निर्णय नं. १५१९ - अंश लिखत बदर

निर्णय नं. १५१९ ने.का.प. २०३८ अङ्क ११
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०३६ सालको दे.वि.नं. ६४
फैसला भएको मिति : २०३८।११।३ मा
निवेदक : जि. सिराहा पिपरा गा.पं.वार्ड नं. ४ बस्ने भोजे यादव स्वर्गीय भई मु.स.गर्ने एकासगोलको छोरा र झिंगर यादवको हकमा र आफ्नो हकमा समेत तेजिलाल यादव
विरुद्ध
विपक्षी : जि. सिराहा गोविन्दपुर गा.पं.बस्ने चौरासीवती यादवनी
विषय : अंश लिखत बदर
(१) जग्गा खरीद गरी लिनुदिनु भएको र यस्तो लिखत वादीलाई सुनाउँदा बिक्री व्यवहार भएको कुरोलाई वादीले अस्वीकार नगर्नु भएकोले वादीको नाति, छोरा र प्रतिवादी सगोलमा बसेको भए सगोलको जग्गा आपसमा सुक्रीबिक्री हुनु पर्ने अवस्था पर्दैन । प्रतिवादी र वादीको नातीले बिक्री गरेको लिखत व्यवहार प्रमाण र दर्ता भोगबाट समेत वादी प्रतिवादीको बीच बण्डा भइसकेको लिखत बदर भई बण्डा हुने ठहराएको बदर हुने ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षी तर्फबाट :
उल्लिखित मुद्दा :
फैसला
न्या. त्रिलोकप्रताप राणा : पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३२।७।१२ मा छिनेको अंश लिखत मुद्दा त्यस अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्स भई यस अदालतमा दर्ता हुन आएको रहेछ ।
२. मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : लोग्ने गेनाईका दुई स्वास्नीमा जेठी मदोदरी कान्छी र म भएको मदोदरीबाट विपक्षी मोजे कान्छी मबाट अजवी भएको मौजेको छोरा तेजिलाल र अजिवीको छोरा जुनलाल भएको, लोग्ने जीवित छँदै सौता परलोक भएको ०२३ सालमा लोग्ने गेनाई परलोक भएपछि छोरा नाती म सगोलमा बसेको मौजा पिप्रामा बसी गोविन्दपुरको आयस्ताले जग्गा खरीद गरी आयस्ता भोगी आएको केही जग्गा मौजेको नाउँमा र केही जग्गा तेजीको नाउँमा केही जग्गा खरीद गरी आयस्ता भोगी आएको केही जग्गा मौजेको नाउँमा र केही जग्गा तेजीको नाउँमा र केही जग्गा बुहारीको नाउँमा र गोविन्दपुरको १।।।३ जग्गा मौजे र अजिवि २ जनाले तेजीलाल जुगुनलाल २ जनाका नाउँमा गुपचुप दर्ता गराई राखेको मलाई थाहा थिएन । मलाई अंशबाट वञ्चित गराउन तेजिलालले गोविन्दपुरको ४।२।।। जग्गा ०२२।४।१ मा झिगुरलाई राजीनामा पास गरी दिएकोले फिराद गर्न आएको छु । पिप्रा मौजे र गोविन्दपुर दुवै नाउँको विपक्षीहरू बाट तायदाती लिई बिक्री गरेको लिखत बदर गरी सो जग्गाबाट समेत ३ खण्डको १ खण्ड अंश छुट्याई पाउँ भन्ने समेत चौरासीवती यादवनीको फिराद दावी रहेछ ।
३. १९८१।१९८२ सालमा हो मानो छुट्याई भिन्द भई बाजेको आर्जन म मौजेको अंश भागमा परेको आफ्नो र छोरा तेजीलालका नाउँ तथा वादीले आफ्नो छोरा अजवि र नाती जुगुनलालका नाउँमा बेग्ला बेग्लै दर्ता गराई भोगी आएको । म तेजीलालको आमाले माइतीबाट दाइजो पाई त्यसबाट बढाएको जग्गासमेत आमा दुर्गावती समेतका नाउँमा दर्ता भई भोगी आएको वादी दावी बमोजिम वादीलाई हामीले अंश दिनु पर्ने होइन भन्ने समेत मौजे, तेजीलालको प्रतिउत्तर जिकिर रहेछ ।
४. तेजीलालको अंश हकको जग्गा नै मैले निजसँग खरीद गरी लिएको अंश हक लाग्ने होइन भन्ने समेत झिंगुर यादवको प्रतिउत्तर जिकिर रहेछ ।
५. म वादी पट्टिको छोरा दाजु मौजेको छोरा मेरो भतिजो तेजिलाल हो जेठाबाबु नन्दीलालसँग हाम्रा बाबु गेनाई भिन्द हुनुभएको गेनाईको अंश भागको जग्गा गोविन्दपुर मौजेको १ विगाहा चानचुन गोविन्दपुरको जुगुनलालका नाउँमा १ऽ१ जेठाबाबु नन्दीको छोरा रामेश्वरका नाउँमा हरिनगरका १।। कजराको ।।३ नन्दीको नामको १।। समेत अंशमा परेको पछि सोही जग्गाको आयस्ताले सगोल छँदा आर्जन भएको पिप्रा मौजे तेजिलालका नाउँमा दुर्गावतिका नाउँमा ४।। भएकोले धनमाल अबण्डा रहेको वादी आमाको अंश लाग्ने भए पनि दुवैजनाले हेरविचार गर्ने दाजु मौजे र म अजवीको सल्लाहा हुँदा सो मञ्जूर नगरी अंश खाजेको हो । जिउनी सम्म दिने लिने गराई पाउँ भन्ने समेत अजविको प्रतिउत्तर जिकिर रहेछ ।
६. वादी चौरासीवती र निजको छोरा अजवी नाती जुगुनलाल अघि नै भिन्न भइसकेकोले वादीले मौजेबाट अंश नपाउने र तेजीलालले झिंगुरलाई बिक्री गरेको लिखत बदर नहुने ठहर्छ भनी सिराहा जिल्ला अदालतको २०२४।१०।४।५ को फैसलामा चित्त बुझेन सो बदर गरी वादी दावी बमोजिम अंश पाउँ भनी वादीको पुनरावेदन परेकोमा शुरूको सदर गरी सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चले ०२५।९।८ मा फैसला गरेको रहेछ ।
७. उक्त फैसला उपर चित्त बुझेन हक इन्साफ पाउँ भनी ०२५।१२।१९।३ मा वादीको सर्वोच्च अदालतमा पुनरावेदन परेकोमा न्यायप्रशासन सुधार ऐन, २०३१ अनुसार उक्त मुद्दा पु.क्षे.अ.धनकुटाको क्षेत्राधिकारमा पर्न गई फिरादीले प्रतिवादी मौजे र अजवीबाट ३ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने समेत पु.क्षे.अ.को ०३३।७।१२।४ को फैसला ।
८. उक्त पु.क्षे.अ.को फैसलामा चित्त बुझेन पुनरावेदन गर्न अनुमति पाउँ भनी प्रतिवादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत ०३३।१।२० को यस अदालत डिभिजन बेञ्चको आदेश रहेछ ।
९. सो उपर प्रतिवादीले बी.जा.वि.मार्फत पु.क्षे.अ.को इन्साफ जाँच गरी दिनु भनी स.अ.को नाउँमा हुकुम प्रमांगी बक्स पाउँ भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तिपत्रमा बक्स भई आएको हुकुम प्रमांगी बमोजिम प्रस्तुत मुद्दा यस अदालतमा ०३६।११।६ मा पर्न आएको रहेछ ।
१०. २०१७।३।८ मा तेजीलाल यादव र चौरासीवती यादवनीको नाती अजवीको छोरा जुगुनलालको बीच जग्गा खरीद बिक्री भएको देखिएकोले फिरादीले अंश पाउने ठहराएको पु.क्षे.अ.को फैसला मिलेको नदेखिँदा छलफल निमित्त अ.बं.२०२ नं. र स.अ.नियमावली बमोजिम विपक्षी वादीलाई झिकाई पेश गर्नु भन्ने समेत ०३८।७।३।२ को डिभिजन बेञ्चको आदेश रहेछ ।
११. निवेदक प्रतिवादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दासको बहस समेत सुनी पु.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनु परेको छ ।
१२. यसमा वादीको छोरा अजिवी र वादीकै नाती जुगुनलाल प्र.तेजीलाल र निजको बाबु मौजेको नाउँमा समेत जग्गा अलग दाखिल दर्ता भएको देखिन्छ । यिनै वादीको नाती जुगनलालबाट प्र.तेजीलालले ०१७।३।८ मा दुई कठ्ठा उन्नाइस धूर जग्गा खरीद गरी लिनु भएको र त्यस्तो लिखत वादीलाई सुनाउँदा त्यस्तो बिक्री व्यवहार भएको कुरालाई वादीले अस्वीकार गर्नु नभएकाले यी वादीको छोरा नाती र प्रतिवादी तेजीलाल सगोलमा बसेको भए सगोलको जग्गा आपसमा सुक्रीबिक्री हुनु पर्ने अवस्था पर्दैन । प्रतिवादी र वादीको नाती जुगुनलालले बिक्री गरेको लिखत व्यवहार प्रमाण र दर्ता भोगबाट समेत यी वादी प्रतिवादीको बीचमा बण्डा भइसकेको देखिँदा लिखत बदर भई बण्डा हुने ठहराएको पु.क्षे.अ.को इन्साफ गल्ती भई उक्त निर्णय बदर हुने ठहर्छ । वादीले अंश नपाउने र तेजीलालले प्र.झिंगुरलाललाई बिक्री गरेको ०२२।४।७ को ।४।२।।। जग्गाको लिखत बदर नहुने ठहराएको शुरू सिराहा जि.अ.को इन्साफ मनासिव ठहराएको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको इन्साफ मनासिव ठहर्छ । अरू तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पु.क्षे.अ.को फैसला उल्टी भई स.अं.अ.रा.वि.वे.को इन्साफ सदर ठहरेकोले ०३२।७।१२।४ को पु.क्षे.अ.को फैसलाले गर्ने गरेको देहायबमोजिमको लगत कट्टा गरी दिनु भनी सिराहा जि.अ.मा पूर्जी गर्न का.जि.अ.त.मा लगत दिनु १
तेजीलालले प्र.झिंगुरलाई रू.४०००।– मा बिक्री गरेको गोविन्दपुर मौजाको जग्गा विगाहा ।४।।।३।। बाट ३ खण्डको १ खण्ड वादीको अंश हक जतिको लिखत बदर गरी दिन, भनी सम्बन्धित भूमिप्रशासन, माललाई लेखी पठाउने भन्ने कलम.......................१
मौजे पिप्राको तेजीलालको विरजुबाट बक्स पाएको भनेको जग्गा विगाहा १।।१।१ को तायदातिमा मोल बिगो नखुलेको सो जग्गा मध्ये ३ भागको १ भाग अंश छुट्याई पाउँ भनी ऐनको म्यादभित्र दरखास्त दिन आए सो जग्गाको पञ्चकृति मोला कायम गरी त्यसको कानूनले लाग्ने कोर्टफी समेत लिई कानूनबमोजिमको रीत पुर्याई ३ खण्डको १ खण्ड वादीलाई अंश छुट्याई दिनु भन्ने ऐ.ऐ........२
प्रत्यर्थी प्रतिवादी वा समेतको तेजीलालले ०२८।१।२२।४ मा र अजीविले ०२८।१।३०।५ मा आफूसँग रहेको भनी दाखिल गरेको तायदाती मध्ये तेजीलालले दाखिल गरेको तायदातीको जग्गा विगाहा १।।३।।.।।को र आ“प सिसौ आमुनको रूख समेतको मोल बिगो रू.७३३५।– र अजविले दाखिल गरेको तायदातीको जग्गा विगाहा २९३९,१।। र फुसको झुप्रा २ सिलवरको डिप्ची ३ ऐ.का.थाल ४ ऐ.का कचौरा ५ समेतको मोल रू.१२००।– समेत तायदातीको जम्मा जग्गा विगाहा ३।।।१।।२ को रूख हाडाभाडा घर समेतमा धनमालको र बिक्री गरेको जग्गाको समेत जम्मा मोल बिगो रू.१२५३५।–को कोर्टफी ऐन, २०१७ को दफा ६ (क) ले पहिला रू.२०००।– सम्मको सयकडा ५ले रू.१००।– र बाँकी रू.१०५३५।–को सयकडा ४ले रू.४२१ समेत जम्मा कोर्टफी रू.५३१।– वादीलाई कोर्टफी लाग्नेमा शुरूमा फिराद गर्दा र त्यस उपर अञ्चल र स.अ.मा पुनरावेदन गर्दा रू.२५।–का दरले रू.७५।– कोर्टफी रहेको गरी बाँकी नपुग कोर्टफी रू.४४६।– वादीबाट लिनु पर्नेमा निजले जितेकाले प्रतिवादीबाट असूल गर्ने प्रतिवादीबाट असूल नभए फिरादी सँग लिने र उपरोक्त उल्लिखित जग्गा र घर रूख हाडा भाडा समेतको ३ खण्डको १ खण्ड अंश छुट्याई पाउँ भनी कानूनको म्यादभित्र दरखास्त दिनआए कानूनको रीत पुर्याइ नरम करम मिलाई ३ खण्डको १ खण्ड अंश छुट्याई ...................३
माथि इन्साफ खण्डमा लेखिएबमोजिम वादीले अंश नपाउने ठहरेकोले उल्लिखित पु.क्षे.अ.को फैसलाले गर्ने गरेको देहायबमोजिमको लगत कट्टा गरी दिनु भनी ऐ.ऐ...................४
प्र.मौजे यादव १ प्र.तेजीलाल यादव १ प्र.अजवी यादव १ प्र.झिंगुरलाल यादव १ पुनरावेदक वादी चौरासीवती यादवनीको माथी लेखिएबमोजिम निजले दाखिल गरेको अंश तर्फको कोर्टफी रू.७५।– र लिखत बदर तर्फको रू.१४।५० समेत जम्मा रू.८९।५० का हकमा प्रतिवादीहरू बाट भरी पाउने हुँदा प्रतिवादीहरूको हक जेथा देखाई प्र.मौजे तेजीलाल अजवीबाट र रू.१४।५० को हकमा तेजीलाल झिंगुरबाट भरी माग्न आएमा कुनै दस्तुर नलिई कानूनको रीत पुर्याई दामासाहिले निजहरू बाट भरी भराउ गरी दिनु भन्ने ऐ.ऐ......................५
उल्टीमा तत्कालिन स. अञ्चल अदालत राजवीराज बेञ्चका अञ्चल न्यायाधीश सर्वज्ञराज पण्डीतज्यूको रेकर्ड राख्नु भन्ने ऐ.ऐ......६
इन्साफ जाँचको लागि आएको हुनाले केही गरी रहन परेन मिसिल नियमानुसार गरी बुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०३८ साल फाल्गुण ३ गते रोज १ शुभम् ।