शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४६१ - छाप दस्तखतसमेत कीर्ते

भाग: २३ साल: २०३८ महिना: श्रावण अंक:

निर्णय नं. १४६१     ने.का.प. २०३८                        अङ्क ४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०३६ सालको फौ.पु.नं. १८२

फैसला भएको मिति : २०३८।४।१८ मा

निवेदक      : भक्तपुर जिल्ला वोडे गा.पं. वडा नं. ७ विष्णुघाट बस्ने पूर्णकुमारजी श्रेष्ठ

            विरुद्ध

विपक्षी : श्री ५ को सरकार

मुद्दा : छाप दस्तखतसमेत कीर्ते

(१)   सरकारी अड्डाको छाप र हाकिमको दस्तखत कीर्ते गर्‍यो भनी प्रस्तुत मुद्दा चलेको छ तर पुनरावेदकले कीर्ते मात्र गरेको नभई उक्त क्रियाबाट जग्गा प्राप्त गर्न खोजेको छ भन्ने कुरा मुद्दाको प्रकृतिबाट देखिन्छ । यस्तोमा भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत विशेष प्रहरी विभागले दायर गर्नुपर्ने मुद्दा उक्त विभागले दायर गरेको देखिएन । अतः सरकार वादी भई चलेको प्रस्तुत मुद्दा चल्न नसक्ने भई खारेज हुने ठहर्छ ।

(प्रकरण नं. ११)

निवेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शर्वज्ञ रन्त तुलाधर

विपक्षी वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर

उल्लिखित मुद्दा :

फैसला

            न्या. बासुदेव शर्मा :      न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति पाई पेश हुन आएको मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार छ :

            ०३०।२।१० गते भक्तपुर जिल्ला वोडे गा.पं. वडा नं. ७ विष्णुघाट टोल बस्ने पूर्णकुमार जी श्रेष्ठले भक्तपुर मालअड्डाको नाम राखी हाल आवादी पूर्जी व्यहोराको पर्चा खडा गरी सरकारी नोकरीबाट मुक्त भइसकेको हाकिम बैकुण्ठलालको कीर्ते सहिछाप गरी कीर्ते पूर्जी बनाई ०२७।१०।४ गते पास गरी लिएको विष्णुहा टोलमा पर्ने ३ तले घरको उत्तर पट्टिको जग्गा हाल आवादी दर्ता गराएको छु भनी मालको श्रेष्ता समेत कीर्ते गरी खिचोला गरेको हुनाले निजलाई कारवाई गरिपाउँ भन्ने तेजबहादुर समेतको जाहेरी दरखास्त ।

            २.    पूर्व तुल्सीनारायण समेतको पश्चिम चर्वी उत्तर कुलबहादुर चक्रमान दक्षिण तेजबहादुर ४ किल्ला भित्रको बोडे गा.पं. वडा नं. ७ मा पर्ने अ.रोपनी २ आना जग्गा मैले माल पहिला भक्तपुरबाट आवाद गर्न पाउने गरी ०२१।५।५ मा पर्चा खडा गरी मलाई दिएको ०१७ सालमा दरखास्त दिई ०२० सालमा सर्जमिन र ०२१ सालमा पर्चा भई हाल आवादीको पुर्जी पाएको होइन नाम नजानेको २ जवान कर्मचारी बारम्बार आई खानपिन गरेपछि आवादीको जग्गा मिलाई दिनुपर्‍यो भन्दा हुन्छ भनी गएका एक महीना पछी दुवै जना आई तिमीलाई हाल आवादीमा दर्ता गरेका छौं पर्चाको नक्कल लिनु भनी यसै मिसिलबाट पञ्चायतबाट दाखिला हुने व्यहोराको पर्चा दिई गएका हुन । ०१७ सालमा दरखास्त दिई ०२० सालमा नापी समेत भई हाल आवादीमा दिने ठहरी ०२१ मा पर्चा भएको भन्नु भनेको हुनाले निज मालका कर्मचारीका भनाई अनुसार लेखाई दिएको भन्ने अभियुक्त पूर्णकुमार जी श्रेष्ठको कागज ।

            ३.    सरकारी कार्यालयको छाप दस्तखत समेत कीर्ते गर्‍यो भन्ने जाहेरी तथा विपक्षीको कागज र भू.प्र.का.भक्तपुरको उक्त जवाफ समेतबाट विपक्षी पूर्णकुमारले मुलुकी ऐन कीर्ते कागजको १,,४ नं. अनुसार कीर्ते गरेको स्पष्ट हुन आउँछ कीर्ते कागजको ९,१२ नं. बमोजिम सजाय हुन र मालका कर्मचारी २ जना उपर अनुसन्धान जारी नै राखी पछि फेला पर्न सके छुट्टै वादी लिने समेत अनुरोध गर्दछौ भन्ने प्रहरी प्रतिवेदन ।

            ४.    मेरो घरजग्गा थिएन जाहेरवालाको घरमा बसेको थिए । नगिचै पनि जग्गा भएकोले हाल आवादीमा दर्ता गरिपाउँ ०१७ सालमा ठिमी हुलाकबाट भक्तपुर मालमा दर्खास्त पठाएको थिए, ४ पटक जाँदा काम नभई पछि आउनु भनेकोले घर दोकानमा नै गई बसेको थिए । २०२१ साल हो गते बार याद भएन दुई जना जागिरदार जस्ता बोडेको निल बाराही जात्राको दिन मेरो भट्टीमा आएर खान लागेको समय अगाडिको प्रति जग्गा कसको हो भनी सोधेकोले मैले हाल आवादीमा ०१७ सालमा दरखास्त दिएको थिए दर्ता भएको छैन भन्दा हामी गराई दिउँला भनेर गएको २ महीना जतिमा मेरै भट्टीमा आएर लौ यो जग्गा तिम्रो नाउँमा गराई ल्याई दिएका छौ वहाली पूर्जी हो भनी दिएका थिएँ । भक्तपुर मालको छाप लागेको र दरखास्त परेको देखे अरुलाई देखाउँदा बाहाली कागज हो भने त्यो कागज मैले राखेको थिए । त्यो मेरो हाल आवादी जग्गामा यी उजूरवाला गए ज्येष्ठ १२ गते जग्गा खन्न लागेकाले बोडे गा.पं.मा उजूरी दिए । सरकारी छाप दस्तखत समेत कीर्ते गरेको छैन भन्ने समेत पूर्णकुमारको अदालतमा बयान ।

            ५.    प्रतिवादी पूर्णकुमारले पैरवीमा रहन नसकी तारेख गुजारी बसेकोबाट समेत जग्गा ठहर्‍याउन माल कार्यालयको कृतिम पर्चा बहाली कागज खडा गरी कीर्ते छाप दस्तखत बनाई लगाएको समेत कीर्ते काम गरेको ठहर्छ भन्ने भक्तपुर जिल्ला अदालतको ०३०।७।१७ को फैसला।

            ६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी पूर्णकुमारको पुनरावेदन पर्दा कीर्ते गरेको होइन भन्ने कुराको पत्यार गर्न तथ्य सबूत प्रमाण प्रतिवादीले पेश गर्न नसकेको एउटै बयान मालबाट पर्चा गरी दिएको भन्ने भएको ति दुई जना मानिस यी हुन भनी भन्न नसकेकाले अरू शुरू फैसलमा उल्लेख बुँदा प्रमाण समेतबाट शुरूको इन्साफ मनासिव ठहर्छ भन्ने बागमती अदालतको मिति ०३२।९।८ को फैसला ।

            ७.    मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३४।१।८।४ मा प्रतिवादी पूर्णकुमारले पुनरावेदनको अनुमति प्राप्त गरी परेको पुनरावेदन ।

            ८.    बागमती अञ्चल अदालतले गरेको फैसला उल्टिने कानूनी त्रुटि देखिन आएकोले सो फैसलामा परिवर्तन गर्न मिलेन भन्ने मिति २०३५।३।२०।३ मा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

            ९.    मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रटि भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भनी ०३६।१०।१३।१ मा निवेदन दर्ता भई पेश हुँदा यसमा कीर्ते कागजको १,,४ नं. बमोजिम सजाय गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन भएको छ उक्त ऐनको कसूरको प्रकृति छुट्टाछुट्टै रहेको देखिन्छ । सो ऐन मध्ये कुन ऐनको कसूरमा दावी गरेको हो दावी प्रष्ट र किटानी साथ नभएकोले अ.बं.७२ नं. को अनुकूल दावी नदेखिएकोले यस्तो कानूनी त्रुटि युक्त दायर भएको मुद्दामा गरेको निर्णय हुँदा उपयुक्त कानूनी सार्वजनिक महत्वको विषय देखिन आएकोले न्यायप्रशासन सुधार ऐनको १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिएको छ । नियमबमोजिम गर्नु भन्ने मिति ०३६।९।६।६ मा डिभिजन बेञ्चको आदेश ।

            १०.    तारेखमा रहेका निवेदक प्रतिवादी पूर्णकुमार जी श्रेष्ठको रोहवरमा निवेदकका तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विपक्षी श्री ५ को सरकारका तर्फबाट खटि उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरको बहस समेत सुनी विचार गर्दा शुरू भक्तपुर जिल्ला अदालतको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिव छ छैन निर्णय दिनु परेको छ ।

            ११.    यसमा सरकारी अड्डाको छाप र हाकिम बैकुण्ठलालको दस्तखत कीर्ते गर्‍यो भनी प्रस्तुत मुद्दा चलेको छ तापनि पुनरावेदकले कीर्ते मात्र गरेको नभई उक्त क्रियाबाट जग्गा प्राप्त गर्न खोजेको छ भन्ने कुरा मुद्दाको प्रकृतिबाट देखिन्छ । यस्तोमा भ्रष्टाचार निवारण ऐन, २०१७ (संशोधन) अन्तर्गत विशेष प्रहरी विभागले दायर गर्नु पर्ने मुद्दा उक्त विभागले दायर गरेको देखिएन । अतः सरकार वादी भई चलेको प्रस्तुत मुद्दा चल्न नसक्ने भई खारेज हुने ठहर्छ । तपसील बमोजिम गरी नियमबमोजिम गरी मिसिल बुझाई दिनु ।

 

तपसील

प्रतिवादी पूर्णकुमार जी श्रेष्ठ के माथि इन्साफ खण्डमा लेखिएबमोजिम निजलाई शुरू तथा अञ्चल क्षेत्रीय अदालतसमेतका फैसलाले निजलाई गर्ने गरेको देहायबमोजिमको कैद जरिवाना नलाग्ने हुँदा असूल भए फिर्ता र नभए व्यहोरा जनाई सो फैसला बमोजिमको लगत कटा गर्नु भनी का.जि.अ.त. फाँटमा लगत दिनु................१

शुरू भक्तपुर जिल्ला अदालतका ०३०।७।१७।६ का फैसला र मिति ०३०।७।३०।५ का लगतबमोजिम जरिवाना रू.५०। र कैद वर्ष १ को कलम १, बागमती अञ्चल अदालतका ०३२।९।८।३ का फैसला र मिति ०३३।११।२६ का लगतबमोजिम थप जरिवाना रू.५। र थप कैद महीना १।६ एक महीना ६ दिनको कलम १, म.क्षे.अ.का मिति ०३५।३।२०।३ का फैसला र मिति २०३५।७।२३ का लगतबमोजिम जरिवाना रू.२।५० र कैद दिन । ।१८ अठार दिनको कलम १

प्र.पूर्णकुमार जी श्रेष्ठले शुरू कैद वर्ष १ एक बापत पुनरावेदन गर्दा बागमती अञ्चल अदालत मिति ०३०।९।१८।४ मा का.जि.अ.मा बुझाएको धरौट रू.५४०। तथा बागमती अञ्चल अदालतको फैसला उपर मध्यमाञ्चल क्षेत्रीय अदालत मार्फत मिति ०३३।१२।१० मा का.जि.अ.मा बुझाएको धरौटी रू.५४। तथा सर्वोच्च अदालतमा पुनरावेदन गर्दा निजले ०३५।४।२४।३ मा का.जि.अ.मा बुझाएको धरौटी रू.२७ समेत नलाग्ने हुँदा ऐनका म्यादभित्र फिर्ता माग्न आए दस्तुर केही नलिई निजलाई फिर्ता खर्च लेखी दिनु भनी .........२

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हेरम्बराज

 

इति सम्वत् २०३८ साल श्रावण १८ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु