शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४७२-१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २३ साल: २०३८ महिना: असोज अंक:

निर्णय नं. १४७२   ने.का.प. २०३८              अङ्क ६

फुल बेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३७ सालको रि.फु.नं. ४८

फैसला भएको मिति : ०३८।६।१६ मा

निवेदक : श्री ५ को सरकार अर्थमन्त्रालय अन्तःशुल्क विभाग

विरुद्ध

विपक्ष : जि.ध.तुल्सीवाई जब्दी गा.प.वार्ड नं. ३ बस्ने बैजनाथ चौधरी

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) पट्टा कबुलीयत हुँदा ०३२ साल वैशाख १ गतेदेखि ०३२ साल चैत्र मसान्त तक वर्ष १ लाई रकम चलन गर्ने ठेक्का बन्दोबस्त भई सो अवधि समाप्त भएको सूचना नपाए सम्मलाई अमानतमा चलाउनु पर्ने पट्टा कबुलीयत भएको हुँदा दुवै विषयलाई एउटै पट्टा कबुलीयत भएकोले अमानतमा चलाएको अवस्थामा ठेक्काकर, बिक्रीकर र आयकर दिनु नपर्ने भए सो कुरा उक्त पट्टा कबुलीयतमा उल्लेख हुनुपर्ने तर सो नभई उक्त पट्टा कबुलीयतको तपसीलको ४ दफामा प्रचलित दरबन्दी बमोजिम ठेक्काकर, बिक्रीकर र आयकर समेत किस्ताको साथ साथै अग्रिम बुझाउने कबूल भएकोले ठेक्का र बिक्रीकर आयकरमा विपक्षी अन्तःशुल्क विभागले पक्रन पाउँदैन भन्न नमिल्ने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय

आदेश

       न्या. त्रिलोकप्रताप राणा : निवेदकले निवेदकले ०३२ साल बैशाख १ गते देखि ०३२ चैत्र मसान्त तक वर्ष १ को लागि जि. महोत्तरीको मद भट्टी लट नं. १,,३ को मद भट्टी रकमको ठेक्का उक्त साल १ को रू.६,१४,०००। ठेक बुझाउने गरी लिएको रहेछ पट्टाको प्रकरण १ मा अन्य कुराको अतिरिक्त समयमा नै ०३२ साल चैत्र मसान्त पछिलाई ठेक्का बन्दोबस्त हुन नसकेमा वा कुनै व्यवस्था हुनसकेको सूचना नपाए सम्मलाई ०३२ साल वैशाख १ गते देखि ०३२ साल चैत्रमसान्त तकको ठेक्का चलाएको क्षेत्रको ठेकअकंको दामासाहीले हुनेरकममा ठेक्का चलाएको क्षेत्रको पछि ठहरे बमोजिम हुने गरी अस्थायी रूपमा अमानतबाट रकम चलाई नै रहनु पर्नेछ पछि लेखिएअनुसार अमानत नचलाएमा सरकारलाई हुने नोक्सानी तपाईंबाट प्रचलित कानूनबमोजिम असूल उपर गरिनेछ अमानत चलन गर्दा ७ दिनको दरले लाग्ने रकम अग्रिम किस्ता कार्यालयको धरौटी खातामा जम्मा गर्दै जानु होला भन्ने पनि रहेछ ।

       २. विपक्षी कार्यालयबाट तपाईंको पट्टा कबुलीयतको शर्त अनुसार ०३२ साल चैत्रसम्म चलन गरेको लट क्षेत्रको ठेक अंकको दामासहीले ०३३ साल वैशाख १ गते देखि ०३३३० र ०३३।४।२६ सम्मको हर्जाना रकम ठेक्काकर, अग्रिम आयकर तथा बिक्रीकर समेत जम्मा रू.३०९७५६।८६ दाखिल नगर्नुभएकोले ७ दिनभित्र दाखिल हुन नआए ऐन नियम बमोजिम असूल उपर हुने व्यहोरा जानकारी गराएको छ भन्ने समेत ०३३।३।५ मा र त्यसपछि ०३३।५।२५ मा ०३३।१।१ देखि पट्टा उठाएको मिति तक निम्न दिनको साविक ठेक अंकको दामासाहीले निम्न अनुसार हर्जाना रकम सोको लाग्ने सुद तथा बाँकी ठेक्काकर, आयकर साथै बिक्रीकर सहित यस कार्यालयमा दाखिल गर्न ल्याउनु होला अन्यथा प्रचलित कानूनबमोजिम हुने कुरा समेत अग्रिम सुचित गरिन्छ भन्ने समेत व्यहोराकोपत्र निवेदकलाई पठाएको रहेछ, सो समेत बदर गराई माग्न प्रस्तुत रिट निवेदन दर्ता हुन आएको रहेछ ।

       ३. रकम र ठेक्का ऐन, ०२० को दफा ११ मा ठेक्काको अवधि कायम गर्ने कुरा छ, अवधि समाप्त भएपछि ठेक्का लिने व्यक्तिलाई ठेकदार र रकम भनिदैन । अमानती काम गर्ने व्यक्ति कर्मचारी सरह हुन्छ, ठेकदार हुन सक्तैन ठेकदारालाई ठेक्का रकमलाई लाग्ने कानून अमानती कामलाई र अमानत काम गर्ने व्यक्तिलाई लाग्न सक्तैन । यो कुरा स्पष्ट तबरबाट गरिएका शर्त कबूलमा नै निर्भर हुन्छ । एकातीर अमानतमा काम गर्नु भन्ने छ भने अर्कोतिर ७ दिनको अग्रिम बुझाउने भन्ने छ त्यस्तो अस्पष्ट लेखाइलाई शर्त कबूल भन्न सकिँदैन कानून वा शर्त कबूल दुवै पक्षबाट पालन गर्नुपर्छ आफू नगर्नेले अरूलाई सो बमोजिम गर भन्न पाइँदैन र भए गरेको कुरा लुकाई अरूलाई पक्रन पनि पाइने होइन श्री ५ को सरकारले चोरी भट्टी रोकी नदिएको अन्तको सक्सी विदेशी सराबहरूमा नियन्त्रण नगरी बिक्री गर्न दिएको समेत अनेक कारणबाट ठेक्कामा ६० प्रतिशत भन्दा पनि बढी घाटा लाग्न गएको व्यहोरा समेत खुलाई ०३३ साल वैशाख १ गते देखि उप्रान्त म अमानती काम गर्न सक्दिन आफ्नो रकम आफैं बन्दोवस्त गरियोस भनी विपक्षी अन्तःशुल्क निर्देशन समेतलाई सूचना गरेकै हुँ कानूनबमोजिम कुनै काम नगरी ०२३ साल वैशाख लागे पछि भट्टी संञ्चालन गरी राखेको ठाउँ भाडामा राखेको रक्सी बनाउने डेगपिया मसिन लगायत सामान र भाडाको घरसमेत आफूले कब्जा लिने समेत बन्दोवस्त गर्नुभयो । आफूले कानून र पट्टा कबुलीयत बमोजिम गरे नगरेको सबै कुरा लुकाई निवेदकको सम्पत्ति गैरकानूनी तबरबाट अपहरण गर्न र सो गर्न नपाए कैद गर्ने समेत अधिकार विपक्षीलाई छैन ।

       ४. निजले गरी दिएको ठेक्का कबुलीयतको शर्तले निजलाई ०३२ साल चैत्र मसान्त पछिलाई अर्को व्यवस्था भएको सूचना नदिएसम्म अमानत चलाउने बाध्य गराएको छ । भट्टी सञ्चालन गरेको ठाउँमा राखेको सामान घरसमेत आफैंले कब्जामा लिने बन्दोबस्त गरेको भन्ने निवेदन जिकिर देखिन्छ । यस सम्बन्धमा पट्टा कबुलीयत अनुसार बुझाउनु पर्ने रकम तोकिएको म्यादभित्र नबुझाएको हुँदा रकम नबुझाए सम्मका लागी उक्त सामानहरू लापत्ता हुन नपाउने गरी कार्यालयले सामान्य रेखदेख वा निगरानी सम्म गर्नु परेको हो । सामानहरू पूर्ण कब्जामा लिई निवेदकको मदिरा चुलाई नै बन्द गरेको होइन जहाँसम्म ठेक्काकर र बिक्रीकर र आयकरको सम्बन्ध छ पट्टा कबुलीयतको शर्त अनुसार निजले बुझाउनु पर्ने दायित्व भित्रको कुरा हुँदा माग गर्न नमिल्ने पनि होइन । यस्तै अमानतको रकम बुझाउन नपरोस भनी ठेकदार कृष्णबहादुर थापा मगरको ०३३ सालको नं. १००९ रिट निवेदनमा सम्मानीत अदालतको डिभिजन बेञ्चको मिति ०३३।९।३ का आदेशले ठेक्का लिंदाको अवस्थाको कबुलीयत शर्त अनुसार नै हुने भनी रिट निवेदन खारेज गरी सकेको हुँदा सोही अनुरूप प्रस्तुत रिट निवेदन पनि खारेज हुन सम्मानीत अमदालत समक्ष सादर अनुरोध गर्दछु भन्ने समेत निर्देशक श्री ५ को सरकार अन्तःशुल्क विभाग ।

       ५. ठेक्का बन्दोबस्त ऐनको दफा ५ अनुसार शर्त ठेक अवधि समाप्त भएपछि अर्थात ०३३ सालको ठेक अंकको दामासाहीले ७७ दिन अगावै रकम बुझाई अस्थायी अमानतमा भट्टी चलाउने गरियो रकमको ठेक्का बन्दोबस्त गरिने छ । लेखिए अनुसार अमानतमा नचलाएमा सरकारलाई भएको नोक्सानी ठेकदारबाट कानूनबमोजिम असूल उपर गरिन्छ भनी यस कार्यालयबाट ०३१।९।१९ मा विभिन्न शर्तहरूको दफा उल्लेख गरी सूचना प्रकाशित भएका र निवेदकले ०३१।११।२२ को बोलपत्र पेश गर्नुभएको सो बोलपत्र सूचनाको विपरीत शर्तहरू राखिएको भए सूचनाको दफा ८ ले त्यसमा शर्तलाई मान्यता नदिने व्यवस्था गरिएको छ । निवेदकले कबुलीयतको दफा १ को शर्त अनुसार ०३३ वैशाख १ गते देखिको भट्टीको अमानत रकम ७७ दिन अगावै नबुझाएकोले श्री ५ को सरकारको राजस्व हिनामिना हुन नपावस असूल उपर होस भन्ने उद्देश्यले रकम असूल गर्न कारवाहीको क्रममा भट्टी सामान नियन्त्रणमा राखी त्यसपछि पनि भट्टी सञ्चालन गर्न निवेदकलाई यस कार्यालयबाट ०३२।१२।३० को सूचना बुझाएको र कबुलीयत शर्तबाट चलाउने कामलाई अस्वीकार गरी श्री ५ को सरकारको राजस्वलाई हानी नोक्सानी पुर्‍याउन खोज्नु भएकोले निवेदन निराधार कानून रहीत छ । यस कार्यालयबाट कानूनबमोजिम नै कारवाई भएको हुँदा रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने समेत अन्तःशुल्क कार्यालय जनकपुर ।

       ६. रकम र सरकारी ठेक्का बन्दोवस्त ऐन (संशोधन सहित) दफा ७ बमोजिम साविक ठेक्काको मिति भुक्तान हुनु भन्दा अगावै ३ महीना अघि सूचना टाँस्ने आदि कार्य बेलामै नयाठेकदार बन्दोवस्त गर्नु पर्ने वा अरू बन्दोवस्त गर्नु पर्ने ऐनले तोकी कर्तव्य आफूले पालन गर्दै नगरी ठेक्का बन्दोवस्त हुन नसकेको भनी निवेदकसँग लिने गरी हाल ठेकदारले पट्टा उठाएको मिति सम्मको हर्जाना दावी गरेको देखियो । म्यादभित्र ठेक्का बन्दोवस्त हुन नसकेको कारण नदेखाई आफूले नै ठेक्का बन्दोवस्त नगरेमा एउटाको सुस्तिले कर्तव्य पालन नगरी अर्कासँग नोक्सानी भराउने कार्यलाई न्याय संगत भन्न मिलेन भन्ने समेत डिभिजन बेञ्चको आदेश ।

       ७. यसमा रिट निवेदक वैजनाथ चौधरीको वारेस नरहरी घिमिरे रोहवरमा रही निवेदकतर्फका विद्वान अधिवक्ता श्री अनुपराज शर्मा र विपक्षी अन्तःशुल्क विभाग समेतको तर्फका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायको २०३८।५।१९ गते बहस सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा महोत्तरी जिल्ला लट नं. १,२ र ३ को भदभट्टी रकमको ठेक्का हुँदा निवेदक वैजनाथ चौधरीले ६,१४,०००। ६ लाख चौध हजारमा २०३२ साल साल बैशाष १ गते देखि २०३२ साल चैत्र मसान्त तक वर्ष १ लाई ठेक्का बन्दोवस्त हुँदा उक्त ठेक्का रकम चलन गर्ने गरी ०३१।१२।३१ मा निवेदकले रकम चलनको पट्टा कबुलीयत गरेको पाइन्छ उक्त ०३१।१२।३१ मा भएको पट्टा कबुलीयत हेर्दा उक्त पट्टा कबुलीयतको तपसीलको देहाय (१) मा ०३२ साल वैशाख १ गते देखि ०३२ साल चैत्र मसान्त तक रकम चलन गर्ने समयमा नै २०३२ साल चैत्र मसान्त पछिलाई (२०३३ वैशाख १ गते देखि) ठेक्का बन्दोवस्त हुन नसकेमा वा अरू कुनै व्यवस्था हुन सकेको सूचना नपाएसम्मलाई ०३२ साल वैशाख १ गते देखि चैत्र मसान्त तकको ठेक्का चलाएको क्षेत्रको ठेक अंकको दामासाहीले हुने रकममा ठेक्का चलाएको क्षेत्रको २०३२ साल चैत्र मसान्त पछिलाई (२०३३ साल वैशाख १ गते देखि) पछि ठहरे बमोजिम हुने गरी अस्थायी रूपमा अमानतबाट पनि रकम चलाई नै रहने छु लेखिए अनुसार अमानत नचलाएमा सरकारलाई हुने नोक्सानी मबाट प्रचलित कानूनबमोजिम असूल उपर गर्नु होला अमानत चलन गर्दा ७ दिनका दरले लाग्ने रकमको अग्रिम किस्ता कार्यालयको धरौटी खातामा जम्मा गर्दै जानेछु भन्ने शर्त समेत उक्त पट्टा कबुलीयतमा उल्लेख भएको पाइन्छ ।

       ८. उक्त पट्टा कबुलीयतको तपसीलको २ दफामा २०३२ साल चैत्र मसान्त पछिलाई ठेक्का बन्दोवस्त हुन नसकेमा वा अरू कुनै व्यवस्था हुन नसकेको सूचना नपाएसम्मलाई वैशाख १ गते देखि ऐ.चैत्र मसान्त तकको ठेक्का चलाएको क्षेत्रको ठेक अंकको दामासाहीले हुने रकम ठेक्का चलाएको क्षेत्रको २०३२ साल चैत्र मसान्त पछिलाई अमानतबाट पनि रकम चलाई नै रहने छु भन्ने कुरालाई निवेदकले पट्टा कबुलीयतमा कबूल गरेकोले ०३२ साल वैशाख १ गते देखि ०३२ साल चैत्र मसान्त तक वर्ष १ को रकम चलन गरे पछि ठेक्का बन्दोवस्त हुन नसकेमा वा अरू कुनै व्यवस्था हुन नसकेको सूचना नपाएसम्मलाई अमानतमा चलाउन पर्ने कुरा प्रष्ट छ । ०३२ साल चैत्र मसान्त पछि ठेक बन्दोवस्त भएको वा अन्य कुनै व्यवस्था भएको सूचना विपक्षी अन्तःशुल्क विभागबाट समेत पाएको छु भन्ने कुरा निवेदकले लेख्न सक्नु भएको छैन ।

       ९. निवेदकले म अमानती काम गर्न सक्दिन आफ्नो रकम आफैं बन्दोवस्त गरियोस भनी विपक्षी अन्तःशुल्क निर्देशक समेतलाई मैले सूचना गरेको र २०३३ साल बैशाख लागेपछि भट्टी सञ्चालन गरी राखेको ठाउँमा भाडामा राखेको ठाउँमा भाडामा राखेको रक्सी बनाउने डेगपिया मिसिन लगायत सामान र भाडाको घरसमेत विपक्षीले आफ्नो कब्जामा लिने समेत गर्नु भयो भनी आफ्नो निवेदनमा लेख्नु भएको सम्बन्धमा ०३२ साल वैशाख १ गते देखि ऐ.चैत्र मसान्त तकको ठेक रकम समाप्त भएपछि २०३३ साल बैशाख १ गते देखि पछि ठहरे बमोजिम हुने गरी अस्थायी रूपमा अमानतबाट रकम चलाई नै रहनुपर्ने पट्टा कबुलीयत गरेको हुँदा निवेदकले अमानती काम गर्न सक्दिन भन्दैमा आफूले गरेको कबूलको दायित्वबाट र सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा ३० मा रहेको व्यवस्थाबाट समेत पन्छिन सकिने स्थिति छैन र भट्टी सञ्चालन गरी राखेको ठाउँ र रक्सी बनाउने माल सामान समेत विपक्षीले आफ्नो कब्जामा नराखी रेखदेख र निग्रानी सम्म गरेको भनी लिखित जवाफमा लेखेकोले निवेदकलाई विपक्षहरूले अमानतमा चलाउन दिएको होइन भन्ने स्थिति छैन । अब अमानतमा चलाउँदा ७ दिनको दरले लाग्ने रकमको अग्रिम किस्ता कार्यालयको धरौटी खातामा जम्मा गर्दै जानुहोला भनी उक्त पट्टा कबुलीयतको तपसीलको दफा १ मा लेखिएकोले अमानत चलन गर्दा ७ सात दिनको दरले लाग्ने रकमको अग्रिम किस्ता कार्यालयको धरौटी खातामा जम्मा नगरेमा त्यत्तिकै नाताबाट उक्त पट्टा कबुलीयत बमोजिमको अमानत टुट्न जाने कुरा उक्त पट्टा कबुलीयतमा उल्लेख गरिएको नहुँदा त्यसरी ७ सात दिनको रकमले लाग्ने अग्रिम किस्ता दाखिल नगर्दैमा श्री ५ को सरकाले ठेक्का तोड्न पर्ने बाध्यता छैन ।

       १०. अमानतमा नचलाएको अवस्थामा सरकारलाई हुने नोक्सानी तपाईंबाट प्रचलित कानून बमोजिम असूल उपर गरिनेछ भनी पट्टा कबुलीयतमा उल्लेख भएको देखिँदा अमानतमा नचलाएको अवस्थामा सरकारलाई हुने नोक्सानी सरकारले निवेदकबाट प्रचलित कानूनबमोजिम असूल उपर गर्नु पर्ने कुरा हो । तर प्रस्तुत केशमा सो बमोजिम नभई विपक्षी अन्तःशुल्क विभागले लट नं. १,२ र ३ को जम्मा ठेक रकम रू.६ लाख १४ हजारको हर्जाना रकम रू.१,८८,११९।९१ र ठेक्काकर रू.७६८७।५५ अग्रीम आयकर रू.२१४८९।१० तथा बिक्रीकर रू.९२१००।३० समेत जम्मा रू.३०९७५६।८६ बुझाउन ल्याउनु भनी निवेदकलाई पत्र दिएको देखिन्छ । उक्त पत्रबाट हर्जाना भन्ने बोली राखी हर्जाना रकम दाखिल गर्न ल्याउ भनी अन्तःशुल्क कार्यालय जनकुपरले लेखे तापनि सो हर्जाना नभई ठेक अंकको दामासाहीले ३ महीना २६ दिनको हुने रकम रू.१८८११९।९१ दाखिल गर्न लेखिएकोले निवेदकले ०३१।१२।३१ मा गरेको पट्टा कबुलीयत बमोजिम ०३२ साल वैशाख १ गते देखि अर्को व्यवस्था वा सूचना नपाएसम्म अमानतमा नै काम चलाई रहने पर्ने र त्यसरी काम चलाउँदा ठेक अंकको दामासाहीले हुने रकम निवेदक स्वयंमले गरेको पट्टा कबुलीयतबाट प्रष्ट हुने हुँदा उक्त पट्टा कबुलीयत विपरीत भयो भन्न मिल्दैन ।

       ११. अब ठेक्काकर, बिक्रीकर, आयकर समेत दाखिल गर्नुपर्ने भन्ने सम्बन्धमा विचार गर्दा ०३१।१२।३१ मा पट्टा कबुलीयत हुँदा ०३२ साल वैशाख १ गते देखि ०३२ साल चैत्र मसान्त तक वर्ष १ लाई रकम चलन गर्ने ठेक्का बन्दोवस्त भई सो अवधि समाप्त भएको सूचना नपाए सम्मलाई अमानतमा चलाउनु पर्ने पट्टा कबुलीयत भएको हुँदा दुवै विषयलाई एउटै पट्टा कबुलीयत भएकोले अमानतमा चलाएको अवस्थामा ठेक्काकर, बिक्रीकर र आयकर दिनु नपर्ने भए सो कुरा उक्त पट्टा कबुलितमा उल्लेख हुनुपर्ने तर सो पत्र उक्त पट्टा कबुलीयतको तपसीलको ४ दफामा प्रचलित दरबन्दी बमोजिम ठेक्काकर, बिक्रीकर, आयकर समेत किस्ताको साथसाथै अग्रिम बुझाउने कबूल भएकोले ठेक्का र बिक्रीकर, आयकरमा विपक्षी अन्तःशुल्क विभागले पक्रन पाउँदैन भन्न मिल्दैन । तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । उत्प्रेषणको आदेश जारी गर्ने गरेको डिभिजन बेञ्चको निर्णय मिलेको देखिएन मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. बब्बरप्रसाद सिंह,

न्या. गजेन्द्रकेशरी बास्तोला

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव,

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०३८ साल आश्विन १६ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु