निर्णय नं. १४८९ - उत्प्रेषण वा अन्य उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निर्णय नं. १४८९ ने.का.प. २०३८ अङ्क ७
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०३६ सालको रिट नं. ११७९
आदेश भएको मिति : ०३८।७।२३।१ मा
निवेदक : भ.पु.जि.न.पं. वडा नं. ८ तुलाछे तिबुकछे बस्ने नित्यनारायण कर्माचार्य
विरुद्ध
विपक्षी : श्री भूमिप्रशासन कार्यालय भक्तपुरको हाल मालपोत कार्यालय
विषय : उत्प्रेषण वा अन्य उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
(१) जुन निकायले बन्धकी निखनाई दिने निर्णय गर्छ सोही निकायले सो बनाएको थैली पाउने नपाउने भनी निर्णय गर्नु पर्ने हुन्छ । घर मर्मत गरी बनाएको थैलीको सम्बन्धमा मात्र अरू नै निकायमा उजूर गर्नु भनी निर्णय गर्न मिल्ने देखिँदैन लेनदेन व्यवहारको २४ नं. ले बन्धकी र मर्मत थैलीलाई गभाई एउटै थैली कायम गर्ने व्यवस्था गरेकोले दुवै कुराको दावी भएकोमा एकपटक निर्णय गर्नु पर्ने विषयलाई एउटा कुराको निर्णय गर्न मिल्ने अर्को कुराको निर्णय गर्न नमिल्ने भनी पृथकीकरण गर्न मिल्ने देखिँदैन । दुवै विषयको निर्णय गर्न सक्ने निकाय नै उक्त ऐन अन्तर्गतको मुद्दा निर्णय गर्न समक्ष हुन्छ ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय
उल्लिखित मुद्दा :
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : उक्त रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत परी पेश हुन आएको छ ।
२. तथ्य यस प्रकार छ : विपक्षलाई मैले ०१५।१२।५।४ मा रू.२५१२ लिई तत्कालिन रजिष्ट्रेशन अड्डा मार्फत लिखतमा लेखिएका ४ किल्ला भित्रको भ.पु.न.पं.वडा नं. तुलाछे टोलको पक्की झिंगटी छाना भएको घर भोगबन्धकी दिएको थिए । थैली बुझाउन जाँदा बुझी नलिएकोले उक्त रू.यसै साथ राखी निजलाई बुझाई लगत कट्टा गरिपाउँ भन्ने समेत कृष्णलाल नापितको निवेदन परेकोमा विपक्षीको घर जिर्ण भएको हुँदा निजलाई घर बनाई देउ भन्दा नबनाई दिएकोले टोल छिमेकीका संधियार भलादमी राखी रू.१६४०। खर्च गरी बनाएकोले सो रकम समेत थैलीमा गाभी बुझाउन ल्याएकोले बुझ्न मञ्जूर छैन भन्ने नित्यनारायण कर्माचार्य भएकोमा मुलुकी ऐन लेनदेन व्यवहारको २४ नं. अनुसार गरेको देखिन नआएबाट साहुले आसामीलाई हैरानी दिई थैली नबुझेको ठहर्छ भन्ने समेत भूमिप्रशासन कार्यालय भक्तपुरको निर्णय मर्मत खर्च समेत दिलाई निखन्न पाउने गरी निर्णय पाउँ भन्ने समेत पुनरावेदन परेकोमा मुख मिलेकोले निखनाई पाउने ठहर्छ मर्मत खर्च तर्फ अदालतमा जानु भन्ने समेत जिल्ला कार्यालय भक्तपुरको पुनरावेदन फैसला र न्या. प्र.सु.ऐन, २०३१ को दफा १३ को उपदफा (३) अनुसार पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
३. रिट निवेदन जिकिर यस प्रकार छ : ०१६।१२।१५ को मुचुल्कालाई मान्यता दिन नमिल्ने भनी आफैंले प्रमाणको मूल्यांकन गरी जिल्ला कार्यालयले निखन्न दिने भन्न रजिष्ट्रेशनको ३५ नं. विपरीत अनाधिकृत निर्णय गरेको छ आसामी र साहुको मुख नमिले पछि अ.बं.१८४ क.को अनुसार मुख नमिलेको कुरामा सबूत प्रमाण बुझी न्यायिक निर्णय गर्नु पर्ने हुन आउँछ त्यस्तोमा आफैंले हेरी निर्णय गर्नु अ.बं.१८४ क.को विपरीत छ । कानून व्यवस्था सम्बन्धी ऐनको दफा ४ को विपरीत प्रत्यक्ष कानूनी बुटिपूर्ण छ । तत्काल प्रचलित ऐनबमोजिम गरिएको मुचुल्कामा नलाग्ने ऐन लगाई कानूनबमोजिम नभएको भनी निर्णय गर्नु तत्काल प्रचलित घर बनाउनेको ४ नं. विपरीत प्रत्यक्षत त्रटिपूर्ण छ । कानूनले एकै चोटी निर्णय गर्नुपर्नेमा कुनै आफैंले निर्णय गर्न कुनैमा अदालतमा जानु भनी उक्त घर बनाउनेको दफा ४.अ.बं.१९२ नं. को विपरीत छ । मुचुल्का तथ्य कीर्तेमा सुनाएको छैन यस्तोमा मुख नमिलेको भन्ने प्रश्न उठदैन त्यस विषयमा अदालतमा नालेश गर्न जानु भनी सुनाउनु पर्ने अवस्था छैन नेपालको संविधाको धारा ११(२) ङ र धारा १५ द्वारा प्रदत्त हक अधिकार हनन् भएकोले उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षी भूमिप्रशासन कार्यालय, जिल्ला कार्यालय समेतको ०३०।४।२९, ०३३।५।३ समेतको निर्णयबदर गरी यो निवेदनको अन्तिम निर्णय नभएसम्म उपरोक्त निर्णय फैसलाको कार्यान्वित नगर्नु भन्ने अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने नित्यनारायण कर्माचार्यको रिट निवेदन जिकिर ।
४. विपक्षीहरू बाट लिखितजवाफ मगाउनु भन्ने मिति ०३६।११।२३।५ को सिंगल बेञ्चको आदेश ।
५. न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को (३) बमोजिम प्रत्यक्ष कानूनी त्रुटि भएको भन्ने निवेदकको जिकिर भएकोमा जिल्ला कार्यालयबाट भएको फैसलामा न्या. प्र.सु.ऐन, २०३१ को दफा १३(३) बमोजिमको अवस्था विद्यमान नभएको कारणबाट यस अदालतबाट पुनरावेदन गर्ने अनुमति नभएको हो यस अदालतको उक्त आदेशबाट निजको संवैधानिक हकमा आघात पर्ने अवस्था छैन निवेदकको जिकिर कानून अनुरूप नभई कपोलकल्पीत हुँदा रिट खारेज गरिपाउँ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको लिखितजवाफ ।
६. निवेदकको आफ्नो रिट निवेदनमा लेख्नु भएको दफाको व्यहोरा कपोलकल्पीत मात्र म.क्षे.अदालत समेतबाट पुनरावेदनको अनुमति पाएको छैन तसर्थ उक्त रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत जिल्ला कार्यालय भक्तपुरको लिखितजवाफ ।
७. घर भत्कीएको र निजले बनाएको होइन यदि भत्कीएको भए के कति भत्कीएको बनाउँदा कति खर्च लागेको हो सोको विवरण दिन सक्नु पर्ने थियो सो नगरेको र यदि बनाउनु पर्ने भए मेरो स्वीकृति लिनु पर्ने वा कागज गराउनु पर्ने नगरपञ्चायतलाई साक्षी राख्नु पर्ने समेत नगराएकोबाट म.क्षे.अदालतको आदेश समेत सदर गरी रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतकृष्णलाल नापीतको लिखितजवाफ ।
८. निवेदक नित्यनारायण र विपक्षी कृष्णलाल नापित रोहवरमा रही पेश हुन आएको रिट निवेदनमा निवेदक तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विपक्षी मालपोत कार्यालय भक्तपुरसमेतका तर्फबाट विद्वान सरकारी वरिष्ठ अधिवक्ता श्री केदारनाथ उपाध्यायले गरेको बहस समेत सुनियो । रिट निवेदकले माग गरे अनुसारको आदेश जारी गर्नु पर्ने हो होइन निर्णय दिनु परेको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा मर्मत खर्च समेत दिएमा थैली बुझ्न मञ्जूर छु भन्ने निवेदकको प्रतिवाद परेकोमा भूमिप्रशासक भूमिप्रशासन कार्यालय भक्तपुरले यस्तै मिसिल संलग्न रहेको नगरपञ्चायतका पत्रबाट समेत घर मर्मत भए गरेको भन्ने देखिन नआएबाट साहुले आसामीलाई अनावश्यक हैरानी दिई थैली नबुझेको ठहर्छ भनी र त्यसउपर पुनरावेदन परेकोमा प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय भक्तपुरबाट मर्मत खर्चको लिखत प्रमाण बुझी इन्साफ दिनु पर्ने देखिँदा रजिष्ट्रेशनको ३५ नं. बमोजिम मर्मत खर्चमा अदालतमा जानु भनी सुनाई दिने थैलीको हकमा रू.२५१५ मुख मिलेकोले निखनाई लिन पाउने ठहर्छ भनी निर्णय गरेको देखिन्छ ।
१०. उक्त प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय भक्तपुरको निर्णयले मर्मत खर्चतर्फ लिखत प्रमाण बुझी इन्साफ दिनुपर्ने भएकोले अदालतमा जानु भनी सुनाई दिने गरी निर्णय गरेको पाइन्छ ।
११. मुलुकी ऐन लेनदेन व्यवहारको २४ नं. मा “आफूले बन्धकी लिई भोग गरेको घर साहुकै चलनमा बिग्रयो वा पाताल भयो भने आसामी भए आसामी र निज नभए वा बस्न मञ्जूर नगरेमा स्थानीय पञ्चायत र कम्तीमा दुई जना भलादमी साक्षी राखी खर्च गरी बनाउनु पर्छ घर निखन्न आउँदा त्यसरी साक्षी राखी बनाएको खर्च समेत थैलीमा गाभी हिसाब गरी लिनुदिनु पर्छ । आसामी वा स्थानीय पञ्चायत र कम्तीमा दुई जना भलादमी नराखी बनाएको खर्च लिन पाउँदैन पाताल समेत भएछ भन्ने आषाढ देखि आश्विन तक वर्ष चार महीना बाहेक भत्केको मितिले नक्सा पास गर्नु पर्नेमा ३५ दिनभित्र दरखास्त दिई पास भएका नक्साबमोजिमको बनाउने म्यादभित्र र नक्सा पास गर्न नपर्नेमा एक वर्षभित्र बनाई तयार नगरे साहुको थैली घुस हुन्छ । पाताल जग्गा आसामीको हुन्छ घरबारी भोग बन्धी लिएकोमा घर भत्की पाताल भयो भन्ने पाताल भएको घरको र जग्गा दामासाहीको हिसाबले जग्गाको भाग रुपैयाँ लिन पाउँछ” भन्ने व्यवस्था भएको देखियो ।
१२. सो कानूनी व्यवस्थाबाट बन्धकी लिने साहुले बन्धकीको थैली र बन्धी लिएको घर उक्त लेनदेन व्यवहारको २४ नं. बमोजिम सो बन्धकी र मर्मत गरी बनाएकोमा सो बनाउन खर्च लागेको थैलीसमेतमा दावी गर्न सक्ने कानूनी व्यवस्था गरेको पाइन्छ । यसबाट जुन निकायले बन्धकी निखनाई दिने निर्णय गर्दछ सोही निकायले सो बनाएको थैली पाउने नपाउने भनी निर्णय गर्नु पर्ने हुन्छ । घर मर्मत गरी बनाएको थैलीको सम्बन्धमा मात्र अरू नै निकायमा उजूरी गर्नु भनी निर्णय गर्न मिल्ने देखिँदैन लेनदेन व्यवहारको २४ नं. ले बन्धकी र मर्मत थैलीलाई गभाई एउटै थैली कायम गर्ने व्यवस्था गरेकोले दुवै कुराको दावी भएकोमा एकैपटक निर्णय गर्नु पर्ने विषयलाई एउटा कुराको निर्णय गर्न मिल्ने अर्को कुराको निर्णय गर्न नमिल्ने भनी पृथकीकरण गर्न मिल्ने देखिँदैन । दुवै विषयको निर्णय गर्न सक्ने निकाय नै उक्त ऐन अन्तर्गतको मुद्दा निर्णय गर्न सक्षम हुन्छ ।
१३. जिल्ला कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारीले मर्मत खर्चतर्फ अदालतमा छुट्टै उजूर गर्नु भनी निर्णय गरेबाट भूमिप्रशासन कार्यालय भक्तपुरको निर्णयउपर मर्मत खर्चको सम्बन्धमा निवेदकले पुनरावेदन गरेकोमा प्रमुख जिल्ला अधिकारीले निर्णय गर्न इन्कार गरी कानूनी त्रुटिपूर्ण निर्णय गरेको भन्नु पर्ने हुन्छ ।
१४. अतः उपरोक्त कारणहरू बाट प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय भक्तपुरको मिति ०३३।५।३।५ को निर्णयमा कानूनी त्रुटि भएकोले उक्त निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । कानूनबमोजिम निर्णय गर्नु भनी विपक्षी प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय भक्तपुरका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. त्रिलोकप्रताप राणा
इति सम्वत् २०३८ साल कार्तिक २३ गते रोज १ शुभम् ।