शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५०८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २३ साल: २०३८ महिना: माघ अंक: १०

निर्णय नं. १५०८     ने.का.प. २०३८                        अङ्क १०

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०३८ सालको रिट नं. १६९८

आदेश भएको मिति : २०३८।१०।२२।५ मा

निवेदक      : सि.पा. जि. बलेफि गा.पं. वडा नं. ७ ज्यामिरे कोठे बस्ने कृष्णप्रसाद नेपाल

विरुद्ध

विपक्षी : जिल्ला कार्यालय भूमिसुधार शाखा सि.पा.का शाखा अधिकृत रामप्रसाद अमात्यसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को प्रक्रिया पुरा नगरी सोही ऐनको दफा २५ बमोजिमको मोही कायम गर्न नमिल्नेमा विपक्षीलाई मोही कायम गर्ने गरी गरेको भूमिसुधार शाखा सि.पा.को निर्णयमा उक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को त्रुटिपूर्ण देखिँदा सो विपक्षी भूमिसुधार शाखा सिन्धुपाल्चोकको निर्णय बदर हुने ।

(प्रकरण.नं. ११)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे तथा विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल

आदेश

            न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिसुधार शाखाको मिति ०३८।२।८ को फैसला बदर गरिपाउँ भन्ने समेत कुराको माग गर्दै मिति ०३८।३।१६ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको रहेछ ।

            २.    संक्षिप्त तथ्य : विपक्षी मध्ये खगेन्द्रप्रसाद नेपालको हकभोगको मकै बिजन ।.।.४ मध्ये बिजन माना ।.२ को डुम्रेबारी २०३० साल देखि अधिया बाली बुझाउने गरी मोहियानीमा कमाएको अधियाबाली बुझाएको भर्पाई समेत पाएको छु । उक्त जग्गा खगेन्द्रप्रसाद दिने कृष्णप्रसाद लिने गरी २०३७।२।७ मा का.प.मालमा राजीनामा गरेछन् । मौखिक तबरबाट मोहियानी हक हटाएकोले मोही कायम गरिपाउँ भन्ने विपक्षी तिलराम नेपालको विपक्षी भू.सु.शाखामा निवेदन परेको छ । उजूरी दावीको बिजन माना ।.।.२ को डुम्रेबारी समेत रू.१५०० मा ०३७।२।२७ मा खगेन्द्रप्रसादबाट राजीनामा पास गरी लिएको हुँ उजूरवालाले मोहीमा कमाएको छैन मैले बाली लगाई भोगचलन गरेको छु भन्ने समेत निवेदक प्र.कृष्णप्रसादको बयान र विपक्षी मध्येको खगेन्द्रप्रसादले म्याद गुजारी बसेको रहेछ । ०३१।०३५।०३६ सालको बाली बुझी लिई खगेन्द्रप्रसादले भर्पाई गरी दिएको खगेन्द्रप्रसादले उक्त जग्गा बिक्री गर्ने अवस्था मोही जनाई बिक्री गर्नु पर्नेमा सो गरेको नदेखिएको र म्याद गुजारी स्वीकार गरी बसेको समेत देखिनाले भु.सं.ऐन, ०२१ को दफा २५ तथा ऐ.ऐनको दफा ३४ बमोजिम उक्त बिजन माना ।.।२ को डुम्रेबारीको निवेदक तिलराम मोही कायम हुने हुँदा भु.सं.ऐन, ०२१ को दफा ३२ को खण्ड (ख) अनुसार विपक्षीलाई जनही खगेन्द्रप्रसादलाई रू.५। र कृष्णप्रसादलाई रू.१। जरिवाना हुने ठहर्छ भनी ०३८।२।८ मा विपक्षी भूमिसुधार शाखाबाट निर्णय भएको रहेछ । सो निर्णय बदर गराई माग्न रिट निवेदनमा निम्न जिकिर लिएको देखिन्छ ।

            ३.    रिट निवेदन सम्बन्धी जिकिर : विवादको जग्गा मैले राजीनामा लिँदासम्म विपक्षी तिलराम नेपालको मोही कायम रहेको थिएन मोही नलागेको पोत सहितको जग्गा राजीनामा दिएको छ । मलाई राजीनामा दिई सकी विपक्षी खगेन्द्रप्रसाद विपक्षी तिलरामसँग मिली भर्पाई बनाई दिने म्यादमा हाजिर नभई हुलाकद्वारा विपक्षी तिलराम मोही हो भन्ने समेत निवेदन पठाएको भरमा मोही कायम गरिएको छ, ०३० साल देखि मोहीयामा कमाउन लिएको भन्ने उजूर भएपछि भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ बमोजिमको कबुलीयत गराई त्यसको १ प्रति पञ्चायतमा समेत दाखिल भएको हुनुपर्ने गरी कानूनद्वारा बाध्यात्मक व्यवस्था भएको पाइन्छ । तदनुसार भएको छ भनी विपक्षी तुलाराम र खगेन्द्रप्रसादले समेत भन्न सकेको छैन मलाई नोक्सान पार्न पछि बनाएको भर्पाईको आधारमा मोही कायम गरेको उक्त कानून तथा सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त समेतको खिलाप भई विपक्षी भूमिसुधार शाखाको फैसला त्रुटिपूर्ण हुन गएको छ ।

            ४.    विपक्षीद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत सिंगल बेञ्चको मिति ०३८।३।२४ को आदेशानुसार विपक्षीद्वारा प्राप्त लिखितजवाफ जिकिर यस प्रकारको रहेछ :

            ५.    विवादको जग्गा दाता खगेन्द्रप्रसादका नाउँमा जारी भएको म्यादमा हाजिर नभए तापनि निजले यस कार्यालयमा प्रस्तुत गरेको निवेदनमा विपक्षी तिलारामले ०३० साल देखि नै कमाई गर्दै आएको र बिक्री गर्दा मोहीको भाग कटाई मूल्य लिई बिक्री गरेको हुँ कृष्णप्रसादले मोही ठग्ने बदनीयत गरेको हुन् तिलाराम नेपालको मोहियानी हक कायम होस भन्ने निवेदन प्राप्त हुन आएको र निवेदन साथ पेश गरेको भर्पाई तथा उपयुक्त प्रमाणको आधारमा भू.सं.ऐन, ०२१ को दफा २५ र दफा ३४(२) बमोजिम विपक्षी तिलाराम नेपाललाई मोही कायम समेत गर्ने गरी भएको फैसला कानूनी सिद्धान्त अनुसार नै भएको छ रिट निवेदन जिकिर झुठ्ठा हुँदा खारेज गरिपाउँ भन्ने समेत शाखा अधिकृत भूमिसुधार शाखा सि.पा.।

            ६.    ०३० साल देखि अहिले सम्म कमाई आएको जग्गालाई मोहीको हैसियतले कमाएको होइन भनी भन्न मिल्ने कुरा होइन । त्यस्तो रसीद लिनु दिनु गरी लामो अवधी सम्म जग्गा कमाई खाई आएकोमा भूमिसम्बन्धी ऐनको दफा ३४(१) को मनसाय पनि होइन । जुन कुरा २०३८ सालमा भएको भूमिसम्बन्धी ऐनको संशोधन दफा २५ (क) को (४) अनुसार वास्तविक मोही ठहरिएमा सो ऐनको दफा ३४(१) वा (२) बमोजिमको कबुलीयतको दोहरी कूत बुझाएको रसीद वा भर्पाई नभए तापनि मोही कायम गर्न सकिने छ भनी विद्यायिकाले गरेको व्यवस्था कायम राख्न आवश्यक छ भन्ने विद्यायिकाको मनसाय देखिन आएको छ र कबूलीयत नभएको मोही कायम गर्ने निर्णय त्रूटिपूर्ण छ, भन्ने निवेदन जिकिर कानूनसंगत छैन जिल्ला कार्यालय भूमिसुधारबाट आफ्नो अधिकार क्षेत्रभित्र रही सबूत प्रमाणको मूल्यांकन गरी कानूनबमोजिम भए गरेको निर्णय कायम राखी रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत तिलाराम तथा खगेन्द्रप्रसाद नेपालको संयुक्त लिखितजवाफ रहेछ ।

            ७.    तारेखमा रहेका निवेदक कृष्णप्रसाद नेपाल र खगेन्द्रप्रसाद नेपालको वारेस समेतको विपक्षी तिलाराम नेपाललाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीको र विपक्षी भूमिसुधार शाखा सि.पा.तर्फबाट बहस निमित्त खटिनु भएको विद्वान अधिवक्ता श्री इन्द्रराज पाण्डे तथा विपक्षी तिलाराम समतेका तर्फका विद्वान अधिवक्ता श्री गुरूप्रसाद बरालको बहस समेत सुनियो ।

            ८.    प्रस्तुत मुद्दामा रिट निवेदनको मागबमोजिमको आदेश जारी हुने नहुने के हो ? निर्णय दिनु परेको छ ।

            ९.    ०३० साल देखि खगेन्द्रप्रसादबाट मोहियानीमा कमाई आएको ०३७ सालमा खगेन्द्र नेपालले कृष्णप्रसादलाई बिक्री गरेकोले मौखिक तवरबाट मोहियानी हक हटाएकोले मोही कायम गरिपाउँ भन्ने विपक्षी तिलारामको उजूर परेकोमा मैले खरीद गरेको जग्गामा उजूरवाला मोही छैन मैले बाली लगाई भोगचलन गरी आएको छु भन्ने समेत निवेदकको प्रतिवाद बयान भएकोमा ०३१०३५०३६ सालको बाली बुझी लिई खगेन्द्रप्रसादले भर्पाई गरी दिएको खगेन्द्रप्रसादले उक्त जग्गा बिक्री गर्ने अवस्था मोही जनाई बिक्री गर्नु पर्नेमा सो गरेको नदेखिएकोले समेत भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ तथा ३४ बमोजिम उक्त जग्गाको मोही तिलाराम कायम हुने हुँदा भूमिसम्बन्धी ऐनको दफा ३२ ख.अनुसार खगेन्द्रप्रसादलाई रू.५ र कृष्णप्रसादलाई रू.१ जरिवाना हुने ठहर्छ भन्ने समेत गरी विपक्षी भूमिसुधार शाखा सि.पा.बाट निर्णय भएको पाइन्छ ।

            १०.    यसमा विवादास्पद जग्गा ०३० साल देखि मोहीयामा कमाएको भन्ने विपक्षी तिलाराम नेपालको विपक्षी भूमिसुधार कार्यालयमा दिएको निवेदनमा उल्लेख भएको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ लागू भएपछि सोही ऐनको दफा २५ अनुसारको मोही हुनलाई त्यस्ता जग्गा कमाउन लिँदा दिँदा जग्गाधनी र (किसान) मोहीका बीच दोहरी कबुलीयत हुनुपर्छ र त्यस्तो दुवैको सहिछाप भएको कबुलीयतको अर्को प्रतिलिपि जग्गावालाले स्थानीय पञ्चायतमा दाखिल गर्नु पर्ने कुरा समेत भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ ले व्यवस्था गरेको र सो अनुसार भए गरेको भन्ने समेत मिसिलबाट देखिन आउँदैन ।

            ११.    तसर्थ विवादास्पद जग्गा उपरोक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को प्रक्रिया पुरा नगरी सोही ऐनको दफा २५ बमोजिमको मोही कायम गर्न नमिल्नेमा विपक्षी तिलाराम नेपाललाई मोही कायम गर्ने गरी गरेको विपक्षी भूमिसुधार शाखा सिं.पा.को निर्णयमा उक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को त्रुटिपूर्ण देखिँदा सो मिति ०३८।२।८ को विपक्षी भूमिसुधार शाखा सिन्धुपाल्चोकको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि एक महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षी भूमिसुधार शाखा जि.सिन्धुपाल्चोकमा पठाई नियमबमोजिम गरी फाइल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०३८ साल माघ २२ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु