निर्णय नं. १९०९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निर्णय नं. १९०९ ने.का.प. २०४१ अङ्क २
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३९ सालको रि.नं. १६२३
विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निवेदक : जि. धनुषा, रघुनाथपुर गा.पं. वा.नं. ६ बस्ने पोषण बल्लभ पन्त
ऐ ऐ वा.नं. ३ बस्ने गोपीकृष्ण पाण्डे
विरूद्ध
विपक्षी : भू.सु.का.धनुषा जि. धनुषाऽ रघुनाथपुर गा.पं. वा.नं. ६ बस्ने रेशम दुसाधनी
आदेश भएको मिति : २०४१।१।१२।३ मा
§ विशेष कारण नपरी बाली नबुझाउने मोहीलाई निष्कासन गर्न सकिने र त्यस्तो मोहीबाट कूत समेत भराई दिने तजविजी अधिकारी भूमिसुधार अधिकारीलाई भएकै देखिन्छ ।
(प्रकरण नं. १३)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री केदारचरण राय
विपक्षी तर्फबाट : विद्वान स.अ.श्री इन्द्रराज पाण्डे र विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती
उल्लेखित मुद्दा : x
आदेश
न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदन तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ ।
२. निवेदकहरूको नाममा दर्ता रहेको रघुनाथपुर गा.पं. वा.नं. ५(क) कि.नं. ६८ को १–१७–६ दो ऐ वा.नं. ३(क) कि.नं. ३ को ०–१४–६ को ऐ वा.नं. (ख) कि.नं. ८ को ०–७–६ दो.वा.नं. ६ कि.नं. ९९ को ०–१६–८ समेत जग्गाको ०३९ सालको कूत बाली नदिएकोले सो भराई विपक्षी मोहीलाई निष्कासन गरी पाउँ भनी भू.सु.का.धनुषामा हाम्रो फिराद परेको ।
३. वादी दावी बमोजिम कूत भराई दिने तर मोही यथावत कायम राख्ने भन्ने समेत भू.सु. का.धनुषाको मिति ०४०।५।८ को निर्णय ।
४. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) ले बाली नदिने मोहीलाई निष्कासन गर्न सक्ने र ऐ २९ (३) ले निष्कासन हुने मोहीबाट बाली समेत भराउने व्यवस्था भएकोमा बाली नबुझाउने मोहीलाई बाली भराई निष्कासन समेत गरिपाउँ भन्ने दावी भएपछि न्यायिक निर्णय गर्ने अधिकारीले तजबिजी अधिकार प्रयोग गर्दा सबूत प्रमाणको मूल्याङ्कन गरी आधार देखाई न्यायिक तरिकाले निष्कर्षमा पुग्नुपर्छ भन्ने फुल बेञ्चबाट मिति ०३३।९।२४ मा काशीराम राजवंशी विरूद्ध भू.प्र.का.मोरङको उत्प्रेषणको रिटमा प्रतिपादित सिद्धान्त समेतको विपरीत बाली भराई मोही निष्कासन नहुने ठहर्याएको भू.सु.का.धनुषाको मिति ०४०।५।८ को त्रुटिपूर्ण निर्णयबाट नेपालको संविधानको धारा १०।११(२)(ङ) धारा १५ द्वारा प्रदत्त हाम्रो हक हनन् भएकोले ऐ धारा ७१ अन्तर्गत उत्प्रेषणका आदेशद्वारा उक्त कानूनी त्रुटिपूर्ण निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन रहेछ ।
५. विपक्षीहरूबाट लिखितजवाफ पेश गराउनु भन्ने सिङ्गलबेञ्चको आदेश अनुसार प्राप्त लिखितजवाफ संक्षेपमा यस प्रकार रहेछ ।
६. बाली नबुझाउने मोहीबाट बाली भराई दैवी परी सुखा जर्ता बाली हुन नसकेबाट बाली बुझाउन नसकेको हुँदा यस्तो अवस्थामा निष्कासन गर्नु उचित नहुँदा मोही यथावत कायम राख्ने गरी कानून बमोजिम गरेको यस कार्यालयको निर्णयबाट रिट निवेदकको मौलिक हकमा आघात परेको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.धनुषाको लिखितजवाफ रहेछ ।
७. दैवी परी सुखा जर्ता भई श्री ५ को सरकारबाट विवादको जग्गाको ७० प्रतिशत मालपोत मिनाहा भए बमोजिम सो कूत पनि मिनाहा पाई बाँकी तिर्नु पर्ने ३० प्रतिशत मात्र कूत बुझाउनु पर्ने र काबु बाहिरको स्थिति परी बाली बुझाउन नसकेको कारण जनाई मोहियानीबाट निष्कासन गर्नु न्यायोचित नहुने हुँदा मोही यथावत कायम राख्ने ठहर्याई गरेको भू.सु.का.धनुषाको निर्णयबाट रिट निवेदकहरूको मौलिक हक हनन् भएको हुँदा झुठ्ठा निवेदन खारेज गरिपाउँ भन्ने रेशमा दुशाधनीको लिखितजवाफ रहेछ ।
८. निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री केदारचरण राय विपक्षी कार्यालयतर्फबाट रहनुभएको विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र लिखितजवाफवाला तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेतीको बहस सुनियो ।
९. यसमा रिटनिवेदन मागबमोजिम आदेश जारी गर्नुपर्ने नपर्ने के हो सोको निर्णय दिनुपरेको छ ।
१०. निर्णयतर्फ विचार गर्दा यसमा मोहीले बाली नबुझाएकोले बाली भराई मोही निष्कासन समेत गरिपाउँ भन्ने मुख्य रिट निवेदन जिकिर भएकोमा बाली भराई मोही निष्कासन नहुने ठहर्याएको भू.सु.का.धनुषाबाट निर्णय आदेश भएको रहेछ ।
११. प्रस्तुत विवादमा बाली नबुझाउने मोहीलाई मोहियानीबाट निष्कासन समेत गर्नुपर्ने हो होइन यसतर्फ विचार गर्नुपर्ने देखिन्छ ।
१२. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) लाई हेर्दा दैवी परी बाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक बाली नबुझाउने मोहीलाई निष्कासन गर्न सक्ने र ऐ २९(३) मा त्यस्तो मोहीबाट कूत समेत भराई दिन सक्ने छ भन्ने व्यवस्था गरेको पाइन्छ ।
१३. ऐनको यस व्यवस्थालाई हेर्दा विशेष कारण नपरी बाली नबुझाउने मोहीलाई निष्कासन गर्न सकिने र त्यस्तो मोहीबाट कूत समेत भराई दिने तजविजी अधिकार भूमिसुधार अधिकारीलाई भएकै देखिन्छ । तर ऐनमा भएको व्यवस्थानुसार त्यस्तो बाली नुबझाउने मोहीलाई सर्वप्रथम निष्कासन गर्ने या नगर्ने तर्फ निर्णय गर्नुपर्ने र त्यसपछि बाली भराउने या नभराउने तर्फ विचार गर्नुपर्ने स्पष्ट छ ।
१४. तर प्रस्तुत विवादमा भू.सु.का.धनुषाबाटै सर्वप्रथम मोहीले दैवी परी सुखा जर्ता भई ७० प्रतिशत मालपोत मिनाहा भई सो बमोजिम कूत मिनाहा पाई बाँकी रहेको ३० प्रतिशत कूत बुझाएको नदेखिँदा सो मात्र प्रतिवादी (मोही) बाट वादीले भरी पाउने ठहर गरी त्यसपछि मात्र निष्कासन तर्फ बोलेको देखिएबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) तथा ऐ (३) को स्पष्ट कानूनद्वारा निर्धारित प्रक्रियाको उचित रूपबाट अवलम्बन नगरेको देखिएकोले भू.सु. का.धनुषाको मिति ०४०।५।८ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । पुनः कानून बमोजिम कारवाही किनारा गर्नु भनी विपक्षी कार्यालयको नाममा परमादेश समेत जारी गरिएको छ । जानकारी निमित्त आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियमानुसार मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४१ साल बैशाख १२ गते रोज ३ शुभम् ।