शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५१२ - उत्प्रेषण वा उपयुक्त आदेश वा पूर्जि जारी गरिपाउँ

भाग: २३ साल: २०३८ महिना: माघ अंक: १०

निर्णय नं. १५१२     ने.का.प. २०३८                        अङ्क १०

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३७ सालको रि.नं. १२४२

फैसला भएको मिति :      ०३८।९।१९ मा

निवेदक      : सप्तरी जिल्ला साविक घोघनपुर गा.पं. वडा नं. ३ हाल सन्तपुर बस्ने लक्ष्मी महतो कोइरी

विरुद्ध

विपक्षी : सप्तरी जिल्ला सन्तपुर बस्ने रूपलाल महतो कोइरी, भूमिसुधार कार्यालय सप्तरी जिल्ला

 

विषय : उत्प्रेषण वा उपयुक्त आदेश वा पूर्जि जारी गरिपाउँ

 

(१)   मोहीको प्रमाणपत्र पाउँ भन्ने उजूरीमा निर्णय गर्न पाउने अधिकारीले सबूत प्रमाणको मुल्यांकन गरी आधार प्रमाण खुलाई न्यायिक मन प्रयोग गरी कानूनबमोजिम निर्णय गर्नु पर्ने सो बमोजिम निर्णय नगरी मोहियानी हकको प्रमाणपत्र बनाई दिने गरी पेश गरेको टिप्पणींलाई सदर गरेको निर्णय त्रुटिपूर्ण देखिन आयो ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे

विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी र विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली ।

उल्लिखित मुद्दा :   

आदेश

            न्या. हरगोविन्द सिंह प्रधान :     प्रस्तुत रिट निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३७।८।१६ मा दर्ता भई पेश हुन आएको छ ।

            २.    तथ्य यस प्रकार छ : चतुरानन्द सिंहका नामको ४ नं. जो.अ.नि.प्राप्त गरी हाल खरीद गरी लिने लक्ष्मीमहतो कोइरीका नाउँमा घोघनपुर वार्ड नं. ७ को कि.नं. ९९।१६८ को ०–१२–० म रमेश्वरी महतो कोइरी नामको ऐ.वार्ड नं. ७ को ९९।१७५ को ०–१४–० र हेमाई साहुतेली नाममा ९७।१६५ को ०–९–० समेत जम्मा १–१५–० को मोही प्रमाणपत्र पाउँ भन्ने समेत विपक्षी रूपलाल महतो कोइरीको निवेदक मेरा नामको कि.नं. १६८ को जग्गाको निवेदक मोही होइन भन्ने समेत लक्ष्मीमहतो समेतको प्रतिउत्तर परेकोमा निवेदकले दावी गरेको अरू जग्गा मोहीमा जोतेको नदेखिई लक्ष्मी महतो नामको घोघनापुर गा.पं.वार्ड नं. ७ क.को कि.नं. १६८ को ०–१२–० जग्गा कित्ताको मात्र मोहियानी हकको प्रमाणपत्र बनाई दिने भन्ने समेत भूमिसुधार कार्यालय सप्तरीको ०३७।६।१७ को निर्णय रहेछ ।

            ३.    रिट निवेदन जिकिर यस प्रकार छ : उपरोक्त जग्गाको जग्गाधनी म र मोहीमा जो.खा.भनी मोठमा लेखिएको अर्थ विपक्षी मोही भनिएको होइन । सरजमीन प्रमाण लिएको सो सरजमिनमा मलाई नराखेको हुँदा प्राकृतिक न्याय सिद्धान्तको हनन् गरिएको छ । श्रेस्ता उतारमा हेमाई साहुको जस्तै जो.खा.देखाइएको छ । हेमाई साहुको मोही नभएको र मेरोमा मोही भएको भनी ठहर हुनु संविधानको धारा १०।१ विरुद्ध छ विपक्षीउपर जालसाज मुद्दा दायर गरेको प्रतिउत्तरमा जिकिर गरे बमोजिम भएन । अ.बं.१८४क. नं. को विपरीत हुन गएको छ । हक प्रचलन हुने गरी उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षी भू.सु.कार्यालयबाट ०३७।६।१७ मा गरेको अवैध निर्णय बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर ।

            ४.    विपक्षीसँग लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगल बेञ्चको ०३७।१०।१५ को आदेश ।

            ५.    रूपलाल महतोको मोही हक कायम हुने ठहराई गरेको यस कार्यालयको निर्णय कानूनसंगत छ रिट निवेदन बदरभागी छ भन्ने समेत भूमिसुधार कार्यालय सप्तरीको लिखितजवाफ ।

            ६.    उक्त जग्गाको मोहियानी अस्थायी निस्सा पाएको छु प्रमाणको मूल्यांकन गरी मोही हकको प्रमाणपत्र दिने ठहर भई भू.सु.का.ले गरेको निर्णयबाट कानूनको उल्लंघन भएको छैन मेरो मोहियानी हक अकाट्य छ म स्थापित हक माथी दावी लिन विपक्षीमा हकदैया नपुग्ने हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत रूपलाल महतो कोइरीको लिखितजवाफ ।

            ७.    निवेदक तर्फका विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे विपक्षी कार्यालय तर्फका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद “विजयी” तथा विपक्षीतर्फका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले गर्नुभएको बहस समेत सुनियो ।

            ८.    प्रस्तुत विषयमा निवेदकको माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनु परेको छ ।

            ९.    यसमा निर्णयतर्फ हेर्दा लक्ष्मीमहतो नामको घोघनपुर गा.पं.वार्ड नं. ७ को कि.नं. १६८ को क्षे.फ.०–१२–० जग्गा निवेदक मोही देखिन आएकोले यो एक कित्ताको मात्र मोहियानी हकको प्रमाणपत्र बनाई दिन मिल्ने देखिएकोले पेश गरेको छु भनी टिप्पणीं पेश भएकोमा सदर गरी ०३७।६।१७ मा भूमिसुधार कार्यालय सप्तरीबाट निर्णय गरेको देखिन्छ ।

            १०.    मोहीको प्रमाणपत्र पाउँ भन्ने उजूरीमा निर्णय गर्न पाउने अधिकारीले सबूत प्रमाणको मूल्यांकन गरी आधार प्रमाण खुलाई न्यायिक मन प्रयोग गरी कानूनबमोजिम निर्णय गर्नु पर्ने हुन्छ । तर प्रस्तुत विषयमा अधिकार प्राप्त अधिकारीबाट सबूत प्रमाणको मूल्यांकन गरी आधार प्रमाण खुलाई न्यायिक मन प्रयोग गरी कानूनबमोजिम निर्णय गरेको देखिँदैन । सो बमोजिम निर्णय नगरी एक कित्ता जग्गाको मोहियानी हकको प्रमाणपत्र बनाई दिने गरी पेश गरेको टिप्पणींलाई सदर गरी ०३७।६।१७ मा गरेको विपक्षी भूमिसुधार कार्यालय सप्तरीको निर्णय त्रुटिपूर्ण देखिन आयो । निवेदक जगन्नाथ ज्ञवाली विरुद्ध जिल्ला भूमिसुधार कार्यालय कैलाली धनगढी भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने ०२४ सालको रिट नं. २८० को रिट निवेदनमा प्रशासकीय अधिकारीले गरेको न्यायिक निर्णय अर्धन्यायिक निर्णय हुने उक्त निर्णय गर्दा तथ्यसँग सम्बन्धित कानून प्रयोग गरी सबूत प्रमाणको मूल्यांकन गरी गर्नु पर्ने त्यस्तो नगरी टिप्पणींमा उल्लेख गरे अनुसार सदर भनी भू.सु.अधिकारीले न्यायिक (अर्धन्यायिक) निर्णय गर्न नहुने भन्ने समेत उल्लेख गरी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०२६।१२।६ मा निर्णय भई ने.का.प.२०२८ नि.नं. ६०३ पृष्ठ १५० मा प्रकाशित भैराखेको देखिन्छ ।

            ११.    अतः उपरोक्त उल्लेख भए अनुसार विपक्षी भूमिसुधार कार्यालय सप्तरीको मिति ०३७।६।१७ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानूनबमोजिम निर्णय गर्नु भनी विपक्षी कार्यालयको नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारीको निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०३८ साल पौष १९ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु