शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४७३-१ - दर्ता बदर समेत

भाग: २३ साल: २०३८ महिना: असोज अंक:

निर्णय नं. १४७३ क ने.का.प. २०३८           अङ्क ६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३७ सालको डि.दे.पु.नं. २६१

फैसला भएको मिति : ०३८।६।४ मा

वादी : का.न.पं.वार्ड नं. १७ क्षेत्रपाटी बस्ने भवविक्रम राणा

विरुद्ध

प्रतिवादी : का.जि. क्षेत्रपाटी धोबीचौर बस्ने कोमलप्रसाद उपाध्याय

मुद्दा : दर्ता बदर समेत

(१) अ.बं.१३३ नं. को प्रयोग कुन हालतमा हुने हो भन्ने अधुरो कुरा खुलेकोलाई पुरा गर्न पर्‍यो भने मात्र नखुलेको कुरालाई खुलेको अंशबाट कागज गराउन हुन्छ । दर्तावालाको नाम, जग्गाको नाम नै खुल्दैन भने झगडा परेको जग्गा कुन दर्ताको हो वादीको हक कसरी भएको हो नखुलेकोले नै अर्को कागज गराउन पनि सोध्ने कुरा पाइँदैन । यस्तो अधुरो फिरादबाट इन्साफ हुन नसक्ने।

(प्रकरण नं. ११)

वादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त

प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

फैसला

          न्या. हेरम्बराज : विवादको चोक बाटो पहिले हाम्रो एकै पूर्वजको भई पछि बण्डा हुँदा बण्डावालाले बिक्री गर्दा बाहिरीयाको हातमा कुनै घर जग्गा पर्न सम्म गएको हो । सो खरीद बिक्री गर्दा कुनै किसिमबाट किल्ला गलत लेख्न गएको भरमा यथार्थ बस्तु स्थितिलाई फरक पारी लिखतमा लेखे पनि सो रजिष्ट्रेशनको १६ नं. ले कायम नहुने प्रष्ट छ । ३ नं. नापी गोश्वराले ०३५।८।६ मा निर्णय गर्दा कि.नं. ५२७ को जग्गा मनोहरप्रसादको नाममा कि.नं. ५२३ को माधवप्रसादका नाउँमा अस्थायी दर्ता गरी दिने र कि.नं. ५२५ भव विक्रमको घर मुनीको बाटो भनिएपनि सोबाटो कि.नं. ५२६, ६२८, ५२४, ५३५, र ५३६को मात्र बाटो हुँदा उल्लिखित कित्ताहरूको मात्र सगोलको हो कि.नं. ५२३ को सबैको दशै घरमा बलिदिने अर्थात सो कित्ता देखि पूर्वपट्टि दशैं घर छ र त्यसमा कि.नं. ५२५ को र ५२४ को काठको झ्याल खुल्ला राखी सो चोकको चलन गर्दै आएको र सो चोकको बीचमा बली गर्ने मौलाहरू समेत छन् । कि.नं. ५२७ को हकमा कि.नं. ५२५ को घर मुनीको बाटो सोही चोकबाट कि.नं. ५३४, ५३५, ५३६ र ५२८ मा जाने प्रष्ट हुनले कि.नं. ५२३ हाम्रो साझा चोक कायम गरी माधवप्रसादको नामको अस्थायी दर्ता बदर गरी र कि.नं. ५२३ को हकमा कि.नं. ५२५, ५२६, ५३४ र कि.नं. ५३५ मात्र भोग गरी हामीहरूको मात्र साझा एकलौटी चोक दर्ता गरी मनोहरका नाउँको अस्थायी दर्ता गर्ने गरेको निर्णय समेत बदर गरिपाउँ भन्ने फिराद दावी रहेछ ।

          २.  वादी दावीको घर जग्गामा निजहरूको कुनै हकछैन भन्ने कुरा फिराद प्रकरण ५ बाट प्रष्ट हुन्छ । त्यसकारण हकदैया नपुगेको नालेसबाट इन्साफ तहकीकात गर्नु अ.बं.८२ नं. ले मिल्दैन विवादग्रस्त जग्गाको मोल बिगो खुलाई कोर्टफी समेत दाखिल गरेको देखिन्न विवादास्पद जग्गाको हक बेहक नभई उसै जग्गाको दर्ता सदर बदर गर्ने प्रश्न उठदैन । हाम्रो दर्ताको घर जग्गालाई अर्कै क्षेत्रको गैरकानूनी लिखतबाट दावी गरेको अमान्य घोषित गरी सो हाम्रो चोक पटाङगीन अस्थायी दर्ता गर्ने गरी गरेको र सोको अभिन्न घर जग्गा इनारबाटो समेत सबै पूर्ववत हामै्र हकसदर कायम राखी झुठ्ठा पक्राउबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर जिकिर रहेछ ।

          ३.  कि.नं. ५२७ मनोहरप्रसादले आफ्नै नाउँमा र कि.नं. ५२३ माधवप्रसादले आफ्नै नाउँमा मात्र दर्ता गराएको देखिँदा बेगलबेगल कित्तामा बेगलबेगल व्यक्तिले दर्ता गराएको भन्ने देखिन आएबाट अ.बं.७२ नं. को मनसाय र व्यवस्थाबाट एउटै छुटै नालेश लाग्नु नसक्ने हुनले समेत प्र.माधवप्रसाद र मनोहरप्रसादको हकमा वादी दावी खारेज हुन्छ । पहिलो नाम कोमलप्रसादको देखिँदा निजले कुन जग्गा दर्ता गराएको हो र के अन्याय गर्‍यो खुल्न नआएकोले निजको हकमा पनि खारेजहुन्छ भन्ने शुरू का.जि.अ.को फैसलारहेछ ।

          ४.  उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको म.क्षे.अ.मा पुनरावेदन परी क्षेत्रीय अदालतबाट अ.बं.१३३ नं. को त्रुटि देखाउँदै अ.बं.२०२ नं. बमोजिम झगडीया झिकाउने आदेश भएको रहेछ ।

          ५.  कोमलप्रसादको हकमा यस्तो अन्याय गर्‍यो भनी फिरादमा दावी नलिएकोले प्रष्ट दावी बेगर इन्साफ गर्न नमिल्ने देखिन्छ । कि.नं. ५२७ प्र.मनोहरप्रसादका नाउँमा र कि.नं. ५२३ प्र.माधवप्रसादको नाउँमा सर्भे दर्ता भएपछि भिन्न भिन्न किता नं. को जग्गा भिन्न भिन्न व्यक्तिको नाउँमा दर्ता भएको देखिन आएकोले एउटै विषयको मुद्दा देखिन आएन । अतः अ.बं.७२ को व्यवस्थाको विपरीत एउटै नालेसबाट तहकीकात हुन नमिल्ने हुँदा प्र.माधवप्रसाद प्र.मनोहरको हकमा समेत खारेज गर्ने गरेको शुरू इन्साफ मिलेकै देखिन आयो भन्ने समेत म.क्षे.अ डिभिजन बेञ्चको फैसला रहेछ ।

          ६.  उक्त इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको यस अदालतमा निवेदन परी यस अदालत डि.बे.बाट अ.बं.१३३ नं. को त्रुटिदेखाउँदै मिति ०३७ माघ १२ गते अनुमति प्रदान भएकोरहेछ ।

          ७.  आज नियमबमोजिम पेश हुन आएको यस मुद्दामा पुनरावेदक वा रामप्रसाद र विपक्षी वा आफ्नो हकमा समेत माधवप्रसादलाई रोहवरमा राखी पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सुधानाथ पन्तको र झिकाई आएका विपक्षीका तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तको बहस जिकिर समेत सुनी मिसिल संलग्न कागजातहरूको अध्ययन गरी निर्णयतर्फ विचार गर्दा यस्मा फिरादपत्रबाट नखुलेको कुरा अ.बं.१३३ नं. बमोजिम गर्न सकिने भनी पुनरावेदन दर्ता हुने निस्साको आदेश भई पेश हुन आएको प्रस्तुत मुद्दामा गर्ने निस्सा दिन सकिने कुरामा पनि यस तहबाट निर्णय गर्न कानूनी व्यवस्था रहे अनुसार मिसिल हेर्दा ३ नं. नापी गोश्वाराले ०३४।८।६ मा निर्णय गरेको कारणले प्रस्तुत फिराद पर्न आएको देखियो ।

          ८.  यो मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट अ.बं.७२ नं. प्रयोग गरी फिरादपत्रमा पहिलो प्रतिवादीको नाम लेखेको कोमलप्रसादले यो कुरा अन्याय गर्‍यो भनी नलेखेको हुँदा खारेज हुने र अरू प्रतिवादीहरू दोस्रो तेस्रो क्रममा नाम लेखेकोले खारेज हुने भनी ठहर गरेको रहेछ ।

          ९.  यसमा इन्साफ गर्नु पर्ने भनी मिसिल पठाउनलाई विचार गर्दा नापीमा तेरो मेरो भनी फिल्डबुकमा जनाएकोबाट यो मुद्दा उठेको होइन । कि.नं. ५२७ को साझा भनी जनिएकोमा भव विक्रम राणा, चित्र विक्रम राणा, पदम विक्रम राणा, राजु सागर लक्ष्मी राणा मात्रको साझा चोक र पछि एककुमारीको समेत मात्रको साझा चोक जनाई पाउँ भनी अनुसूची १(ग) बमोजिम दर्खास्त गरेकोबाट यो मुद्दा चलेको देखियो साझा चोक भनी पहिले नापीमा लेखिएकोमा संशोधन गर्न यस्को दरखास्त परेको देखियो वादीहरूले यो कित्तामा भीडाई पाउँ भनेको यो दर्ताको यो कित्ता भनी वादीमा लेखिएको देखिएन । अरू कलममा दर्खास्त नहुँदा विचार गर्नु परेन ।

          १०.  वादीले साविक दर्ताको यो कित्ता कायम गरिपाउँ भनी नलेखेकोमा सो कि.नं. ५२७ को चोक कुन दर्ताको भनी निर्णय गर्नुपर्ने हो सो कुराको यकिन भएको नदेखिएको हुँदा दावी प्रष्टनभएको फिरादबाट इन्साफ गर्नमिल्दैन ।

          ११.  अ.बं.१३३ नं. को प्रयोग कुन हालतमा हुने हो भन्ने अधुरो कुरा खुलेकोलाई पुरा गर्न पर्‍यो भने मात्र नखुलेको कुरालाई खुलेको अंशबाट कागज गराउन हुन्छ प्रस्तुत मुद्दामा दर्तावालाको नाम, जग्गाको नाम नै खुल्दैन भनी झगडा परेको जग्गा कुन दर्ताको हो वादीको हक कसरी भएको हो नखुलेकोले नै अर्को कागज गराउन पनि सोध्ने कुरा पाइँदैन । त्यसकारण यस्तो अधुरो फिरादबाट इन्साफ हुन नसक्ने हुनाले इन्साफ गर्न भनी पठाइरहन परेन पुनरावेदन खारेज हुने ठहर्छ कोर्टफी राखी पुनरावेदन दायर गरेको देखिएकोले केही गर्न परेन मिसिल कानूनबमोजिम गर्नु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०३८ साल आश्वित ४ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु