शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४६३ - कुलो पानी

भाग: २३ साल: २०३८ महिना: श्रावण अंक:

निर्णय नं. १४६३   ने.का.प. २०३८                   अङ्क ४

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३७ सालको दे.पु.नं. २०८

फैसला भएको मिति : २०३८।१।१८ मा

पुनरावेदक : गोरखा जिल्ला धेरुह किया बस्ने लालबहादुर श्रेष्ठसमेत

विरुद्ध

विपक्षी   : ऐ.बस्ने चन्द्रबहादुर श्रेष्ठ

मुद्दा : कुलो पानी

(१) वादीको दावी बमोजिम सामुहिक कुलो पानीको प्रस्तुत मुद्दा देखिन आउँदैन न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सामूहिक कुलो पानीको मुद्दामा जिल्ला अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरेको छ । तसर्थ अञ्चल अदालतको अधिकारक्षेत्र भएको मुद्दामा अधिकारक्षेत्र अतिक्रमण गरी शुरूको फैसला उपरको पुनरावेदन सुनी निर्णय गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अधिकार क्षेत्रात्मक त्रुटि हुँदा सो फैसला उल्टी हुने ।

 (प्रकरण नं. ९)

प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

          प्र.न्या. नयनबहादुर खत्री : पश्चिमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्चको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

          २.  हामीहरूको हक हुन आएको खेतमाटो मुरी ५६।१९ लाई कुखुरी खोल्सीबाट चाखटा कुलो काटी पानी लगी खेत रोप्ने पटाउने गरी आएकोमा विपक्षीले हाम्रो सिरान कुलो भन्दा अन्दाजी ५० गज माथी मेधने श्रेष्ठको बाँसको झ्याङ नजिक कुप्रेखोला भन्ने ठाउँबाट कुलोकाटी पानी लगी विपक्षीको डाँडावारी भन्ने पाखामा खेत अवाद गर्न ०३३।१०।२ गते कुलो खन्न शुरू गरेको र हाम्रो उक्त खेतमा कुखुरे खोल्सीको पानी बाहेक अन्यत्र कहींबाट पनि पानी नआउने, सो खोल्सीमा पनि पानी बर्सेपछि मात्र मूल फुट्ने, हिउँदमा पानी नै नहुने, सो खोल्सीको पानी विपक्षीले थुनि लगेपछि तलतिर पानी नै नपर्ने, सो खोल्सीमा पनि विपक्षीले कुलो काट्न लागेको ठाउँ देखि तल मूल नभएको हुनाले हामीहरूको खेत सुखा लाग्ने र नयाकुलो बनाउँदा पुरानो खेतमा पानी कम हुँदैन भने नयाकुलो बनाउन हुन्छ भन्ने जग्गा अवाद गर्नेको १ नं. मा व्यवस्था छदा छँदै विपक्षीले त्यसतर्फ ध्यान नदिई हामीहरूको साविक खेत सुखा लगाई दिने उमेद गरेबाट सो खोल्सीको पानी विपक्षीले लान नपाउने इन्साफ गरिपाउँ भन्ने समेत फिराद ।

          ३.  विपक्षीहरूको खेत रोप्ने पटाउने मुख्य पानी तीन धारे खोल्सीको पानी हो । सोही पानीले खते रोप्न पटाउन पुग्छ । मैले कुनै पाखोमा पानी हालेको नभई वा जेहेरी कृष्णका नाममा दर्ता भएको अंशबाट मेरो हक हुन आएको डाँडा वारी भन्ने पाखामा खेत अवाद गर्न पाउँ भनी गोरखा मालमा दर्खास्त दिँदा कुखुरे खोल्सीको पानीबाट खेत अवाद गर्न पाउने भई नापी मुचुल्का भएको छ । सो नापी मुचुल्का बदर गरिपाउँ भनी म उपर गोर्खा मालमा दिएको फिरादमा कारवाही चलिरहेको छ भन्ने समेत प्रतिउत्तर ।

          ४.  वादी दावी बमोजिम कुखुरे खोलाको पानी मात्र भई अन्त सिंचाइको लागि पानी नभएको फिरादमा उल्लेख गरेकोलाई नक्साबाट तीन धारे खोल्सीको पानी वादीहरूको खेतमा लगेको देखियो । प्रतिवादीलाई न.नं. ३७ को कुलोबाट न.नं. ३६ को आवादी पाखोमा खेत विराउन दिँदा वादीहरूको खेतमा सुखा लाग्छ भन्ने सम्बन्धमा वादीले दुवै न.नं. ११ र १२ को खोल्सीहरूको पानी पाउने नै देखिएको हुँदा सुखा लाग्ने प्रश्न नरहने अतः न.नं. ३७ को कुलोको पानी न.नं. ३६ को जग्गामा लगी सो ३६नं. जग्गाको निकास पानी न.नं. ३५ देखि माथिबाट कुखुरे खोलामा नै प्रतिवादीले मिसाई उक्त कुलो काटि पानी लान पाउने ठहर्छ भन्ने समेत २०३५।७।२ को गोरखा जिल्ला अदालतको फैसला ।

          ५.  उक्त फैसलामा चित्त बुझेन भनी वादीले पश्चिमाञ्चल क्षेत्रीय अदालतमा चढाएको पुनरावेदन ।

          ६.  नक्सा हेर्दा झगडा परेको कुलो न.नं. ३७ देखिन आएको छ । वादीले कुखुरे खोल्सीबाट न.नं. १४, १५, १६, १७ समेतबाट कुलो काटी लगेको र सो मात्र नभई तीन धारे खोल्सीको पानी समेत न.नं. ५ र १२ को कुलोबाट पानी लगि खेत पटाएको समेत देखिन आएकोले वादीको लेखाई बमोजिम अन्यत्र कुलो नै नभई खेतमा सुखा लाग्छ भन्ने भनाई खम्बीर भएको देखिन नआएकोले प्रतिवादीले पानी लान पाउने ठहराई वादी दावी पुग्न नसक्ने गरेको गोर्खा जिल्ला अदालतको इन्साफ मनासिव देखिँदा सदर हुने ठहर्छ भन्ने समेत ०३६।७।२३।६ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          ७.  उक्त क्षेत्रीय अदालतले गरेको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले चढाएको निवेदनमा लालबहादुर श्रेष्ठ समेतको फिरादपत्र लेखाई तथा दावीबाट समेत सामुहिक कुलो पानीको प्रस्तुत मुद्दा नदेखिएकोले न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) बमोजिम जिल्ला अदालतले फैसला गरे उपर सम्बन्धित अञ्चल अदालतमा पुनरावेदन परी अञ्चल अदालतले कार्यवाही किनारा गर्नु पर्नेमा पश्चिमाञ्चल क्षेत्रीय अदालतले शुरू फैसला उपरको पुनरावेदन सुनी फैसला गरेको अधिकार क्षेत्रात्मक त्रुटिपूर्ण भई त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषय समेत देखिँदा प्रस्तुत मुद्दामा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने स.अ. डिभिजन बेञ्चको ०३७।१।१२।५ को आदेश ।

          ८.  पुनरावेदन वादीको वारेस हिमलाल श्रेष्ठ विपक्षी प्रतिवादीको वारेस प्रेमबहादुर के.सी.लाई रोहवरमा राखी प्रतिवादी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहस समेत सुनियो ।

          ९.  यसमा गोरखा जिल्ला अदालतको फैसला उपरको पुनरावेदन सुनी पश्चिमाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेको देखिन्छ । वादीको दावी बमोजिम सामुहिक कुलोपानीको प्रस्तुत मुद्दा देखिन आउँदैन । न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सामुहिक कुलोपानीको मुद्दामा जिल्ला अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरेको छ । तसर्थ अञ्चल अदालतको अधिकारक्षेत्र भएको मुद्दामा अधिकारक्षेत्र अतिक्रमण गरी शुरूको फैसला उपरको पुनरावेदन सुनी निर्णय गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अधिकार क्षेत्रात्मक त्रुटि हुँदा सो फैसला उल्टी हुने ठहर्छ । अब क्षेत्रीय अदालतमा परेको पुनरावेदनमा कानूनबमोजिम निर्णय गर्नु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल गण्डकी अञ्चल अदालतमा पठाई दिनु । कोर्टफीका हकमा गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन किनारा हुँदा ठहरे बमोजिम हुने भएकोले हाल केही गर्नु परेन । रेकर्ड मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३८ साल वैशाख १८ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु