शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५२३ - लिखत बदर

भाग: २३ साल: २०३८ महिना: चैत्र अंक: १२

निर्णय नं. १५२३ ने.का.प. २०३८               अङ्क १२

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०३७ सालको दे.पु.नं. २४६

फैसला भएको मिति : ०३८।११।४।२ मा

पुनरावेदक प्रतिवादी : जिल्ला मुस्ताङ्ग कागवेनी गा.पं.वार्ड नं. ३ धागरजुङ बस्ने मोती गुरुङस्यानी

विरुद्ध

विपक्षी, वादी : ऐ.ऐ. बस्ने क्षस गुरुङ्ग

मुद्दा : लिखत बदर

(१) विवादको लिखत २०३४।७।१४ मा रजिष्ट्रेशन भएकोमा त्यसको नक्कल ०३५।१।१८ मा सारी लिई वादीलाई सो लिखत भएको थाहा हुन आएको र ०३५।३।२० मा प्रस्तुत फिराद परेको देखिन्छ, लेनदेन व्यवहारको १० नं. मा उल्लेख भए बमोजिम रजिष्ट्रेशन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजूर गर्नुपर्नेमा वादीले ०३५।१।१८ मा नक्कल सारी लिई थाहा पाई ०३५।३।२० मा फिराद गरेकोबाट सो १० नं. मा लेखिएको एकवर्ष सम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजूर गर्नुपर्नेमा प्रस्तुत फिरादपत्र थाहा पाएको पैंतीस दिन नघाई परेको र यसरी हक म्याद नघाई परेको फिरादबाट कारवाई किनारा गर्न नपर्नेमा पुनरावेदीका प्रतिवादीको जिकिर बमोजिम गरेको कारवाई मिलेको नदेखिनाले पुनरावेदन जिकिर अनुसार वादी खारेज हुने ।

(प्रकरण नं. १०)

प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुवास नेम्वाङ

वादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री बुद्धिप्रसाद पौडेल

फैसला

        न्या. सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३६।९।१६ को फैसला उपर पुनरावेदन गर्ने अनुमती पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा अनुमती प्राप्त भई यस बेञ्चसमक्ष पेश हुनआएको रहेछ ।

        २.  अदालतमा अंश मुद्दाको कारवाई छँदाछँदै मलाई केही थाहापत्ता नदिई विपक्षी सौताने आमाले म नावालक छोरालाई अंश मार्ने नियतले २०३४।७।१८ गते मुस्ताङ मालमा गई मेरो हकभोगको जग्गासमेत किल्लामा पारी रजिष्ट्रेशन पारित गरेछन् । मार्फा गा.पं. वडा नं. ५ कित्ता नं. ५३ पूर्व हिराबहादुर शेरचनको घरबारी समेत चारकिल्ला भित्रको ०२ को पुर्‍याङ घडेरी कित्ता १ रू.५०००। मा लेनदेन पारित गरेकोले उक्त लिखत बदर गरिपाउँ भन्ने समेत फिरादपत्र ।

        ३.  वादी लेख अनुसार सो पुर्‍याङ भन्ने जग्गा अरू कसैको मञ्जूरी लिन नपर्ने र श्री ५ को सरकारको कुनै रोक्का समेत नभएको हकवाला दाजुभाइ कोही नभएको मेरो आमा प्रेमखण्डु गुरुङस्यानीले नगद रुपैयाँँ दाइजो पेवा दिई किनेकी हुन र स्त्री अंशधनको ५ र १ नं. मा प्रष्ट व्यवस्था भए अनुसार मेरो खुस गर्न पाउने हुँदा नन्दप्रसाद शेरचनलाई रू.५०००। मा पारित गरी दिएको हुँ सो जग्गा मेरो पेवाको रुपैयाँँबाट रू.५००। मा २०२८ सालमा लिएको हुँ झुठ्ठा लिखतबाट फूर्सद पाउँ भन्ने समेत प्रतिउत्तर ।

        ४.  क्षस गुरुङको दे.नं. ४ को अंश मुद्दाबाट अंशियारा देखिएको र निजको मञ्जूरी नलिई २०३४।७।१८ मा प्र.मोतीले प्र.नन्दप्रसाद शेरचनलाई बिक्री गरेको रजिष्ट्रेशन पास भएको धनी नन्दप्रसाद ऋणी मोती गुरुङस्यानी भएको लिखत लेनदेन व्यवहारको १० नं. अनुसार वादी क्षस गुरुङको अंश हक जति दुई खण्डको १ खण्ड लिखतबदर हुने ठहर्छ भन्नेसमेत २०३५।११।१४ को मुस्ताङ जि.अदालतको फैसला ।

        ५.  उक्त फैसलामा चित्त बुझेन भनी प्रतिवादीले पश्चिमाञ्चल क्षेत्रीय अदालतमा चढाएको पुनरावेदन ।

        ६.  डिभिजन बेञ्चबाट यिनै वादी प्रतिवादीको अंश नाता कायम मुद्दामा नाता कायम गरेको र अंश दिलाउने गरेको इन्साफ मनासिव ठहरी फैसला भएको हुँदा वादीलाई सगोलको अंशियार मान्नु पर्‍यो । दाइजो पेवाको पुष्ट्याँई भएको छैन । मञ्जूर नहुने अंशयाराले आफ्नो भाग बदर गराउन सक्ने नै भयो तसर्थ मु.जि.अ.को इन्साफ मनासिव छ भन्ने समेत पश्चिामाञ्चल क्षे.अ.को २०३६।९।१६।२ को फैसला ।

        ७.  उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमती पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा क्षस गुरुङले मोती गुरुङस्यानी समेत उपर २०३५।३।२०।३ मा दर्ता गरेको फिरादपत्रमा राजीनामाको मिति ०३५।१।१८ भनी लेखेकोबाट राजीनामा लिखत भएको मितिबाट लेनदेन व्यवहारको १० नं. को उजूर गर्ने वर्ष एक र दिन पैंतीसको खिलाफ भइसकेपछि दर्ता गरेको प्रस्तुत फिराद खारेज हुने भनी ठहर गर्नुपर्नेमा नगरेकोबाट सार्वजनिक महत्त्वको विषयमा उपरोक्त कानूनको प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि भएको देखिन आएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमती प्रदान गरिएको छ भन्ने समेत ०३७।८।९।२ को डिभिजन बेञ्चको आदेश ।

        ८.  पुनरावेदिका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सुवास नेम्वाङ विपक्षी वादी तर्फबाट रहनुभएका विद्वान वैतनिक अधिवक्ता श्री बुद्धिप्रसाद पौडेलले गरेको बहस समेत सुनियो ।

        ९.  मेरो हक लाग्ने जग्गाको लिखत बदर गरिपाउँ भनी लेनदेन व्यवहारको १० नं. अन्तर्गत परेको फिरादमा वादीको हक जति दुई खण्डको एक खण्ड बदर गर्ने गरी मुस्ताङ जिल्ला अदालतले गरेको फैसला पश्चिमाञ्चल क्षेत्रीय अदालतले सदर गरेकोमा सो लेनदेन व्यवहारले तोकेको म्याद नघाई परेको उजूरीबाट कारवाई किनारा नगरी सो फिरादलाई खारिज गर्नुपर्नेमा इन्साफ गरेको र फिराद खारिज हुनुपर्ने भनी पुनरावेदिका प्रतिवादीको मुख्य जिकिर भएकोमा सो बमोजिम गर्न मिल्ने नमिल्ने के हो ? त्यसतर्फ मिसिल संलग्न रहेको कागजात हेर्दा अंश मुद्दा पर्दापर्दै मेरो समेत हक लाग्ने जग्गा २०३४।७।१४ मा रजिष्ट्रेशन गरी दिएको लिखतको नक्कल सारी लिई ०३५।१।१८ मा थाहा पाएकोले मेरो हक बदर गरिपाउँ भनी २०३५।३।२० मा फिराद परेको देखिन्छ ।

        १०. लेनदेन व्यवहारको १० नं. मा नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफू खुशी गर्न पाउने अरूको मञ्जूरी लिनु नपर्नेमा बाहेक अरूमा एकाघरसँगका अंशियार सबै साक्षी बसेको वा निजहरूले मञ्जूरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मञ्जूरीको लिखत पनि नभए मञ्जूर नहुनेले रजिष्ट्रेशन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजूर गर्‍यो र निजको मञ्जूरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनुपर्छ भनी उल्लेख भएकोमा विवादको लिखत २०३४।७।१४ मा रजिष्ट्रेशन भएकोमा त्यसको नक्कल ०३५।१।१८ मा सारी लिई वादीलाई सो लिखत भएको थाहा हुन आएको र ०३५।३।२० मा प्रस्तुत फिराद परेको देखिन्छ, सो लेनदेन व्यवहारको १० नं. मा उल्लेख भए बमोजिम रजिष्ट्रेशन भएको मितिले एक वर्ष सम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजूर गर्नुपर्नेमा वादीले ०३५।१।१८ मा नक्कल सारी लिई थाहा पाई ०३५।३।२० मा फिराद गरेकोबाट सो १० नं. मा लेखिएको १ वर्ष सम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजूर गर्नुपर्नेमा प्रस्तुत फिरादपत्र थाहा पाएको पैंतीस दिन नघाई परेको र यसरी हदम्याद नघाई परेको फिरादबाट कारवाई किनारा गर्न नपर्नेमा पुनरावेदीका, प्रतिवादीको जिकिर बमोजिम गरेको कारवाई मिलेको नदेखिनाले पुनरावेदन जिकिर अनुसार वादी खारेज हुने ठहर्छ । अरू तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

 

तपसील

पुनरावेदक प्रतिवादी मोती गुरुङस्यानी के माथि इन्साफ खण्डमा लेखिएबमोजिम वादी दावी नै खारेज भएकोले निजले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१।५० वादी मुस्ताङ कागर्वती गा.पं. वडा नं. ३ धागरजुं भन्ने क्षस गुरुङको हकको जेथा देखाई भराई पाउँ भनी म्यादभित्र दर्खास्त परे केही दस्तुर केही नलिई प्रतिवादीलाई भराई दिनु भनी मुस्ताङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु..................१

मिसिल नियमबमोजिम बुझाई दिनु.....................२

 

उक्त रायमा मेरो सहमती छ ।  

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

सम्वत् २०३८ साल फाल्गुन ४ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु