निर्णय नं. ९०७९ - कर्तव्य ज्यान

नेकाप २०७० अङ्क ११ नि.नं.९०७९
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री तर्कराज भट्ट
फैसला मिति : २०७०।७।४।२
०६७–CR–०९२०
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/प्रतिवादी : नुवाकोट जिल्ला, दाङसिङ गा.वि.स. वडा नं. ७ घर भई हाल जिल्ला कारागार कार्यालय, नवलपरासीमा थुनामा रहेको कृष्ण दमाई
विरूद्ध
विपक्षी/वादी : सेसे नेपालीको जाहेरीले नेपाल सरकार
०६९–RC –००८१
वादी : सेसे नेपालीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : नुवाकोट जिल्ला दाङसिङ गा.वि.स. वडा नं. ७ घर भई हाल जिल्ला कारागार कार्यालय, नवलपरासीमा थुनामा रहेको प्रकाश दमाईसमेत
§ अबोध नाबालिकामाथि भएको कुकृत्यलाई समाजका अगाडि उदाङ्गित पार्दै मृतकलाई सामाजिकरूपमा बेइज्जत गर्ने उद्देश्य रहेको भए सोही दिन निजलाई खोजी समाजका अघि लगी कारवाही गरिनुपर्दथ्यो तर कुटपीट गरी रातभर आफ्नो कब्जामा राखेबाट प्रतिवादीहरूको मृतकलाई मार्नेसम्मको योजना वा मनसाय थिएन भन्न मिल्ने अवस्था नरहने ।
(प्रकरण नं.३)
§ छोरी चेलीमाथि जबर्जस्ती करणीको प्रयास भएको भए मृतकउपर कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सकिने अवस्था विद्यमान रहँदारहँदै सचेत गराउने निहुँमा मार्नेसम्मको ईबी लिई योजना बनाई साङ्घातिकरूपमा मृतकलाई कुटपीट गरी रातभर बन्धक बनाई कर्तव्य गरी मारेको अवस्थामा मुलुकी ऐन, अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउने अवस्था र कारण नरहने ।
(प्रकरण नं.५)
शुरू तहमा फैसला गर्ने :
मा.न्या.मोहनकृष्ण खनाल
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.मोहनप्रसाद घिमिरे
मा.न्या.मीरा खड्का
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता हरिबहादुर कार्की
प्रत्यर्थी/वादीका तर्फबाट :
अवलम्बित नजीर :
सम्बद्ध कानून :
§ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३), १४ र अ.बं.१८८ नं.
फैसला
न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।०१।२१ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :–
पूर्व रामबहादुर तामाङको बारी, पश्चिम भीरपाखा, उत्तर तथा दक्षिण दाङसिङ मा.वि. र हले खोला जाने कच्ची बाटो यति चारकिल्लाभित्र रहेको घटनास्थल, उक्त घटनास्थलमा रहेको लासको टाउकोमा गहिरो चोट, घुँडामा काटेको दाग रहेको भन्ने घटनास्थल लास प्रकृति मुचुल्का ।
टाउकोमा लागेको चोटको कारण न्याउरे दमाईको मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदन ।
मिति २०६५।०२।०७ गते अं. २० बजेको समयमा दाङसिङ गा.वि.स. स्थित जन्तरे भन्ने ठाउँमा निज न्याउरे दमाईलाई फेला पारी हामी तीनैजनाले कुटपीट गर्दै जुत्ताको माला र कालोमोसो लगाई हात, मुक्का र लाठीले टाउको र घुँडामा कुटपीट गर्दै ल्याउँदा साल बिसौना भन्ने स्थानमा निजको मृत्यु भएको हो भन्ने प्रतिवादीहरू जना ३ ले एकै मिलान हुने गरी प्रहरीसमक्ष गरेको बयान ।
मिति २०६५।०२।०८ गते कृष्ण दमाईसमेतका ३ जना मानिसहरूले निज न्याउरे दमाईलाई कुटपीट गरी मारी साल बिसौना भन्ने स्थानमा फालेको हो भन्ने बुझिएका मानिस कुवेर बर्देवासमेतले प्रहरीमा गरेको कागज ।
मिसिल संलग्न घटनास्थल, लास जाँच प्रकृति मुचुल्का, जाहेरी दरखास्त, शव परीक्षण प्रतिवेदन, प्रतिवादीहरूको बयान र बुझिएका मानिसहरूको कागजसमेत अध्ययन गरी हेर्दा मृतक न्याउरे दमाईको मृत्यु प्रतिवादीहरू कृष्ण दमाई, प्रकाश दमाई र कृष्णहरि सुन्दासको कुटपीटबाट भएको भन्ने पुष्टि हुन आएकोले यी प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. बमोजिमको कसूर अपराधमा सोही १३(३) नं. बमोजिम सजाय गरी पाऊँ भन्ने अभियोग दावी ।
मिति २०६५।०२।०६ गते कृष्ण दमाईको घरमा कुखुरा काटेकोले कृष्ण दाइको छोरीले मलाई मासु पुर्याउन गएकोमा बाटोमा काफल पानी भन्ने ठाउँमा न्याउरे दमाईले निज छोरी ईश्वरी दमाईलाई हातपात गरी लछारपछार गरेको भनी निज र्इश्वरी दमाई रुँदै हामी भएको ठाउँ धादिङ जिल्ला, खाल्टे गा.वि.स. वडा नं. ८ मा पुगेकोमा त्यो दिन हामी त्यहीँ नै बसी भोलिपल्ट खोज्दै जाँदा दिनभर कहीं फेला पार्न सकिएन । बेलुका ८/९ बजेतिर दाङसिङको खाल्टे भन्ने ठाउँमा फेला पारेकोमा रिसको झोकमा २/३ थप्पड हिर्काएर त्यहीं बाँधेर राखी भोलिपल्ट कालोमोसो दलेर दाङसिङ स्कुलमा लिएर जान लाग्दा बाटोमा सालबिसौना भन्ने ठाउँमा उसलाई बीचमा राखी जाँदै गर्दा घोप्टो परेर लड्यो के भयो किन उठेन भनी पल्टाई हेर्दा मरेको रहेछ । त्यसैले प्रहरीले मलाईसमेत पक्राउ गरी ज्यान मुद्दा लगाई ल्याएको हो भन्ने प्रतिवादी कृष्णहरि सुन्दासले अदालतसमक्ष गरेको बयान ।
मसमेतका कृष्ण दमाई र म एकै दाजुभाइ हौं र कृष्णहरि सुन्दास गाउँको काकाको छोरा हुन् । हामी तीनै जना काउले भन्ने स्थानमा टेलर्स राखी लुगा सिउने काममा बसेका थियौं । २०६५।०२।०७ गते घरमा कुखुरा काटेको रहेछ, त्यो कुखुराको मासु दाजु कृष्ण दमाईको छोरीले हामीलाई ल्याउँदै गर्दा लाफे भन्ने जङ्गलमा मृतक न्याउरे दमाईले निज छोरीलाई समाती लुगा च्याती मासुसमेत फाली दिएकोले रुँदै कराउँदै हामीकहाँ आयो र हामीले सोध्दा न्याउरेले बाटोमा समात्यो र बलजफत करणी गर्न खोज्यो र मासु पनि फाली दियो भनी भनेको हुँदा हामी ३ जना निज मृतकलाई खोज्दै जाँदा जन्तरे भन्ने ठाउँमा पुगेपछि मृतक न्याउरे दमाईलाई भेटाई हामी तीनैजनाले कुटपीट गरेका हौं र पछाडिपट्टी हात बाँधी ७ गते जन्तरे भन्ने ठाउँमा राख्यौं भोलिपल्ट बिहान समाज बसेको ठाउँमा लान पर्यो भनी लैजाँदा सालबिसौना भन्ने स्थानमा ठेस लागी घोप्टो पर्यो । हामी अघिपछि थियौं । एकछिनपछि निजको मृत्यु भएको हो । निजको मृत्यु हामी प्रतिवादीहरूको कुटपीटबाट भएको हो भन्ने प्रतिवादी प्रकाश दमाईले अदालतसमक्ष गरेको बयान ।
मृतक न्याउरे दमाईले छोरीलाई बलजफत करणी गर्न खोज्यो र लुगा पनि च्याती दियो, मासु पनि फाली दियो भनी भनेको हुँदा हामी तीनजना निज मृतकलाई खोज्दै जाँदा जन्तरे भन्ने ठाउँमा पुगेपछि मृतक न्याउरे दमाईलाई भेटायौं र हामी ३ जनाले कोहीले गालामा कोहीले छातीमा मैले टाउकोमा मुड्कीले हिर्काई गोठमा डोरीले पाता कसी त्यहीं गोठमा राखी भोलिपल्ट गाउँमा जुताको माला लगाई कालोमोसो दली घुमाउनुपर्छ भनी लैजाने क्रममा सालबिसौना भन्ने ठाउँमा आई पुगेपछि ठेस लागि घोप्टो पर्यो हामी अघिपछि थियौं एकछिनपछि निजको मृत्यु भएको हो । निजको मृत्यु भएको ठिक साँचो हो भन्ने प्रतिवादी कृष्ण दमाईले अदालतसमक्ष गरेको बयान ।
मृतक न्याउरे दमाईलाई यी प्रतिवादीहरूले कुटपीट गरी मारेको हो भन्ने जाहेरवाला सेसे दमाईले अदालतमा आई गरेको बकपत्र ।
मृतकलाई मिति २०६५।०२।०७ मा प्रतिवादीहरूले आफ्नो कब्जामा लिई कुटपीट गरी मिति २०६५।०२।०८ मा ल्याउँदै गर्दाको अवस्थामा मृतकको मृत्यु भएकोलाई प्रतिवादीको मनसाय रहेनछ भन्न मिलेन । घटनाले नै प्रतिवादीहरूको मृतक मरे मरोस् भन्ने मनसाय रहेको देखिन आएको र प्रतिवादीको कार्य मानिस मार्न सक्नेसम्मको हुँदा प्रतिवादीहरूले अभियोग दावीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) अनुसार कसूर गरेको ठहर्छ भन्ने शुरू नुवाकोट जिल्ला अदालतबाट मिति २०६६।०१।१० मा भएको फैसला ।
आफ्नै सहोदर छोरी चेलीमाथि बलात्कार गर्न अपराधी माथि उठ्ने मानवीय आवेग जो कोही व्यक्तिमा समेत हुने कुरा हो । कोही पनि व्यक्ति त्यस्तो बलात्कार जस्तो घटना हुँदा टुलुटुलु हेरी बस्न सक्दैन । त्यसमा पनि १४ वर्षको अबोध बालिकामाथि भएको कुकृत्यलाई सहने शक्ति हामी प्रतिवादीहरूमा समेत भएन जुन कुरा हामीले प्रहरीसमक्ष र सम्मानीत अदालतमा कुनै ढाँट छल नगरी भएको यथार्थ कुराको बयान गरी दिएका छौं । यस अवस्थामा सम्मानीत अदालतबाट फैसला गर्दा घटनाको परिबन्ध एवं संवेदनासमेतलाई ख्याल विचार नगरी हचुवाको भरमा एक्कासी भए गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी पाऊँ भन्ने व्यहोराको प्रतिवादीहरूले पुनरावेदन अदालत, पाटनमा दायर गरेको पुनरावेदनपत्र ।
यसमा वारदातमा जोखिम हतियारको प्रयोग र अपराधको पूर्वतयारी नभएको पृष्ठभूमिमा भएको प्रस्तुत वारदातमा प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्म कैद हुने ठहर्याई गरेको शुरू नुवाकोट जिल्ला अदालतको मिति २०६६।०१।१० को फैसला प्रमाणको मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलको निम्ति अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी नेपाल सरकारलाई पुनरावेदन सरकारी वकील कार्यालय मार्फत सूचना दिई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।११।२५ मा भएको आदेश ।
यसमा नुवाकोट जिल्ला अदालतले मिति २०६६।१।१० मा प्रतिवादीहरू कृष्ण दमाई, प्रकाश दमाई र कृष्णहरि सुन्दाससमेतले कर्तव्य गरी न्याउरे दमाईलाई मारेको ठहर्याई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय गर्ने गरी भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । तर वारदातको प्रकृति हेर्दा प्रतिवादीहरूको मृतकसँग पूर्व रिसईवि एवं मार्नुपर्नेसम्मको योजना रहे भएको नदेखिँदा उपरोक्तानुसारको सजाय गर्दा चर्को पर्ने देखिँदा मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम निज प्रतिवादीहरूलाई जनही १० (दश) वर्ष मात्र सजाय गर्नु उचित हुने देखिन्छ । साधक जाहेर गरी अन्तिम भई आएबमोजिम गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६७।०१।२१ को फैसला ।
मेरो छोरीलाई मृतकले अनुचित व्यवहार गर्ने प्रयास गरेको अवस्थामा सोही कुराको आवेगमा आएर निजलाई कुटपीट गरी समाजले कारवाही गर्छ भन्ने सोचका साथ बाँधी समाजको जिम्मामा लगाउन ल्याउँदै गर्दा बाटामा अचानक ठेस लाग्नगै निजको तत्काल मृत्यु हुन पुगेको यथार्थ अवस्था हो । मेरो मृतकलाई मार्नुपर्ने अन्य कुनै रिसईबी नभएको, योजना पनि नरहेको, जोखिम हतियारको प्रयोग नभएको, पूर्वतयारी नभएको अवस्थामा आफ्नी छोरीमाथि निजले प्रदर्शन गरेको व्यवहारका कारण निजलाई सचेत गराउने र तर्साउने उद्देश्य रहेकोमा अचानक निज ठेस लागेर लड्न पुगेको र सोही चोटका कारण मृत्यु भएको अवस्थामा यदि मलाई सजाय नै गर्ने हो भने पनि भवितव्यअन्तर्गत सजाय हुनुपर्नेमा सो नगरी हदसम्मको सजाय गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट शुरू सदर हुने गरी भएको फैसलामा गम्भीर त्रुटि भएकाले बदर गरी न्याय दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्ण दमाईले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीहरू प्रकाश दमाई र कृष्णहरि सुन्दासका हकमा नुवाकोट जिल्ला अदालतले जन्मकैदको सजाय हुने ठहराएको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत, पाटनबाट भएको फसैलाउपर पुनरावेदन नपरी यस अदालतमा मिति २०७०।०१।०३ मा साधकको रोहमा दर्ता हुन आएको ।
नियमबमोजिम मुद्दा पेशीसूचीमा चढी यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता हरिबहादुर कार्कीले घटनावलीको परिवेश र अभियुक्तको अवस्थाको समग्र विश्लेषण र विवेचना नगरी अभियोजनपत्रलाई मात्र समर्थन गर्दै जन्म कैद हुने गरी हदैसम्मको फैसलालाई सदर गर्ने पुनरावेदन अदालत, पाटनको फैसला कानूनसँग असङ्गत, अन्यायपूर्ण र त्रुटिपूर्ण भएकाले बदर गरी पाऊँ भनी बहस गर्नु भएको समेत सुनियो ।
विद्वान कानून व्यवसायीको बहस सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, छैन र प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होईन भन्ने सम्बन्धमा निर्णय दिनु्पर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी कृष्ण दमाईसमेतको कुटपीटबाट मृतक न्याउरे दमाईको मृत्यु भएको भन्ने पुष्टि हुन आएको हुँदा यी प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. बमोजिमको कसूर अपराधमा सोही १३(३) नं. बमोजिम सजाय गरी पाऊँ भन्ने अभियोग दावी रहेको प्रस्तुत मुद्दामा अभियोग दावी पुग्ने ठहर्याई गरेको नुवाकोट जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलाउपर प्रतिवादी कृष्ण दमाईका हकमा निजको पुनरावेदन परेको, अन्य प्रतिवादीहरू प्रकाश दमाई र कृष्णहरि सुन्दासका हकमा पुनरावेदन अदालत, पाटनबाट भएको फैसलाउपर साधकको रोहबाट पेश भएको देखियो ।
३. सर्वप्रथम यी पुनरावेदक प्रतिवादी कृष्ण दमाईको हकमा भएको सजाय मिले नमिलेको सम्बन्धमा विचार गर्दा पुनरावेदक प्रतिवादी कृष्ण दमाईले मृतकलाई मार्नुपर्ने सम्मको कुनै रिसईबी, पूर्वयोजना वा तयारी नभएको, जोखिम हतियारको प्रयोग नगरी आफ्नो छोरीमाथि अनुचित व्यवहार गरेका कारण आवेगमा आई निज मृतकलाई कुटपीट गरेको कारण मृतकको मृत्यु भएकोमा भवितव्यअन्तर्गत सजाय हुनुपर्ने भन्ने मुख्य पुनरावेदन जिकीर लिएको देखियो । यी पुनरावेदक प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष बयान गर्दा वारदातको वर्णन गर्दै प्रतिवादीहरू तीनैजना मिली मृतकलाई कुटपीट गरेको र प्रतिवादी कृष्ण दमाईले मृतकको टाउकोमा प्रहार गरेको कुरा स्वीकार गरी कसूरमा साबिती रहेको देखिन्छ । साथै शव परीक्षण प्रतिवेदनमा Cause of death is due to head injury भन्ने उल्लेख गरिएको हुँदा प्रतिवादी कृष्ण दमाईको कर्तव्यबाट मृतक न्याउरे दमाईको मृत्यु भएको पुष्टि हुन आएको देखिन्छ । आफ्नी १४ वर्षकी नाबालक छोरीमाथि भएको अनुचित व्यवहारका कारण रिस उठी त्यस किसिमको व्यवहार सहन नसकी मृतकलाई सचेत गराउने र सामाजिकरूपमा बेइज्जत गर्ने उद्देश्यका साथ कुटपीट गरेको भन्ने देखिन्छ । तथापि प्रतिवादीहरूले घटनाको भोलिपल्ट मात्रै मृतकलाई खोजतलास गरी गरेको कुटपीटलाई तत्काल उठेको रिस थाम्न नसकी कुटपीट गरेको भन्न मिल्ने अवस्था रहेन । मृतकको टाउकोमा चोट लागेको र शरीरभरि नीलडाम रहेको शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिएबाट मृतकको मृत्यु प्रतिवादीहरूको कुटपीटका कारण भएको कुरामा विवाद रहेन । कुटपीटबाट घाइते भएका मृतकलाई औषधि उपचार गर्नुपर्ने दायित्त्व यी प्रतिवादीहरूले बहन गरेको देखिएन । साथै घाइतेलाई उपचार नगरी आफ्नो कब्जामा लिई रातभर गोठमा राखेको कुराबाट यी प्रतिवादीहरूको मृतकलाई मार्ने अव्यक्त मनसाय रहेको प्रष्ट रूपमा देखिन्छ । अबोध नाबालिकामाथि भएको कुकृत्यलाई समाजका अगाडि उदाङ्गित पार्दै मृतकलाई सामाजिकरूपमा बेइज्जत गर्ने उद्देश्य रहेको भए सोही दिन निजलाई खोजी समाजका अघि लगी कारवाही गरिनुपर्दथ्यो तर कुटपीट गरी रातभर आफ्नो कब्जामा राखेबाट प्रतिवादीहरूको मृतकलाई मार्नेसम्मको योजना वा मनसाय थिएन भन्न मिल्ने अवस्था रहेन ।
४. अघिल्लो दिनको घटनालाई लिएर भोलिपल्ट कुटपीट गरी सो कारणले मृतकको मृत्यु भएको देखिएकोलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. को परिस्थिति भन्न नमिल्ने अवस्था विद्यमान रहेन । अतः मृतक न्याउरे दमाईलाई प्रतिवादीहरूले खोजतलास गरी साङ्घातिक प्रहार गरेको देखिएको वारदात प्रकृतिलेसमेत पुष्टि गरिरहेको अवस्थामा पुनरावेदक प्रतिवादी कृष्ण दमाईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्याएको नुवाकोट जिल्ला अदालतको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन ।
५. अब यी पुनरावेदक प्रतिवादी कृष्ण दमाई एवं अन्य प्रतिवादीहरू प्रकाश दमाई र कृष्णहरि सुन्दासलाई अ.बं. १८८ नं. बमोजिम जनही १०(दश) वर्ष मात्र कैदको सजाय हुनुपर्ने गरी पुनरावेदन अदालत, पाटनबाट व्यक्त राय मिले नमिलेको सम्बन्धमा विचार गर्दा, आफ्नी नाबालिग छोरीचेलीमाथि भएको अनुचित व्यवहारको लागि सचेत गराउने उद्देश्य लिई मृतकलाई कुटपीट गरेको भनी प्रतिवादीहरूले जिकीर लिएको देखिन्छ । आफ्नी छोरीमाथि भएको अनुचित व्यवहारको विषयलाई लिएर घटनाको भोलिपल्ट मात्रै मृतक न्याउरे दमाईलाई खोजतलास गरी यी प्रतिवादीहरू तीनैजना मिली गम्भीररूपमा घाउचोट लाग्ने गरी कुटपीट गरेको र रातभर गोठमा थुनी राखेको कुरा प्रतिवादीहरू स्वयमले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष गरेको बयानबाट पुष्टि भएको देखिन्छ । छोरीउपर भएको अनुचित व्यवहारको विषयलाई लिएर छोरीले सो कुराको जानकारी गराएपछि मृतकलाई खोजतलास गरेको र निजलाई फेला पारी कुटपीट गरेको भन्ने कुरालाई यी प्रतिवादीहरूले स्वीकार गरेको देखिन्छ । सचेत गराउने नाममा मरणासन्न हुने गरी कुटपीट गरी रातभर आफ्नो कब्जामा लिई खान लाउन नदिई औषधोपचारसमेत नगरी मृतकलाई मार्नुपर्नेसम्मको अवस्था र कारण विद्यमान रहेको देखिएन । कसैले कुनै किसिमको गल्ती वा अपराध गरेको अवस्थामा त्यस्ता व्यक्तिलाई सामान्य डरत्रास देखाई भविष्यमा त्यस्तो किसिमको गल्ती नदोहर्याउन सचेत गर्न सकिन्छ वा छोरी चेलीमाथि जबर्जस्ती करणीको प्रयास भएको भए मृतकउपर कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सकिने अवस्था विद्यमान रहँदारहँदै सचेत गराउने निहुँमा मार्नेसम्मको ईबी लिई योजना बनाई साङ्घातिकरूपमा मृतकलाई कुटपीट गरी रातभर बन्धक बनाई कर्तव्य गरी मारेको अवस्थामा मुलुकी ऐन, अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउने अवस्था र कारण रहँदैन । प्रस्तुत मुद्दाको वारदात हेर्दा प्रतिवादीहरूले तत्काल उठेको रिसको झोंकमा नभई पूर्वयोजनासहित मृतकको खोजतलास गरी निजलाई कुटपीट गरी मारेको अवस्था देखिँदा वारदात भवितव्य हो कि भनी शङ्का गर्नुपर्नेसम्मको अवस्था पनि देखिँदैन । यस्तो अवस्थामा मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम घटी सजाय गर्ने गरी जाहेर भएको पुनरावेदन अदालत, पाटनको रायसँग सहमत हुन सकिएन । अब यी प्रतिवादीहरूको हकमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको लगत कस्नु भनी शुरू नुवाकोट जिल्ला अदालतमा लेखी पठाईदिनु । फैसलाको जनाउ पुनरावेदक प्रतिवादी एवं अन्य प्रतिवादीहरूसमेतलाई दिई पुनरावेदन तथा साधक दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. तर्कराज भट्ट
इति संवत् २०७० साल कात्तिक ४ गते रोज २ शुभम् ।
शाखा अधिकृत : दीक्षा प्रधानाङ्ग