शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९१५ - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक:

निर्णय नं. १९१५ ने.का.प. २०४१               अङ्क २

डिभिजन बेञ्च

इजलाश

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३९ सालको रिट नं. ११७९

विषय : उत्प्रेषण

निवेदक : जिल्ला धनुषा खरीहानी गा.पं. वा.नं. ३ बस्ने कारी साहु व्याहुत सुढी

विरूद्ध

विपक्षी     : जि. ध.सतोषर गा.पं. वा.नं. २ बस्ने रामेश्वर राय अमात्य

भू.सु. का. धनुषा

आदेश भएको मिति :  २०४१।१।४।२ मा

§  तारेख छाडेकै कारणले मात्र वादीको दावी स्वीकार गरेको भन्न मिल्ने देखिन आउँदैन ।

(प्रकरण नं. ७)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री केदारचरण राय

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

उल्लेखित मुद्दा : x

आदेश

          न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको उल्लिखित रिट निवेदनको संक्षिप्त विवरण निम्न प्रकारको छ :

          २.   साविक धनी शंकरप्रसादको नाउँमा नम्बरी दर्ता भई हालको जग्गाधनी कारी साहु क्याहुत सुढीको नाउँमा नम्बरी दर्ता भइरहेको जि. अ.खरियानी गा.पं. वा.नं. ९ को कि.नं. ४१७ को ०१३० र कि.नं. ४८० को क्षेत्रफल ०० को जग्गा मैले साविकदेखि मोहियानीमा जोती आएको हुँदा मोहियानीको प्रमाणपत्र पाउँ भन्ने निवेदन पर्दा दावी अनुसारको कि.नं. ४१७ को जग्गा मेरा नाउँमा दर्ता छैन ४८० को ०० जग्गा मात्र मेरो नाउँमा छ सो पनि मैले नै जोती कमाई आएको छु भन्ने प्रतिउत्तर पर्दा भू.सु.अ.धनुषाले भू.सु.ऐनको दफा २५(२) बमोजिमको मोही देखिँदा कि.नं. ४८० को ०५ को जग्गाको मोहियानी प्रमाणपत्र पाउने ठहर्छ भन्ने ०३९।६।१९।४ मा भू.सु.का.धनुषाले गरेको फैसला । जब कि.नं. ४८० को ज.बि.०५ मा निवेदकले शेखरप्रसाद व्याहुत सुढीबाट खरीद गर्न राजीनामा मेरो नाउँमा दर्ता समेत भइसकेको छ । जग्गाधनीलाई कूत बुझाई भर्पाई समेत छ भन्ने विपक्षीको निवेदनमा लेखाई छ त्यो पनि जग्गाधनीको भर्पाई दाखिल गर्न सकेको छैन मोहीको नातामा आउने अन्य कबूलियत एवं शर्त रसिद दोहरीमा भर्पाई कुनै पनि पेश गर्न सक्नुभएको छैन । त्यस्तोमा भूमिसम्बन्धी ऐन, २०२१ को २५ को दफा २ अनुरूपको देखिँदा विपक्षलाई मोहियानी कायम गर्ने गरेको भू.सु.का.धनुषाको आदेश उपर अन्य उपचार समेत नभएबाट उक्त गैरकानूनी आदेशलाई उत्प्रेषणको आदेशद्वारा बदर गराई पाउँ भन्ने व्यहोराको कारी साहु व्याहुत सुडीको यस अदालतमा पर्न आएको रिट निवेदन ।

          ३.   यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? बाटाको म्याद बाहेक १५ दिनभित्र लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत सिङ्गलबेञ्चको आदेश ।

          ४.   उपरोक्त जग्गा साविक जि. ध.नगराइन गा.पं.बस्ने शंकरप्रसाद शाहको भएको कारी साहूको बयान र मोठ श्रेस्ताबाट देखिन आउँछ । वादीले शंकरप्रसाद शाहको जग्गा कमाएको भन्ने निज शंकरप्रसादको मेनेजर शिवशंकर यादवले गरी दिएको बाली बुझेको भर्पाई रसिदको आधारमा शंकरप्रसादलाई बुझ्दा वतन फरक पारी तामेल भएको र पछि सो जग्गा रिट निवेदक कारी साहूलाई विक्री गरी सकेकोले कारवाही गरिपाउँ भन्ने मोही रामेश्वर अमात्यको निवेदन अनुसार कारी साहूलाई बुझ्दा कि.नं. ४८० को ०० नभई ०५ शंकरप्रसादसँग खरीद गरेको भन्ने गरेको कि.नं. ४१७ मेरो नाउँमा दर्ता छैन कसको नाउँमा दर्ता छ भन्ने बयान गरेकोमा वादी दावीलाई अस्वीकार गरी त्यसलाई प्रमाणित गर्नलाई जग्गाधनी रूजू तारेखमा हुनु पर्नेमा तारेख नै छाडी दिएकोले वादी दावी स्वीकार गरेको प्रष्ट हुन आएको हुँदा कि.नं. ४१७ को ०५ जग्गाको मोहियानी प्रमाणपत्र दिने निर्णय गरेको कानूनसंगत नै भएकाले रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.धनुषाको लिखितजवाफ ।

          ५.   विपक्षी रामेश्वर राय अमात्यले लिखितजवाफ पेश नगरेको ।

          ६.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदन निवेदकको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता केदारचरण राय र विपक्षी भू.सु.का.धनुषाको तर्फबाट खटिई आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेको बहस जिकिर समेत सुनी निर्णय तर्फ विचार गर्दा भू.सु.का.धनुषाले रामेश्वर राय अमात्यलाई मोहियानीको प्रमाणपत्र दिने ठहर्‍याएको निर्णय मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने हुनआयो ।

          ७.   यसमा निर्णयतर्फ विचार गर्दा भूमिसुधार कार्यालयले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (२) बमोजिमको मोही देखिँदा र कारी साहुले तारेख छोडी म्याद गुजारेको कारणबाट मोहियानी हकको स्थायी प्रमाणपत्र दिने ठहर्छ भन्ने निर्णय गरेको पाइन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (२) मा व्यवस्था भए अनुसार बाली कमाएको प्रमाणित गर्नलाई बाली बुझाएको दोहोरो रसिद भर्पाई हुन जरूरी हुन जान्छ । प्रस्तुत रिट निवेदनमा बाली बुझाएको अथवा विपक्षीले मुख्य बाली बुझाएको कमाएको भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट देखिन आउँदैन केवल तारेख छाडेकै कारणले मात्र वादीको दावी स्वीकार गरेको भन्न मिल्ने देखिन आउँदैन, साथै लिखित कबूलियत प्रमाणको आधार बेगर विपक्षीलाई मोहियानी कायम गर्ने ठहराएको भू.सु.का.धनुषाको निर्णय गैरकानूनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । विपक्षी कार्यालयको जानकारीको लागि आदेशको एक प्रति महान्यायाधिवक्ताको कार्यालय मार्फत मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमत छ ।

 

प्र.न्या. नयनबहादुर खत्री

 

इति सम्वत् २०४१ साल बैशाख ४ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु