निर्णय नं. १४९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १४९२ ने.का.प. २०३८ अङ्क ८
फुल बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३७ सालको रि.फु.नं. ५१
आदेश भएको मिति : २०३८।१०।२ मा
निवेदक : जि.सुनसरी भोक्राहा गा.पं. वडा नं. ८ बस्ने महादेव महतोकोइरी
विरूद्ध
विपक्षी : जि.सुनसरी वविया गा.पं.वार्ड ४ बस्ने भगीयादेवी कोइरीन
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) अंश भागमा परी चलन पाइसकेको जग्गामा विपक्षीको भूस्वामित्व नै रहने भएन त्यस्तो भूस्वामित्व नै नरहेको विपक्षीले कबुलीयत गरी मोहियानीमा कमाउन दिएको कायम हुनसक्ने पनि देखिँदैन, यस्को अतिरिक्त ३२ सालमा जग्गाधनी भनेकोले कबुलीयत गरी जग्गा मोहियानीमा कमाउन दिएको भनी गरेको कबुलीयतको दुवैको सहिछाप परेको १ प्रति कबुलीयत भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ बमोजिम स्थानीय पञ्चायतमा जग्गाधनीबाट दाखिल भएको भन्ने देखिन आएको छैन, यस स्थितिमा उक्त दफा ३४ को कार्य पुरा नभएको जग्गा कमाउन दिएको भनेको कबुलीयतको कानूनी मान्यता दिन मिल्ने पनि देखिँदैन त्यस्तो कानूनी मान्यता दिन नमिल्ने कबुलीयतको आधारमा मोही कायम हुनसक्ने पनि नदेखिने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
आदेश
न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदक महादेव महतो कोइरी समेतले दिएको निवेदनमा न्यायिक समितिबाट भएको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यस प्रकार छ : तोफी कोइरीको नाउँमा दर्ता भएको निजको हकवाला भगीया कोइरीनको जग्गा वविया गा.पं.वार्ड नं. ४ क.को कि.नं. ६० जग्गा मध्ये ०–५–० समेत १–०–० मोही भई कमाई आएको जग्गाको मोही कायम गरिपाउँ भन्ने समेत रामकृष्ण यादवको निवेदन परेकोमा जग्गाधनीले पनि दावी गरे बमोजिमको जग्गाको मोहियानी दिएमा मञ्जूर छ भनी मञ्जूरनामा समेत दिएको वविया गा.पं.वार्ड नं. ४क.को कि.नं. ६० मध्ये ०–१५–० कि.नं. ९ मध्ये ०–५–० समेत १–०–० को २ नं. अनुसूची प्रकाशित गर्दा समेत उजूर नपर्दा रामकृष्णलाई मोही कायम गरी मोहीया हकको स्थायी प्रमाणपूर्जा दिन मनासिव देखी पेश गरेको छु भन्ने टिप्पणींमा सदर गरी ०३५।५।२१ मा जि.भू.सु.कार्यालय सुनसरीबाट निर्णय भएको रहेछ ।
३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक महादेव महतो कोइरी समेतले दिएको रिट निवेदनपत्रमा अंश मुद्दा अन्तिम निर्णय भई जि.सुनसरी वविया गा.पं.वार्ड नं. ४(क) कि.नं. ९ को मध्ये ०–१३–६ कि.नं. ३७ मध्ये ०–१५–१६ कि.नं. ६० को मध्ये २–१४–१२ समेत ४–३–१४ अदालतबाट चलन चलाई पाई दा.खा.भई ज.ध.पूर्जा समेत पाएका छौ अंश मुद्दाको विपक्षी भगीया कोइरीनले अंश चलन भइसकेपछि विपक्षी रामकृष्ण यादवलाई वेरीतको कबुलीयत र भर्पाई समेत कीर्ते गरी दिएका छन् उक्त अनधिकृत व्यक्तिले खडा गरेको प्रमाण लिई मोही हक कायम गरिपाउँ भनी विपक्षी रामकृष्णले निवेदन दिएको र भू.सु.का.बाट टिप्पणीं सदर गरी मोहियानीको स्थायी प्रमाणपूर्जा समेत दिएको रहेछ । विपक्षी भगीया कोइरीनले जग्गाजोत्न नदिएकी र ०३२।२।१५ गते कबुलीयत भएकोभए सोहीमितिमा स्थानीयपञ्चायतमा १ प्रति दाखिल भई दर्ता भएमा प्रमाणग्राहृय हुने कबुलीयत १ प्रति दाखिल दर्ता भएको नदेखिए पछि पूर्व मिति राखी सो कबुलीयत भएको प्रष्ट हुन्छ यस प्रकार अर्काको हक मेटिने मनसायबाट पेश भएको अनियमित र गैरकानूनी प्रमाणलाई आधार मानी ०३३।७।१२ मा नै चलन पाई जानकारी ०३३।१२।१ मा विपक्षी भूमिप्रशासन कार्यालयले पाइसकेपछि हामीलाई कुनै जानकारी नै नदिई टिप्पणीं सदर गरी दिएको मोहियानी प्रमाणपूर्जा पूर्णतः बदरभागी छ हामीलाई बुझ्दै नबुझी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीतको छ, उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिसुधार कार्यालयको टिप्पणीं आदेश विपक्षीलाई प्रदान गरेको मोहियानी प्रमाणपत्र बदर गरिपाउँ भन्ने समेत मुख्य निवेदन जिकिर रहेछ ।
४. जग्गाधनी म भगीयादेवी हो भन्ने निवेदकले मानेकै छ म जग्गाधनी भएको बखत मोही कायम गर्न नपाउने भन्ने कानूनी व्यवस्था छैन, जग्गाधनी र मोही मिली निवेदकहरू लाई असर पारिएको भए अ.बं.८६ नं. अनुसार उजूर गर्न पाउने कानूनी सुविधा छँदै थियो प्राकृतिक न्याय सिद्धान्त विपरीत पनि छैन लगत प्रकाशन भएकै छ, प्रकाशन गर्दा छिपाएको भए त्यसतर्फ पनि उजूर गर्न पाउने कानूनी व्यवस्था छँदैछ । त्यसतर्फ नगई रिट क्षेत्रमा प्रवेश गरेको देखिन्छ भू.सु.अधिकारीले अधिकार क्षेत्रभित्र रही निर्णय गरेको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्ष रामकृष्ण यादव, भगीयादेवी कोइरीनको संयुक्त लिखितजवाफ रहेछ ।
५. भगीयाले गरी दिएको कबुलीयतनामा रामकृष्णले पेश गरेको भर्पाई, भगीयाले गरिदिएको बयान समेतको आधारमा २ नं. अनुसूची प्रकाशन भएको र चित्त नबुझे २ नं. अनुसूची प्रकाशन भएको मितिले ३५ दिनभित्र गा.पं.मा उजूर गर्नुपर्ने थियो त्यसमा कसैले उजूर दावी गरेको यस कार्यालयलाई जानकारी हुन नआएको हुँदा ०३५।५।२१ को निर्णय गैरकानूनी नभएकोले रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने समेत विपक्षी जिल्ला भूमिसुधार कार्यालय सुनसरीको लिखितजवाफ ।
६. मोहियानी कायम गरिपाउँ भन्ने विपक्ष रामकृष्ण यादवको परेको उजूरीमा मोही कायम गरी दिएमा मञ्जूर गरी जग्गाधनी भगीयाले कागज गरिदिएको कबुलीयत र भर्पाई पनि पेश भएको २ नं. अनुसूची प्रकाशित गर्दामा समेत म्यादभित्र उजूर नपर्दा रामकृष्ण यादवलाई मोही कायम गरी मोहियानी हकको स्थायी प्रमाणपूर्जा दिने भन्ने ०३५।५।२९ मा विपक्षी जिल्ला भूमिसुधार कार्यालयबाट निर्णय भएको देखिन्छ यसरी कानूनद्वारा अधिकार प्राप्त अधिकारी विपक्षी भूमिसुधार कार्यालयबाट आफ्नो अधिकार क्षेत्रभित्र रही सबूत प्रमाणको मूल्यांकन गरी २ नं. अनुसूची प्रकाशितमा उजूर नपरेको भन्ने समेतको आधारमा मोहियानी हकको स्थायी प्रमाणपत्र दिने निर्णय गरेको प्रत्यक्ष कानूनी त्रुटि भएको नदेखिएकोले निवेदकको मागबमोजिमको आदेश जारी गर्न मिलेन, प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भन्ने समेत डिभिजन बेञ्चबाट ०३६।३।१४।५ मा निर्णय भएको रहेछ । प्रस्तुत मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी साथ संलग्न न्यायिक समितिको सिफारिस पर्चामा निवेदक यिनै महादेव महतो कोइरी समेत र विपक्षी जि.भू.सु.का.सुनसरी समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट नं. १०१५ को मुद्दामा स.अ.डिभिजन बेञ्चबाट ०३६।३।१४।५ मा भएको निर्णय दोहर्याई पाउँ भनी यिनै निवेदकले दिएको निवेदनबाट आजै सो मुद्दा दोहोर्याउन सिफारिस जाहेर गर्ने ठहराई पर्चा भएको र सो मुद्दामा भएको सर्वोच्च अदालतको निर्णय र प्रस्तुत मुद्दामा भएको निर्णयको आधार समान किसिमको देखिएको हुनाले सो मुद्दाको पर्चामा लेखिएकै आधारमा प्रस्तुत मुद्दा पनि सर्वोच्च अदालतबाट दोहोर्याई हेर्नुपर्ने देखिन्छ भन्ने उल्लेख भएको रहेछ ।
७. निवेदक महादेव महतो कोइरी समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्यायले ३२ सालमा कबुलीयत गरी कमाएको भन्ने विपक्षीको भनाई भएको सो कबुलीयत गरी दिएको अवस्था विपक्षी भगीयादेवीको जग्गामा हक नभई अंश मुद्दाबाट सो जग्गा निवेदकले अंश पाई सकेको छ त्यस्ता हक नभएकोबाट कबुलीयत गरी जग्गा कमाउने मोहीको हक कायम नहुने उस्मा पनि सो कबुलीयतको स्थानीय पञ्चायतमा १ प्रति दाखिल हुनुपर्ने नभएबाट सो कबूलियतको मान्यता नहुने ०३२ सालमा कबुलीयत गरी कमाएको जग्गाको लगत प्रकाश गर्नु नपर्नेमा गरी विपक्षीलाई मोही कायम गरेको निर्णय त्रुटिपूर्ण छ बदर हुनुपर्छ भन्ने समेत र विपक्षी भू.सु.कार्यालयको तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले छुट भएको मोहीको लगत प्रकाशन गर्ने भूमिसम्बन्धी ऐनमा व्यवस्था भएकै सो अनुसार लगत प्रकाशन गरी कसैको उजूर नपरेबाट मोही कायम गरी निर्णय गरेको विपक्षी भूमिसुधारको निर्णय कानूनबमोजिम छ । सो निर्णयबाट निवेदकको हक जाने रहेछ भने अ.बं ८६नं. बमोजिम उजूर गर्न पाउने अन्य उपचार भएकै हुँदा त्यसतर्फ अवलम्बन नगरी दिएको रिट निवेदन खारेज हुनुपर्छ भन्नेसमेत र विपक्षी रामकृष्णको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले लगत प्रकाशन गर्दामा समेत कसैको उजूर नपरेबाट मोही कायम गरी निर्णय गरेको विपक्षी भूमिसुधार कार्यालयको निर्णय कानूनबमोजिम छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
८. यसमा निर्णयतर्फ विचार गर्दा विपक्षी भगीयादेवीबाट ०३२ सालमा कबुलीयत गरी कमाएको र सो जग्गाको मोहियानी पूर्जा दिएमा मञ्जूर छ भन्ने जग्गाधनी भगीयादेवीले कागज गरी दिएको १ नं. भरी २ नं. अनुसूची प्रकाशन गर्दा समेत उजूर नपर्दा भनी विपक्षी रामकृष्ण यादवलाई मोहियानी हकको स्थायी प्रमाण दिने समेत गरी विपक्षी भूमिसुधार कार्यालयबाट ०३५।५।२१ मा निर्णय भएको प्रस्तुत मुद्दा देखिएको छ । यसरी भूमिसम्बन्धी ऐन लागू भइसकेपछि जग्गाधनीले जग्गा कमाउन दिएकोमा मोही कायम हुने कानूनी व्यवस्था हेर्दा भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ मा जग्गा कमाउन दिँदा लिँदा मोही र जग्गावालाको बीचमा कबुलीयत गर्नु पर्ने र दुवैको सहिछाप भएको कबुलीयतको अर्को एक प्रतिलिपि जग्गावालाले स्थानीय पञ्चायतमा दाखिल गर्नु पर्ने समेतको व्यवस्था भएको देखिन्छ ।
९. प्रस्तुत मुद्दामा विपक्षी रामकृष्ण यादवलाई मोहियानीमा कमाउन दिएको भनेको जग्गा विपक्षी भगीयादेवी र निवेदकको बीचमा परेको अंश मुद्दाबाट निवेदकको अंश भागमा परी चलन समेत पाइसकेको भन्ने निवेदन जिकिर भएकोमा सो कुरा होइन भनी विपक्षी भगीयादेवी समेतले खण्डन गर्न सकेको देखिँदैन त्यसरी निवेदकको अंश भागमा परी चरन पाइसकेको जग्गामा विपक्षी भगीयादेवीको भुस्वामित्व नै रहने भएन त्यस्तो भूस्वामित्व नै नरहेको विपक्षी भगीयादेवीले कबुलीयत गरी मोहियानीमा कमाउन दिएको कायम हुनसक्ने पनि देखिँदैन यसको अतिरिक्त ०३२ सालमा जग्गाधनी भनेको भगीयादेवीले कबुलीयत गरी जग्गा मोहियानीमा कमाउन दिएको भनी गरेको कबुलीयतको दुवैको सहिछाप परेको १ प्रति कबुलीयत उक्त भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ बमोजिम स्थानीय पञ्चायतमा जग्गाधनीबाट दाखिल भएको भन्ने देखिन आएको छैन यस स्थितिमा उक्त दफा ३४ को कार्य पुरा नभएको जग्गा कमाउन दिएको भनेको कबुलीयतको कानूनी मान्यता दिन मिल्ने पनि देखिँदैन त्यस्तो कानूनी मान्यता दिन नमिल्ने कबुलीयतको आधारमा मोही कायम हुनसक्ने पनि देखिएन ।
१०. तसर्थ उपरोक्त कारणका आधारमा मोही कायम हुन नसक्ने विपक्षी रामकृष्ण यादवलाई कायम गरी मोहियानी हकको स्थायी प्रमाणपूर्जा दिने गरेको विपक्षी भूमिसुधार कार्यालय सुनसरीको ०३५।५।२१ को निर्णय प्रत्यक्ष कानूनी त्रुटिपूर्ण निर्णय देखिएकोले उत्प्रेषणको आदेश जारी भई सो निर्णय बदर हुने ठहर्छ, रिट निवेदन खारेज गर्ने गरेको डिभिजन बेञ्चको ०३६।३।१४ को निर्णय मिलेको देखिएन । यो आदेश विपक्षी भूमिसुधार कार्यालय सुनसरीमा पठाउन प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाई दिनु ।
हामीहरूको सहमति छ ।
न्या. सुरेन्द्रप्रसाद सिंह
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०३८ साल मार्ग २ गते रोज ३ शुभम् ।