निर्णय नं. १५०३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १५०३ ने.का.प. २०३८ अङ्क १०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३७ सालको रि.फु.नं. ५०
आदेश भएको मिति : २०३८।१०।१७।३ मा
निवेदक : का.जि. का.न.पं. वडा नं. १३ कालिमाटी बस्ने रत्नलाल केडीया
विरुद्ध
विपक्षी : का.न.पं. वडा नं. १ हाल वडा नं. ११ थापाथली बस्ने छत्रबहादुर पुरी
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) विशेष अदालतको विचाराधीन रहेको मुद्दामा असाधारण अधिकार प्रयोग गर्न मिल्दैन ।
(प्रकरण नं. ९)
आदेश
प्र.न्या. नयनबहादुर खत्री : सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३६।१२।१८।२ को निर्णय दोहर्याई पाउँ भन्ने रत्नलाल केडीयाको न्यायिक समितिमा परेको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपर्युक्त मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : थापाथली बस्ने प्रकाश शमशेर ज.ब.रा.को क्याम्पा भित्रको नाप नभएको हाल नं. १२ को रोपनी ५–६–० मध्ये पूर्व, दक्षिण हित शमशेरको जग्गा पश्चिम पर्खाल, उत्तर मूल सडक यति ४ किल्ला भित्रको रोपनी १–४–० निज आसामी आफैंले जोती आएको जग्गा र सो जग्गमा बनेको छाप्रो समेत ३२ साल माघमा रू.७०,००० मा फार्छे राजीनामा गरी दिनु भएको र सो जग्गा मैले लिई भोगचलन गरी आएकोमा सो जग्गा नापी हुँदा का.न.पं.वडा नं. १ कि.नं. ३३ को रोपनी १–९–१–३ भएको रहेछ सो हामीलाई थाहा जनक थिएन ।
३. विपक्षी छेत्रबहादुर पुरीले सो जग्गा मैले २०२९।१।१४ मा कबुलीयत गरी त्यस पछि जग्गामा घर बनाउन ज.ध.प्रकाश शमशेरको स्वीकृति दिई घर बनाई आएको हुँदा सो जग्गामा मेरो मोहियानी जनिनु पर्ने भनी निवेदन दिँदा कारवाई भई नापी टोलीबाट ०३३।१।४।६ मा म्याद पठाउँदा म्याद गुजारी बसेको रहेछ । पछि फेरि ३ नं. नापी गोश्वारामा निवेदन दिँदा कारवाई चलाई ले.ज.प्रकाश शम्शेर परलोक भई वहाँको रानी राजकुमारी धर्मराज्य लक्ष्मीदेवीले मेरो श्रीमानले कमाउन दिएको पनि छैन कूत बुझेको पनि हैन पेश गरेको कागज सबै कीर्ते जालसाजी हुन् यो जग्गा श्रीमान ले.ज.प्रकाश शमशेरबाट रू.७०,००० मा जोतपोत सबै रत्नलाल केडीयालाई ०३२ साल माघमै फार्छे राजीनामा गरी दिएको छ भन्ने बयान दिनु भएछ । उक्त जग्गामा घर बनाई बसोबास गरी आएकोमा रत्नलाल केडीयालाई बिक्री गरेको हुँदा धनी निज रत्नलाल कायम गरी मेरो नाउँमा जोताहा कायम गरिपाउँ भनी विपक्षीले भु.प्र.का.मा निवेदन दिएकोमा भुमिप्रशासनबाट कुनै कुराको विचार नगरी जग्गाधनी पनि नबुझी ०३४।११।१३ मा विपक्षी क्षेत्रबहादुरलाई मोही कायम गरी निर्णय पर्चा भए छ । फेरि यसरी ३ नं. नापी गोश्वाराबाट प्रमाण समेत लिई हाजीर हुनु भनी म्याद तोकी पठाएकोमा नल्याए पछि प्रमाण ऐन २४(३)(४) दफाले प्रमाण बुझ्न र गुजारेको म्याद नथामी अर्को निवेदन लिई कारवाई गर्नु भनी कानूनी त्रुटि गरी भू.प्र.मा बुझाई दिनु भएको र भूमिप्रशासनबाट मलाई प्रतिवादी सरह अ.बं.१३९ नं. बमोजिम झिकाई कारवाई गर्नु पर्नेमा नझिकाई कानूनी त्रुटि गरी अ.बं.७८ नं. समेतको त्रुटि गरी संविधानको धारा १६,७१(२) तथा नागरिक अधिकार ऐनको दफा ६ (६) समेतले प्राप्त मेरो हकको प्रचलन गर्न अवरुद्ध गरेकोले नेपालको संविधानको धारा १६,७१ अनुसार उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी मेरो हक प्रचलन गराई पाउँ भन्ने समेत व्यहोराको रत्नलाल केडीयाको निवेदन ।
४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई आए पछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०३५।६।१३।६ को आदेशानुसार पेश हुन आएको लिखितजवाफहरूमा क्षेत्रबहादुर पुरीको जोत कायम हुने गरी निर्णय भएको व्यहोराको जानकारी प्राप्त हुन आएकोले उक्त निर्णय बमोजिम मोही कायम हुने गरी गरिएकोले यस गोश्वाराले कानूनी त्रुटि गरेको नहुँदा रिटवालाको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत ३ नं. नापी गोश्वारा काठमाडौं ।
५. भूमिप्रशासकले मिति ०३४।११।१३ मा गरेको निर्णयमा खेतीको याम एवं ६ महीना नघाई उजूर गर्न आउनु भएको छ । यसरी ढिलो गरी आउनुको कारण निवेदनमा लेख्न सक्नु भएको छैन । मैले घरबास खेती गरी आएको मेरो हक कायम भइरहेकोमा ढिला गरी आएकोले पनि निवेदकको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत क्षेत्रबहादुर पुरी ।
६. यसमा क्षेत्रबहादुर पुरी उक्त कि.नं. ३३ को जग्गाको हकप्राप्त मोही कायम हुने ठहर्छ भनी भूमिप्रशासन कार्यालयबाट निर्णय भएको देखिन्छ । उक्त निर्णयबाट पक्षहरूको बीचमा अदालतमा लिखत बदर मुद्दा परी विचाराधीन रहेको देखिन्छ । तल्लो अदालतमा विचाराधीन रहेको मुद्दामा पेश भएका कागजहरू लाई असर पर्ने किसिमबाट यस अदालतले प्रस्तुत रिटमा निर्णय गर्न उचित देखिन्न । तसर्थ प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ भन्ने समेत ०३६।१२।२८ को डिभिजन बेञ्चको निर्णय ।
७. निवेदक रत्नलाल केडीया जग्गाधनी देखिँदा देखिँदै निजलाई सरिक नगराई प्राकृतिक न्यायको सिद्धान्त विपरीत एकपक्षीय सरजमिनको आधार गरी लिई अ.बं.७८ नं. समेतको कार्यविधि नअपनाई त्रुटि गरी प्रमाण लाग्न सक्ने अवस्था नै नपुगेको कागजहरूको प्रमाण लिई भूमिप्रशासकले निर्णय गरेको देखिन्छ । भूमिप्रशासकको त्रुटिपूर्ण निर्णयलाई बदर गराउन निवेदकको सर्वोच्च अदालतमा परेको निवेदनमा पक्षहरूको बीच लिखत बदर मुद्दा परी विचाराधीन रहेको देखिन्छ । तल्लो अदालतमा विचाराधीन रहेको मुद्दामा पेश भएका कागजहरू लाई असर पर्ने किसिमबाट यस अदालतले निर्णय गर्न उचित देखिन्न भनी रिट निवेदन खारेज गरिएको छ । वास्तवमा विचाराधीन रहेको मुद्दामा पेश भएका कागजहरू लाई असर पर्ने किसिमबाट निर्णय गर्न उचित देखिन्न भनी सद्दे कीर्तेमा सुनाउँदै नसुनाएको अदालतको विचाराधीन रहेका प्रमाण लिन सकिने अवस्था नै नपुगेका कागजहरूको नक्कलका आधारमा भूमिप्रशासन कार्यालयले गरेको निर्णय कायम रहने गरी रिट निवेदन खारेज हुन जाँदा भू.प्र.का.को उक्त निर्णयबाट अदालतको विचाराधीन रहेको लिखत बदर मुद्दामा असर पुग्न गएको छ भन्ने समेत न्यायिक समितिको पर्चा ।
८. नियमबमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा तारेखमा रहेका पक्ष विपक्षहरू लाई रोहवरमा राखी निर्णयतर्फ विचार गर्दा डिभिजन बेञ्चबाट गरेको निर्णय मनासिव बेमनासिव के हो भन्ने कुरामा नै निर्णय दिनु परेको छ ।
९. यसमा निवेदकले विपक्षी क्षेत्रबहादुर पुरीलाई का.न.पं.वडा नं. १ को कि.नं. ३३ को १–९–१–३ जग्गामा मोही कायम गरी निर्णय गरेको भूमिप्रशासन काठमाडौंको ०३४।११।१३ को निर्णय उपर उत्प्रेषणको आदेश जारी गरिपाउँ भनी प्रस्तुत रिट निवेदन परेको देखिन्छ । यस सम्बन्धमा वादी फादर जि.बीलियम रविन्सको अधिकृत वारेस फादर जेम्स ड्रेसम्यान प्रतिवादी रत्नलाल केडीया भएको लिखत बदर दर्ता भन्ने मुद्दा १ दोहोरिएमा सजाय गरिपाउँ भन्ने मुद्दा १ र जालसाजी मुद्दा १ समेत तीन मुद्दा काठमाडौं जिल्ला अदालतमा परेकोमा बागमती विशेष अदालतमा सुम्पिएको भनी कानून तथा न्याय मन्त्रालयको सूचना नेपाल राजपत्र (भाग २६, ०३८) मा प्रकाशित देखिन्छ । उक्त मुद्दाको र प्रस्तुत मुद्दामा विवाद रहेको कि.नं. ३३ को एकै जग्गा नै हो भनी फादर जेम्स जे.ड्रेसम्यानको यस अदालतमा परेको निवेदन साथ संलग्न रहेको फिरादपत्रको प्रतिलिपिबाट देखिन्छ । त्यस्तो विशेष अदालतको विचाराधीन रहेको मुद्दामा असाधारण अधिकार प्रयोग गर्न मिल्दैन तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने ठहराएको डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ । मिसिल नियमबमोजिम बुझाई दिनु ।
हामीहरूको सहमती छ ।
न्या. हेरम्बराज,
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३८ साल माघ २७ गते रोज ३ शुभम् ।