शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९२१ - दर्तावदर

भाग: २६ साल: २०४१ महिना: असार अंक:

निर्णय नं. १९२१  ने.का.प. २०४१               अङ्क ३

फुल बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०३९ सालको दे.फु.नं. २९

मुद्दा : दर्तावदर

निवेदक/वादी :   लालबहादुरको मु.स.गर्ने जि. रामेछाप पकरवास बस्ने जीतबहादुर कार्की

विरूद्ध

विपक्षी/प्रतिवादी : कर्णबहादुरको मु.स.गर्ने मिर्चया गा.पं. वा.नं. ५ बस्ने डिल्लीबहादुर श्रेष्ठ

ऐ ऐ बस्ने लक्ष्मी कुमारी श्रेष्ठ

फैसला भएको मिति :  २०४१।३।३०।६ मा

§  तिरो हस्तेवारीबाट बुझाएको नाताबाट विवादित जग्गामा वादीको हक पुग्ने होइन ।

(प्रकरण नं. १२)

§  जिमीदारीको बहाली पूर्जि पाएपछि सो सँगको जिरायत जग्गा छुट्टिने स्थिति पनि नहुने ।

(प्रकरण नं. १३)

§  २००६ सालको मालको पूर्जि बमोजिम भनी २०१७ सालमा गराएको दर्ता कानून अनुरूपकै देखिँदा दर्ता बदर गरी २ नं. रसिद समेत दिलाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको निर्णय मनासिब ठहर्ने ।

(प्रकरण नं. १५)

निवेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कोमलप्रकाश घिमिरे

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

उल्लेखित मुद्दा : x

फैसला

          न्या. त्रिलोकप्रताप राणा : सर्वोच्च अदालत फुल बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा फुल बेञ्चबाट ०३५।१।१२ मा छिनिएको दर्ता बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : तपसीलका मौजाहरूमा र रामनगर विर्ता मौजामा समेत अघि देखि मेरा नाउँमा दर्ता रहे भएको प्र.राम मौजे जिवातरीको जग्गा ४।।।२ र प्र.राम मौजे गम्हडिया महेशपुरको जग्गा १५।।२।।।३ र रामनगर विर्ताको जग्गा १।।१।३ समेतको सालको धान मन २०५ बुझाउने गरी प्र.कर्णबहादुरलाई ठेक्कामा कमाउन दिएको ०१८ सालको ठेक्का धान नदिएको र २ नं. रसिद पनि नदिई बदनियत गरेकोले बुझ्दा ०१७।१०।१६ मा आफ्ना स्वास्नी लक्ष्मीकुमारीका नाउँमा दर्ता भएको छ भन्ने सुनी ०१८ सालको लाग्ने पोत बुझाउन जिम्दार कहाँ ०१८।१२।११ मा जाँदा जग्गा लक्ष्मीकुमारी श्रेष्ठको नाउँमा दर्ता भएको छ भनी उमापति र प्र.पटवारी चतुरानन्द समेतले जवाफ दिएकोले उल्लिखित जग्गाको विपक्षी लक्ष्मीकुमारी श्रेष्ठनीको नाउँमा दर्ता गरेको बदर गरी २ नं रसितसमेत दिलाई सजाय गरी गरी पाउँ भन्ने समेत ०१९।१।५ को लालबहादुर कार्कीको फिरादपत्र ।

          २.   रामपुर विर्तामाल छँदाको अवस्था जिरायत ९।.।।२ र गम्हरिया महेशपुरको २०।२.२ र जिदातरीको ४।।।३।२ जग्गा समेत गाभिएको लिलाममा लालबहादुरले लिए पाएका जग्गा निजलाई हर्कबहादुरले बालकुमारीलाई हक छोडी कं.रू.३७०१। मा १९,९९।३।२६ गते सुक्री बिक्री गरी दिएको ००१ सालमा दर्ता बहाली लिई भोग गरी आएको ०६।१०।२३ गते सिरहा मालबाट भएको दर्ता बारेको पूर्जि बुझाएपछि ०१७।७।११ मा सो पूर्जि मुताविक प्र.लक्ष्मीकुमारीका नाउँमा दर्ता गरी दिएको हो । वादी दावा बमोजिम ठेक्काको शर्तमा समेत कमाएको होइन । रामनगरको जग्गा मध्ये ।।१।। जगा मोहन हाईस्कूल बनाउन वर्ष १ को भा.रू.१४४ को दरले म लक्ष्मीकुमारीलाई दिने कबोल गरेमा सो रू.नदिएकोले ३ वर्षको बाली बापतको रुपैयाँ र जिवातरीका नं. २४७ को १।।। ३। जग्गा सोही मोहन हाइस्कूलको फिल्डलाई चाहिन्छ भनी जबरजस्ती दखल चलन गरी लिएमा बाली समेतको बिगो कसी मोहन हाईस्कूलका हे.मा.धर्मविनोद समेत माथि म लक्ष्मीकुमारीको लोग्ने म कर्णबहादुरले जग्गा बाली मुद्दा दिएको यसै अदालतमा दायरै छ । पत्यारै नपर्ने अजमायसी कुरा गरी झुठ्ठा उजूर गरेको हो भन्ने समेत रमापति लाल दास कायस्थ १, चतुरानन्द लालदास कायस्थ १, लक्ष्मीकुमारी श्रेष्ठ १, कर्णबहादुर श्रेष्ठ १ समेत जना ४ को संयुक्त प्रतिवादी रहेछ ।

          ३.   ०१६ सालको नेपाल कानून पत्रिका पृष्ठ नम्बर २५५ निर्णय नम्बर ५९ को चिनबहादुर गिरी सरस्वतीदेवीको लिखत बदर गरिपाउँ भन्ने मुद्दामा भएको फुल बेञ्चको फैसलामा जिरायतमा गाभिने जग्गा अर्काका नाउँमा दर्ता छँदैमा आफैंले भोग गरेको र भोग चलनको रसिदहरू जम्मै आफैंसँग भएकोमा दर्ताको नाताबाट सो जग्गा जान सक्तैन भन्ने लेखिएको हुनाले सो फैसलाका सिद्धान्तले समेत वादीले दावी गरे बमोजिम जग्गा नपाइने देखिँदा वादी लालबहादुरको उजूर झुठ्ठा ठहर्छ भन्ने समेत ईलाका अदालत सिरहाको मिति ०२०।४।२१।२ को फैसला ।

          ४.   उक्त इन्साफमा चित बुझेन भन्ने समेत वादीको पुनरावेदन परेकोमा दाखिल भएका श्रेस्ता लिखत समेतबाट अकाट्य दर्तावाला वादी लालबहादुरको मञ्जूरी लिखत वा अड्डा अदालतको फैसला बेगरै जिमदिार पट्वारीले प्र.लक्ष्मीकुमारीका नाउँमा ०१७।७।११ गते दर्ता गरी दिएको वादी दावी बमोजिमको जग्गाको प्र.लक्ष्मीकुमारीको दर्ता सदर कायम रहन नसक्ने हुँदा बदर भई वादी लालबहादुरकै नाउँमा दर्ता कायम रहने ठहर्छ भन्ने समेत सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको मिति ०२७।३।२४।४ को फैसला रहेछ ।

          ५.   उक्त अञ्चल अदालतको फैसला उपर चित्त बुझेन भन्ने समेत कर्णबहादुर तथा लक्ष्मीकुमारी श्रेष्ठको परेको पुनरावेदन क्षेत्रीय अदालतमा सरी गएकोमा सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चबाट लक्ष्मीकुमारीको दर्ता सदर रहन नसक्ने भई वादी लालबहादुरको नाउँमा दर्ता कायम हुने ठहराएको मनासिब ठहर्छ भन्ने समेत ०३३।९।१९।१ मा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट निर्णय भएको रहेछ ।

          ६.   उक्त क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादी मु.स.गर्ने दिल्लीबहादुर श्रेष्ठको र लक्ष्मीकुमारी श्रेष्ठको परेको निवेदनमा पुनरावेदनको अनुमति दिने ०३४।४।२० मा डिभिजन बेञ्चबाट भएको आदेश ।

          ७.   निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा वादी दावा झुठ्ठा ठहराएको इलाका अदालत सिरहाको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मा.न्या. श्री बासुदेव शर्माको राय र प्र.लक्ष्मीकुमारीको जिकिर पुग्न सक्दैन भन्ने समेत मा.न्या. श्री हेरम्बराजको राय भई ०३४।१०।१४ मा निर्णय भएको रहेछ ।

          ८.   निर्णयार्थ फुल बेञ्च समक्ष पेश हुँदा वादी लालबहादुरले मालपोत बाँकी राखेकोबाट रामपुर विर्ता मालबाट लिलाम भई आफ्नो लेना र मालपोत बाँकी समेत बालकुमारीले लिलाममा सकार गरी बहाली पूर्जि लिए पाएकोबाट वादीको हक समाप्त भइसकेको देखिने र बालकुमारीले लिलाम सकार गरी लिएको जग्गा बालकुमारीको मञ्जूरी लिई निजको लोग्ने मानबहादुरले प्र.लक्ष्मीकुमारीलाई गरिदिएको राजीनामा बमोजिम जिमीदारी जिरायत साथको वादी दावीको जग्गा प्र.लक्ष्मीकुमारीको नाउँमा दर्ता भएको दर्ता बदर हुन सक्ने स्थिति नदेखिएकोले लक्ष्मीकुमारीको नाउँमा दर्ता भएको दर्ता बदर गरी २ नं. रसिदहरू दिलाई पाउँ भन्ने वादी दावी झुठ्ठा ठहराएको शुरू जिल्ला अदालत सिराहाको इन्साफ मनासिब ठहराएको माननीय न्यायाधीश श्री बासुदेव शर्माको राय मनासिब ठहर्छ भन्ने समेत फुल बेञ्चको ०३५।१।१२ को फैसला ।

          ९.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दमा निवेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेले २००३ सालको सर्पट नापीमा विवादको जग्गा मेरो पक्षको नाउँमा नापी दर्ता भएको छ । मेरो पक्षको नाउँमा हस्तेवारीबाट तिरो बुझाएको छ । २००३ सालको नापी दर्ता बदर गराउन सकेको छैन यस स्थितिमा विपक्षीले २००६ सालको मालको पूर्जि बमोजिम भनी गराएको दर्ता बदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले विवादको सबै जग्गा रामपुर विर्ता माल अन्तर्गतका जग्गा हुन् । १९९२ सालमा लालबहादुरले विवादको जग्गा लिलाममा सकार गरेकोबाट लक्ष्मीकुमारीले राजीनामाद्वारा विवादको जग्गा खरीद गरेको छ । २००६ सालको मालपोतको पूर्जि बमोजिम लक्ष्मीकुमारीको नाउँमा जग्गा दर्ता भएको वादी दावा नपुग्ने ठहराएको फुल बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

          १०.  आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा मेरो नाउँमा दर्ता भएको राम नगर मौजे जिवातरीको ४।।२ गम्हडिया महेशपुरको १५।।२।।३ जग्गा र रामनगर बिर्ताको १।।१। ३ जग्गा मेरो मञ्जूरी लिखत प्रमाण बेगर लक्ष्मीकुमारीको नाउँमा दर्ता गराएको श्रेस्ता बदर गरी मेरो नाउँमा दर्ता कायम गरी प्र.कर्णबहादुरसँग रहेको मेरो नाउँको सालसालको २ नं. रसिदहरू समेत दिलाई पाउँ भन्ने समेत वादी दावी देखिन्छ ।

          ११.   विवादको जग्गा वादीले १९९२ सालमा मालपोत बाँकीमा लिलाम हुँदा सकार गरेको १९९२।६।३० मा बहाली पूर्जि लिएको र निजले पनि मालपोत बुझाउन नसकेबाट बालकुमारीले लिलाम सकार गरी १९९६।२।१५।१ मा बहाली पूर्ज लिएको पाइन्छ । लिलाममा सकार गरी १९९६।२।१५।१ मा बहाली पूर्जि लिएको पाइन्छ । लिलाममा सकार गरेको जग्गा वादी लालबहादुरबाट पनि मालपोत बाँकीमा लिलाम भई बालकुमारीले खरीद गरी बहाली पूर्जि लिएको स्थितिमा विवादको जग्गामा वादीको हक भोग स्वामित्व समाप्त भइसकेको भन्नु पर्ने हुन्छ ।

          १२.  विवादको जग्गा २००३ सालको सर्पट नापीमा वादीको नाउँमा दर्ता भए पनि सो जग्गा बालकुमारीको मञ्जूरीले निजको लोग्ने मानबहादुरले किनारामा बालकुमारीको सहिछाप गराई १९९९।१२।२९ मा लक्ष्मीकुमारीलाई गरी दिएको राजीनामा र २००१।९।१ को बहाली पूर्जाको नाताबाट समेत उक्त दर्ता उपर लक्ष्मीकुमारीको उजूरी परी सिराहा मालको २००६ साल माघ २३ गतेको पूर्जिले विवादको जग्गा लक्ष्मीकुमारीको नाउँमा दर्ता भएको देखिन्छ, वादी लालबहादुरको नाउँमा नापी दर्ता भए पनि सिराहा मालको निर्णय पूर्जि बमोजिम सो नापी दर्ता बदर भएको र सिराहा मालको उक्त पूर्जि अन्तिम रहेको पाइन्छ । सिराहा मालको निर्णयलाई वादीले उजूर गरी बदर वातिल गराउन नसकेकोले विवादको त्यस्तो जग्गामा २००३ सालको नापीको नाताबाट वादीको हक कायम छ भन्ने स्थिति रहेन सिराहा मालको निर्णय बमोजिम गरी दिनु पर्नेले प्रतिवादीको नाउँमा दर्ता नगरी दिएको कारणबाट प्रतिवादीले आफ्नो नाउँमा दर्ता हुनुभन्दा अगावै २०१७ साल सम्मको तिरो हस्तेवारीबाट बुझाएको नाताबाट विवादित जग्गामा वादीको हक पुग्ने होइन ।

          १३.  विवादको जग्गा वादी लालबहादुरले लिलाम सकार गरी लिँदादेखि जिमीदारी र जिरायत साथैको नम्बरी समेतको जग्गा लिलाम हुँदै आएको र पछि प्र.लक्ष्मीकुमारीले राजीनामा लिई आएको देखिन्छ । त्यस्तो लिलाम हुँदै आइरहेकोबाट वादी दावीको जग्गा जिमीदारी सार्थक जिमीदारी जिरायत साथै नम्बरी समेतको जम्मा बिगहा ३६।। अघिदेखि एकैसाथ रही जिरायत जग्गा हो भन्ने पनि देखिन आएको छ । जिमीदारीको बहाली पूर्जि लक्ष्मीकुमारीले पाएपछि सो सँगको जिरायत जग्गा छुट्टिने स्थिति पनि हुँदैन ।

          १४.  विवादको जग्गा कच्ची धान मन २०५ का दरले सालसालको माघ १५ गते बुझाउँला भनी प्र.कर्णबहादुरले मौखिक जमान कमान गरे मुताविक प्रतिवादीलाई ठेक्कामा दिई राखेको भन्ने वादीको दावी देखिन्छ । वादी दावी प्रमाणित गर्ने भार वादीको हो तर वादीबाट ठेक्कामा दिएको कुनै तथ्ययुक्त प्रमाण आउन सकेको छैन ।

          १५.  अतः उपर्युक्त कारणहरूबाट विवादको जग्गामा वादीको स्वामित्व समाप्त भई उक्त स्वामित्व बालकुमारीमा आई बालकुमारीबाट उक्त स्वामित्व लक्ष्मीकुमारीमा गएकोमा विवाद नदेखिँदा २००६ सालको मालको पूर्जि बमोजिम भनी २०१७ सालमा प्रतिवादीले गराएको दर्ता कानून अनुरूपकै देखिँदा उक्त दर्ता बदर गरी २ नं. रसिद समेत दिलाई पाउँ भन्ने वादी दावी नुपग्ने ठहर्‍याएको फुल बेञ्चको ०३५।१।१२ को निर्णय मनासिब ठहर्छ । इन्साफ जाँचको लागि आएको हुँदा केही गरिरहन परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या. पृथ्वीबहादुर सिंह, न्या.

हरगोविन्द सिंह प्रधान,

न्या. महेशरामभक्त माथेमा,

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल आषाढ ३० गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु