निर्णय नं. १९२० - लेनदेन

निर्णय नं. १९२० ने.का.प. २०४१ अङ्क ३
फुल बेञ्च
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको दे.फु.नं. ३७
मुद्दा : लेनदेन
निवेदक/प्रतिवादी : का.जि. का.न.पं. वार्ड नं. २ लाजिम्पाट बस्ने पृथ्वीबहादुर शाह
विरूद्ध
विपक्षी/वादी : कृषि खरीद बिक्री संस्थान प्रधान कार्यालय काठमाडौंको कार्यकारिणी अध्यक्ष तथा महाप्रबन्धक अकुर नसिंह राणा संस्थान विघटन भएबाट हाल नेपाल खाद्य संस्थान प्रधान कार्यालय, बत्तिसपुतली, काठमाडौं
फैसला भएको मिति : २०४१।३।९।६ मा
§ कारोवर शुद्धकर्जा ऋणको रूपमा भएको नभई व्यापारिक कारोवारका लागि प्रतिवादीले पेश्की लिएको देखिन्छ, त्यस्तोमा लेनदेन व्यवहारको महलको २ नं. आकर्षण हुन्छ भनी व्याख्या गर्न नमिल्ने भई ऐजन महलको ४० नं. आकर्षित हुने ।
(प्रकरण नं. २०)
निवेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
उल्लिखित मुद्दा : निवेदक प्रतिवादी महेन्द्र विक्रम शाही विरूद्ध विपक्षी वादी गोविन्दमान प्रधान भएको लेनदेन जालसाजी मुद्दा (ने.का.प. २०२२ निर्णय नं. २७६ पृष्ठ ३४) र निवेदक वादी त्रिरत्न तुलाधर विरूद्ध प्रतिवादी चौथीमान माली भएको लेनदेन मुद्दा (ने.का.प. २०३१ निर्णय नं. ८०१ पृष्ठ ३७)
फैसला
प्र.न्या. नयनबहादुर खत्री : श्री ५ महाराजाधिराज सरकारका जूनाफमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०३८।५।१५ मा भएको फैसलामा प्रत्यक्षतः कानूनी त्रुटि भएको हुँदा इन्साफ जाँची दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी प्रतिवादी पृथ्वीबहादुर शाहको बिन्तिपत्र परेकोमा फुल बेञ्चबाट दाहोर्याई हेरी कानून बमोजिम गर्नु भन्ने हुकुम बक्स भई आए बमोजिम यस अदालत फुल बेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम रहेछ ।
२. विपक्षी पृथ्वीबहादुर र तत्कालीन खाद्य संस्थानका बीचमा २०२२–०२३ सालदेखि नै परस्परमा लेनदेन कारोवार चलिरहेको थियो । मिति २०२८।४।३ सम्ममा विपक्षीले खाद्य व्यवस्था संस्थानलाई सावाँ जम्मा रु.१,११,०६३।८४ बुझाउनु पर्नेमा बुझाउँन नसकी २०२८ साल पौष मसान्त सम्ममा ब्याज सहित उक्त रुपैयाँ बुझाउने छु । बुझाउन नसकेमा आफ्नो हक भोगको का.न.पं. वार्ड नं. २४ मा पर्ने तिरो रु.६।३६ समेत बुझाउनु पर्ने ल.नं. १२२० मा दर्ता भएको जग्गा तथा घर समेत र सो बाट नपुगे अरू गैर जेथाबाट असूल उपर गरी लिएमा मञ्जूर छ भन्ने व्यहोराको मिति २०२८।४।४।३ मा विपक्षीले लिखत गरी दिनुभएको थियो । सो संस्थान विघटन भई यस संस्थानलाई हस्तान्तरण भएको उल्लिखित बाँकी सावाँ रकम मध्ये मिति २०२८।१०।१० मा रु.१०,०००।– तत्कालीन खाद्य व्यवस्था संस्थानलाई बुझाउनु भएकोले सो रकम कट्टा गर्दा निजले यस संस्थानलाई सावाँ जम्मा रु.१,०१,०६३।–बुझाउन बाँकी रहन गएको हुँदा उक्त रुपैयाँ ब्याज सहित बुझाउनु होस् भनी बरावर तरताकेता गर्दा पनि कुनै वास्ता नगरी चुप लागी रुपैयाँ पचाउने नियत गर्नुभएकोले फिराद दायर गर्न आएको छु । विपक्षीबाट २०२३।४।३ देखि २०२८।१०।१० सम्म रु.१,११,०६३।८४ को वार्षिक सयकडा १० का दरले हुने जम्मा ब्याज रु.६१,२६९।६७ र विपक्षीले २०२८।१०।१० मा बुझाएको रु.१०,०००।– साँवामा कट्टा गर्दा बाँकी हुन आएको रु.१,०१,०६३।८४। को २०२८।१०।११ देखि आजका मिति सम्मको ब्याज जम्मा रु.१,८६,५७९।६० एक लाख छयासी हजार पाँच सय उनासी रुपैयाँ र पैसा साठी मात्र र अन्तिम फैसला हुँदा सम्मको थप ब्याज समेत विपक्षीले लिखत गरे अनुसार दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको मिति २०३१।३।५।४ को फिरादपत्र ।
३. विपक्षी वादीले दावा गर्नुभएको खाद्य व्यवस्था संस्थानलाई खाने तेल र घिउ समेत बिक्री गर्ने सम्झौता गरी संस्थानबाट २०२२।०२३ र २०२३।०२४ मा समेत रुपैयाँ पेश्की लिई तेल घिउ बुझाउँदै आएकोमा लिएको रकम चुक्ता गर्न नसकेबाट बुझाएको रु.५,०००।– कट्टा गर्दा बाँकी रहन आएको रु.१,११,०६३।८४ मा उक्त संस्थानलाई २०२१–०२२ सालमा बुझाएको खाने तेलमा लागेको अन्त शुल्कको रु.७,७७८।६२ र निर्माण संचार तथा यातायात मन्त्रालय आवास तथा भौतिक परियोजना विभाग, निर्माण तथा मर्मत शाखाबाट आर्थिक प्रशासन शाखालाई लेखिएको प्राप्त बोधार्थ पत्र तथा भेरी अञ्चलाधीश कार्यालय नेपालगञ्जबाट जिल्ला पञ्चायत कार्यालय वर्दियालाई लेखिएको प्राप्त बोधार्थपत्र समेतबाट पाउने ठहर भएको रु.१२,४४३।१८ समेत जम्मा रु.२०,२२१।८० कट्टा गर्दा रु.९०,८४२।०४ मात्र बाँकी हुन आउँछ । सो रु.२०,२२१।८० विपक्षी कृषि खरीद बिक्री संस्थान केन्द्रीय कार्यालय टेकुको नाउँमा जम्मा भइसकेकोले उक्त रकमको रसिद तथा आवश्यक कागजात दाखिल गर्न नसकेमा २०२८ पौष मसान्त भित्रै रु.१,११,०६३।८४ र त्यसको ब्याज समेत बुझाउने छु भनी मेरा नाउँको दर्ता घर जग्गा समेत सौंपी कागज गरी दिएको हुँ । सम्झौता अनुसार गरिएको काम भएकोले यस्तो विषय लेनदेन व्यवहारको २ नं. को १० वर्ष परिभाषा भित्र पर्न सक्तैन । फिराद गर्दा विपक्षीले तमसुक दाखिल गर्न सक्नुभएको छैन, ठाडो कागज गराई लिएकोलाई तमसुक भन्नु हुँदैन । कागज जाँचको महल, लेनदेन व्यवहारको महल र रजिष्ट्रेशनको महल बाहिरको कागजको आड लिई २०२८।४।४ मा गरी दिएको कागजलाई लिई ०२८ साल पौष मसान्तको भाखा रहेको भन्ने छ त्यसबाट कारण परेको मितिलाई लिई हेरिएमा समेत “करार सम्बन्धी ऐन, २०२३” को १८ (२) को (ग) को म्याद नाघी गरेको फिराद हुँदा अ.बं.१८० नं. ले खारेज हुने देखिएकै छ । पुनः लेनदेन व्यवहारको २ नं. अनुसारको लिखित नभएपछि ऐजन ४० नं. को म्याद २ वर्षभित्र उजूर गर्न सक्नु पर्नेमा सो पनि नभई २०३१ साल आषाढमा मात्र फिराद गरेको देखिन्छ । मैले रकम बुझाउनु पर्ने रु.९०,८४२।०४ मा जिल्ला पञ्चायत भवन बनाएको रु.१२,४३५।५३ विपक्षी संस्थानका नाउँमा जम्मा गरिएको । सो कट्टा गर्दा बाँकी रु.७८,४०६।५१ हुन आउँछ तापनि म्याद नाघी फिराद गरेको र नपाउने ब्याज पाउँ भनी बुझाएको रुपैयाँ कट्टा नगरी झुठ्ठा उजूर गरेकोले समेत फिरादपत्र खारेज गरिपाउँ भन्ने व्यहोराको प्रतिउत्तर पत्र ।
४. वादीबाट पेश भएको मिति २०२८।४।४ को सक्कल कागज देखे सुने । मलाई संस्थानतर्फबाट गराएको कागज यही हो भन्ने प्रतिवादीको वारेस केशवप्रसादको बयान ।
५. संस्थानको दावीको रुपैयाँ बुझाउनु नपर्ने भन्ने कुनै सबूत प्रतिवादीबाट पेश हुन नसकेको । रुपैयाँ संस्थानबाट लिएको तिर्नु पर्ने भनी सावित भई घर धितो लेखी लिखत समेत गरेमा प्रतिवादी सावित हुँदा वादी दावी बमोजिमको सावाँ ब्याज समेत प्रतिवादीबाट बाँकी संस्थानले भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको मिति २०३४।३।१९।१ को फैसला ।
६. सो इन्साफमा चित्त नबुझी प्र.पृथ्वीबहादुर शाहको पुनरावेदन मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेकोमा उक्त अदालतबाट २०२३ सालमा घिउ, तेल दिने करार गरिएको र सो बापत केही रकम पेश्की लिएको रहेछ उक्त पेश्की चुक्ता नभएबाट २०२८।४।४ मा लिखत भएको देखिन्छ । उक्त लिखतको अध्ययन गर्दा संस्थानबाट लिएको रकम र संस्थानलाई दिएको संस्थानबाट सोधभर्ना हुनु पर्ने रकमको हिसाब गरी बक्यौता रकम ब्याज सहित बुझाउने कागज भएको देखिएको छ । तमसुक हुनका लागि लिखत भएको अवस्थामा नै सबै रकम गनी गनाउ हुनु जरूरी छैन । लेनदेनको हिसाब गरी बक्यौता रकमको कागज हुन सक्छ । वादीको हकको सम्पत्तिको लिखत सौंपुवा दिई भुक्तानी गर्ने, नगरेमा कानून बमोजिम असूल उपर गरी लिन पाउने बन्देज रहेकै पाइयो । नगद रुपैयाँ पेश्कीको रूपमा लिएको र सरसामान बुझाउन नसके बापत ब्याज समेत बुझाउने गरी लिखत भएको हुँदा यसलाई तमसुक नै मान्नु पर्दछ । अतः प्रस्तुत मुद्दामा २ वर्षको हदम्याद लाग्ने भन्ने जिकिरसँग यो बेञ्च सहमत भएन । अब के कति रकम सावाँ हो भनी विचार गर्दा संस्थानले अन्तः शुल्क बापत र जिल्लामा भवन बनाए बापतको रकम सोधभर्ना गर्दा खूद सावाँ रु.९०,८४२।०४ बक्यौता देखिएबाट सो रकम र सो बापत सयकडा १० प्रतिशत ब्याज समेत मिति २०२८।४।४ देखि थपी प्रतिवादी पृथ्वीबहादुर शाहबाट वादी नेपाल खाद्य संस्थानले भरी पाउने ठहर्छ । बागमती अञ्चल अदालतले बढी रकम भराउने देखिएको हुँदा उक्त इन्साफ केही उल्टी हुन्छ भनी मिति २०३६।२।२४।५ मा फैसला भएको देखिन्छ ।
७. मध्यमाञ्चल क्षेत्रीय अदालतको उक्त इन्साफ उपर प्रतिवादी पृथ्वीबहादुर शाहले पुनरावदेन गर्न दिने अनुमतिको माग गर्दै निवेदन दिनुभएकोमा वादी प्रतिवादीको बीच कारोवार भई बाँकी रकममा कागज भएकोमा लेनदेन व्यवहारको ४० नं. बमोजिम २ वर्षको हदम्याद नाघी फिराद गरेकोलाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट लेनदेन व्यवहारको २ नं. अनुसार १० वर्षका हदम्याद कायम गरी गरेको निर्णयमा लेनदेन व्यवहारको ४० नं. को त्रुटि हुन गएको भन्ने आधारमा अनुमति प्राप्त भएको देखिन्छ ।
८. खाद्य व्यवस्था संस्थानलाई सावाँ जम्मा रु.१,११,०६३।८४ बुझाउनु पर्नेमा बुझाउन नसकी २०२८ साल पौष मसान्त सम्ममा ब्याज सहित उक्त रुपैयाँ बुझाउने छु र बुझाउँन नसकेमा आफ्नो हक भोगको जग्गा तथा घर समेतबाट नपुगे अरू गैर जेथाबाट असूल उपर गरी लिएमा मञ्जूर छ भन्ने व्यहोराको मिति २०२८।४।४ मा पुनरावेदक पृथ्वीबहादुरले लिखत गरी दिएको देखिन्छ । घर जग्गा धितोमा राखेबाट कारेवार ९त्चबलवबअतष्यल० ले दृष्टिबन्धकको रूप लिन पुगेको छ । यस्तो लिखत लेनदेन व्यवहारको ३ नं. ले कपाली सरह हुन्छ । कपालीको लिखत भएपछि लेनदेन व्यवहारको २ नं. ले १० वर्षको हदम्याद लाग्ने स्थिति देखिन आएकोले म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ भनी मिति २०३८।५।१५।२ मा यस अदालत डिभिजन बेञ्चबाट फैसला भएको रहेछ ।
९. श्री ५ महाराजाधिराजका जुनाफमा, उक्त फैसलामा प्रत्यक्षतः कानूनी त्रुटि भएको हुँदा इन्साफ जाँची दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी प्रतिवादी पृथ्वीबहादुर शाहको बिन्तिपत्र परेकोमा डिभिजन बेञ्चबाट किनारा भएको उक्त लेनदेन मुद्दा फुल बेञ्चबाट दोहोर्याई हेरी कानून बमोजिम गर्नु भन्ने हुकुम बक्सेको छ भनी मौसूफका विशेष जोहरी विभाग मार्फत मिति २०३८।१०।१९ मा हुकुम बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।
१०. विपक्षी पृथ्वीबहादुर शाहले मिति २०३०।७।२६ मा तत्कालीन कृषि सामग्री संस्थानमा हाजिर भई मैले तिर्नु बुझाउनु पर्ने रकम २०३० साल फाल्गुण चैत्र महीना सम्ममा चुक्ती वेमाख गरी दिने हुँदा सो महीनासम्म समय पाउँ भनी गरिदिनु भएको कागज अ.बं.७७(५) नं. बमोजिम प्रमाण लगाई पाउँ भन्ने व्यहोराको नेपाल खाद्य संस्थानको वा गुप्तबहादुर के.सी.को मिति २०३९।१०।६ को निवेदन भएकोमा उक्त मितिको सक्कल कागज विपक्षी खाद्य संसथानबाट दाखिल गराई पेश गर्नु भन्ने व्यहोराको सर्वोच्च अदालत फुल बेञ्चको मिति २०४०।११।५ को आदेश ।
११. नियमानुसार दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी पृथ्वीबहादुर शाहका तर्फबाट बहसका लागि उपस्थित हुन भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तको र विपक्षी वादी नेपाल खाद्य संस्थानको तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालको बहस समेत सुनियो ।
१२. प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट मिति २०३८।५।१५ मा भएको इन्साफ मिलेको छ छैन भन्ने कुरामा नै निर्णय दिनु पर्ने भएको छ ।
१३. यसमा निर्णयतर्फ विचार गर्दा सावाँ र ब्याज समेत गरी जम्मा रु.१,८६,५७९।६० विपक्षीले संस्थानलाई बुझाउनु पर्नेमा नबुझाएकोले सो भराई पाउँ भन्ने वादी दावी छ भने मैले जम्मा बुझाउनु पर्ने रु.९०,८४२।०४ मध्ये बर्दियाको जि. पं.भवन बनाएको र संस्थानमा जम्मा गरेको कट्टा गर्दा रु.७८,४०६।५१ मात्र बुझाउन बाँकी छ तापनि प्रस्तुत कार्य सम्झौता अुनसारको भएकोले यस्तोमा लेनदेन व्यवहारको महलको २ नं. आकर्षित हुन सक्तैन । ठाडो कागजलाई तमसुक भन्न पनि सकिदैन, करार सम्बन्धी ऐनको म्याद समेत व्यतीत भइसकेको र २ वर्षे म्याद समेत नाघी दायर भएको प्रस्तुत फिराद हुँदा खारेज गरिपाउँ भन्ने व्यहोराको प्रत्युत्तर देखिन्छ ।
१४. उपयुक्त वादी दावी र प्रत्युतर जिकिरलाई हेर्दा प्रतिवादीले संस्थानलाई बुझाउनु पर्ने रुपैयाँको अंक विषयमा मत भिन्नता अर्थात तल मािथ परेको देखिए तापनि वादीको भनाई फिराद लेनदेन व्यवहारको महलको २ नं. बमोजिम १० वर्ष म्याद भित्रको छ, तर प्रतिवादीको भनाई प्रस्तुत मुद्दामा लेनदन व्यवहारको महलको २ नं. आकर्षित नभई ऐजन महलको ४० नं. आकर्षित भई २ वर्ष मात्र म्याद हुनेमा सो म्याद समेत नाघी फिराद परेको हुँदा सो खारेज हनुपर्छ भन्ने जिकिर भएकोले हदम्याद भित्रको फिराद छ छैन भन्ने कानूनी प्रश्नमा विवाद भई प्रस्तुत मुद्दामा ठहराउनु पर्ने प्रारम्भिक एवं महत्त्वपूर्ण विषय पनि यही नै देखिन आएको छ ।
१५. उक्त जिकिरको सन्दर्भमा कानूनी प्रावधानतर्फ दृष्टिपात गर्दा लेनदेन व्यवहारको महलको २ नं. तथा ४० नं. मा यस्तो देखिन्छ :– २ नं. :– “तमसुक भएको मितिले दशवर्ष भित्र केही ब्याज असूल पनि नभएको भाखापत्र पनि नगराइएकोमा सो म्याद पछि नालिश लाग्न सक्दैन । दश वर्षको बीचमा भाखापत्र भएको वा केही ब्याज असूल गरेको रहेछ भने सो मितिले फेरि दशवर्षको म्याद पाउँछ । भोग वा दृष्टिबन्धकको हकमा यसै महलको ३ नम्बर बमोजिम हुन्छ ।”
१६. ४० नं. :– “यस्तो व्यवहार गरेको सदर हुँदैन भनेको, नालिश सुनिने छैन भनेको, नाबालकको धन बिगार्नलाई बेइमानी गरेको, ब्याजको ब्याज खाएको, ब्याजमा दसौद देखि बढ्ता लेखाएको वा लेखबन्धक लिँदा बढ्ता लिएको बढ्ता कुरा लेखाएको यति कुरामा हदम्याद लाग्दैन यस महलमा अन्यत्र हदम्याद लेखिएको वा हदम्याद लाग्दैन भनेको कुरामा बाहेक अरूमा भए गरेको मितिले दुई वर्षभित्र नालेश नदिए लाग्न सक्तैन ।”
१७. लेनदेन व्यवहारको महलको नं. २ लाई हेर्दा “तमसुक” भन्ने शब्द उल्लेख भएको पाइन्छ र यस्तो प्रकारको तमसुक भन्ने नभए पछि र राजीनामा भोग वा दृष्टिबन्धकको बारेमा छुट्टै नं. हरूमा उल्लेख गरेको भएपछि सो नं. को “तमसुक” भन्ने शब्दले पक्ष विपक्षका बीच भाखा समेत उल्लेख गरी रुपैयाँ लिनुदिनु गरी ब्याज समेत असूल गर्ने गरी गरेको लेनदेन व्यवहारलाई जनाउने र त्यस किसिमको लेनदेन व्यवहार सम्बन्धी तमसुकलाई कानूनी रूपमा कपाली तमसुक भनी व्यवस्था गरेको पाइन्छ । त्यसरी गरेको लेनदेन सम्बन्धी शर्त पूरा नगर्ने पक्षका विरूद्ध कर्जा दिने पक्षले दशवर्ष भित्र केही ब्याज असूल नगरेकोमा शुरू कागज भएको मितिले दश वर्षभित्र र बीचमा केही ब्याज लिएको वा भाखापत्र गराएकोमा सो मितिले पुनः दशवर्ष भित्र अदालतमा नालिश गरी उपचार प्राप्त गर्न सक्ने देखिन्छ ।
१८. यस सन्दर्भमा प्रस्तुत मुद्दामा विवादित कागजलाई हेर्दा खाद्येय संस्थानलाई घिउ तेल बुझाउने व्यापारिक कारोवारका लागि भनी सम्झौता गरी प्रतिवादीले सो संस्थानबाट रुपैयाँ पेश्की लिएको सम्म देखिन्छ । त्यस्तो व्यापार सम्बन्धी कारोवारको सन्दर्भमा पेश्की लिई गरेको कागजमा उल्लेख भए अनुसारको काम गर्दै आएकोमा पछि हिसाब हुँदा बाँकी रहन आएको रकम सम्बन्धमा भएको कागजलाई कपाली तमसुकको संज्ञा दिन सक्ने देखिँदैन ।
१९. यस सन्दर्भमा हदम्यादसँग सम्बन्धित निवेदक प्रतिवादी महेन्द्र विक्रम शाही विरूद्ध विपक्षी वादी गोविन्दमान प्रधान भएको लेनदेन जालसाज मुद्दामा सिमेण्टी दिन बापत मसँग १९४७ फरवरी २० तारिख २००३।११।९ गते एडभान्स बैना बापतके रु.२०००।– मबाट प्रतिवादीले लिई भर्पाई गरेको सिमेण्टी पनि नदिई रुपैयाँ पनि नदिएकोले सो के.रू.२ हजार भराई पाउँ भन्ने वादी दावी र वादीले भुक्तानी दिई सिमेण्ट उठाउनु पर्ने उठाउन नआई बैना पच गराएको हो । त्यस्तो विदेशी कलकत्ताको लेनदेनको साहू असामीको ३६ नं. ले उजूर लाग्नै नसक्ने र कलकत्ता छँदै वादीलाई रु.३०००।– सेण्ट्रल बैंकको चेक दिएको निजले सो रुपैयाँ भर्ना नदिएकोमा तरताकेता गर्दा बेइमानी चिताई नालिश गरेको हो भन्ने प्रतिवादी भएकोमा वादीले प्रतिवादीसँगै सम्पर्क राखी कारोवार गरेको देखिनाले कम्पनीले बैना पच गर्न पाउने नपाउने व्यापारको रीतिस्थिति के हो भन्ने तर्फ विचार गरी रहनु नपर्ने र वादीले प्रतिवादीसँग सम्पर्क राखी के कस्तो कारोवार गरेको रहेछ भन्ने कसूरको हकमा कर्जा लेनदेन नभई व्यापारको कारोवार भए गरेको देखिएकोले साहु असामीको ३८ नं. बमोजिम म्याद २ वर्षभित्रको उजूर हुनु पर्नेमा २००३।११।९ मा भा.रू.२०००।– बैना लिनु दिनु भई भर्पाई भएको रुपैयाँ दिलाई पाउँ भन्ने कुरामा ०१३।४।१७ मा मात्र नालिश दर्ता गरेको देखिएकोले साहु असामीको ३८ नं. को म्याद २ वर्ष नाघी सकेपछिको हुँदा खारेज हुने ठहर्छ भनी (ने.का.प. २०२२ निर्णय नं. २७६ पृष्ठ ३४) र निवेदक वादी त्रिरत्न तुलाधर विरूद्ध विपक्षी प्रतिवादी चौथीमान माली भएको लेनदेन मुद्दामा विपक्षीले मसँग कारोवार गरी आएकोमा ०१०।३।१।१ मा हिसाब गरी मेरो बाँकी ठहर्न आएको भा.रू.१९७८ र त्यसको ब्याज ल्हासाको चलन अनुसार सयकडा १६ का दरले ब्याज समेत ६ महीनामा चुक्ति गरी बुझाउँला भनी निजले कागज लेखिदिएकोमा आजसम्म नदिएकोले सयकडा १० ले हुने ब्याज र सावाँ समेतमा भा.रू.३९५०। को मा रु.१००।– को ने.रु.१६०।– ले हुने रु.६३२०।– भराई पाउँ भन्ने वादी दावी र वादीको र मेरो ल्हासामा व्यापार सम्बन्धी करोवार व्यापार भएको । एक पटक हामी २ जना मिली कपडा समेत किनी वादीको घरमा राखेका थियौं । ०१०।४।२ गते ल्हासा वकील अफिसको सामुन्नेमा बसी दावीको रुपैयाँ १९७२ पाई सके भनी सहिछाप गरी दिएको कागज म नेपाल आउँदा ल्हासा निवासी नेपाली साहू पूर्णबहादुर जिम्मा दिएको छु बढी ब्याज खाने लिखत भएको हुँदा नालिश खारेज गरिपाउँ भन्ने प्रतिवाद भएकोमा कर्जा लिनु दिनु बाहेकको यस्तो लिखतको रुपैयाँ भराई पाउँ भन्ने कुरामा साहु असामीको २ नं. बमोजिम १० वार्षको हदम्याद लागू हुन नसक्ने र साहू असामीको ३८ नं. बमोजिम २ वर्षको हदम्याद भित्रै नालेश गर्नुपर्ने समेत हुँदा साहु असामीको ३८ नं. को म्याद २ वर्षभित्र नालिश नपरेकोले खारेज हुने ठहर्छ भनी (ने.का.प. २०३१ निर्णय नं. ८०१ पृष्ठ ३७) यसै अदालत फुल बेञ्चबाट सिद्धान्तहरू प्रतिपादन भएको समेत पाइन्छ ।
२०. अतः उपर्युक्त आधारहरूबाट प्रस्तुत कारोवार शुद्ध कर्जा ऋणको रूपमा भएको नभई व्यापारिक कारोवारका लागि प्रतिवादीले रु.पेश्की लिएको देखिन्छ । त्यस्तोमा लेनदेन व्यवहारको २ नं. आकर्षण हुन्छ भनी व्याख्या गर्न नमिल्ने भई ऐजन महलको ४० नं. आकर्षित हुने प्रष्टै देखिन्छ । प्रस्तुत मुद्दामा २ वर्षको हदम्याद भित्र वादीको फिराद परेको नदेखिँदा वादी दावी खारेज भई प्रतिवादीले फुर्सद पाउने ठहर्छ । वादी दावी बमोजिमको रुपैयाँ भराई दिने गरी भएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलालाई समर्थन गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३८।५।१५ को फैसला मिलेन । अरू तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी खारेज हुने ठहरेकोले बागमती अञ्चल अदालतको मिति २०३४।३।१९ को फैसला, म.क्षे.अ.को मिति २०३६।२।२४ को फैसला तथा सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३८।५।१५ को फैसला र मिति ०३८।६।२८ को आदेश बमोजिमको लगत कायम राख्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गर्नु भनी का.जि. अ.त मा लगत दिनु......१
प्र.पृथ्वीबहादुर शाहले बागमती अञ्चल अदालतको फैसला उपर पुनरावेदन दर्ता गर्दा म.क्षे.अ.को मिति २०३४।१२।१४ को पत्रसाथ का.जि. अ.मा दाखिल गरेको कोर्टफी रु.५,४६९।५० प्रतिवादीलाई फिर्ता दिनु..................२
प्रतिवादी पृथ्वीबहादुर शाहले बागमती अञ्चल अदालतको फैसला उपर मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा म.क्षे.अ.को मिति ०३४।१२।१४ को पत्रद्वारा का.जि. अ.मा दाखिल गरेको कोर्टफी रु.८२०।२७ तथा सर्वोच्च अदालतको मिति ०३७।९।११ को पत्रद्वारा का.जि. अ.मा मिति ०३७।९।१५ मा दाखिल गरेको कोर्टफी रु.८२०।४३ र मिति ०३९।६।१७ को पत्रद्वारा दाखिल गरेको कोर्टफी रु.४९०।३६ समेत जम्मा कोर्टफी रु.२१,३१।०६ दुई हजार एकसय एकतीस रुपैयाँ र पैसा छ मात्र वादी संस्थानबाट भराई पाउँ भनी कोर्टफी ऐनका म्यादभित्र दरखास्त पर्न आए केही दस्तूर नलिई प्रतिवादीलाई भराई दिनु..................३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु......................४
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या. त्रिलोकप्रताप राणा,
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् ०४१ साल आषाढ ९ गते रोज ६ शुभम् ।