शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५०६ - जालसाजी

भाग: २३ साल: २०३८ महिना: माघ अंक: १०

निर्णय नं. १५०६     ने.का.प. २०३८                        अङ्क १०

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०३४ सालको डि.फौ.पु.नं. १९२

फैसला भएको मिति :      २०३८।८।४ मा

निवेदक      : सिरहा जि.थलहा कुटहा गा.पं. वडा नं. ३ बस्ने रामाशिष यादव

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने बासुदेव यादवसमेत

मुद्दा : जालसाजी

(१)   जालसाजी गर्‍यो भनी दावी लिएको राजीनामा लिखतलाई पारित गरी दिने गरेको निर्णय अञ्चल अदालतबाट बदर भइसकेको देखिँदा पास गरिदिने निर्णय बदर भएकोबाट निष्क्रिय भइसकेको राजीनामा लिखत उपरको जालसाजी गर्‍यो भन्ने दावी भएको प्रस्तुत मुद्दाबाट यस स्थितिमा सो लिखत जालसाजी हो होइन भन्ने तर्फ विचार गरी रहन नपर्ने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह

फैसला

            प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफउपर पुनरावेदको अनुमति पाउँ भन्ने वादी रामाशिषको परेको निवेदनमा पुनरावेदनको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : विपक्षीहरू मध्येको बासुदेव यादवसित मैले निजलाई मूल्य रू.१८,००० दिई निज नाउँ दर्ताको जि.सि.प्र.म.गा.पं.राजापुर वार्ड नं. ५(ख) को हाल सर्भे कि.नं. १९६ को ११७२ र ऐ.वार्ड नं. को हाल सर्भे कि.नं. १९९ को ०२२ मध्ये दक्षिणतर्फबाट ०० जग्गासमेत ११११७ जग्गा ०२९।११।१।२ मा सुक्रीबिक्री राजीनामा लिखत लेखी दिएको सो लिखत म्यादभित्र मेरो नाउँमा पास गरी नदिएकोले नालेस गरी ०३०।८।१७ गतेको दिन पास हुने ठहरी फैसला भइसकेको र पास गरिपाउँ भनी मेरो नालिस परी सकेपछि विपक्षी बासुदेव यादवले विपक्षी देवनारायणको अनुचित प्रभावमा परी मलाई गरी सकेको जग्गा मध्ये कि.नं. १९६ को ११७½ जग्गा देवनारायणको नाउँमा दोहोरो पारी सुक्रीबिक्री राजीनामाको लिखत मिति ०३०।५।२३ गतेको दिन दिउँसो १२ बजेको समयमा विपक्षी मध्येको कालेश्वर यादवको काका नाता पर्ने हाम्रो गा.पं.को प्रधानपञ्च बौवालालको घरमा बसी गरिदिए छन् र विपक्षी मध्येको दिनेश्वर कर्णले उक्त लिखत लेखेको र दुखी यादव र कालेश्वर यादव उक्त लिखतमा अन्तरसाक्षी बसेका रहेछन् । मेरो साक्षी मध्येको सुकदेव यादव, विष्णुदेव यादव समेतले उक्त दोहोरा पारी २०२९ साल माघ २९ गते रोज ५ भन्ने मिति पारी २०३० साल भाद्र २३ गतेको दिन राजीनामाको लिखत लेखिदिएको कुरा ति साक्षीहरूले प्र.पं.को घरमा देखेको भनी मलाई मिति ०३०।५।२४ गतेको दिनमा भनेको हुनाले म्यादभित्र फिराद गरेको छु ।

            ३.    २०२९ साल माघ २९ गते रोज ५ को मिति पारी मलाई बिक्री गरिसकेको कित्ता नं. १९६ को मूल्य रू.१३,००० कायम गरी दिएको राजीनामाको लिखत सक्कलै निज विपक्षीबाट झिकाई उक्त लिखतलाई जालसाजी ठहराई विपक्षीहरू लाई सजाय समेत गरिपाउँ भन्ने वादीको फिरादपत्र रहेछ ।

            ४.    उल्लिखित फिरादको शब्दमा मलाई बिक्री गरी सकेको जग्गा देवनारायणको नाउँमा दोहरी पारी राजीनामा गरिदिएको भन्ने देखिएको सो शब्दको अनुकूल लेनदेन व्यवहारको २५ नं. हेरिँदा एकालाई लिखत गरिदिएको अचल दोहरा पारी अरूलाई लेखिदिन हुँदैन, पछिल्लाको थैली कपाली हुन्छ जसको लिखत अघिको छ उसैको सदर हुन्छ भन्ने शब्द देखियो फौजदारी कीर्ते मुद्दामा दर्ता भएकोमा कीर्ते कागजको कुन नं. ऐन अन्तर्गतको हो सो पनि फिराद व्यहोरामा नखुलेको समेतले लेनदेन व्यवहारको २५ नं. लाई निरीक्षण गर्दै अ.बं.का ऐनबमोजिम खारेज हुने हुँदा खारेज गरिपाउँ त्यसमा पनि कीर्तेमा उजूर गर्ने हक वादीको हुँदैन आसामीको हुन्छ आसामीले खुशीराजीसँग मलाई लिखत गरी दिएको भन्ने कुरा वादीको फिराद लेखले नै देखिन्छ वादीको उजूरीबाट म देवनारायणलाई गरी दिएको लिखत जालसाजी र बदर हुने प्रश्नै उठ्न सक्दैन वादीको भन्दा अघिको मिति म देवनारायणको भई लेनदेन व्यवहारको ३५ नं. ले लिखतको मान्यता मेरै हुने प्रष्ट छ । भएको वास्तविकता के हो भने म देवनारायण यादवलाई बासुदेव यादवले गरिदिएको लिखत जग्गाबाट वञ्चित गराउन यी वादीले म देवनारयणको लिखतको जग्गा लेखाई लिई नालिश गरी लेनदेन व्यवहारका २५ नं. ले म देवनारायण जग्गा पाउने वादीको लिखत कपाली भई थैली पाउने प्रष्ट गरेको भए तापनि रजिष्ट्रेशनको ३४ नं. ले रजिष्ट्रेशन भएको लिखत जेठो ठहरी जग्गा पाउने भएकोले सो ऐन मिलान गराउन मेरो लिखतबाट चलेको मुद्दा छिनिनु अगावै फैसला गराएको सम्बन्धमा निवेदन दिई अघी बढाउन लागेको कार्य रोकाएको ऐनको द.नं. ११९७ को मिसिलले देखाएको छ । मलाई लिखत गरिदिए पछि बासुदेव यादव वादीतर्फ गई दोहरा लिखत गरी दिई वादीसितै मिलेकाले निजको व्यहोराको निर्भर हामीमा नभई निजसँग हुँदा झुठ्ठा दावीबाट मुक्त गरिपाउँ भन्ने समेत बासुदेव बाहेक सबैको संयुक्त प्रतिउत्तरपत्र र प्र.बासुदेव यादवले म्यादै गुजारी बसेको रहेछ ।

            ५.    प्र.बासुदेव यादवले दोहरा लिखत खडा गरी जालसाज नगरेको भए सोही कुराको प्रतिवाद गर्नु पर्ने सो गरेको देखिएन र प्र.देवनारायण यादवले पेश गरेको सक्कल लिखत हेर्दा केरेको साथै मितिमा ०२९ सालको अंक मध्ये ९ को अंक सच्चिएको र रोजको अंक एक हुनुपर्नेमा ५ को अंक लेखिएको र वादीका साक्षीहरूले ०३०।५।२३ गतेका दिन ०२९।१०।२९ गतेको मिति पारी दोहरा लिखत जालसाजबाट खडा गरेको देखेको छु भनी किटानसाथ बकपत्र गरेको देखिएकोले जालसाजी गरेन होला भन्न सकिएन सो समेतको आधारबाट प्रतिवादीहरूले अघिको मिति पारी दोहरा लिखत खडा गरी ०२९।१०।२९ गतेको लिखत जालसाज गरेको ठहर्छ भन्ने समेत ०३१।३।३०।१ को सिराहा जिल्ला अदालतको फैसला ।

            ६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी देवनारायण यादव समेतको पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको रहेछ ।

            ७.    अ.बं.८२ नं. को व्यवस्थाले फिरादीको यो जालसाजी दावा लाग्न नसक्ने भई यो फिरादपत्रबाट इन्साफ हुन नसक्ने देखिँदा खारेज हुनेमा शुरूबाट प्रतिवादीहरुले लिखत जालसाज गरेको ठहराई छिनेको इन्साफ बदर हुन्छ भन्ने समेत मिति ०३२।८।२४।४ को पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।

            ८.    यसमा पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी रामाशिष यादवको तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवको र विपक्षी प्रतिवादी दिनेश्वरलाल कर्णको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंहको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा प्रतिवादी बासुदेवसँग रू.१८,०००। मा घरायसमा राजीनामा गरी लिएको लिखत पास हुने ठहरी फैसला भइसकेको पास गरिपाउँ भनी मेरो नालिश पारिसकेपछि मलाई बिक्री गरिसकेको जग्गा मध्येको कि.नं. १९६ को जग्गा देवनारायणलाई दोहरा पारी राजीनामाको लिखत गरिदिए छन । मेरो हक मेटाउने मनसायले जालसाजी लिखत खडा गरेको हो लिखत सक्कलै झिकाई जालसाजी ठहराई सजाय समेत गरिपाउँ भन्ने प्रस्तुत मुद्दामा वादीले मुख्य दावी लिएको देखिन्छ ।

            ९.    वादीले देवनारायणले जालसाजी राजीनामा खडा गरे भनेको राजीनामा लिखत पारित गरिपाउँ भनी प्रतिवादी बासुदेव उपर प्रतिवादी देवनारायणको फिराद परी पास गरी दिने ठहराएको सगरमाथा अञ्चल अदालतको ०३२।१०।२० को निर्णयलाई बदर गरिपाउँ भन्ने यिनै वादी रामाशिष यादवले प्रतिवादी देवनारायण उपर दिएको निर्णय बदर मुद्दामा सो लिखत पास गर्ने ठहराएको ०३२।१०।२० को निर्णय बदर हुने ठहराई ०३७।१२।११ मा सगरमाथा अञ्चल अदालतबाट निर्णय भई अन्तिम भइरहेको उक्त निर्णय बदर मुद्दाको प्रमाण मिसिलबाट देखिन आएको छ । यसरी प्रस्तुत मुद्दामा जालसाजी गर्‍यो भनी दावी लिएको देवनारायणको राजीनामा लिखतलाई पारित गरी दिने गरेको निर्णय अञ्चल अदालतको निर्णयबाट बदर भई सकेको देखिँदा सो पास गरी दिने निर्णय बदर भएकोबाट निष्क्रीय भइसकेको राजीनामा लिखत उपरको जालसाजी गर्‍यो भन्ने दावी भएको प्रस्तुत मुद्दाबाट यस स्थितिमा सो लिखत जालसाजी हो होइन भन्ने तर्फ कुनै विचार गरी रहन पर्ने स्थिति नै नभएकोले प्रस्तुत मुद्दामा अरू केही विचार गर्न नपरेको हुँदा खारेज गर्ने गरेकोसम्म पु.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

तपसील

पुनरावेदक वादी रामशीष यादवको माथि इन्साफ खण्डमा लेखिएबमोजिम क्षेत्रीय अदालतको इन्साफ सदर भएकोले पुनरावेदन गरे बापत पहिलो पुनरावेदन हुँदा पुनरावेदक वादी कै क्षेत्रीय अदालतले सजाय केही नगरेको हुँदा अ.बं.२०३ नं. को देहा ७ ले रू.५ पाँच जरिवाना लाग्छ वारेस भई वेरुजु हुँदा कानूनबमोजिम असूल गर्नु भनी शुरू सिराहा जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिने १

 

म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला,

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०३८ साल मार्ग ४ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु