शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९१२ - जवरजस्ती करणी

भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक:

निर्णय नं. १९१२ ने.का.प. २०४१             अङ्क २

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३८ सालको फौ.पु.नं. २७६

मुद्दा : जवर्जस्ती करणी

पुनरावेदक/प्रतिवादी : जिल्ला मोरङ राजघाट गा.पं. वार्ड नं. ४ बस्ने कुलबहादुर कार्की

विरूद्ध

विपक्षी/वादी :  राजकुमारी थरूनीको जाहेरीले श्री ५ को सरकार

फैसला भएको मिति : २०४१।१।२८।५ मा

§  शड्ढाजन्य स्थितिमा प्र.ले जवर्जस्ती करणी गरेको भनी सजाय गर्नु न्यायोचित नहुने ।

(प्रकरण नं. २४)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षी वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ

उल्लेखित मुद्दा : x

फैसला

          न्या. पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालत सिङ्गलबेञ्चको २०३७।२।१२ को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ :

          २.   २०३२।११।११ गते कृषि मेला हेर्न पतिसँग आएको र बास बस्न जगरनाथको घरमा जाँदा निज फेला नपरेकाले फर्किरहेको बेला पतिको चिनजानका कुलबहादुरसँग भेट भयो । निजले हामीलाई लालीगुँरासको कोठा नं. ३ मा राखी पतिलाई अर्कै कोठामा लगे । कुलबहादुरले मलाई जवर्जस्ती करणी गर्न खोज्दा चिच्याएकीले सो सुनी पति आउँदा कुलबहादुरले खुकुरी निकाली लोग्नेको घाँटीमा राखी करणी गर्न दिंदैन भने काटी दिन्छु भन्दा डरले जे गर्छाै गर भनेपछि लजमा काम गर्ने थोसो आङनामी र गुमान सिंहले खुकुरी लिई बोलिस् भने काट्छौं भने लोग्नेको नजिक खडा भए । कुलबहादुरले ३ चोटी करणी गरे त्यसपछि ती २ जनाले पनि पालैपालो १।१ चोटी करणी गरेको हुँदा जाहेर गर्न आएको छु । अपराधीलाई कारवाही गरिपाउँ भन्ने समेत ०३२।११।१२ को राजकुमारीको जाहेरी ।

          ३.   २०३२।११।११ गते श्रीमतीसँग मेला हेर्न आएको बखत राति कुलबहादुरसँग भेट्ने निजका साथमा रहेका अरू २ जना समेतले लाली गूँरास लजमा लगी श्रीमतीलाई अर्कै कोठामा लगी करणी गर्न खोज्दा श्रीमती कराएकीले त्यहाँ जाँदा खुकुरी मेरो घाँटीमा राखी करणी गर्न नदिए काटी दिन्छु भन्दा डरले म बोलीन । कुलबहादुर, थोसो आङगामी र गुमान सिंहले पालैपालो श्रीमतीलाई करणी गरे भन्ने समेत जोहरवालाको लोग्ने लालचन थारूको २०३२।११।१४ को कागज।

          ४.   २०३२।११।११ गते राति १।२ बजेतिर लालचन र निजको श्रीमतीलाई मेलामा भेटी लालीगुँरासमा लगी अलग कोठामा राखी साथीलाई बाहिर राखी करणी गर्न खोज्दा कराएकीले लोग्ने पनि कोठामा आइपुगे । लजवालाहरूले थाहा पाउलान् भन्ने डरले खुकुरी निकाली करणी गर्न नदिए काटी दिन्छु भन्दा स्वास्नीले मलाई नै काट वा जे गर्छाै गर भनेकोले खुकुरी थोसो आङगामीलाई दिई मैले करणी गरे अनि थोसो आङगामीले फेरि मैले त्यसपछि गुमान सिंहले त्यसपछि फेरि मैले पालैपालो करणी गर्‍यौं सिङको विँड भएको खुकुरी र चस्मा मेरै हो भन्ने समेत कुलबहादुर कार्कीको साविती कागज ।

          ५.  कुलबहादुर थोसो आङगामी समेत भई राजकुमारी र निजको लोग्नेलाई लाली गुँरासमा ल्याई लोग्नेलाई खुकुरी देखाई कुलबहादुरले ३ पटक र थोसो आङगामी र मैले १।१ पटक करणी गर्‍यौं भैंसीको सीङ हाडको बीड भएको खुकुरी मेरो हो लजमा मेरो नाम गन्जे राई देखाएको भन्ने समेत गुमानसिंह आले मगरको ०३२।११।१७ को कागज ।

    ६.   जाहेरवाला र निजको लोग्नेलाई मेलामा भेट भई लालीगुँरास लजमा ल्याई कुलबहादुरले ३ पटक गुमान सिंह र मैले १।१ पटक करणी गरेको हो भन्ने समेत थोसो आङगामीको ०३२।११।१७ को कागज ।

    ७.  सो दिन राति कुलबहादुर समेतले जवर्जस्ती करणी गरे भन्ने हल्ला भोलिपल्ट बिहान सुनेका हौं भन्ने लज मालिक गौतम राई र मिङमा शेर्पाको अलगअलग र सुने थाहा पाएका छौं भन्ने समेत अरु सरजमीनको भनाई भएको ०३२।११।२६ को सरजमीन मुचुल्का ।

    ८.   दुवै दम्पत्तिलाई खुकुरी देखाई डरमा पारी कुलबहादुरले ३ पटक र गुमान सिंह र थोसो आङगामीले १।१ पटक करणी गरेमा साविती भएको र सरजमीनले पनि सुने थाहा पाएको हुँदा निजहरू उपर जवर्जस्ती करणी १ नं. को अपराधमा ३ नं. बमोजिम सजायको हुन प्रस्तुत गरिएको छ भन्ने समेत प्रहरी प्रतिवदेन ।

    ९.   घटना घटेको दिन म धरान श्यामदास लिम्बुको घर बसी भोलिपल्ट विराटनगर आउँदा पक्राउ परेको हुँ । प्रहरीमा स्वेच्छाले बयान भएको होइन । लालचन कुलबहादुरको घरमा नोकरी गर्दा मोहियानी खोज्दा मैले हकारेकोले सोही रिसबाट पोल गरेको भन्ने समेत गुमान सिंह आलेको ०३२।१२।३ मा अदालतमा भएको इन्कारी बयान ।

    १०.  घटना घटेको रात म लजमै छु सो रात निजहरू कोही पनि लजमा आएको छैनन् मैले जाहेरवालालाई जवर्जस्ती करणी गरेको छैन । प्रहरीमा भएको कागज जवर्जस्ती कुटपिट गरी गराएको हो भन्ने समेत थोसो आङगामीको ०३२।१२।३ को अदालतमा इन्कारी बयान ।

    ११.  घटना घटेका दिन गुमान सिंहसँग धरानमा श्यामदास लिम्बुको घरमा बसेको छु । जवर्जस्ती करणी गरेको छैन । लालचन मेरो घरमा नोकरीमा बस्दा मोहियानी हक खोज्दा मैले हकारेकोले सो इविबाट पोल गरेको हो । प्रहरीमा भएको कागज इच्छा विपरीत गराएको हो भन्ने समेत कुलबहादुरको ०३२।१२।३ मा अदालतमा इन्कारी बयान ।

    १२.  जाहेरवालाको डाक्टरी जाँच भई को.अं.अस्पतालबाट प्राप्त भएपछि निज मरिसकेकोले चस्मदिद लालचनलाई स.स.अ.को पत्रसाथ अदालतमा उपस्थित गराएकोमा मेरो र श्रीमतीको बेमञ्जुरीले खुकुरी घाँटीमा तेर्साई जवर्जस्ती करणी गरेको भनी बकपत्र गरिएको ।

    १३.  प्रतिवादीहरूले दावी अनुसार कसूर गरेको ठहर्छ भन्ने मोरङ जिल्ला अदालतको २०३५।५।२९ को फैसला ।

    १४.  सो फैसलामा चित्त बुझेन भन्ने समेत कुलबहादुरको पुनरावेदन परेको गुमान सिंह र थोसो आङगामीले ०३५।१२।५ मा तामेल भएको पुनरावेदन म्याद गुजारी बसेका ।

    १५.  प्रतिवादीहरूले अधिकार प्राप्त अधिकारी समक्ष साविती बयान दिएको र अदालतमा आई इन्कार गरे पनि कुनै कारण देखाउन नसकेको साथै बरामद भएको खुकुरी, चश्मा समेतको आधारमा प्रतिवादीहरूले अपराध गरेकै देखिँदा शुरू जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालत सिङ्गलबेञ्चको ०३८।२।१२ को फैसला ।

    १६.  उक्त फैसलामा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षत गम्भीर कानूनी त्रुटि भई मलाई अन्याय परेको हुँदा न्यायप्रशासन ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्रतिवादी कुलबहादुर कार्कीको निवेदन परेकोमा डाक्टरको रायमा डाक्टरलाई नबुझेको खानतलासी गर्ने भन्ने सरजमीन नबुझी प्रमाण ऐन, २०३१ को दफा १८ विपरीत र राजकुमारी मरेकीले सर्वस्व गर्न नपर्ने भनी ठहर गरेकोबाट हकवालाले पाउन सक्ने सर्वस्व गर्न नपर्नेमा र जसलाई अन्याय परेको हो उसको शरीरमा आघात परेकोमा निज मरेकी भए पनि मुद्दा चल्न सक्ने हो भनी ठहर गरेको परस्पर विरोधी कार्य भएकोले स.अ.नियमावली, २०२१ को नियम ३४ को जटिल व्याख्या गर्न परेकोले पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको २०३८।५।३१ को आदेश ।

    १७.  उक्त जटिल प्रश्नको निराकरण गर्न स.अ.नियमावली, २०२१ को नियम ३४ बमोजिम स्पेसलबेञ्चमा पेश गर्नु भन्ने समेत सम्माननीय प्रधान न्यायाधीशज्यूको ०३९।४।२९ को आदेश ।

    १८.  जवर्जस्ती करणीको १० नं. मा जवर्जस्ती करणी गर्नेको आधा अंश सर्वस्व गरी स्वास्नी मानिसलाई भराई दिने व्यवस्था भएको राजकुमारी मरी सकेकी र मुख्य गवाई राजकुमारको मृत्यु भए पनि यस्तो मुद्दा चल्न नसक्ने भनी कानूनी व्यवस्था छैन । पुनरावेदन किनारा गर्न स्पेसलबेञ्चको लगत कट्टा गरी डिभिजन बेञ्चमा पेश गर्नु भन्ने समेत सर्वोच्च अदाल स्पेसलबेञ्चको ०३९।३।९ को आदेश ।

    १९.  २०३२।११।१२ को घटनास्थलको प्रकृति र खानतलासी मुचुल्कामा बस्ने सरजमीनका व्यक्ति बुझेको नदेखिँदा निजहरूको बकपत्र गराई पठाई दिन भनी तारेख तोकी मिसिल मोरङ जि. अ.मा पठाई दिनु भन्ने समेत स.अ.डिभिजन बेञ्चको आदेश ।

    २०.  साल महीना थाहा छैन रिक्सा लिएर आएको बेला प्रहरीले रिक्सा रोकी यो कागजमा सही गर, नाम बता भनेकोले सही गरेको हुँ, खानतलासी भयो भएन मलाई थाहा छैन मैले कुनै सामान देखेको पनि छैन भन्ने समेत खानतलासी मुचुल्काका हिरापालमानको मोरङ जि. अ.मा २०४०।११।१० मा गरेको बकपत्र ।

    २१.  साल महीना गते थाहा भएन । सडकमा प्रहरीले नाम सोधी सही गराएका थिए । खानतलासी भयो भएन के कागजमा सही गराए मलाई थाहा भएन भन्ने समेत खानतलासी मुचुल्काका मङ्गल पालमानले मोरङ जि. अ.मा ०४०।११।१० मा गरेको बकपत्र ।

    २२.  पुनरावेदक प्रतिवादी तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले जवर्जस्ती करणी गर्‍यो भन्ने प्रस्तुत मुद्दामा सर्वप्रथम करणी भएको हो होइन प्रमाणित हुनुपर्दछ । जवर्जस्ती करणी गरेको भनी प्रहरीमा उजूर परेपछि करणी गरिएकी राजकुमारीको डाक्टरबाट जाँच हुँदा निजको भेजिनल स्वाव (Veginal Swab) को रिपोर्ट अनुसार वीर्यको किडा (Sperm) नदेखिएकोले निजलाई करणी गरेको हो भनी भन्न सकिंदैन भनी राय व्यक्त भएको पाइन्छ । यसरी जोहरी बमोजिम पाँच पटकसम्म जवर्जस्ती करणी गरेकामा निजको योनीमा कुनै घा खत हुनु पर्ने देखिन्छ तर डाक्टरको जाँचबाट वीर्यको किडा समेत नभएको भनिएबाट जवर्जस्ती करणी गरिएको भन्न मिल्दैन । होटलको कोठामा जवर्जस्ती करणी गरिएको भन्ने छ तर रातिको सो घटनालाई होटेलका कुनै पनि व्यक्तिहरूले थाहा पाएको भन्ने देखिँदैन यसबाट पनि जवर्जस्ती करणी नभएको सिद्ध हुन्छ । खानतलासी गर्दा खुकुरी, चश्मा आदि बरामद भएको पाइन्छ तर बरामदी मुचुल्काका व्यक्तिहरूलाई अदालतबाट बुझिएको छैन बुझिएका २ जनाले पनि प्रहरीले सही गर भनेकोले सही गरेका हो भनी बकपत्र गरेको देखिन्छ करणी गरिएकी भनेकी राजकुमारी र प्रतिवादीहरूका लुगा जाँच हुनसकेको छैन यसरी जाहेरी दरखास्त बाहेक जवर्जस्ती करणी भएको भन्ने अन्य कुनै सबूत प्रमाण नभएको हुँदा जवर्जस्ती करणी भएको होइन भनी र वादी श्री ५ को सरकारतर्फबाट खटिई आउनुभएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले जवर्जस्ती करणी गरेको भनी प्रतिवादी उपर किटानी साथ जाहेरी परेको छ जवर्जस्ती गरेकोमा प्रहरी समक्ष प्रतिवादीहरू सावित भएका छन् अदालत समक्ष इन्कार रहेता पनि प्रहरी समक्षको साविती निजहरूको इच्छा विरूद्ध भएको भन्ने प्रमाणित हुन आएको देखिँदैन र खुकुरी चश्मा समेत बरामद भएको पाइन्छ । जवर्जस्ती करणी नभएको भए प्रतिवादीहरू उपर आफूलाई जवर्जस्ती करणी गरेको भनी भन्न सक्ने सम्मको कारण समेत नहुँदा जवर्जस्ती करणी भएको भन्ने प्रष्ट छ भनी प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।

          २३.  प्रस्तुत मुद्दामा पू.क्षे.अ.ले गरेको निर्णय मनासिब बेमनासिब के रहेछ ? सो निर्णय दिनु पर्ने देखिन्छ ।

          २४. इन्साफतर्फ विचार गर्दा यसमा प्रतिवादी कुलबहादुर समेतले म र मेरो लोग्नेलाई लालीगुँरास होटेलमा लगी लोग्नेको घाँटीनेर खुकुरी राखी करणी गर्न दिइनस् भने दुवैलाई काट्छौं भनी थोसो आङगामी र गुमान सिंहले एकचोटी र कुलबहादुरले तीनचोटी जवर्जस्ती करणी गरे भनी राजकुमारी थरूनीको जाहेरी दरखास्त परेको देखिन्छ । करणी गरेमा प्रतिवादीहरू प्रहरी समक्ष सावित रहेको खुकुरी, चश्मा आदि बरामद भएको तथा जबर्जस्ती करणी गर्दा जाहेरवालाको लोग्नेले देखेको भन्ने निजको बकपत्रबाट देखिएको हुँदा प्रतिवादीहरूले जाहेरवालीलाई जबरजस्ती करणी गरेका हुन की भन्ने देखिन्छ तापनि अब अरू प्रमाणहरूको मूल्याङ्कन गरी हेर्दा प्र.कुलबहादुर आरोपित कसूरमा प्रहरीमा सावित भए तापनि अदालत समक्ष कसूर गरेमा पूर्ण रूपले इन्कार रही बयान गरेको पाइन्छ । जबरजस्ती करणी जस्तो अपराध भएपछि अभियुक्त र जाहेरवालीले लगाएका लुगाहरू अनुसन्धाकर्ताले आफ्नो कब्जामा लिई जँचाउनु पर्नेमा सो बमोजिम अनुसन्धान भए गरेको पाइँदैन । खुकुरीको डरत्रास देखाई प्र.कुलबहादुरले ३ चोटि र अरू प्रतिवादीहरू २ जनाले एकएक चोटी गरी जम्मा ५ चोटी करणी गरेको भन्ने जोहरवालीको जाहेरीबाट देखिन्छ । तर निजको जाँच गर्दा निजको भिजाइनल स्वाव (Veginal Swab) को रिपोर्ट अनुसार वीर्यको किडा (Sperm) नदेखिएकोले निजलाई करणी गरेको नै हो भनी भन्न सकिँदैनभन्ने मिति ०३२।११।१३ को कोशी अञ्चल अस्पतालको प्रतिवेदनबाट देखिन आएको छ । निजलाई ५ चोटी जबरजस्ती करणी गरेको भए सो कुरा जाँचबाट खुल्न आउनु पर्ने, त्यस्तो कुनै चिन्ह देखिएन । जोहरवालीको जाहेरी बाहेक निजको बकपत्र भएको देखिँदैन निजको लोग्नेको बकपत्र भएको देखिन्छ । मेरो लोग्नेलाई अर्को कोठामा राखी मलाई जबरजस्ती करणी गर्न लागेकोले म सारो गरी चिच्याई कराउँदा मेरो लोग्नले अर्को कोठाबाट सुनेछन् र लोग्नेले पनि हल्ला गर्न लाग्दा लोग्नेलोई म बसेकै कोठामा ल्याई करणी गर्न दिन्नस् भने दुवै जनालाई काट्छौं भनी अरू २ जनाले लोग्नेको घाँटीनेर नाङ्गो खुकुरी राखे र कुलबहादुरले मलाई करणी गर्न लागे म रोई कराई गर्दै रहेँ भनी जोहरी दरखास्तमा उल्लेख भएको पाइन्छ तर त्यसरी रातीको समयमा होटेलभित्र हल्ला खल्ला भएको भए अरू व्यक्तिहरूले सो कुरा देखे थाहा पाएको हुनु पर्ने कसैले पनि देखे थाहा पाएको देखिँदैन । सरजमीनका मानिसहरूले समेत जबरजस्ती करणी भयो भन्ने सुनेको हो भन्नेसम्म लेखाएको पाइन्छ । घटनास्थलको प्रकृति र खानतलासी मुचुल्का हुँदा खुकुरी र एकापट्टि सिसा नभएको चश्मा बरामद भएको भन्ने पाइन्छ तर मुचुल्कामा बस्ने साक्षीहरूलाई प्रमाणको लागि बुझिएको पाइँदैन । यस अदालत मार्फत बुझिएका दुईजना साक्षीहरूले बकपत्र गर्दा प्रहरीले बोलाई सहिछाप गर भनेकोले सहिछाप गरेका हौं खानतलासी भएको थाहा छैन भनी बकपत्र गरेको पाइन्छ । प्र.कुलबहादुरका साक्षीहरूले निजलाई सफाई दिई बकपत्र गरेको देखिएको र प्रहरी समक्ष प्र.कुलबहादुरले गरेको साविती बयान । माथि उल्लेख गरिए बमोजिम अन्य सबूतप्रमाणबाट समर्थित हुन नआएकोले यस्तो शंकाजन्य स्थितिमा प्र.कुलबहादुरले जबरजस्ती करणी गरेको भनी सजाय गर्नु न्यायोचित नहुँदा जबरजस्ती करणी भएको भन्ने विद्वान अतिरिक्त सरकारी अधिवक्ताको बहससँग सहमत हुन सकिएन तसर्थः शुरू जिल्ला अदालतले प्र.कुलबहादुरले जबरजस्ती करणी गरेको ठहर्‍याई सजाय गर्ने गरेको फैसला मनासिब ठहर्‍याई गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर हुन्छ । पुनरावेदक प्रतिवादी कुलबहादुर कार्कीले सफाई पाउने ठहर्छ । जिल्ला अदालतको इन्साफ उपर पुनरावेदन नगरी बस्ने अन्य प्र.थिसो आङगामी नागा र गुमान सिंह आले मगर समेतले सोही आधारबाट मुलुकी ऐन अ.बं.२०५ नं. बमोजिम सफाई पाउने ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

पुनरावेदक प्रतिवादी कुलबहादुर कार्की समेत के माथी ठहर खण्डमा लेखिए बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०३७।२।१२ को फैसला बदर भई प्रतिवादीहरूले सफाई पाउने ठहरेकाले देहाएका फैसला बमोजिमका देहायका लगतहरू कट्टा गर्न शुरू मोरङ जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.त.मा लगत दिने....................१

शुरू मोरङ जिल्ला अदालतका मिति ०३५।५।२९ का फैसला र फौ.ल.नं. ६० बाट प्र.कुलबहादुर कार्की के लागेको कैद वर्ष ४.............२

ऐ ऐे बाट प्र.गुमान सिंह आले मगरके लागेको कैद वर्ष ३।१

ऐ ऐ बाट प्र.थिसो आङगामी नागा के लागेको कैद वर्ष ३ ।.................३

पूर्वाञ्चल क्षेत्रीय आलतका मिति ०३७।२।१२ का फैसला र ऐ ऐ का मिति ०३७।३।२८ का लगतले प्र.कुलबहादुर कार्कीलाई पुनरावेदन गरे बापत थप कैद वर्ष ४ महीना २४ दिन................४

पुनरावेदक प्र.कुलबहादुरले निजलाई शुरू जि. अ.बाट लागेको कैद वर्ष ४ बापत पु.क्षे.अ.का मिति ०३६।१।१४ का आदेश बमोजिम रु.२१६०।धरौटी राखी पू.क्षे.अ.मा पुनरावेदन गरेकोमा अब उक्त शुरू जि. अ.को फैसला समेत बदर भई निजले सफाई पाउने ठहरेको हुँदा उक्त धरौटी रकम रु.२,१६०।फिर्ता पाउँ भनी फिर्ता माग्न आए नियम बमोजिम गरी फिर्ता दिने...................५

नियम बमोजिम गरी मिसिल बुझाई दिनु..............६

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल बैशाख २८ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु