शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४७६-१ - अनियमित रूपले मदिरा सञ्चालन गरे भन्ने

भाग: २३ साल: २०३८ महिना: असोज अंक:

निर्णय नं. १४७६क  ने.का.प. २०३८           अङ्क ६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०३७ सालको फौ.पु.नं. १८,,,८४

फैसला भएको मिति : ०३८।५।२१ मा

प्रतिवादी/ पुनरावेदक : मनासलु होटलका मेनेजिङ डाईरेक्टर का.जि.लाजिम्पाट बस्ने हृदयदास श्रेष्ठसमेत

विरुद्ध

प्रत्यर्थी/वादी : श्री ५ को सरकार अन्तःशुल्क कार्यालय काठमाडौं

मुद्दा : अनियमित रूपले मदिरा सञ्चालन गरे भन्ने

(१) मदिरा ऐन, २०३१ प्रारम्भ भएको ऐनले मदिरा राख्नलाई पनि इजाजतपत्र लिनुपर्छ भन्ने कुनै व्यवस्था गरेको देखिएन । मदिरा राख्नु अपराधजन्य कार्य हो भनी उक्त ऐनले दण्डनीय बनाएको नपाइने ।

 (प्रकरण नं. २०)

प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली, विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी

विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा

उल्लिखित मुद्दा :  

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अन्तर्गत पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।

          २.  वि.जि.एसोसिएटेड ईन्टर प्राईजेज कम्पनी बागबजारको मदिरा स्टक जाँच गर्न बागमती अञ्चलाधिश कार्यालय अं.शु.का.काठमाडौंको कर्मचारी खटिई गई सोधनी गर्दा यस वर्ष विदेशी कुनै पनि मदिरा तथा वियर स्टक नभएको र यस आर्थिक वर्षमा पैठारी र निकासी गर्न इजाजत समेत लिएको छैन भन्ने पार्टनर विष्णुलालाको कागज ।

          ३.  यस फर्मको आ.व.०३१।३२ सम्म विदेशी मदिरा पैठारी गरी बिक्री गर्ने गरी बिक्री गरी आएको पत्ता नपरेकोले इजाजत नवीकरण नगराएको मदिरा स्टक नभएको सम्बन्धमा बा.अं.का.र अं.शु.का.बाट खटि आउनु भएका कर्मचारीलाई कागज गरी दिइसकेको पुनः सोधनी हुँदा मदिरा हामीले होटल मनासलुका लागि डिलर रूपमा झिकाई दिएको हो । यस्को भन्सार महसूल हामीले तिरी ल्याएको छ । चुक्ता गरेपछि निजहरू लाई नै माल जिम्मा दिन्छौ हामी बिक्री गर्दैनौं । उक्त मदिरा बेल्जियमबाट ल्याएको हो भन्ने समेत व्यहोराको चिनीकाजी श्रेष्ठको बागबजारको घरमा रहेको मदिरा बारे विष्णुलालले गर्नुभएको कागज ।

          ४.  मैले गरेका कागजहरू ठिक छ । वि.जी.एसोसिएटेडले आ.व.०३१।३२ मा कम्पनीको नामबाट यस कार्यालय र अं.शु.विभागबाट विदेशी मदिरा पैठारी र बिक्री गर्ने इजाजत लिएको थियो । सो व्यापारबाट पर्ता नपरेकोले व्यापार गर्ने मनसाय नभई ०३२।३३ को लागि इजाजत लिएनौ मदिरा स्टक पनि छैन । यस कम्पनीको अफिस रहेको बागबजारको चिनीकाजीको घरको ग्राउण्ड फलोरको भारत रक्सौलमा आएपछि सो होटलको मानिस रक्सौलमा कोही नरहेको हाम्रो फर्मको मानिस वीरगञ्जमा रहने हुँदा उक्त होटलले सो भन्सार तिरी काठमाडौं ल्याउन हाम्रो कम्पनीलाई ०३२।७।१८ मा अनुरोध गरेको मदिरा २७ को रू.१०० पाइप हुस्की मिति ०३२।७।२३ मा रू.१०४,८०७।४६ महसूल तिरी ल्याएका छौ । सो होटलबाट हामीले तिरेको भन्सार महसूल र ढुवानी भाडा भुक्तान भई नसकेकोले चिनीकाजीको कोठामा दिएको रू.५। का दरले भाडाली मनासलु होटेलको नाममा गोदाम गरी राखेको हो । हाम्रो हिसाब चुक्ता गरेपछि सो माल उक्त होटलले नै लिने छ । ०३२।७।२७ मा माल आई पुगेको हो लिनु पर्ने हिसाब फछर्यौट गरी माल लिनु होस भन्दा पैसा छैन तपाईं कै गोदाममा राख्नु होस भनेपछि लाग्ने भाडा महसूल बुझाई लाने छु भनेबाट गोदाममा राखेको हो । आफ्नो गोदाममा राख्न अं.शु.को इजाजत चाहिन्छ भन्ने थाहा छैन । मदिरा राजस्व दबाउन मदिरा खरीद बिक्री र स्टक राख्ने काम गरेको नहुँदा पक्राउबाट छुटकारा पाउँ भन्ने समेत विष्णुलालको बयान ।

          ५.  बागबजार चिनीकाजी श्रेष्ठको घरमा अफिस कायम गरी सकेका छौ । पार्टनर म र विष्णुलाल समेत २ जना छौ । साविकमा यस कम्पनीको नाउँबाट विदेशी मदिरा पैठारी र बिक्री गर्दथ्यौं । पर्ता नपरेकोले यस वर्ष सो काम गरेनौ । हाल उक्त अफिसको गोदाममा रहेको विदेशी मदिरा सम्बन्धमा मेरा पार्टनर विष्णुलालले गरेको बयान साँचो हो भन्ने समेत व्यहोराको ज्ञानप्रसाद कर्माचार्यले गरेको बयान ।

          ६.  चिनीकाजीको घरमा राखेको विदेशी मदिरा मेरो अर्थात मनासलु होटलको हो । उक्त फर्ममा राख्नु पर्ने कारण मेरो मानिस वीरगञ्ज रक्सौलमा नभएकोले वि.जी.एसोएिटेडकै मानिस वीरगञ्जमा नै रहने हुँदा साथीभाइको हैसियतले रक्सौल वीरगञ्जबाट माल छुटाई काठमाडौं ल्याई दिने गरेको हो । म सँग पैसा नभएकोले पैसा भएका बखत चुक्ता बुझाई लाने छु मदिरा वेल्जीयमबाट झिकाइएको हो बिक्री वितरण गरेको छैन भन्ने समेत व्यहोराको हृदयदास श्रेष्ठको बयान ।

          ७.  मेरो बागबजार घरको कोठा १ भुँई तल्लामा गोदाम १ नाताको साला पर्ने विष्णुलाललाई काम गर्न दिएको थिए । उक्त गोदाममा मदिराहरू राख्ने गरेका रहेछन् । पहिला आफैं मदिरा झिकाई काम गर्दथे । हाल रहेको मदिरा आफ्नै हो वा अरूको हो मलाई थाहा छैन । अर्को घर नपाए सम्मलाई मात्र दिएको हो भन्ने समेत व्यहोराको चिनीया काजी श्रेष्ठको बयान ।

          ८.  वि.जि.एसोसिएटेडको प्रोपाइटर मेरो साहु हुन नाता सम्बन्ध छैन विदेशी मदिरा सम्बन्धमा वीरगञ्ज भन्सार महसूल रकम बुझाई माल छुटाई काठमाडौं ल्याई दिएको हुँ भन्ने समेत व्यहोराको प्रेमबहादुर श्रेष्ठको बयान ।

          ९.  वि.जी.एसोसिएटेड इजाजत नहुँदा पनि मदिरा ल्याई थन्काई राखेकोले मादक पदार्थ नियमहरू, ०१९ को नि.३ र ऐ, ०१७ को दफा १६को उल्लंघन गरेको र मनासलु होटलले आ.व.०३२।३३ को लागि मदिरा पैठारी र बिक्री गर्न इजाजत लिएको नहुँदा मदिरा ऐन, ०३१ को दफा ५ को उल्लंघन गरेकोले मदिरा ऐन दफा १२(१) बमोजिम रू.४२५।का दरले जरिवाना र सोही ऐनको दफा १३ बमोजिम उक्त मदिरा जफत गर्ने । चिनीकाजी श्रेष्ठले आफ्नो घरको गोदाममा अनियमित तरीकाले मदिरा रहेको थाहापाई चुप लागी बसेमा मादक पदार्थ नियम, ०१९ को नियम ३र मा.पं.ऐन, ०१७ को उल्लंघन गरेकोले मदिर ऐन, ०३१ को दफा १२(२) बमोजिम निजलाई रू.७५। जरिवाना हुन्छ भन्ने अं.शु.का.काठमाडौंको फैसला ।

          १०.  तोकिएको स्थानमा काम कुरो नभई बागबजारको गोदाम घरमा फेला परेकोले अन्यत्र स्थानमा राखी काम गर्न नपाउने देखिएकोले हृदयदासको पुनरावेदन जिकिर पुग्न सक्तैन । वि.जी.एसोसिएटेडले अघि मादक पदार्थ कारोबार गरी आएकोले त्यस्तो मादक राख्न नपाउने थाहा छैन भनेको मनासिव नहुँदा निजको हकमा पनि अं.शु.ले गरेको इन्साफ मनासिव ठहर्छ । चिनीयाकाजीले आफ्नो गोदाम छोडी दिंदैमा कुन माल राखेको हो सोको इजाजत भए नभएको बुझ्नु पर्ने बाध्यता नहुँदा निजले उद्योग गरेको ठहर्‍याई जरिवाना गरेको मिलेको नदेखिँदा निजको हकमा अं.शु.ले गरेको फैसला गल्ती ठहर्छ भन्ने समेत व्यहोरा राजस्व न्यायिकरण काठमाडौंको फैसला ।

          ११.  सो फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीहरूको पुनरावेदन ।

          १२.  मनासलु होटलले विदेश मदिरा पैठारी गर्न पाउने अवधि २०३२ साल आषाढ मसान्त तक मात्र भएकोमा सो अवधि नाघी सकेपछि मात्र पैठारी गरेको र स्थानका सम्बन्धमा पनि इजाजतपत्रमा मनासलु होटल चेत भवन लाजिम्पाट तोकिएकोमा प्रस्तुत मदिराहरू बागबजारमा वि.जी.एसोसिएटेड भएमा भेटिन्छ र वि.जी.एसोसिएटेडले पनि ०३२ साल श्रावण देखि विदेशी मदिरा पैठारी गर्न पाउने कुनै इजाजतपत्र पाएको नदेखिने यस स्थितिमा निजहरूको कसूर नभएको भन्न नमिल्ने । इन्साफ न्यायधीकरणको मनासिव ठहर्छ भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          १३.  उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा निवेदक विष्णुलाल श्रेष्ठलाई मादक पदार्थ ऐन, २०१७ को दफा १६ अन्तर्गतको कसूर गरेको भनी मदिरा ऐन, २०३१ को दफा १२(१) अन्तर्गत सजाय गरेको तर मादक पदार्थ ऐन, २०१७ अन्तर्गतको अभियोगमा मदिरा ऐन, २०३१ अन्तर्गत सजाय गर्ने अवस्था देखिन नआएको एक ऐन अन्तर्गतको अभियोगमा अर्को ऐन अन्तर्गत सजाय गर्न सक्ने कानूनी व्यवस्थाको अभावमा मध्यमाञ्चल क्षेत्रीय अदालतले सो गरेको दुरुस्त देखिन नआएको र हृदयदास श्रेष्ठको हकमा बाणिज्य विभागबाट प्राप्त भएको इजाजतपत्रको अवधि संशोधन भई एक वर्षको कायम हुन आएको म्यादभित्र माल पैठारी भएको देखिनाले इजाजतपत्र बेगर पैठारी गरेको भन्न नमिल्ने देखिनाले मदिरा ऐन, २०३१ को दफा ५ उल्लंघन गरेको भनी रू.४२५। जरिवाना गरी मदिरा जफत गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा उक्त ऐनको त्रुटि भएको देखिनाले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अन्तर्गत पुनरावेदनका अनुमति दिएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।

          १४. पुनरावेदक हृदयदासतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली पुनरावेदक विष्णुलाल श्रेष्ठतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी तथा विपक्षी तर्फबाट बहसको लागि उपस्थित विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झाले गर्नुभएको बहस समेत सुनियो ।

          १५. प्रस्तुत मुद्दामा मध्यमाञ्चलमा क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के हो ? निर्णय दिनु परेको छ ।

          १६.  यसमा निर्णयतर्फ हेर्दा बाणिज्य विभागबाट ईस्पोर्ट लाईसेन्सको अतिरिक्त काठमाडौं अन्तःशुल्क कार्यालयबाट ०३१।१०।३ को इजाजतपत्र अनुसार मदिरा पैठारी गरेको सो मदिरा वीरगञ्ज भन्सार कार्यालयमा आई पुग्दा इजाजतपत्रको अवधि समाप्त भएकोले भन्सारबाट माल छुटाउनु अघि मदिरा पैठारी गर्ने अर्को इजाजतपत्र अन्तःशुल्क कार्यालयबाट लिनु पर्ने कानूनले व्यवस्था गरेको पाइँदैन । मदिरा ऐन अन्तर्गत ०३३।२।१८ मा मात्र नियम बनेको र न्यू सम्बन्धी कानूनी व्यवस्थाको अभावमा मदिरा ऐन, २०३१ को दफा ५ ले व्यवस्था गरेको कुराको आरोप लाग्न सक्ने होइन भन्ने समेत मनासलु होटलतर्फको र मादक पदार्थ ऐन मदिराको सम्बन्धमा उल्लेख गरेको होइन । भन्सार ऐन, २०१९ को दफा २ को(ख) को व्यवस्था अनुसार भन्सार तिरी बुझाई सकेपछि पैठारीको स्थिति रहदैन मदिरा ऐन, २०३१ को दफा ५ को उल्लंघन हुने स्थिति नभएको र दफा १२ र १३ लगाई फैसला भए गरेको गैरकानूनी छ भन्ने समेत वि.जी.एसोसिएटेड ईण्टर प्राईजेज तर्फको पुनरावेदन जिकिर देखिन्छ ।

          १७. प्रस्तुत मुद्दामा मदिरा मनासलु होटलको बाणिज्य विभाग र अन्तःशुल्क विभागबाट इजाजतपत्र प्राप्त गरी झिकाई आएको देखिन्छ । सो मदिराको अडर गर्दा सम्म दुवै इजाजतपत्र अवधि भित्रैको देखिन्छ । बाणिज्य विभागको इजाजतपत्र नवीकरण भएको, अन्तःशुल्कको इजाजतपत्र नवीकरण नभएको कारणबाट सो मदिरा यहाँ आई पुग्दा बाणिज्य विभागबाट प्राप्त भएको इजाजत अवधि पत्रको अवधि कायमै रहेको र अन्तःशुल्क विभागबाट प्राप्त इजाजतपत्रको अवधि समाप्त भएको देखिन्छ ।

          १८.  मनासलु होटल र वि.जी.एसोसियटेड ईण्टर प्राईजिङ कं.को बीच आपसी कुराबाट सो झिकाई आएको मदिरा भन्सार छुटाउन लाग्ने भन्सार वि.जी.एसोसिएटेड ईण्टर प्राईजिङ कं.ले बुझाई मदिरा छुटाई ल्याउने र मनासलु होटेलले सो भन्सार तिरेको रकम चुक्ता गरी बुझाई वि.जी.एसोसिएटेड ईण्टर प्राईजिङ कं.बाट सो मदिरा लिएर आउने भन्ने दुवैको सम्झौता भई सोही अनुसार भन्सार चुक्ता गरी उक्त मदिरा वि.जी.एसोसिएटेड ईण्टर प्राईजिङ कं.ले आफू कहाँ राखेको भन्ने मिसिलबाट देखिन्छ । यसरी इजाजतपत्रको अवधि भित्रै मनासलु होटलले मदिराको अडर गरी झिकाएको र सो मदिरा वीरगञ्ज भन्सार आइपुग्दा अन्तःशुल्कको इजाजतपत्रको अवधि भुक्तान भएको अवधिमा सो मदिराको लाग्ने भन्सार समेत मनासलु होटल र वि.जी.एसोसिएटेड ईण्ट प्राईजिङ कं.को बीच आपसी सम्झौता अनुसार भन्सार चुक्ता बुझाई भन्सार छुटाई ल्याएको सो मदिराको सम्बन्धमा यस आर्थिक वर्ष विदेशी मदिरा पैठारी गर्ने र बिक्री गर्ने इजाजत नभएको भन्ने आधारमा प्रस्तुत मुद्दा चलेको देखिन्छ ।

          १९.  मादक पदार्थ ऐन, २०१७ पछि मदिराको सम्बन्धमा प्रस्तुत मुद्दा दायर भएको व्यवस्थामा मदिरा ऐन, २०३१ प्रारम्भ भएको देखिन्छ । ऐन कार्यान्वित गर्न उक्त ऐनको दफा १६ बमोजिमको नियम श्री ५ को सरकारले निर्माण गरी सकेको देखिँदैन । श्री ५ को सरकार अर्थमन्त्रालय भन्सार विभागबाट सबै मूलभन्सार कार्यालयहरू लाई भएको मिति ०३२।६।१४ को परिपत्रमा मादक पदार्थमा पर्ने विदेशी महुवा वियर र मदिरा आयात गर्न बाणिज्य विभागबाट दिइने पैठारी इजाजतपत्रको अतिरिक्त अन्तःशुल्क विभागबाट पनि इजाजतपत्र लिनुपर्ने व्यवस्था भएको र बाणिज्य विभागबाट दिइएको इजाजतपत्रको म्यादको आधारमा (साल तमामी पछि पनि अन्तःशुल्कबाट दिइने इजाजतपत्र नवीकरण नगराई) नै माल पैठारी गरेको हुँदा इजाजतपत्र दिने व्यवस्था बारेमा अन्तःशुल्क विभागबाट लेखी आएको व्यहोरा पेश हुँदा यसमा अन्तःशुल्क विभागका अनुरोध अनुसार यसविभाग अन्तर्गत भन्सार कार्यालयहरू लाई भन्सार सुविधा महसूल सुविधा पाएका व्यक्ति वा संस्थाहरू लाई र स्टार होटलहरू बाहेक अन्य व्यक्ति वा संस्थाले विदेशी मदिरा पैठारी गरेमा बाणिज्य विभागको अनुज्ञप्तीको म्याद र अन्तःशुल्क विभागको इजाजतपत्रको म्यादसमेत भुक्तान भए नभएको हेरी मात्र पैठारी गर्न दिने भनी मिति ०३२।६।१२ मा निर्णय भएकोले निर्णय अनुसार गर्न हुनको लागि यो परिपत्र गरिएको छ भन्ने उल्लेख भएको पाइन्छ । सो परिपत्रको अभावमा लाग्ने भन्सार बुझी सो झिकाई आएको मदिरा भन्सारले छाड्ने अवस्थै पर्ने थिएन । उक्त परिपत्रको आधारमा लाग्ने भन्सार लिई मनासलु होटलले झिकाएको मदिरा छोडेको रहेछ भन्ने प्रष्ट हुन्छ । मदिरा ऐन, २०३१ बमोजिम पाएको प्रमाणपत्रलाई नवीकरण गर्ने पछि मात्र नियमले व्यवस्था गरेको देखिन्छ । अन्तःशुल्कको इजाजतपत्रको म्याद भुक्तान भएमा र बाणिज्य विभागको इजाजतपत्रको म्यादभित्र सामान पैठारी भएमा अन्तःशुल्कको इजाजतपत्र नवीकरण गर्ने व्यवस्थाको अभाव समेतको कारणबाट उपरोक्त उल्लिखित परिपत्र गर्नुपर्ने अवस्थाको सिर्जना भएको भन्नु पर्ने हुन्छ । सो परिपत्रले कानूनको अतिक्रमण गरेको भन्न सकिने अवस्था देखिँदैन यसले केवल नियमको अभावमा काम गर्नको लागि बाधा फुकायको भन्नु पर्ने हुन्छ । मनासलु होटल दुई स्टारको होटल हो भन्ने कुरा मिसिल सामेल रहेको पर्यटन विभागको पत्रबाट देखिन्छ । यस अवस्थामा मनासलु होटलले मदिरा ऐन, २०३१ को दफा ५ को विपरीत मदिरा पैठारी गरेको भन्न मिल्ने देखिँदैन ।

          २०. उक्त मदिरा राखेमा मादक पदार्थ नियम, २०१९ को नियम ३ र मादक पदार्थ ऐन, २०१७ को दफा १६ समेतको उल्लंघन गर्ने वि.जी.एसोसिएटेड इन्टर प्राइजिङ र मदिरा ऐन, २०३१ को उल्लंघन गर्न होटल मनासलुलाई समेत उक्त मदिरा ऐन, २०३१ को दफा १२ (१) बमोजिम रू.४२५ का दरले जरिवाना गरी मदिरा जफत गरेकोमा उपरोक्त उल्लेख भए बमोजिम इजाजतपत्र अनुसार मनासलु होटलले झिकाएको मदिरा वि.जी.एसोसिएटेड इन्टर प्राईजिङले भन्सार छुटाई ल्याई राखेको भन्ने देखिन्छ । सो कुरा क्षेत्रीय अदालतको फैसलाले पनि मानेको छ । सो मदिरा राख्दाको अवस्था मदिरा ऐन, २०३१ प्रारम्भ भएको देखिन्छ । सो ऐनले मदिरा राख्नलाई पनि इजाजतपत्र लिनुपर्छ भन्ने कुनै व्यवस्था गरेको देखिएन । मदिरा राख्नु अपराधजन्य कार्य हो भनी उक्त ऐनले दण्डनीय बनाएको पाइँदैन । यस स्थितिमा उक्त अनुसार जरिवाना गरी मदिरा जफत गर्ने गरेको इन्साफ सदर गरेको मिलेको देखिएन ।

          २१.  अतः उपरोक्त उल्लिखित कारणहरू बाट राजस्व न्यायधीकरण काठमाडौंको इन्साफ मनासिव ठहर्छ भनी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिएन । तपसील बमोजिम गर्नु ।

 

तपसील

देहायका प्रतिवादीहरू के शुरू अन्तःशुल्क कार्यालयका ०३२।११।२२ का फैसलाले जनही रू.४२५।का दरले र राजस्व न्यायाधीकरण काठमाडौंको ०३३।५।३ को फैसलाले जनही रू.४२।५० का दरले जरिवाना गर्ने गरेको सो जरिवाना माथि लेखिएबमोजिम नलाग्ने हुँदा शुरू जरिवाना धरौटी रहेकोबाट कट्टा गरी सकेको शुरू फैसलाबाट देखिएको र राजस्व न्यायधीकरण काठमाडौंको फैसलाले लाग्ने गरेको जरिवाना ०३३।५।३ मा र ०३३।६।५ मा अन्तःशुल्क कार्यालयमा बुझाई सकेको देखिँदा सो रुपैयाँफिर्ता पाउँ भनी ऐनका म्यादभित्र दरखास्त परे दस्तुर केही नलिई फिर्ता दिनु भनी अन्तःशुल्क कार्यालय काठमाडौंमा लेखी पठाउन काठमाडौं जि.अ.मा लगत दिनु .........................१

मनासलु होटलका मेनेजिङ डाईरेक्टर हृदयदास श्रेष्ठ के जम्मा रू.४६७।५० वि.जी.एसोसिएटेड ईन्टर प्राईजिङ कं.का पार्टनर विष्णुलाल श्रेष्ठ के जम्मा रू.४६७।५० शुरू अन्तःशुल्क कार्यालय काठमाडौंको मिति ०३२।११।२२।६का फैसलाले मदिरा जफत गर्ने गरेकोमा माथि लेखिएबमोजिम भएकोले सो मदिरा फिर्ता पाउँ भनी वि.जी.एसोसिएटेड ईन्टर प्राइजिङको दरखास्त परे दस्तुर केही नली निज वि.जी.एसोसिएटेडलाई फिर्ता बुझाई दिनु भनी अन्तःशुल्क कार्यालय काठमाडौंमा लेखी पठाई दिनु । ........................२

मिसिल नियमबमोजिम बुझाई दिनु ....................३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०३८ साल भाद्र २१ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु