शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४७५-१ - जबरजस्ती करणी

भाग: २३ साल: २०३८ महिना: असोज अंक:

निर्णय नं. १४७५क ने.का.प. २०३८                   अङ्क ६

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३७ सालको फौ.पु.नं. २०४।२०५

फैसला भएको मिति : २०३८।६।६ मा

वादी : श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : बा.अं. का.न.पं. वार्ड नं. २ लाजिम्पाट बस्ने तीर्थबहादुर राना मगरसमेत

मुद्दा : जवरजस्ती करणी

(१) जबरजस्ती करणीको महलको ४ नं. मा उल्लेख भएको हुलहुज्जत गर्ने, जबरजस्ती लग्ने र समाउने इत्यादी जुनसुकै काम गरे पनि जबरजस्ती करणी गर्ने काममा सहयोग पुर्‍याएको मान्नु पर्छ ।

(प्रकरण नं. १४)

वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर

प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

उल्लिखित मुद्दा : 

फैसला

          न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३६।३।२४ मा भएको फैसला उपर प्रतिवादीहरूको पुनरावेदन गर्न परेको अनुमतिबाट पुनरावेदन दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको पेश भयो मुद्दाको तथ्य यस प्रकार छ :

          प्रतिवादी मध्येको तीर्थबहादुरले मलाई २०२९।७।२४ गते जबरजस्ती करणी गरेको भन्ने ०२९।७।२५ को जाहेरवाला रमिलाको बयान कागज ।

          २.  म समेत भई मोटरमा राखी लगी मैले रमिलालाई करणी गरेको हुँ भन्ने प्र.तीर्थबहादुरको २०२९।७।२९ को कागज ।

          ३.  तीर्थबहादुर समेत भई रमिलालाई मैले चलाएको मोटरमा राखी धम्की दिएकोले मैले मोटर चलाई लाजिन्पाट पुर्‍याई दिएको हुँ भन्ने समेत प्र.राजेश खड्गीको कागज ।

          ४.  म समेत भई रमिलालाई मोटरमा राखी लगेको हुँ भन्ने समेत प्र.विष्णुबहादुर श्रेष्ठको कागज ०२९।७।२४ गते जय नेपाल चित्रघरबाट तीर्थबहादुर समेतले रमिलालाई आफ्नो घरमा ल्याई जबरजस्ती करणी गरे भन्ने कुरा सुन्यो, निजलाई जवरजस्ती करणी गरेकोमा पुरा विश्वास शंका लाग्छ निज तीर्थबहादुर र विष्णुबहादुर समेत खराब नियत चाल चलनका मानिसहरू हुन भन्ने समेत व्यहोराको २०२९।८।१३ को सरजमीन मुचुल्का ।

          ५.  विष्णुबहादुर समेतको मद्दतबाट तीर्थबहादुरले रमिलालाई जबरजस्ती करणी गरेको देखिनाले तीर्थबहादुर उपर जबरजस्ती करणीको १।३ र १० नं. बमोजिम र विष्णुबहादुर र राजेश र हाल पक्राउ नभएमा साने बस्नेत श्री प्याकुरेल रामकुमार उपर ऐ.ऐनको ४ नं. अनुसार कारवाही भई सजाय हुन ०२९।८।२६ को प्रहरी प्रतिवेदन ।

          ६.  रमिलालाई मेरो मोटरमा राखी लगेको होइन, प्रहरीमा भएको कागज डरले सहिछाप गरी दिएको हुँ भन्ने समेत राजेश खडगीको बयान ।

          ७.  मैले ट्याक्सीमा रमिलालाई राखी लगेको समेत होइन, प्रहरीले कुटपिट गरेकोले डरले प्रहरीमा भएको कागजमा सहिछाप सम्म गरी दिएको हुँ भन्ने समेत विष्णुबहादुरको बयान।

          ८.  मैले रमिलालाई लगि करणी गरेको होइन, सो दिन बेलुका ६ देखि ९ बजेसम्म रात्री पाठशाला हाइस्कूल नक्सालमा पढन बसेको छु, प्रहरीमा मलाई कुटपिट गरी करेन्ट लगाई जबरजस्तीसँग कागजमा सहिछाप गराएको हो भन्ने समेत प्र.तीर्थबहादुरको ०३०।४।२५ मा बयान भएको ।

          ९.  २०२९।९।२८ मा प्र.श्री प्याकुराल, रामकुमार समेतको ३० दिने समाहृवान तामेल भएकोमा निजहरू हाजिर नभएको ।

          १०. जबरजस्ती करणी गरेको सबूत वादी पक्षबाट पेश हुन नआएको र यस अदालतबाट निज रमिलालाई हाजिर गराउनु भनी लेखी गएकोमा वादी पक्षले हाजिर गराउन समेत नसकेको असप्तालको रिपोर्टमा शंका सम्म जनाउँको बल प्रयोग गरी घाउ चोट लागेको भन्ने नदेखिएको कारणहरू बाट जबरजस्ती करणी गरेको ठहर्दैन भन्ने शुरू का.जि.अ.को फैसला ।

          ११.  शुरूबाट प्रतिवादीहरू लाई सफाई दिई गरेको फैसल बदर गरी प्रहरी प्रतिवेदन मागबमोजिम प्र.हरू लाई सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिर ।

          १२. विना मञ्जूर १६ वर्षमुनीको स्वास्नी मानिसलाई करणी गरेमा जबरजस्ती ठहरीने मुलुकी ऐन जबरजस्ती करणीको महलमा व्यवस्था भएको देखिँदा विपक्षी प्रतिवादीका विद्वान अधिवक्ता तथा अधिवक्ताको प्रतिवादीहरूले सफाई पाउनु पर्छ भन्ने बहसँग सहमत हुन सकिएन । फलस्वरूप प्रहरी प्रतिवेदनमा दावी गरे बमोजिम प्र.तीर्थबहादुरले जबरजस्ती करणी गरेको र अन्य प्रतिवादीहरूले सो कामको निमित्त सहयोग गरेको समेत ठहर्छ भन्ने समेत ०३६।३।२४ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला । सो फैसला उपर प्र.तीर्थबहादुर विष्णुबहादुरको पुनरावेदन दर्ता भई पेश हुने ।

          १३. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तीर्थबहादुरको तर्फबाट वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ र पुनरावेदक प्रतिवादी विष्णुबहादुर श्रेष्ठको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीको र विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट खटि आउनु भएका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा विष्णुबहादुरले प्रहरीले लगाएको आरोप अनुसार तीर्थबहादुरलाई मद्दत गरेको प्रमाण छैन जबरजस्ती करणीको महलको ४ नम्बर अनुसारको अवस्था देखिँदैन उक्त विष्णुबहादुरलाई सजाय गर्ने गरी म.क्ष.अ.ले गरेको इन्साफ मिलेको छैन भन्ने समेत वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले र पुनरावेदक तीर्थबहादुरलाई जवरजस्ती करणी गरेको भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय त्रुटिपूर्ण छ मुद्दाको तथ्य र प्रमाणको विश्लेषण गर्दा जबरजस्ती करणीका तत्व विद्यमान रहेको पाइँदैन रमिलाले प्रहरी समक्ष गरेको बयान पुनरावेदक तीर्थबहादुर विरुद्ध प्रमाण लाग्न सक्दैन भन्ने समेत विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले र पिडीत व्यक्ति रमिलाको बयान प्रमाण योग्य छ र रमिलालाई गाडीमा राखी जबरजस्ती लादा विष्णुबहादुरले मद्दत गरेको मिसिल साथ संलग्न कागजातबाट देखिएको छ भन्ने समेत विपक्षी श्री ५ को सरकारतर्फबाट खटि आउनु भएका सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरले बहस प्रस्तुत गर्नुभयो ।

          १४. उपरोक्त विद्वान अधिवक्ताको बहसलाई ध्यानमा राखी सम्बन्धित मिसिल अध्ययन गरी हेर्दा प्र.तीर्थबहादुरले अभियुक्तहरूको मद्दतले जबरजस्ती ट्याक्सीमा राखी लागी जबरजस्ती करणी गरेको भन्ने स्वयं पिडीत व्यक्ति रमिलाले प्रहरी समक्ष बयान गरेको देखिन्छ बिनाकारण तीर्थबहादुर माथि रमिलाले झुठ्ठा अभियोग लगाउन पर्ने कारण केही पनि देखिँदैन रमिलाले प्रहरी समक्ष गरेको कागज अनुसार भएको हो भन्ने कुरालाई यो घटना भएको तत्कालै पछि चिकित्सकले निज रमिलालाई जाँच गरी दिएको प्रतिवेदनबाट भएको देखिन्छ । चिकित्सकले दिएको ०२९।८।५ को प्रतिवेदन हेर्दा उमेर १५ की रमिला महत क्षेत्रीको योनीभित्र देखेको उपचार गर्न यस अस्पतालमा भर्ना गरिएको थियो Symptom relief भएको हुँदा Discharge गरिएको छ २ हप्तापछि १९ गतेको दिन (Check up) को निमित्त (Hospital) आउन सल्लाह दिएको छ भन्ने उल्लेख भएको पाइन्छ र निज रमिलालाई जबरजस्ती ट्याक्सीमा हाली लगेको कुरा अदालतमा मिरा थापा रविनले गरेको बकपत्रबाट देखिएकोले सो बकपत्र र चिकित्सकले दिएको रमिलाको योनी जाँच प्रतिवेदन समेतले निज रमिलाले प्रहरी समक्ष गरेको बयान समर्थित भएकै देखिन्छ । यस्तो स्थितिमा प्रहरी समक्ष रमिलाले गरेको बयान प्रमाण योग्य छैन भन्ने विद्वान अधिवक्ताको तर्कसँग सहमत हुन सकिएन तसर्थ प्र.तीर्थबहादुर माथि लगाएको आरोप प्रमाणित हुन आएको देखिन्छ । अब प्र.विष्णुबहादुरको हकमा विचार गर्दा रमिलालाई ट्याक्सीमा जवरजस्ती हाली साथमा गएको कुरामा विवाद छैन निजतर्फका विद्वान वरिष्ठ अधिवक्ताले जबरजस्ती करणी महलको ४ नं. मा उल्लेख भएको समाउने भन्ने शब्दमाथि विशेष जोड दिनुभएको छ वहाँको तर्क गराई अनुसार वास्तविक अर्थमा करणी गर्दाको अवस्थामा समाई दिएको भएमात्र जवरजस्ती करणी गर्नमा सहयोग पुर्‍याई दिएको मान्नुपर्छ, उक्त ४ नं. मा लेखिएका अवस्थाहरू समाउने कार्यका अभावमा मद्दत गरेको संज्ञा दिन मिल्दैन भन्ने जिकिर गराइन्छ, केवल समाउने कार्यलाई मात्र सहयोग गरेको मान्ने हो भने उक्त ४ नं. मा देखाइएका अरू अवस्थाहरू निस्प्रयोजन हुनजान्छ, यति शब्दहरू राख्नु पर्ने कुनै दरकारै थिएन यसबाट स्पष्ट छ कि उक्त ४ नं. मा उल्लेख भएको हुलहुज्जत गर्ने जबरजस्ती लग्ने र समाउने इत्यादी जुनसुकै काम गरे पनि जबरजस्ती करणी गर्ने काममा सहयोग पुर्‍याएको मान्नुपर्छ अतः विद्वान अधिवक्ताको तर्क युक्तीयुक्त देखिँदैन ।

          १५. परिणाम स्वरूप माथि प्रकरणमा उल्लेख भएका र मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लेख भएका बुदा प्रमाणका आधारहरूमा यी पुनरावेदक अभियुक्तहरू लाई दोषी ठहराई सजाय गर्ने गरेको इन्साफ मनासिव ठहर्छ तपसीलको कुरामा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

तपसील

माथि इन्साफ खण्डामा लेखिएबमोजिम इन्साफ सदर भएकोले देहायबमोजिम गर्नु भनी का.जि.अ.स.लगत दिने । ......................१

प्र.तीर्थबहादुर राना मगर के देहायको कलममा देहायबमोजिम गर्नु । .....१

इन्साफ सदर भएकोले पुनरावेदन गरे बापत पहिलो पुनरावेदन हुँदा अ.बं २०३ नं. ले शुरू कै वर्ष ३ तीनको दसौंद कैद । ।३।१८। तीन महीना अठार दिन थप कैद लाग्छ बेरुजु हुँदा कानूनबमोजिम अनुसार गर्ने ..१

म.क्ष.अ.बाट गर्ने गरेको कैद वर्ष ३ बापत रू.१६२० मिति ०३७।१।३१ मा धरौट रहेकोमा हाल कैद नै लाग्ने भई सो धरौटी फिर्ता हुने हुँदा लिन आए कानूनको रीत पुर्‍याई फिर्ता दिने २

प्र.विष्णुबहादुर श्रेष्ठ के देहायको कलममा देहायबमोजिम गर्नु २

इन्साफ सदर भएकोले पुनरावेदन गरे बापत पहिलो पुनरावेदन हुँदा अ.बं २०३ नं. ले शुरू कैद वर्ष १ को दशौंद कैद ।१।६। एक महीना छ दिन थप कैद लाग्छ बेरुजु हुँदा कानूनबमोजिम असूल गर्ने १

म.क्ष.अ.बाट गर्ने गरेको कैद वर्ष १ बापत रू.५४०।०३६।४।२८ मा का.जि.अ.मा धरौटी रहेकोमा हाल कैद नै लाग्ने भई सो धरौटी फिर्ता पाउने हुँदा लिन आय कानूनको रीत पुर्‍याई फिर्ता दिनु .....................२

 

म सहमत छु ।

 

प्र.न्या. नयनबहादुर खत्री

 

इति सम्वत् २०३८ साल आश्विन ६ गते रोज ३ शुमभ् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु