शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४८४ - लिखत पास

भाग: २३ साल: २०३८ महिना: कार्तिक अंक:

निर्णय नं. १४८४ ने.का.प. २०३८             अङ्क ७

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३५ सालको दे.वि.नं. ५७

फैसला भएको मिति : २०३८।७।२।२ मा

निवेदक   : जि.सुनसरी खनार गा.पं. वडा नं. ४ बस्ने राजुबहादुर शाहासमेत

विरुद्ध

विपक्षी : का.जि.का.न.पं.वार्ड नं. २५ माली गाउँ बस्ने रामबहादुर खड्का क्षेत्री

मुद्दा : लिखत पास

(१) एकजनाले रुपैयाँ लिनुदिनु गरी लिखत गरेको भन्ने र एकजनाले पटकपटक हिसाब गर्दा पुगेको रुपैयाँको लिखत लेखेको भन्ने भई लिखतका साक्षीहरूको कुरा परस्परमा मिलान नभई फरक परेको देखिने र उसमा पनि सो लिखत जाँच हुँदा उक्त लिखत छाप लगाइसकेपछि लेखिएको देखियो भनी रेखा तथा लेखा विशेषज्ञको राय भएको हुँदा राजीनामा लेखी रुपैयाँ लिनुदिनु गरी सहिछाप भई लिखत भएको भन्ने देखिन नआएकोबाट समेत वादी दावीको लिखत कीर्ते ठहराई सो लिखतको लेखक साक्षी निवेदक र लिखतमा साक्षी बस्ने निवेदकलाई समेत कीर्ते कागजको १४ नं. बमोजिम जरिवाना गर्ने ठहराएको इन्साफ मनासिव ठहर्ने ।

(प्रकरण नं. ९)

निवेदकवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

फैसला

       प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा पु.क्षे.अ.बाट भएको इन्साफ जाँच गरिपाउँ भन्ने निवेदक वादी राजुबहादुर शाह १ जालसाजीतर्फको प्रतिवादी बलबहादुर पाण्डे १ हरिचरण नेपाल १ शेरबहादुर भट्टराई १ समेतको परेको निवेदनमा यस्मा व्यहोरा साँचो भयो पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३३।१०।१२ गते छिनिएको लिखत पास मुद्दाको मिसिल झिकाई त्यस अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु निवेदकहरू लाई जनाउँ दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम देवानी विविधको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

       २. मुद्दाको विवरण यस प्रकार छ : रू.१२५०००। लिई खनार गा.पं.वार्ड नं. ७(ख) कि.नं. ८३।८४।८७। ९०।९१।९२।९३ समेत ७ कित्ताको ससीम जग्गा विगाहा १८।६।७ को २९ सालको बाली देखि खाने गरी ०२९।९।२५।२ मा राजीनामा लेखी दिएको पास गरी दिएन पास गरिपाउँ भन्ने समेत वादी ।

       ३. प्र.ले विरोध नगरी शुरू म्याद गुजारी बसेकोले दावी लिखत पास हुने ठहर्छ भन्ने समेत सुनसरी जि.अ.का.०३०।९।४ को फैसला ।

       ४. प्रतिवादी सरहको पुनरावेदन दिन आएको छु । वादीसँग कुनै बखत मैले कुनै रुपैयाँ नलिए नखाएको हुनाले मेरो जग्गा वादीलाई मैले राजीनामा लिखत गरी दिएको छैन अरू कुनै कामका निमित्त भनी अगाडि नै मलाई झुक्याई लिफा लिएको कागजमा हो वा मेरो सहिछाप कीर्ते गरी हो कीर्ते राजीनामा खडा गरी मेरा उपर झुठ्ठा फिराद दर्ता गरी टाँस गरेको भन्ने जालसालको प्रबन्ध मिलाई म्याद तालेम समेत गरेको रहेछ । १ पैसासम्म नखाएको कुरामा १२५०००।खाएको ठहराई फैसला गरी दिएकोले सुनसरी जिल्ला अदालतको इन्साफ उल्टाई कीर्ते जालसाजीबाट खडा गरेको लिखत बदर गरिपाउँ भन्ने समेत प्रतिवादी रामबहादुर खड्का क्षेत्रीको पुनरावेदन ।

       ५. मालपोत बुझाउँदा तिम्रो वारेसनामा चाहिन्छ भनी ठूलाठूला कागजमा सही र पुछारमा खाली कागजमा ल्याप्चे सहिछाप गराई लिफा लिने गर्नु हुन्थ्यो । त्यसै लिफामा राजीनामा खडा गरेको रहेछ मेरो जग्गा वेदाममा लिनका लागि साहु हुने राजुबहादुर शाह राजीनामा लेख्ने ख.शेरबहादुर भट्टराई साक्षी हरिचरण नेपाल बलबहादुर पाण्डे समेत मिली जालसाजी लिखत खडा गरेका हुन जालसाजी गर्नेलाई सजाय गरी लिखतबदर गरिपाउँ भन्नेसमेत प्र.रामबहादुरको वा.लक्ष्मीप्रसादको बयान ।

       ६. पटकपटक गरी लिनु खानु गरी रामबहादुरले घर सारमा लिखत गरी दिएको लिखत सद्दे साँचो हो भन्ने समेत वादीको वा बाबुराम श्रेष्ठको बयान ।

       ७. मेरो जग्गा राजीनामा दिन्छु भन्ने आसामी लिन्छु भन्ने साहु भई २ थरीका मञ्जूरीले लिखत लेखी दिनुहोस भन्दा म शेरबहादुरले लेखी आसामीले मञ्जूरीले सहि गरेपछि हामी साक्षीले पनि सही गरेका हौं भन्नेसमेत बलबहादुर पाण्डे, हरिचरण नेपालको वारेस भई आफ्ना हकमासमेत शेरबहादुर भट्टराईले गरेको बयान ।

       ८. सकल लिखत जाँच हुन जाँदा उक्त लिखत छाप लगाई सकेपछि लेखिएको देखिएको भनी रेखा तथा लेखा विशेषज्ञको राय भई आएको देखिँदा रुपैयाँ लिनुदिनु भई राजीनामाको कागज लेखी सकेपछि प्रतिवादी ऋणिले सहिछाप गरेको कुरा प्रमाणित हुन आउँदैन बल्की पहिले देखि नै खाली कागजमा प्रतिवादीको ल्यप्चे छाप लिई राखेको लिफा कागजमा लेनदेन वेगरको राजीनामा कागज खडा गरेको सिद्ध हुन्छ प्रतिवादी जिकिर अनुसार वादी र लिखतका साक्षीहरू समेत भई कीर्ते गरेको ठहर्छ कीर्ते गरी खडा गरेको लिखत पास हुन नसक्ने हुनाले जिल्ला अदालतले पास हुने ठहराएको फैसला बदर हुन्छ वादीको कीर्ते कागजको ७ नं. ले बिगोको आधि रू.६२५००। र राजीनामा लेखी कर अरू साक्षीहरू लाई कीर्ते कागजको १४ नं. ले जनही ५०।का दरले जरिवाना हुन्छ भन्नेसमेत पू.क्षेत्रीय अदालतको फैसला ।

       ९. यसमा निवेदक वादी राजुबहादुर शाहको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालको र विपक्षी प्रतिवादी रामबहादुर खड्काको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तको समेत बहस सुनी इन्साफ जाँची दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मिसिल समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा निवेदक मध्येको वादी राजुबहादुर शाहले यस सर्वोच्च अदालतबाट तोकिएको ०३८।२।२९ गतेको तारेख गुजारी बसेको र सो तारेख आजसम्म थामिएको नदेखिएको र थाम्ने अवधी समेत नाघी सकेकोले तारेख गुजारी बस्ने निवेदक वादी राजुबहादुर शाहको हकमा इन्साफ जाँची हेर्न नमिल्ने हुँदा तामेलीमा राख्ने र अरू निवेदकहरू लिखत जालसाजीतर्फको प्रतिवादी बलबहादुर, हरिचरण र शेरबहादुरको हकमा इन्साफ जाँची निर्णयतर्फ हेर्दा वादीले पास गरिपाउँ भनी दावी लिएको लिखत सुनाउँदा लिखतको साक्षी समेत मिली वादीले लिफामा जालसाजी लिखत खडा गरेका हुन भन्ने प्रतिवादीको मुख्य बयान जिकिर भएको देखिन्छ सो लिखतको साक्षी हरिचरण नेपालले वादीको साक्षी भई बकपत्र गर्दा १ लाख २५ हजारको लिखत लेखी सकेपछि रुपैयाँ लिनुदिनु गरेपछि म पनि साक्षी बसी दिएको भन्ने बकपत्र गरेको र लिखतको साक्षी शेरबहादुरले बयान गर्दा पटकपटक गरी रामबहादुरले दिएको रुपैयाँको हिसाब गर्दा एकलाख पच्चिस हजार पुगी सकेको छ लिखत लेखी दिनु हवस भन्दा लेखी सही गरेको भन्ने बयान गरेबाट एकजनाले रुपैयाँ लिनुदिनु गरी लिखत गरेको भन्ने र एकजनाले पटकपटक हिसाब गर्दा पुगेको रुपैयाँको लिखत लेखेको भन्ने भई लिखतका साक्षीहरूको कुरा परस्परमा मिलान नभई फरक परेको देखिने र उसमा पनि सो लिखत जाँच हुँदा उक्त लिखत छाप लगाई सकेपछि लेखिएको देखियो भनी रेखा तथा लेखा विशेषज्ञको राय भएको हुँदा राजीनामा लेखी रुपैयाँ लिनुदिनु गरी सहिछाप भई लिखत भएको भन्ने देखिन नआएकोबाट समेत वादी दावीको लिखत कीर्ते ठहराई सो लिखतको लेखक साक्षी निवेदक शेरबहादुरलाई र लिखतमा साक्षी बस्ने निवेदक हरिचरण र बलबहादुरलाई समेत कीर्ते कागजको १४ नं. बमोजिम जनही रू.५०। का दरले जरिवाना गर्ने ठहराएको पु.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । हुकुम प्रमांगीबाट इन्साफ जाँच भई आएको हुँदा निवेदकहरू लाई अरू केही गर्न नपरी मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

म सहमत छु ।

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३८ साल कार्तिक ३ रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु