शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३११ - लिखत बदर गरी जग्गा थामी पाउँ

भाग: साल: २०२३ महिना: बैशाख अंक:

निर्णय नं. ३११            ने.का.प. २०२३

फुल बेञ्च

माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

माननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री कालीप्रसाद उपाध्याय

२०२२ सालको दे.फु.नं.१४५

प्रतिवादी : नथुनिया तेली समेत

विरुद्ध

विपक्षीको : जादोलाल तेली

मुद्दा : लिखत बदर गरी जग्गा थामी पाउँ

(१)   विदेशीसँग विवाह भएमा यस सरहदको जग्गा राजिनामा गराई लिन पाउने अवस्था ।

            प्र.हरू यसै सरहदमा जन्मेको कुरा देखिएकै छ । विदेशीसँग निजहरूको बैवाहिक सम्बन्ध भए तापनि यसै सरहदमा आई बसेको भनी प्र.हरूले जिकीर गरेको कुरा रजिष्ट्रेशन पास भएको लिखितमा मुदरी पनामाको वतन यसै सरहदमा लेखिएको र निजहरूका नामको म्याद पनि यसै सरहदमा तामेल भएकोले समेत पुष्टि गरेको छ ।

(प्रकरण नं. १६)

(२)   तत्कालिन अदलको २१ (५) नं.हाम्रा मुलुकका रैयत बिराना मुलुकमा बसेका बखत जन्मेका सन्तान मुलुकमा आई बसेका र बस्नेले जग्गाहरू लिन अधिकार प्रदान गरेकै ।

            तत्कालीन अदलको २१ नं.को ५ दफामा हद भएको बाहेक हाम्रा मुलुकका रैयतहरू बिराना मुलुकमा गए बसेका बखतमा जन्मेका सन्तानहरू हाम्रा मुलुकमा आई बसेका र बस्नेले पनि जग्गाहरू लिएको सदर हुन्छ भन्ने लेखिएको छ । यसै सरहदमा आई बस्छ भन्ने विदेशमा जन्मेको भए पनि यसै सरहदमा आइ बसेका छन भने, वंशजको नाताले र बासस्थानको कारणले यसै सरहदको जग्गा उपभोग गर्न दिन कानूनले रोकेको थियो भन्ने देखिंदैन । तसर्थ, उपरोक्त कारणहरूबाट इन्साफ ०२२।७।२६।५ को डिभिजन बेञ्चको मनासिव ठहर्छ ।

 (प्रकरण नं. १७)

प्रतिवादी तर्फबाट : प्लीडर कृष्णबहादुर श्रेष्ठ

आदेश

      १.     नथुनी मेरो जेठा बाबु पनि भएको र मलाई निजले धर्मपुत्र समेत राखेको । सो धर्मपुत्रको घरसारको कागज ०१० साल माघमा आगलागी हुँदा जली ०१५ साल आषाढ २५ गते मुदरीको लोग्ने लखन सा र पनमाको लोग्ने असरफी सा समेत सबगाढामा आई नथुनीको स्वास्नी घोधरीको मलाई अर्थात म लखनको स्वास्नी मुदरीको नाउँमा मौजे सबगाढाको ३५९ केसर बरसे पूर्व के ऽ४।।३ नं.३९२ काहिर से दक्षिण के ऽ१।२ नं.३७७ से खदरगाहि से उत्तर के ऽ२।।। नं.२७८ कमल सो उत्तर के ।ऽ। नं.२८० कमल से उत्तर के ऽ३ऽ४ समेत कित्ता ५ के जग्गा बिगहा ।।२ऽ४ फार्छे लेखीदिएकोले अब सो जग्गा म आवाद गर्छु भनी लखनले र नं.२८२ कमल सो उत्तर के ।ऽ। नं.३५९ सरवरसे पूर्व के ऽ४।।३ नं.३९३ केवर सो दक्षिण के ऽ१।२ नं.३९४ ऐन कित्ता से पूर्व के ऽ२।।। नं.२८९ के ऐ.कित्तासे पूर्व के ।ऽ।। नं.२८३ के कमल सो पश्चिम के ऽ४।३ समेत कित्ता ६ छ के जग्गा विगाहा १ऽ३।।।३ प्र.नथुनीको स्वास्नी घोधरीले मेरो स्वास्नी पनामालाई फार्छे लिखत गरी दिएकीले सो जग्गा म आवाद गर्छु भनी असरफी समेतले जग्गामा टन्टा लगाई दिएको र अन्यायीहरू भारततर्फको नागरिक भएकोले लिनु र बिक्री गर्नु नहुने लिखत बदर गरी सो लिखतको जग्गा म धर्मपुत्रको हकमा थामी पाउँ भन्ने समेत वादी ।

      २.    निज वादीलाई हामीले ल्याई धर्मपुत्र गराई घरमा राखेको पनि होइन । मेरो छोरी मुनरी पनमा विदेशी होइन । यसै सरहदमा मेरै घरमा जन्मेको र अहिलेसम्म मेरै गाउँ घरमा रहे बसेको हुँदा छोरीहरूकै नाउँमा फार्छे दिएको कुरामा विदेशीलाई दिएको भन्ने वादीको दावा उजुर पनि झुट्टा देखिएकै छ भन्ने समेत नथुनी समेतको प्रतिवादी ।

      ३.    हामीहरूको लोग्ने लखन असरफीहरू विदेशी होइनन । यसै सरहद सबगाढामै हामीहरूको सगोलमा बसेका छन । निज वादी जाडोलाल निजको बाबु मुसहरले दिएको मुद्दाहरू डिसमिस भएकोले यो मुद्दा अ.बं.का २२६ नं.का ऐनबमोजिम तहकिकात गर्न मनासिव नपर्ने हुँदा खारेज गरी पाउँ भन्ने समेत मुदरी समेतको प्रतिवादी ।

      ४.    ०४ साल भाद्र २५ गतेको लिखत भएको देखिनाले ०९ सालमा प्रकाशित भएको नेपाल नागरिकता ऐन प्रकाशित हुनु भन्दा अघिकै व्यवहार भएकोले अदलको २१ नं.को ऐनले लेखिएबमोजिम लिखत नै गर्न नपाउने भन्ने लेखिएको नहुँदा वादीका उजुरीबमोजिम लिखत बदर गर्न मनासिव नपर्ने समेत लेखिएको सबुद प्रमाणबाट वादीले झुट्टा उजुर गरेको ठहर्छ भन्ने समेत करटबन अमिनीको फैसला ।

      ५.    मेरो वादीदावीबमोजिम गरी पाउँ भन्ने समेत जाडोलालको अपील ।

      ६.    धर्मपुत्र राखी प्र.नथुनीले गरी दिएको धर्मपुत्रको कागज आगलागीमा परेकोले अर्को लिखत गराई पाउँ भनी वादी जाडोलालले प्र.नथुनी समेतका उपर दिएको मुद्दा ०१०।९।९ गते डिसमिस भैसकेको प्रमाण मिसिलबाट देखिनाले लिखत समेतको सबुद बेगर वादीको भनाइले धर्मपुत्रको हक कायम हुन नसक्ने हुनाले त्यसतर्फ वादीको दावी नपुग्ने ठहराई शुरुले छिनेको इन्साफ मुनासिवै देखिएको र विदेशीलाई विक्री गरेको बदर भई ऐनबमोजिम सजाय होस् भन्ने दावी तर्फ, भारततर्फका निवासी हुन भन्ने पनमा समेतको प्रतिवादी लेखाईबाटै देखिएको । नेपालको नागरिकता प्राप्त गरेको छ भन्ने प्रमाण दिन नसकेको । लिखतको व्यहोराबाटै विदेशीसँग विवाह भैसकेपछि पनमा मुदरी दुबैलाई बेचेको जमिन अब फैसलाले निजहरूको कायम गर्दा अदलको २१ नं.को ऐन बर्खीलाप हुन जाने गरी प्रतिवादीलाई जग्गा थामि दिने ठहराई शुरुले गल्ती इन्साफ गरेको देखिएकोले छलफललाई प्रतिवादीहरूलाई झिकाउँदा हाजिर नभई गुजारेकाले समेत दावीबमोजिम विदेशीलाई बेचेको देखिँदा पनमासँग सबगढाको २८३ नं.को जमिन ऽ४ कठ्ठा मुदरीबाट नं.२८० को जमिन ऽ३ऽ४ पछि १५ सालमा फेरि वापस गरी घोधरीले फार्छे गरी लिएको कटाई बाँकी विदेशी ठरहेको पनमा मुदरीलाई ०४।११।६ मा घोधरीले फार्छे गरी दिएको तपसीलबमोजिमको जग्गा बिगहा २ऽ१।। अदलका २१ नं.को ७ दफाले सदर नभई बदरै हुने र सरकार लाग्ने समेत ठहर्छ भन्ने समेत विरगञ्ज जिल्ला अदालतको फैसला ।

      ७.    म जाहेरवालाले कमिशन पाउनुपर्ने सो गरी नदिएको भन्ने समेत जाडोलालको अपील ।

      ८.    यो मुद्दा दण्ड सजायको १८ नं.बमोजिमको नभई धर्मपुत्रको नाताबाट पाउँ भन्ने अपीलाटको वादी दावी भएकोले अपील जिकीर पुग्न नसक्ने भएको र वादी अपीलाट जाडोलाललाई नथुनी साहु तेलीले धर्मपुत्र गरी दिएको लिखतपत्र पास भएको नदेखिएको । सो लिखत पनि आगलागीमा परेकोले अर्को लिखत गराई पाउँ भन्ने मुद्दा गरेको । उक्त मुद्दा ०१०।९।९।४ मा डिसमिस भएको प्रमाण निमित्त आएको मिसिलबाट देखिएकोले मुखको भनाईले मात्र धर्मपुत्र कायम गर्न नमिल्ने भएको र जग्गाको हकमा पनि मुग्लानीयालाई विक्री गरेको देखिएको । सरहदीया भन्ने प्रतिवादीले सबुद प्रमाण केही गुजार्न नसकेको र विरगञ्ज जि.अ.ले जग्गा सरकार लाग्ने गरेकोमा प्रतिवादीहरूले सो जि.अ.विरगञ्ज उपर अपील गर्न समेत नसकेको । शुरुको केही उल्टाई जि.अ.विरगञ्जले गरेको इन्साफ मनासिव छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।

      ९.    विदेशी नहुँदा लिखत बदर गरी, जग्गा सरकार लाग्ने गरेको जि.अ.को इन्साफमा चित्त बुझेन भन्ने समेत प्र.नथुनी समेतको अपील ।

      १०.    यसमा यो राजिनामा व्यवहार गरेको ०४ सालमा हुँदा त्यस बखत प्रचलित कानूनले सो व्यवहार सदर बदर के हुने हो ? भनी निर्णय गर्नुपर्ने भएकोमा तत्काल प्रचलित मुलुकी ऐन अदलको २१ नं.ऐन हेर्दा, बिराना मुलुकका चुनी रैतीले नेपाल सरकारको रैयत भई जग्गा आवाद गरी घरद्वार गरी बस्छु भने नेपाल सरकारको रैयत भई खान पाउने १ दफामा र बिराना मुलुकको मानिस नेपाल सरकारको मुलुकमा आई बसेपछि जन्मेको सन्तान नेपाल सरकारको रैयत ठहर्छ । त्यस्ताले १९ वर्ष उमेर पुगे पछि अचल किन्न दानबकस लिन समेत पाउँछ भन्ने ४ दफामा हाम्रा मुलुकका रैयत बिराना मुलुकमा गए बसेका बखत जन्मेको सन्तान हाम्रा मुलुकमा आई बसेमा अचल प्राप्त गर्न सक्छ भन्ने ५ दफामा उल्लेख भएकोबाट सरहदको जन्म हुनु अथवा सरहदमा आई बस्नु यी मध्ये कुनै एक शर्त पुरा भएको भए अचल प्राप्त गर्न सक्ने सो ऐनले व्यवस्था गरेको पाइन्छ र प्रतिवादी नथुनी घोधरीहरू परलोक भई अपुताली पर्‍यो भने त्यस बखत विदेश कै रैयत भए पनि सोही ऐनको दफा ६ ले अपुतालीमा दावा गर्न पाउने छोरा नाताको मुदरी पनामाहरू देखिएका छन । निज राजिनामा गराई लिने मुदरी पनामाहरू यसै सरहदमा जन्मेका भई राजिनामा लिखत हुँदाका बखत यसै सरहद जि.रौतहट प्र.झाझ दक्षिण मौजे सबगाढामा जन्म घर गरी बसेको भन्ने कुरा राजिनामा लिखतहरूमा लेखिएको र ०१६।५।१९।२ मा निजहरूको नाउँमा म्याद तामेल भएकोले सरहदमा जन्मी सरहदमा बसेको आफ्ना वृद्ध बाबु आमाको हक अचल उनीहरूका खुशीले दिएको राजिनामा गराई लिन नहुने । लिए दिएको बदर हुने भन्न उक्त कानूनले नमिल्नेमा ०९ सालको नागरिकता ऐन अनुसार सम्बन्ध बिच्छेद गरी प्रमाणपत्र नलिएको भनी लिखत बदर गर्ने गरेको जिल्ला अदालतको इन्साफ मिलेको नदेखिंदा वादीलाई राखी छलफल गर्नुपर्ने हुँदा अ.बं.२०२ नं.स.अ.नियमावलीबमोजिम नोटिस पठाई आएपछि या अवधि पुगेपछि नियमबमोजिम पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको आदेश ।

      ११.    तत्काल प्रचलित मुलुकी ऐन अदलको २१ नं.मा बिराना मुलुकका चुनी रैतीहरूले नेपाल सरकारको रैयत भई जग्गा आवाद गर्छु भनी घरद्वार गरी बस्न आउँछ भने सो घरद्वार गरी बस्न आउनेले जग्गा आवाद गरी नम्बर दर्ता गराई नेपाल सरकारको रैयत भई खान पाउँछ । आवाद गराउनेले बन्दोबस्त गरी दिई आवाद गराउन पनि हुन्छ । त्यस्तो रैतीले ५ वर्ष बाद अरु आवादी जमीन समेत आफ्ना नाउँमा नम्बरी दर्ता गराई खान पनि हुन्छ भन्ने समेत दफा १ मा बिराना मुलुकका मानिस हाम्रो नेपाल सरकारका मुलुकमा आई बसेपछि जन्मेको सन्तान नेपाल सरकारका रैयत ठहर्छ । त्यस्तोले सम्वत् १९९३ साल फागनु १ गते रोज ६ देखि अब उप्रान्त नेपाल सरकार भित्रको जिमीदारी जग्गा जमिन घर पसल औ बिर्ता समेत १६ वर्ष उमेर नपुगी लिन र दिनेले समेत दिन हुँदैन । १६ वर्षको उमेर पुगेपछि मात्र किन्न दान बकस लिन र दिनेले पनि दिन पाउँछ भन्ने समेत दफा ४ मा र हाम्रा मुलुकका रैयतहरू बिराना मुलुकमा गए बसेको बखतमा जन्मेका सन्तानहरू हाम्रा मुलुकमा आई बसेको र बस्नेले पनि रैकर बिर्ता जग्गा जमिन जिमिदारी घर पसल किने दान बकस लिएको सदर हुन्छ भन्ने र दफा ६ मा माथि दफा दफामा लेखिएका जग्गा जिमिदारी लिनेहरूको र यो ऐन जारी हुनु भन्दा अघि जग्गा जिमिदारी घर पसल लिनेहरूको अपुताली पर्‍यो र त्यो अपुतालीमा उसका मुगलानका रैयत ठहर्ने हकवालाहरूले अपुताली पाउँ भनी दावा गर्न आयो भने माथि दफा दफामा लेखिएबमोजिम नेपाल सरकारका रैयत भई बस्न कबुल गर्छ्रन भने आफ्ना नाउँमा दाखिल खारेज गराई तिरो भरो गरी खान पाउँछ भन्ने समेत उल्लेख भएको देखियो ।

      १२.   बिराना मुलुककै भए पनि नेपाल सरकारको रैयत भई घरद्वार गरी बस्न आउँछ भने जग्गा आवाद गरी नम्बरी दर्ता गराई खान समेत पाउने । नेपाल सरकारका मुलुकमा आई बसेपछि जन्मेको सन्तान नेपाल सरकारका रैयत ठहर्ने । त्यस्ताले उमेर पुगेपछि दान बकस लिन र दिनेले दिन समेत पाउने र मुगलानका रैयत ठहर्ने हकवालाले उक्त लेखिएबमोजिम अपुताली समेत पाउने उक्त अदलको ऐनले पूर्णतया हक प्रदान गरेकै छ । प्रस्तुत मुद्दामा लिखत हुँदा जिल्लै प्रगन्ना झाझ दक्षिण मौजे सबगढा जन्म घर गरी बस्ने लेखिएको र म्याद तामेल हुँदा पनि सरहदकै वतनमा तामेल भएबाट सरहदमा जन्मी सरहदमै घरद्वार गरी बसेको भन्ने देखिन आएकोले त्यस्तो सरहदमै जन्मी सरहदमै घरद्वार गरी बस्नेले आफ्ना वृद्ध आमा बाबुको हक अचल उनीहरूका खुशीले दिएको राजिनामा लिन नहुने लिए दिएको बदर हुन्छ भन्नु उक्त कानूनको बिपरीत हुन जाने भई सो लिखत सदरै हुने ठहर्छ । लिखत भएको अवस्थामा लागू भई नसकेको नागरिकताको ऐन, २००९ को दफा ४ र सोही दफाको उपदफा (ख) समेत लगाई लिखत बदर गर्ने र जग्गा सरकार लाग्ने भनी विरगञ्ज जिल्ला अदालतले गरेको इन्साफ कानून र न्यायमा मिलेको नदेखिएको र वादीको अपील पर्दा स.अ.डिभिजन बेञ्चबाट ०१८।१०।३।३ मा जिल्ला अदालतकै इन्साफ सदर भएको देखिएकोले उक्त डिभिजन बेञ्चको रुलिङ्गसँग यो बेञ्च सहमत नभएको हुँदा नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने ०२२।७।२६।५ को डिभिजन बेञ्चको फैसला ।

      १३.   यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही प्रतिवादी तर्फबाट विद्वान प्लीडर कृष्णबहादुर श्रेष्ठले गरेको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी घोधरी साहु तेलीनीले ०४ साल भाद्र २५ गते लखन साहुकी स्वास्नी मुदरी तेलीनीलाई र ऐजन भाद्र ११ गते असर्फीकी स्वास्नी पनामा तेलीनीलाई जग्गा राजिनामा गरेकोमा जिल्ला प्रगन्ना ऐ.निज मौजे सबगढा बस्ने भन्ने लेखेको । निजहरूको विवाह विदेशमा भए पनि बाबु आमाकै साथ बस्ने गरेको अवस्थामा राजिनामा गरेको हो भनी प्रतिवादीका साक्षीले बकपत्र गरेको र निजहरूका नाउँको म्याद यसै सरहदको वतन लेखी पठाएकोमा निजहरू फेला नपरेको भनी निजैको घर दैलामा तामेल भई प्रतिवादी परेकोबाट निजहरूको घर मुकाम यसै सरहदको रहेको छ भन्ने देखिएको छ । नथुनी घोधरीहरूको धर्मपुत्र भई मैले सेवा टहल गरी बसेको छु भन्ने फिरादपत्रमा लेखेको हुनाले निजहरूको सेवा टहल गर्ने व्यक्ति कोही रहेनछ भन्ने देखिएको । वादीमा नभएको धर्मपुत्र हुँ भनी हिड्ने वादीलाई भन्दा छोरीहरूलाई आमा बाबुको बढी स्नेह हुन गई आमा बाबुको साथमा रहन बस्न आउने सम्भावना छ । यसै सरहदको मुकाममा रहेका प्रतिवादी मुदरी पनामा, विदेशीसँग विवाह भएको भए पनि बाबु आमाको टहल गरी यहि सरहदमा बसेकी र त्यसै अवस्थामा जग्गा राजिनामा गरी लिए दिएको स्थिति मिसिलबाट प्रष्ट भएको छ ।

      १४.   विदेशीको साथमा विवाह भएकी पनामा मुदरीलाई जग्गा राजिनामा गरी लिन गर्न नहुने गरेको ठहराई तत्कालीन अदलको २१ नं.को देहाय १० दफाले प्रतिवादी घोधरीलाई कैद महिना ।३ को सजाय गरी जग्गा सरकार लाग्ने ठहर गरेको जिल्ला अदालत विरगञ्जको फैसला रहेछ ।

      १५.   प्रस्तुत केशमा धर्मपुत्र वादीलाई राखेको हैन भन्ने कुरामा डिभिजन बेञ्चको राय मिलेकैले विदेशीसँग विवाह भएकी मुदरी पनामाले यस सरहदको जग्गा राजिनामा गराई लिन पाउने कुनै अवस्था पर्न जान्छ, जाँदैन ? भन्ने विचार गर्नु परेको छ ।

      १६.    प्रस्तुत केशमा प्र.हरू यसै सरहदमा जन्मेको कुरा देखिएकै छ । विदेशीसँग निजहरूको वैवाहिक सम्बन्ध भए तापनि यसै सरहदमा आई बसेको भनी प्र.हरूले जिकीर गरेको कुरा रजिष्ट्रेशन पास भएको लिखतमा मुदरी पनामाको वतन यसै सरहदको लेखिएको र निजहरूका नामको म्याद पनि यसै सरहदमा तामेल भएकोले समेत पुष्टि गरेको छ । सो कुरालाई उजुरवालाले पक्का प्रमाण पुर्‍याई झुट्टा सावित गर्न सकेको छैन ।

      १७.   तत्कालीन अदलको २१ नं.को ५ दफामा हद भएका बाहेक हाम्रा मुलुकका रैयतहरू बिराना मुलुकमा गए बसेका बखतमा जन्मेका सन्तानहरू हाम्रा मुलुकमा आई बसेका र बस्नेले पनि जग्गाहरू लिएको सदर हुन्छ भन्ने लेखिएको छ । यसै सरहदमा आई बस्छ भने विदेशमा जन्मेको भए पनि जग्गाहरू लिने अधिकार भएकै देखिन्छ । यसै सरहदमा जन्म भएको र विदेशीसँग विबाह भए पनि यसै सरहदमा आइ बसेका छन भने वंशजको नाताले र बासस्थानको कारणले यसै सरहदको जग्गा उपभोग गर्न दिन कानूनले रोकेको थियो भन्ने देखिँदैन । तसर्थ, उपरोक्त कारणहरूबाट इन्साफ ०२२।७।२६।५ को डिभिजन बेञ्चको मनासिव ठहर्छ । सो फैसला अनुसारको लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

इति सम्वत् २०२२ साल माघ १२ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु