निर्णय नं. १९१७ - हातहतियार खरखजाना

निर्णय नं. १९१७ ने.का.प. २०४१ अङ्क २
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको फौ.पु.नं. ३६५
मुद्दा : हातहतियार खरखजाना
पुनरावेदक/प्रतिवादी : जि. स्याङजा चित्रे भन्ज्याङ गा.पं. वडा नं. ७ बस्ने मनोरथ रिजाल
विरूद्ध
विपक्षी/वादी : श्री ५ को सरकार
फैसला भएको मिति : २०४१।१।६।४ मा
§ अधिकार नभएको व्यक्तिले गराएको बयानलाई कानूनी मान्यता दिन नमिल्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक प्रतिवादी तर्फबाट : x
विपक्षी वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दा : x
फैसला
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य संक्षिप्त तथ्य निम्न प्रकार रहेछ ।
२. २०३७।९।१२ का दिन मुक्तीनाथले पञ्चवलीमा रमाइलो गर्न बन्दुक पठाई देउ भनी भनेकोले देवबहादुरले नं. ११६९ को भरूवा बन्दुक निजकै नाममा रिन्यू भएको र मुक्तीनाथलाई बारूद दिएको भनेकोमा मनविरको नाउँमा नं. ३२०७ को भरूवा बन्दुक दर्ता भएको समेत हुँदा संकलित सबूत प्रमाणबाट देवबहादुरका नाउँमा दर्ता भएको भरूवा बन्दुक गृहकोट भैरवस्थानमा लाने पन्चवलीमा रमाइलो उत्सव मनाउन देवबहादुरले बन्दुक र मनविरले बारूद दिएको देखिएकोले आत्म सुरक्षाको लागि लिइएको बन्दुक लाइसेन्सको शर्त उल्लंघन गरेको देखिएकोले देवबहादुर मनविरलाई खरखजाना ऐन, २०१९ को दफा २२ अनुसार सजाय हुन र बन्दुक लाइसेन्स भएको मनोरथले बन्दुक प्रयोग गरेको देखिँदा निजलाई हातहतियार खरखजाना ऐनका दफा ५ को बर्खिलाप गरेको देखिँदा ऐ ऐनको दफा २०(२) अनुसार सजाय हुन पेश गरेका छौं । मनोरथको सम्बन्धमा निजले बन्दुक पड्काई लेखबहादुर मर्न गएको ज्यान मुद्दामा स्याङ्जा जि. अ.मा पेश गरी सकेकोले कारवाही सम्पन्न भएपछि पेश गर्नु भन्ने प्रहरी प्रतिवेदन ।
३. मुक्तिनाथले मबाट बन्दुक लगेका हुन बारूद कहाँबाट ल्याए थाहा छैन । बन्दुक पडकाउँदा लेखबहादुरको मृत्यु भएको कुरा सुने यस भन्दा अघि कुनै घटना घटाएको छैन भन्ने देवबहादुरले जि. का.स्याङ्जामा गरेको बयान ।
४. मुक्तिनाथले मबाट बारुद लगेका हुन् मेरो पुरानो बन्दुक हुँदा अपरिचित मानिससँग बारूद किनी राखेको थिएँ कसको बन्दुक लग्यो मलाई थाहा थिएन मनोरथले बन्दुक पडकाउँदा लेखबहादुरको मृत्यु भएछ । बारुद दिन नहुने थाहा भएन भन्ने मनबिर रानाले जि. का.स्याङ्जामा गरेको बयान ।
५. २०३७।९।१२ मा बन्दुक पडकाएको हुँ केप जडान गर्न लाग्दा बन्दुक पड्की लेखबहादुरको मृत्यु भयो । पन्चवलीमा बन्दुक पडकाउन अनुमति लिनु पर्ने कुरा थाहा थिएन । बन्दुक पड्का कसैले भनेको होइन भन्ने समेत मनोरथ शर्माको जि. का.स्याङ्जामा गरेको बयान।
६. देवबहादुरले बन्दुक मनविरले वारूद दिएको र पन्चवलीमा मनोरथले बारूद भरेको देखिँदा निजहरूले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२) र दफा ५(१) को बर्खिलाप गरेको ठहर्छ भन्ने समेत जि. का.स्याङ्जाको फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन भन्ने मनोरथ शर्माको पुनरावेदन ।
८. प्र.मनबिरले भरूवा बन्दुक मुक्तिनाथले बारूद दिएमा निजहरूलाई सजाय गरे उपर चित्त बुझाई बसेको र प्र.मनोरथ शर्मा रिजाल प्रहरी र अधिकार प्राप्त अधिकारी समक्ष दावी बमोजिम अपराध गरेमा सावित भएको देखिनाले प्र.जि. अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत प.क्षे.अ.को फैसला ।
९. उक्त इन्साफमा चित्त बुझेन भनी मनोरथ शर्मा रिजालको निवेदनमा प्रस्तुत मुद्दामा मुद्दा” हेर्ने अधिकारी प्र.जि. अ.को समक्ष गर्नुपर्ने बयान निमित्त प्र.जि. अ.मोतीकृष्ण खरेलको इजलास कायम गरी ०३७।९।१९ मा भएको देखिएको सोही मितिमा सो मुद्दामा प्र.जि. अ.आफैंले आदेश दिएको देखिएको यसरी प्र.जि. अ.उपस्थित हुँदाहुँदै सोही मितिमा निजले गर्नुपर्ने काम कारवाही अन्य व्यक्तिले निमित्त भई गरे गराएका हातहतियार खरखजाना ऐनको दफा २४ को त्रुटि देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्त्वको समेत हुँदा न्या. प्र.सु.ऐनको दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ” भन्ने समेत यस अदालत डिभिजन बेञ्चको ०३९।११।७ को आदेश रहेछ ।
१०. पुनरावेदकतर्फको विद्वान वरिष्ठ अधिवक्ताले स.मु.सं.ऐनको दफा ३(२)(३) र नियमावलीको नियम ५ अनुसार प्रहरी र सरकारी वकीलको संयुक्त इजलास कायम गरी ठाडो कागज गराउनु पर्ने हातहतियार खरखजाना ऐनको दफा २४(१) अनुसार यो ऐन अन्तर्गत सजाय हुने मुद्दाको कारवाही र किनारा प्र.जि. अ.ले गर्नुपर्ने प्र.जि. अ.उपस्थित रहेको कुरा यसै मुद्दामा निजले दिएको आदेशबाट देखिन्छ । प्रमाण ऐनको दफा २४(४) र ५४ को त्रुटि भएको छ लेखबहादुर मरेको मुद्दा भवितव्य ठहरी फैसला भएको सोही बन्दुक सम्बन्धमा प्रस्तुत मुद्दा चलेको छ भनी र श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले देवबहादुर लाइसेन्स होल्डर तर मनोरथले बन्दुक पड्काएको हुनाले बन्दुक नराखेको भन्न मिल्दैन । पुनरावेदकले स्वीकार गरेको कुरालाई प्रमाणमा लिई फैसला गरेको भन्ने बहस प्रस्तुत गर्नुभयो । दुवैतर्फको बहस समेत सुनी प.क्षे.अ.को निर्णय मिलेको छ छैन निर्णय दिनु पर्ने हुन आएको छ ।
११. यसमा हातहतियार खरखजाना ऐन बमोजिमको लाइसेन्स प्राप्त नभएको व्यक्ति मनोरथ शर्मा रिजालले भरूवा बन्दुक प्रयोग गरेको देखिँदा निजलाई हातहतियार खरखजाना सम्बन्धी ऐन, २०१९ को दफा ५ को बर्खिलाप गरेकोले ऐ ऐनको दफा २०(२) अनुसार सजाय गरिपाउँ भनी दावी भएकोमा दावी बमोजिम सजाय गरेको शुरू जि. का.स्याङ्जाको निर्णयलाई पश्चिमाञ्चल क्षेत्रीय अदालतले सदर गरेको पाइन्छ । प.क्षे.अ.को उक्त निर्णय मिलेको छ छैन भनी त्यसतर्फ हेर्दा हातहतियार खरखजाना ऐन अन्तर्गतको मुद्दा हातहतियार खरखजाना ऐनको दफा २४(१) मा यो ऐन अन्तर्गत सजाय हुने अपराध सम्बन्धी मुद्दा मामिला हेरी शुरू कारवाही र किनारा गर्ने अधिकार स्थानीय अञ्चलाधीशलाई हुनेछ भन्ने व्यवस्था भएको पाइन्छ । मिति ०२८।५।१४ को राजपत्रमा सूचना प्रकाशित गरी उक्त दफा बमोजिमको अधिकार श्री ५ को सरकारले प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेको देखिन्छ । उक्त प्रत्यायोजित अधिकार अनुसार हातहतियार खरखजाना ऐन अन्तर्गतका मुद्दा प्रमुख जिल्ला अधिकारीले कारवाही किनारा गर्नुपर्नेमा सो किनारा हुने दिन प्रमुख जिल्ला अधिकारी आफ्नु कार्यालयमा उपस्थित रहेको कुरा प्रतिवादीलाई निमित्त प्र.जि. अ.ले बयान गराएपछि सोही ०३७।९।१९ का दिनमा नै निज प्रमुख जिल्ला अधिकारी आफैंले अर्डरसिट अर्डरसिटबाट देखिन्न । त्यस्तो प्रमुख जिल्ला अधिकारी उपस्थित रहे भएको अवस्थामा सोही कार्यालयको अन्य अधिकृतले कारवाही गर्न पाउने अधिकार भएको कुनै कानूनी व्यवस्था पाइन्न । त्यस्तो अनधिकृत व्यक्ति प्रशासकीय अधिकृतले प्र.मनोरथ रिजालको बयान गराएको देखिन्छ जो गैरकानूनी छ । त्यस्तो अधिकार नभएको व्यक्तिले गराएको बयानलाई कानूनी मान्यता दिन नमिल्ने हुँदा सो बयानलाई मान्यता दिई गरेको फैसलालाई मान्यता दिन मिलेन । अतः उक्त अनधिकृत व्यक्तिले गरेको कारवाहीको आधारमा भएको प्रमुख जिल्ला अधिकारीको निर्णय फैसला उपर परेको पुनरावेदन हेरी छिनेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला समेत बदर हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरूको इन्साफ सदर गरी प.क्षे.अ.ले गरेको निर्णय बदर हुने ठहरेकाले शुरू जिल्ला कार्यालय स्याङ्जाले जरिवाना रु.१२००।– र कैद वर्ष २ गरेको र सो उपर पुनरावेदन गरे बापत प.क्षे.अ.ले थप जरिवाना रु.१२०।– कैद महीना २ दिन १२ थप सजाय गरेको समेत अब नलाग्ने हुँदा सो दुवै फैसलाको सम्पूर्ण लगत कट्टा गरी दिनु भनी जिल्ला कार्यालय स्याङ्जामा लेखी पठाउन का.जि. अ.मा लगत दिनु ................१
पु.वे.मनोरथ रिजालके निजले प.क्षे.अ.मा पु.वे.गर्दा र यस अदालतमा पु.वे.गर्दा राखेको कैद र जरिवाना समेतमा रू.२५०८। फिर्ता पाउँ भनी म्यादमा दरखास्त परे कानूनको रीत पुर्याई फिर्ता दिनु भनी ऐ मा ऐ गर्नु ...................२
मिसिल नियमानुसार गरी बुझाई दिनु.................. ३
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०४१ साल बैशाख ६ गते रोज ४ शुभम् ।