निर्णय नं. १४८५ - कूत बाली

निर्णय नं. १४८५ ने.का.प. २०३८ अङ्क ७
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् ०३६ सालको दे.फु.नं. २०४
फैसला भएको मिति : २०३८।४।११।१ मा
पुनरावेदक : जि. पर्सा वगही गा.पं. वडा नं. २ बस्ने रमाकान्त सा तेली
विरुद्ध
विपक्षी : वीरगञ्ज बस्ने कमलादेवी मरी मु.स.गर्ने ऐ.ऐ.बस्ने रामबहादुर प्रधान
मुद्दा : कूत बाली
(१) लेनदेन व्यवहारको १७ नं. ले थैली बुझी नलिएको ठहर्यो भने अदालतमा धरौट राखेको मिति देखिको बालीमा साहुको हक नपुग्ने व्यवस्था भएकोले वादीले फार्छा गरी लिएको जग्गाको हकसफा गरी लिन ०३० साल भाद्रमा नै थैली धरौटी राखिसकेकोले यस स्थितिमा वादीलाई जग्गा फार्छा गरी दिने आसामी प्रतिवादीबाट वादीको ३० सालको बाली भरी पाउँछ भन्न मिल्ने नदेखिएकोले बाली भराई पाउँ भन्ने वादी दावी पुग्न सक्ने नदेखिने ।
(प्रकरण नं. १२)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री यादवप्रसाद खरेल
फैसला
प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी पुनरावेदक प्रतिवादी रमाकान्त सा तेलीको परेको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकार छ : विपक्षीले मबाट रू.५६२५। लिई निजको वगही गा.पं.वार्ड नं. १ कि.नं. १४७ को जग्गा विगाहा ४–०–० फार्छा लेखी दिएको रजिष्ट्रेशन पास भई मोहियानी समेत मेरा नाउँमा दर्ता भएको ०३० सालको बाली नदिएकोले कूतबाली भराई पाउँ भन्ने समेत वादी ।
३. वादीले दावी गरेको जग्गा मैले फार्छे गरी दिएको हो भाइ केदारप्रसादले हकसफा गरी भोगचलन गरी आएको हुँदा मैले दावी बमोजिमको कूतबाली दिनुपर्ने होइन भन्नेसमेत रमाकान्त सा तेलीको प्रतिवादी ।
४. ०३० सालको बाली वादीले खाएको छ भन्ने नसकेबाट दावी बमोजिमको कूत बाली वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेतशुरू पर्सा जिल्ला अदालतको ०३१।१०।२ को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने प्र.रमाकान्त सा तेलीको पुनरावेदन ।
६. प्र.ले जग्गा बिक्री भएको मिति देखि मैले कमाउन छोडेको भन्न नसकी आफ्नो भाइ केदारप्रसादलाई सो हकनिखनाई पाउँ भनी दावी गर्दैछ निजलाई देखाएर पन्छीने अवस्था देखिन नआउने समेत कारण परिन्दबाट बाली भराई पाउने ठहराएको इन्साफ सदर हुने ठहर्छ भन्नेसमेत ना.अं.अदालतको ०३२।६।१७ को फैसला ।
७. उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति प्राप्त भई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय हुँदा वादीलाई जग्गा बिक्री गरी सकेपछि निजलाई जग्गा कमाउन दिएको अथवा जग्गा कमाउन छाडी सकेको भन्ने प्र.ले जिकिर लिन नसकेको स्थितिमा साक्षी बुझ्ने अवस्था नदेखिँदा नारायणी अञ्चल अदालतको फैसला उल्टी हुने कानूनी त्रुटि देखिन नआएकोले सो फैसलामा परिवर्तन गर्न मिलेन भन्ने समेत ०३५।३।७ को म.क्षे.अ.को फैसला ।
८. म.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने प्र.रमाकान्त सा तेलीको निवेदन परी पुनरावेदनको अनुमति भएको डिभिजन बेञ्चको ०३५।९।२३ को आदेशमा म.क्षे.अ.ले फैसला गर्दा साक्षी प्रमाण बुझी निर्णय गरेको नदेखिई साक्षी बुझ्ने अवस्था नदेखिँदा भन्ने उल्लेख गरेको पाइन्छ सबूत प्रमाण बुझी फैसला गर्नु पर्नेमा सो नबुझी म.क्षे.अ.ले फैसला गरेको त्रुटिपूर्ण देखिएको र सार्वजनिक महत्वको विषय समेत हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत उल्लेख रहेछ ।
९. साक्षी बुझी पठाउनु भनी मिसिल जिल्लाअदालतमा पठाई आएपछि पेशगर्नु भन्ने डि.बेञ्चको आदेशानुसार बुझी आएको वादीको साक्षी सिताराम साहु तुरहाले प्र.ले जग्गा अवाद गरेको र ०३० सालको बाली वादीलाई बुझाएको छैन भन्ने र राम क्षेत्री राउत अहिरले वादीले जग्गा किनेकोमा ०३० सालमा अवाद गराउन मलाई समेत लगेकोमा बाली लगाई सकेको देखिएकोले किन लगाएको भन्दा अर्को साल देखि लगाउँदैन भनेको हो भन्ने समेत र प्रतिवादीको साक्षी रघुनाथप्रसाद शर्माले ०३० सालमा प्र.को भाइ केदारप्रसादले अवाद गरी अहिलेसम्म बाली खाई आएको छन् भन्ने सुन्दछु भन्ने समेत बकपत्र भई आएको रहेछ ।
१०. यसमा पुनरावेदक प्रतिवादी रमाकान्त सा तेलीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीको र विपक्षी वादी कमलादेवीको मु.स.गर्ने रामबहादुर प्रधानको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलको समेत बहस सुनी निर्णयतर्फ विचार गर्दा मबाट रू.५६२५। लिई जग्गा विगाहा ४–०–० फार्छा लेखी दिएको ०२९।१०।१३ मा रजिष्ट्रेशन पास भई मोहियानी समेत मेरा नाउँमा दर्ता भएको ३० सालको बाली नदिएकोले भराई पाउँ भन्ने वादी दावीले दावी गरेको जग्गा मैले फार्छा गरी दिएको हो तर भाइले हकसफा गरी निजैले भोगचलन गरी आएको हुँदा मैले कूतबाली दिनु पर्ने होइन भन्ने समेत रमाकान्त शाहको प्रतिवादी भएकोमा वादीले प्रतिवादीबाट बाली भरी पाइने ठहराएको शुरू पर्सा जि.अ.को इन्साफ सदर गरी अञ्चल अदालत र म.क्षे.अ.बाट समेत निर्णय भएको देखियो ।
११. मुख्यतः प्रस्तुत मुद्दामा वादीले फार्छे गरी लिएको जग्गा मैले बिक्री गरी दिएको हो भाइ केदार सा तेलीले हकसफा गरी भोगचलन गरी आएका छन् भन्ने प्र.रमाकान्त सा तेलीको प्रतिउत्तर लेखाई भएको र विवादको जग्गा हकसफा गरिपाउँ भनी थैली रू.५६२५। समेत दाखिल गरी ०३० साल भाद्रमा केदार सा तेलीले भू.प्र.कार्यालय पर्सामा निवेदन दिएको भन्ने वादीले पेश गरेको केदार सा तेलीको निवेदनको नक्कलबाट देखिन आएकोले समेत वादीले फार्छागरी लिएको जग्गामा हकसफा गरिपाउँ भनी ०३० साल भाद्र मै थली धरौट रही निवेदन परी सकेको देखिन आयो ।
१२. लेनदेन व्यवहारको १७ नं. ले थैली बुझी नलिएको ठहर्यो भने अदालतमा धरौट राखेको मिति देखिको बालीमा साहुको हक नपुग्ने व्यवस्था भएकोले वादीले फार्छा गरी लिएको जग्गाको हकसफा गरी लिन केदार सा तेलीले ०३० साल भाद्रमा नै थैली धरौट राखिसकेकोले यस स्थितिमा वादीलाई जग्गा फार्छा गरी दिने आसामी प्रतिवादी रमाकान्त साहुतेलीबाट वादीले ३० सालको बाली भरी पाउँछ भन्नमिल्ने नदेखिएकोले बाली भराई पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिएन तसर्थ वादीलाई कूत बाली भराई दिने गरेको पर्सा जि.अ.को इन्साफ सदर गरेको नारायणी अञ्चल अदालत तथा म.क्षे.अ.को समेत इन्साफ मिलेको देखिएन उल्टी हुने ठहर्छ तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ उल्टी भएकोले देहायको कलममा देहायबमोजिम गर्नु भनी पर्सा जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिने ..................... १
वादी कमलादेवी मरी मु.स.गर्ने रामबहादुर प्रधानके देहायको कमलममा देहायबमोजिम गर्नु भनी लगत दिने १ पर्सा जि.अ.को ०३१।१०।२ को फैसलाले बिगो रू.३०३६ कोर्टफी र १४१।४४ अरू दस्तुर रू.१।२५ समेत प्रतिवादीबाट भराई दिने गरेकोमा हाल सो भरी नपाउने भएकोले सो बमोजिम गर्न परेन व्यहोरा जनाई सो भराई दिने गरेको लगत काटी दिने ...............१
नारायणी अञ्चल अदालतको ०३२।६।१७ को फैसलाले शुरू पर्सा जि.अ.को फैसलाबाट वादीलाई भराई दिने गरेको कोर्टफी १४१।४४ पुनरावेदन गर्दा प्रतिवादीले पर्सा जि.अ.मा ०३१।११।२९ मा धरौट राखेकोबाट भराई दिने गरेकोमा हाल सो बमोजिम गर्न परेन व्यहोरा जनाई सो लगत काटी दिने .२
प्रतीवादी रमाकान्त सा तेली के देहायको कलममा देहायबमोजिम गर्नु भनी लगत दिने ..................२
शुरू उपर नारायणी अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.२१।२३ र म.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.२१।७२ र स.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.२४।९७ समेत जम्मा कोर्टफी रू.६७।९२ वादीबाट प्रतिवादीले भरी पाउने हुँदा भरीपाउँ भनी वादीको जायजात देखाई ३ वर्षभित्र प्र.को दरखास्त परे दस्तुर केही नलिई वादीबाट प्र.लाई भराई दिने कलम १
पर्सा जि.अ.को फैसलाले वादीलाई भराइदिने गरेको कोर्टफी १४१।४४ पुनरावेदन गर्दा प्र.ले ३१।११।२९ मा पर्सा जि.अ.मा धरौट राखेको कोर्टफी रू.१४१।४४ हाल प्रतिवादीले फिर्ता पाउने हुँदा फिर्ता लिन आए कानूनको रीत पुर्याई फिर्ता दिने कलम ...... ......२
वादी कमलादेवी मरी मु.स.गर्ने रामबहादुर प्रधान के वादी दावी पुग्न नसक्ने ठहरी हारेकोले केही गर्नु पर्छकी भन्न फिराद दर्ता गर्दा राखेको कोर्टफी फिर्ता नपाउने हुँदा केही गर्नु परेन ................२
उक्त रायमा म सहमत छु ।
न्या. हेरम्बराज
इति सम्वत् २०३८ साल श्रावण ११ गते रोज १ शुभम् ।