिम तिङ दिङ जानेबाटो देखि पूर्व चुचे ढुंङा र निज सुब्बाको स्वारा देखि उत्तर यामावा डाँडा देखिन यति ४ किल्ला भित्रको पुखा खोला दोभान खेत माटो मुरी ४८ भनी लेखिएको देखिएकोमा उक्त ४ किल्ला भित्रको ०२२।१०।१ मा भएको नक्साको नं. २२ को जग्गा निजै वादीको रैकर भित्रको ठहरी ०२६।११।१५ मा स.अ.बाट फैसला पनि भइरहेको प्रतिवादीहरूले सो फैसला बदर गराउन नसकेको समेत कारणले जग्गा खिचोला मेटा दर्ता बदर गरी चलन चलाई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहराएको शुरूको इन्साफ गल्ती ठहर्छ भन्ने समेत ०३२।१२।८ को मेची अञ्चल अदालतको फैसला ।

            ८.    सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी नरबहादुर लिम्बु समेतले पूर्वाञ्चल क्षेत्रीय अदालतमा चढाएको निवेदनमा अनुमति प्राप्त भई “प्रतिवादी नरबहादुरका हकमा निर्णय गर्न मिल्ने अन्य प्रतिवादीहरूका हकमा फिराद दावी अ.बं.७२ नं. को प्रतिकूल देखिँदा निजहरूका हकमा ३५ दिनभित्र पृथक–पृथक नालिश गर्नु भनी वादीलाई सुनाई दिने प्रतिवादी नरबहादुर लिम्बुका हकमा मेची अञ्चल अदालतको फैसला उपर परिरहेको पुनरावेदन अन्य प्रतिवादीहरू उपरको नालिश अ.बं.७२ नं. को प्रतिकूल भई खारेज भएकोले पृथक–पृथक नालिश परी पुनरावेदन तहबाट यस अदालतमा आए वा अवस्था नाघेपछि जगाई कार्वाही गर्न मुल्तवीमा राख्ने ठहर्छ भन्ने समेत ०३६।७।२१ को पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

            ९.    उक्त फैसला उपर चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीले यस अदालतमा चढाएको निवेदनमा प्रतिवादी नरबहादुरका हकमा अ.बं.७२ नं. को व्यवस्थाले मुल्तवी राख्ने व्यवस्था गरेको देखिन नआएको हुँदा प्र.नरबहादुरका हकमा कानूनबमोजिम फैसला गर्नु पर्ने नगरी मुतलबी राख्ने गरी गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला कानूनको त्रुटि गरी निर्णय गरेको देखिन आयो । सो सार्वजनिक महत्वको विषय समेत देखिन आएको हुँदा प्रस्तुत निवेदनमा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ” भन्ने समेत स.अ.डिभिजन बेञ्चको आदेश ।

            १०.    वादी लिलानाथ लिम्बु प्रतिवादीको वारेर भोलाप्रसादलाई रोहवरमा राखि वादीतर्फका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती तथा प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नुभएको बहस समेत सुनियो ।

            ११.    १९८० सालमा मेरो नाउँमा माटो मुरी ४८ मा दर्ता भएको निमु खोला पश्चिम यामावा डाँडा देखिन तिङ दिङ जाने ठाडोबाटो पूर्व थुम्की डाँडा चुचेढुड्डा उत्तर चारकिल्ला भित्रको पुरवा दोभान कुडुले भन्ने रैकर जग्गामा प्र.मध्येका तिलकबहादुर समेतसँग जग्गा खिचोला मुद्दा परी स.अ.बाट समेत अन्तिम फैसला भई जिति पाएको उक्त जग्गामा केही जग्गा बाँकी राखी झगडा परेको जग्गाको पश्चिम उत्तर कुना पुरानो दोभान जग्गालाई विपक्षीहरू मिली ५ कित्ता पारी दर्ता गरी खिचोला गरेकोले दर्ता बदर गरी खिचोला मेटाई पाउँ भन्ने समेत फिराद परेकोमा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट प्रतिवादी नरबहादुरका हकमा निर्णय गर्न मिल्ने अन्य प्रतिवादीहरूका हकमा फिराद दावी अ.बं.७२ नं. को प्रतिकूल देखिँदा निजहरूका ३५ दिनभित्र पृथक–पृथक नालेस गर्नु भनी वादीलाई सुनाई दिने । प्रतिवादी नरबहादुर लिम्बुका हकमा मेची अञ्चल अदालतको फैसला उपर परिरहेको पुनरावेदन अन्य प्रतिवादीहरू उपरको नालिश अ.बं.७२ नं. को प्रतिकूल भई खारेज भएकोले पृथक–पृथक नालिश परी पुनरावेदन तहबाट यस अदालतमा आए वा अवस्था नाघेपछि जगाई कारवाई गर्नै मुल्तवीमा राख्ने ठहर्छ भन्ने फैसला गरेको पाइन्छ ।

            १२.   यसमा वादी दावीको चारकिल्ला भित्रको जग्गामा विभिन्न प्रतिवादीहरूले भिन्न भिन्न कित्ता दर्ता गराई खिचोला गरे भन्ने उल्लेख छ । मुलुकी ऐन अ.बं.७२ नं. ले एउटै “फिरादपत्रमा एउटै मानिसले एउटै मानिस उपर जतिसुकै झगडाको विषयको कुरा लेखी ल्याएको र जतिसुकै मानिसले जतिसुकै मानिस उपर एउटै झगडाको विषयको कुरा लेखी ल्याएको भए पनि लिई सो बमोजिम सबै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नुपर्छ” भन्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा वादीको दावी नै उक्त ऐन अनुसार विभिन्न प्रतिवादीहरू उपर एउटै चारकिल्ला भित्रको जग्गालाई लिई फिराद गरेको एउटै झगडाको विषय देखिएकोले उक्त फिरादपत्रबाट सबै प्रतिवादीहरू उपर इन्साफ गर्न मिल्ने नै देखिन्छ । वादी दावी अ.बं.७२ नं. को प्रतिकूल हुँदा पृथक–पृथक नालिश गर्नु भनी वादीलाई सुनाई दिने भन्ने र नरबहादुर लिम्बुको हकमा उक्त ऐनले मुल्तवी राखेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । अब जो जे बुझ्नु पर्ने बुझी कानूनबमोजिम निर्णय गर्नु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु, कोर्टफीको हकमा क्षेत्रीय अदालतमा परेको पुनरावेदन किनारा हुँदा ठहरे बमोजिम हुने भएकोले हाल केही गर्नु परेन । रेकर्ड मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३८ वैशाख १७ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु