निर्णय नं. १४६७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १४६७ ने.का.प. २०३८ अङ्क ४
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३६ सालको रिटनम्बर १२७५
आदेश भएको मिति : ०३७।१२।२३ मा
निवेदक : जि.कपिलवस्तु धनकौली गा.पं.वार्ड नं. १ मौजा धनकौली बस्ने हरिअहिर
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने दासी अहिरनीसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) कानूनद्वारा अधिकार प्राप्त अधिकारी विपक्षी भूमिसुधार अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही निवेदकले जग्गा कमाएको जग्गाधनी र मोहीको बीचमा हुनुपर्ने दोहरी कबुलीयत नभएको र कूत बुझाएको रसीद समेत नभएको भन्ने आधारमा दोहरी कबुलीयत र रसीद समेतका सबूत प्रमाणको मूल्यांकन गरी गरेको उक्त निर्णयमा प्रत्यक्ष कानूनी त्रुटि भएको नदेखिएकोले निवेदकको मागबमोजिमको आदेश जारी गर्न नमिल्ने ।
(प्रकरण नं. ६)
निवेदक तर्फबाट : विद्वान श्री शिवानन्ददास सरस
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
उल्लिखित मुद्दा :
आदेश
प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णायार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यस प्रकार छ : वटैयाशर्तमा कमाउने गरी विपक्षीले मलाई जोत्न दिएको जग्गा विगाहा १–१३–० को मोहियानी प्रमाणपत्र पाउँ भन्ने निवेदक हरि अहिरको परेको उजूरीमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (१) बमोजिम जग्गाधनी र मोहीको बीचमा दोहरी कबुलिएत हुनुपर्ने सो नभएको र सोही दफाको उपदफा (२) बमोजिम कूत बुझाएको रसीद हुनुपर्ने सो समेत कुनै प्रमाण पेश गर्न नसकेकोले निवेदकले जग्गा जोतेको छ भन्दैमा मोही कायम हुन नसक्ने हुँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने विपक्षी भूमिसुधार कार्यालयको भू.सू.अ.बाट ०३६।११।१६।५ मा निर्णय भएको रहेछ ।
३. उक्त निर्णय बदर गरिपाउँ भनी : निवेदक हरिअहिरले दिएको रिटनिवेदनपत्रमा विपक्षी नाउँका दर्ताको जि.क.व.धनकोली गा.पं.वार्ड नं. १(क) कि.नं. ५३।६८।८७ ।१५९।२७७।३३४।३७१। ३८२।४१२।४९९।५७८। वार्ड नं. २(क) को कि.नं. ५०।५७।१७८।१८७ ।२७७।३०९।३२५।३३९।३९४।७२४ वार्ड नं. २ (ख) कि.नं. ३१९।३५४ समेतको जग्गा विगाहा १–१३–० मलाई बटैया कमाउन दिएकोले मैले कमाई आएको मेरो मोहियानी कायम गरी प्रमाणपत्र पाउँ भनी मैले निवेदन दिएकोमा वादी दावी खारेज हुने ठहर्छ भनी ०३६।११।१६ मा फैसला गर्नुभएको छ । वादी दावी खारेज हुने गर्ने अवस्था अ.बं.१८० नं. मा व्यवस्थित छ मेरो निवेदन अ.बं.१८० नं. को प्रतिकूल छैन खारेज हुने भनी गर्नुभएको फैसला कानूनी व्यवस्था प्रतिकूल छ मैले प्रमाणमा दिएको विपक्षी स्वयमंको जिल्ला कार्यालयमा दिएको निवेदन मिसिल साथ छ उक्त निवेदनमा विपक्षी स्वयंले जग्गा मैले बटैयामा कमाएको भनी लेखिदिनु भएको छ फैसला गर्दा मेरो उक्त प्रमाणलाई उल्लेख सम्म गर्नुभएको छैन त्यसबाट के प्रमाणित हुन्छ भने निर्णय गर्दा न्यायिक मनको प्रयोग गर्नुभएको छैन अ.बं.१८५–१७९ नं. को विपरीत फैसला भएकोले बदर भागि छ विपक्षीले जिल्ला कार्यालयमा निवेदन दिँदा लोग्ने परलोक भएदेखि हरि अहिरले मेरो जग्गा मोहियानी बटैयामा कमाएको भनी प्रष्ट उल्लेख गरेकोले त्यसलाई मैले मुख्य प्रमाण उल्लेख गरी मोही प्रमाणपत्र पाउँ भनी निवेदन दिएको अधिकारीले मेरो प्रमाण नलगाई निर्णय गर्नुभएबाट न्यायिक र कानूनी सिद्धान्त विपरीत फैसला भएकोले गंभिर न्यायिक त्रुटि भएको छ । उत्प्रेषणको आदेश जारी गरी विपक्षी अधिकारीको ०३६।११।१६ को निर्णय बदर गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर लिएको रहेछ ।
४. भूमिसूधार अधिकारीले भूमिसम्बन्धी ऐन, २०२१ को अधिनमा रही गरेको निर्णय हुनाले उत्प्रेषणको आदेश जारी नहुने र रिट निवेदन खारेज हुन अनरोध गर्दछु भन्ने विपक्षी भू.सु.का कपिलवस्तुको भूमिसुधार अधिकारीको लिखितजवाफ ।
५. निवेदकको कानूनबमोजिम मोहियानी हकै नहुँदा निवेदकलाई मोही प्रमाणपत्र नदिने गरी गरेको भूमिसुधार कार्यालयको निर्णयबाट निवेदकको कुनै पनि कानूनी हक हनन भएको नहुँदा रिट जारी हुन नसक्ने स्पष्ट छ रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी दासी अहिरको लिखितजवाफ ।
६. यसमा निवेदक हरि अहिरको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसको र विपक्षी भू.सु.अ.तर्फबाट खटिई आउनु भएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे विपक्षी दासी अहिरनीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीको समेत बहस सुनी निर्णयतर्फ विचार गर्दा विपक्षी दासी अहिरनीबाट वटैया शर्तमा कमाएको जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी निवेदकले दिएको निवेदनमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (१) बमोजिम जग्गा कमाउन दिँदा लिँदा जग्गाधनी र मोहीको बीचमा दोहरी कबुलीयत हुनुपर्ने सो नभएको र सोही दफाको उपदफा (२) बमोजिम कूत बुझाएको रसीद हुनुपर्ने सो समेत कुनै प्रमाण पेश गर्न नसकेकोले निवेदकले जग्गा जोतेको छ भन्दैमा मोही कायम हुन नसक्ने हुँदा दावी खारेज हुने ठहर्छ भनी ०३६।११।१६ मा विपक्षी भूमिसुधार अधिकारीले निर्णय गरेको देखियो । यसरी कानूनद्वारा अधिकार प्राप्त अधिकारी विपक्षी भूमिसुधार अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही निवेदकले जग्गा कमाएको जग्गाधनी र मोहीको बीचमा हुनुपर्ने दोहरी कबुलीयत नभएको र कूत बुझाएको रसीद समेत नभएको भन्ने आधारमा दोहरी कबुलीयत र रसीद समेतका सबूत प्रमाणको मूल्यांकन गरी गरेको उक्त निर्णयमा प्रत्यक्ष कानूनी त्रुटि भएको नदेखिएकोले निवेदकको मागबमोजिमको आदेश जारी गर्न मिलेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ मिसिल नियमबमोजिम बुझाई दिनु ।
म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३७ साल चैत्र २३ गते रोज १ शुभम् ।