शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४९१ - चेक कीर्ते गरी रुपैयाँ“ झिकी खायो भन्ने

भाग: २३ साल: २०३८ महिना: मंसिर अंक:

निर्णय नं. १४९१     ने.का.प. २०३८                        अङ्क ८

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३७ सालको फौ.फु.नं. ७

फैसला भएको मिति : २०३८।८।२६ मा

निवेदक      : श्री ५ को सरकार (विशेष प्रहरी विभाग)

विरुद्ध

विपक्षी : का.जि.ठमेल १५।१०७ बस्ने केशवप्रसाद घिमिरे

मुद्दा : चेक कीर्ते गरी रुपैयाँझिकी खायो भन्ने

(१)   विशेषज्ञलाई झिकाई निजले गरेको बकपत्र हेर्दा निज विशेषज्ञले सो कुरा मिले भिडेको छ भनी जुन बकपत्रमा भन्नु भएको छ सो हेर्दा चेकमा लेखिएको मिति ०२९।११।२२।२ का वाक्यांशहरू मध्ये सो वाक्यांशमा प्रयोग भएको कुनै शब्दको लिपि र स्र्टाेक मिलेको भनी बकपत्र गर्नुभएको पाइन्छ उक्त वाक्यांशमा प्रयोग भएका सबै शब्दहरू नमिली कुनै शब्द समान भएको नाताबाट मात्र सम्पूर्ण लेखाई मिलेको भन्ने स्थितिमा पुग्ने अवस्था पर्दैन विशेषज्ञले आफ्नो बकपत्रमा र प्रतिवेदनमा समेत हस्ता मिलेको भरपर्दो आधार खोली दिनसकेको समेत नदेखिँदा त्यत्तिकै आधारबाट चेक कीर्ते गरेको भन्न सक्ने स्थिति नदेखिने ।

(प्रकरण नं. १२)

निवेदक वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी

विपक्षीप्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी र विद्वान अधिवक्ता श्री पद्मराज काफ्ले

फैसला

            न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदक वादी वि.प्र.वि.ले दिएको निवेदनमा न्यायिक समितिबाट भएको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको विवरण यस प्रकार छ : विफर उन्मुलन आयोजना केन्द्रीय कार्यालयका तत्कालिन मुखिया केशवप्रसाद घिमिरेले कार्यालयको नं. ५५२१४६ को खाली चेकमा खाता सञ्चालन गर्ने वेनीबहादुर, रामचन्द्रको कृतिम सही गरी गराई कृष्णप्रसाद श्रेष्ठको नामबाट कृतिम चेक तयार गरी नेपाल राष्ट्र बैंकबाट रू.१५२८ आफैंले भुक्तानी लिई खाइमासेका रहेछन् । विशेषज्ञको रायबाट चेकमा लेखिएको मिति अंक र लिपिहरू निज केवशप्रसादकै भएको कारणबाट निजउपर भ्र.नि.ऐन, २०१७ को दफा ७(१) र दफा २९ अन्तर्गत कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको आरोपपत्र ।

            ३.    ततिम्बा सहितको २०३०।१।२२ को बयान देखाएको हेरें देखेँ, बयान गराउँदा मेरो हस्ताक्षरबाट जवाफ लेखेको हो । ततिम्बा गराउँदा पिटेर जवरजस्ती लेखिएबमोजिम भनी लेखिएकोले सावित भई हस्ताक्षरले लेखिएको हो । मैले कीर्ते गरी रुपैयाँ बैंकबाट झिकी लिए खाएको होइन कसले रुपैयाँ झिके थाहा छैन । विशेषज्ञले मेरो हस्ताक्षरसँग मिल्छ भनी किन राय दिए थाहा छैन भन्ने समेत केशवप्रसादले अदालतमा गरेको बयान ।

      ४.    कृतिम दस्तखतबाट वदनियत चिताई निज प्र.केशवप्रसादले बैंकबाट रुपैयाँ झिकी खाई आफूलाई गैरकानूनी फाइदा विफर उन्मुलन कार्यालयलाई हानी पुर्‍याएको ठहर्छ भन्ने समेत बागमती विशेष अदालतको ०३३।३।७।१ को फैसला ।

      ५.    वादी दावी बमोजिम चेक कीर्ते गरी बैंकबाट रुपैयाँ झिकी लिए खाएमा प्रतिवादी केशवप्रसादले विशेष प्रहरीमा बयान गर्दा सावित भई बयानको जवाफ आफैंले लेखेमा साविती र अदालतमा बयान गर्दा भने कुटपिट गरी प्रहरीमा साविती लेखाएको भन्ने बयान लेखाइएबाट देखिन्छ तर चेकमा लेखिएको मिति र अंक अक्षरहरू निजै प्रतिवादी केशवप्रसादको हस्ताक्षरसँग मिल्छ भन्ने विशेषज्ञको जवाफबाट देखिएको समेतबाट केशवप्रसाद घिमिरेलाई कसूरदार ठहर्‍याएको इन्साफ बागमती विशेष अदालतको मनासिव छ भन्ने समेत ०३४।३।२८ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

      ६.    उक्त फैसलाउपर पुनरावेदन गर्न अनुमति पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा रेखा विशेषज्ञको प्रतिवेदनको आधारमा निवेदक केशवप्रसादलाई दोषी ठहराएको रहेछ, प्रमाण ऐन, ०३१ को दफा २३ ले व्यक्तिगत राय लिन हुने र ऐ.५२ दफाले उपस्थित गराई बकाउन हुने भई पक्षले जिरह गर्ने मौका पाउँछ प्रस्तुत मुद्दामा रेखा संग्राहलयबाट लेखी आएको रेखा विशेषज्ञको प्रतिवेदनलाई प्रमाण मानेको देखिँदा उक्त ऐनबमोजिम बकाई पक्षलाई जिरह गर्ने मौका दिनु पर्ने नदिएको कारणले उक्त ऐनको त्रुटि भई सार्वजनिक महत्वको विषय हुँदा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने डिभिजन बेञ्चको आदेश ।

      ७.    यसमा डिभिजन बेञ्चबाट निर्णय हुँदा थुनामा रहेको व्यक्तिले ०३०।१।१२ मा कसूरमा इन्कार गरी ०३०।१।२२ मा एकाएक आफ्नो स्वेच्छाले कसूरमा सावित भई बयान गर्नु पर्ने अरू कुनै तर्कसंगत कारण देखिँदैन । यस स्थितिमा ०३०।१।२२ को ततिम्बा बयान जबरजस्ती गरी गराएको भन्ने निजको जिकिर विचारणीय हुन आउँदछ । बस्तुतः उक्त साविती भनिएको बयान शंकास्पद देखिएकोले प्रमाणको रूपमा ग्राह्य हुनसक्तैन । प्रतिवादी पुनरावेदकलाई कसूरदार ठहराउन हस्ता विशेषज्ञ भनिएको व्यक्तिको राय पनि प्रमाणको रूपमा ग्रहण गरिएको छ । तर सो विशेषज्ञ भनिएको व्यक्ति यथार्थमा हस्ताक्षर विशेषज्ञ हो वा होइन भन्ने सम्म पनि अदालतबाट यकिन गरिएको वा निजलाई अदालतमा साक्षी सरह उपस्थित गराई बुझिएको वा निजसँग जिरह गर्ने प्रतिवादीलाई मौका दिइएको देखिन्न । यस स्थितिमा उक्त रायलाई प्रमाणमा लिनु प्रमाण ऐन, २०३१ को दफा २३ को उपदफा (७) को प्रतिकूल सम्झनु पर्ने हुन्छ । २०३३।३।७ मा निवेदकको विरुद्ध विशेष अदालतमा प्रतिवेदन परेको सोही दिन निजको विशेष अदालतमा बयान भएको र सोही दिन विशेष अदालतले उपर्युक्त कुराहरू प्रमाणको रूपमा ग्रहण गरी फैसला समेत गरेकोले बस्तुतः प्रमाण ऐन, २०३१ को उपर्युक्त कानूनी व्यवस्थामा विशेष अदालतको ध्यान गएको देखिन्न इन्साफमा असर पर्न सक्ने प्रमाण सम्बन्धी यस्ता महत्वपूर्ण कुरालाई मध्यमाञ्चल क्षेत्रीय अदालतले पनि वास्ता राखेको छैन । तसर्थ कानूनबमोजिम ग्रहण गरी सो प्रमाणलाई आफ्नो ठहरको आधार बनाई बागमती विशेष अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतले फैसला गरेकोले प्रमाण ऐन, ०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशले सो फैसलाहरू बदर हुने ठहर्छ भन्ने समेत ०३६।२।१४ मा निर्णय भएको रहेछ ।

      ८.    प्रस्तुत मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी साथ संलग्न न्यायिक समितिको सिफारिस पर्चामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट प्रतिवादीको साविती बयान भएको परिस्थितिको सन्दर्भ उल्लेख गर्दै त्यस्तो सावितीलाई प्रमाणमा ग्राह्य हुन सक्दैन भनी उल्लेख गरे पछि वादी पक्षको प्रमाणमा अब सिर्फ विशेषज्ञको राय मात्र रहन आयो । विशेषज्ञ अदालतमा उपस्थित नभएको र साक्षी सरह नबकाएकोले निजको राय प्रमाणमा लाग्न नसक्ने भनी बागमती विशेष अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाहरू प्रमाण ऐनको दफा ५४ को प्रतिबन्धात्मक व्यवस्थानुसार बदर हुने भनी निर्णय हुन गएको छन् । तर प्रस्तुत मुद्दामा रहेको विशेषज्ञको रायलाई प्रमाण बनाउने तर्फको कारवाई नगरिएको र प्रमाण ऐनको दफा ५४ को प्रतिबन्धात्मक वाक्याशंको पहिला अंश बुझ्नु पर्ने प्रमाण नबुझिएको कारणबाट डिभिजन बेञ्चको निर्णय त्रुटिपूर्ण हुन गएको हुँदा विशेषज्ञलाई उपस्थित गराई बकाई निजले दिएको रायको प्रमाणिक मूल्यांकन गरी मुद्दामा निर्णय हुन पर्ने देखिन्छ भन्ने समेत उल्लेख भएको रहेछ ।

      ९.    फुल बेञ्चको आदेशानुसार विशेषज्ञ रामबहादुरको ०३८।५।३० मा भएको बकपत्र समेत रहेछ ।

      १०.    निवेदक वादी वि.प्र.वि.तर्फबाट उपस्थित विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयीले प्र.केशवप्रसाद चेकको रुपैयाँ आफूले भुक्तानी लिए तर्फ विशेष प्रहरी विभागमा सावित हुनुहुन्छ र चेकको लिपि अक्षरहरू प्र.केशवप्रसादको हस्तासँग मिलेको भन्ने विशेषज्ञको राय भएकोले त्यस्ता सावित स्वतन्त्र प्रमाणबाट समर्थित भएको छ । अतएव प्र.केशवप्रसाद निर्देष रहेछ भन्न मिल्दैन । प्र.केशवप्रसाद घिमिरेलाई कसूरदार ठहराएको बागमती विशेष अदालतको इन्साफ मनासिव ठहराएको म.क्षे.अ.को इन्साफ मनासिव छ र डिभिजन बेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत र विपक्षी प्र.केशवप्रसाद घिमिरेको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले ततिम्बा बयान गराउनु अ.बं.१३३ नं. अनुसार नखुलेको कुरा खुलाउनु हो तर पहिले खुलाई सकेको कुरामा नै ततिम्बा बयान गराई सावित गराएको छ त्यस्तो सावितीलाई आधार मान्न मिल्दैन विशेषज्ञ बुझी पाउँ भनी प्रमाण नदिएकोमा विशेषज्ञलाई प्रमाण ऐन अनुसार अदालतमा बयान गराउन मिल्ने होइन फैसला बदर गरेको डिभिजन बेञ्चको सदर हुनुपर्छ भन्ने र विद्वान अधिवक्ता श्री पद्मराज काफ्लेले चेकमा गरेको सही पैसा भुक्तानी लिनेको सही समेत कीर्ते भन्ने दावी हुनुपर्छ सो छैन । विशेषज्ञ रामबहादुरको यस अदालतमा गरेको बयान र निजले दिएको राय नमिलेको र निज विशेषज्ञ भन्ने नदेखिएकोले निजले दिएको राय विशेषज्ञको राय मान्न मिल्दैन यस कारण डिभिजन बेञ्चको सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।

      ११.    यसमा निर्णयतर्फ विचार गर्दा विपक्षी प्र.केशवप्रसाद घिमिरेले वि.प्र.वि.मा गरेको बयानको १५ दफामा चेकमा लेखिएको अंक अक्षरसँग तपाईंको निवेदनमा लेखिएको अंक अक्षरसँग मिल्दो देखिएकोले सो चेकमा लेखिएको अक्षर तपाईंकै सिद्ध हुन्छ भनी प्रश्न उठाएकोमा सो चेकको पैसा लिए खाएको होइन भनी निज केशवप्रसादले ०३०।१।१२ मा इन्कारी बयान गरेकोमा पछि फेरि सो चेकमा लेखिएको अंक अक्षरसँग तपाईंको हस्ताक्षर मिल्ने भिड्ने देखिएको भनी सोही प्रश्न दोहराई ततिम्बा बयान गराई सो चेकको रुपैयाँ मैले भुक्तानी लिएको हो भन्ने साविती बयान भए गराएको देखिन्छ । अ.बं.१३३ मा झगडीयासँग हाकिमले सोध्न परेको मनासिव माफिकको कुरा जहिलेसुकै सोधी कागज गराए हुन्छ भनिएको छ । पहिले २०३०।१।१२ मा बयान हुँदामा नै इन्कारी भई बयान गरी खुली सकेको कुरामा नै सोही कुराको फेरि प्रश्न उठाई दोहर्‍याई हिरासतमा रहेको अवस्थामा ततिम्बा बयान गराई चेकको रुपैयाँ लिए खाएको हो भन्ने साविती गराएको २०३०।१।२२ को ततिम्बा साविती बयान अ.बं.१३३ नं. को अनुकूल नभई त्यस्तो साविती बयान शंकायुक्त देखिन आएको छ, त्यस्तो शंकायुक्तको साविती बयानको आधार लिन मिल्ने नदेखिएकोले त्यस्तो सावित बयानको आधार लिई साविती भएको भनी अदालतमा आई इन्कारी बयान गरेको विपक्षी प्र.केशवप्रसादलाई अपराध स्वीकार गरेको भनी अपराधी प्रमाणित गर्न मिल्ने देखिँदैन ।

      १२.   जहाँसम्म चेक कीर्ते गरे भन्ने प्रश्न छ त्यसतर्फ विचार गर्दा रेखा विशेषज्ञ रामबहादुरको रायमा चेकमा लेखिएको भुक्तानी पाउनेको नाम, मिति र अंकको अक्षरमा लिपि र निज प्र.केशवप्रसादको अंक, अक्षर, लिपिहरू मिल्न गएको भन्ने र सो चेकमा खाता सञ्चालन गर्ने रामचन्द्र, बेनीबहादुरको दस्तखत सहि निजहरूको नमूना दस्तखत सहिहरू सँग फरक देखिएको भन्ने उल्लेख भएको देखिएको सो रामचन्द्र र बेनीबहादुरको दस्तखत सहि र अरू सो चेकबाट भुक्तानी पाउने चेकवाला कृष्णप्रसाद भनेकोले चेक पछाडि पद्मनारायणलाई दिनु भनी लेखी कृष्णप्रसादले सहि गरी पद्मनारायणले समेत सही गरी पैसा भुक्तानी लिएको चेकको पछाडि गरेको कृष्णप्रसाद भन्नेको र पद्मनारायण भन्नेको सही पनि निज प्र.केशवप्रसादको हस्तालिपिसँग मिलेको छ भनी विशेषज्ञले भन्न सकेको देखिँदैन विशेषज्ञ रामबहादुरलाई झिकाई निजले गरेको बकपत्र हेर्दा निज विशेषज्ञ रामबहादुरले सो कुरा मिले भिडेको छ भनी जुन बकपत्रमा भन्नु भएको छ सोलाई हेर्दा चेकमा लेखिएको कुष्णप्रसाद श्रेष्ठ र मिति ०२९।११।२२।२ का वाक्यांशहरू मध्ये सो वाक्यांशमा प्रयोग भएको कुनै शब्दको लिपि र स्र्टोक मिले भनी बकपत्र गर्नुभएको पाइन्छ । उक्त वाक्यांशमा प्रयोग भएका सबै शब्दहरू नमिली कुनै शब्द समान भएको नाताबाट मात्र सम्पूर्ण लेखाई मिलेको भन्ने स्थितिमा पुग्ने अवस्था पर्दैन विशेषज्ञ रामबहादुरले आफ्नो बकपत्रमा र प्रतिवेदनमा समेत हस्ता मिलेको भरपर्दो आधार खोली दिनसकेको समेत नदेखिँदा त्यत्तिकै आधारबाट चेक कीर्ते गरेको भन्न सक्ने स्थिति देखिएन ।

      १३.   तसर्थ उपरोक्त कारणको आधारमा विपक्षी प्र.केशवप्रसाद घिमिरेले चेक कीर्ते गरी गरी भुक्तानी लिएको ठहराउन मिल्ने नदेखिएकोले निजले सफाई पाउने ठहर्छ, म.क्षे.अ.समेतको निज प्र.केशवप्रसादलाई कसूरदार ठहराई गरेको निर्णय बदर गरेको डिभिजन बेञ्चको ०३६।२।१४ को इन्साफ मनासिव ठहर्छ । यो फैसला भएको जानकारी निमित्त प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

हामीहरूको सहमति छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०३८ साल मार्ग २६ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु