निर्णय नं. १९२२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निर्णय नं. १९२२ ने.का.प. २०४१ अङ्क ३
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्र श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०३९ सालको रि.फु.नं. ३९
विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निवेदक : श्री पशुपति अमालकोट कचहरी कार्यालयको हकमा ऐ.को अधिकृत ध्रुवप्रसाद रिमाल
विरूद्ध
विपक्षी : का.जि. का.न.पं. वा.नं. ३ महाराजगञ्ज बस्ने रविप्रसाद आचार्य
आदेश भएको मिति : २०४१।३।६।३ मा
§ रिट निवेदन अदालतमा दर्ता हुँदाको अवस्थामा विवादको जग्गामा रिट निवेदकको हक भोग स्वामित्व नरहेपछि सो जग्गामा दावी गर्ने रिट निवेदकको हकदैया भएको भन्न मिलेन ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
उल्लेखित मुद्दा : x
आदेश
न्या. पृथ्वीबहादुर सिंह : डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा यसमा व्यहोरा साँचो भए सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३८।८।८।२ मा किनारा भएको उत्प्रेषण मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. मैले नेत्रकुमारी उपाध्यायानीसँग किनेको मोहियानी हकको जग्गा नापी हुँदा का.न.पं. वा.नं. २३ कि.नं. १६१ को रोपनी ५–०–० को जग्गा आफैंले भोगी जोताहा निस्सा पाई आएको जग्गा हो । यसरी मैले जोताहा अस्थायी निस्सा पाएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५, २६ ले भोग गरिरहन पाउने गरी मलाई हक प्रदान गरेको छ । उल्लिखित जग्गाको जग्गाधनी आनन्द शमशेर भएकोमा निजको शेषपछि वहाँको सन्तानको हक भएको मानिसहरूले झंकुमारी उपाध्याय, विन्दू शर्मा आचार्य, अरूणा शर्मा ढुङ्गेल व्यक्तिहरूलाई उक्त जग्गा दिनुभएछ र निजहरूले पनि उक्त जग्गा मलाई बक्सपत्र गरी मिति ०३६।५।२१।५ मा दिनु भयो । मैले पनि उक्त जग्गा ०३६।५।२१।५ मा मोहनमान जोशी, फणिन्द्रबहादुर बस्नेत र शारदा खड्कालाई बिक्री राजीनामा गरी दिई उक्त जग्गाहरू निजहरूको हकभोगमा छ । उक्त जग्गालाई विपक्षी कचहरीको पर्चाले विपक्षी गोपालकृष्ण श्रेष्ठले पाएको भनी मेरो हक भागेको रैकर जग्गालाई गुठीको भनी निर्णय गरी विपक्ष गोपालकृष्णलाई मोही कायम गरेको भन्ने लेखेकोले सोको नक्कल लिई हेर्दा गुठीको जग्गा भएकोले मेरो मोहियानी हक नहुने हुँदा मलाई बुझ्न नपर्ने भनी ०३५।११।८ मा निर्णय गरेको ०३६।१२।१८ मा नक्कल पाएपछि मात्र थाहा भयो ।
३. उल्लिखित जग्गा पञ्च प्रधान खान्कीमा दर्ता भएको वेङडोल मनोरथ भन्ने तिर्जामा जनिएको एल बनेल भन्ने जग्गाको सट्टा भन्ने तिर्जामा जनिएको जग्गा साविक रोपनी १ भएकोमा हाल रोपनी ४ बढ समेत जम्मा ५ रोपनी भएको र सो बढको बाली गोपालकृष्णबाट बुझ्ने जोताहाले आफ्नो हक सुरक्षित राख्न पर्ने भएमा जग्गामा टाँस हुँदाकै बखत लाग्ने बाली बुझाई सुरक्षित राख्नु पर्ने सो नगरेको र अड्डाबाट मिसिल खिची राखेपछि यो जग्गामा मेरो हक छ भनी हाजिर हुन आउनु पर्ने नआएकोले बुझी रहन नपर्ने भनी पर्चा गरिएको छ । २०२२ सालमा नापी हुँदाका बखतमा नै म जोताहा मोही भएको भन्ने कुरा उक्त पर्चामा नै उल्लेख छ । मेरो हकमा आघात हुने गरी निर्णय गर्दा मलाई झिकाई प्रतिवाद गर्ने मौका दिनु पर्नेमा नदिई गरेको पर्चा प्राकृतिक न्याय सिद्धान्तको विपरीत भएको, तामेली पर्चा भएपछि ठहरमा मेरो हकमा समेत असर पर्ने गरी निर्णय गर्न मिल्ने होइन उल्लिखित जग्गा तिर्जामा जनिएको जग्गा नभई अलग हो । उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षी पशुपतिनाथ अमालकोट कचहरीको ०३५।११।८।३ को पर्चा बदर गरी मेरो हक प्रचलन गरिपाउँ भन्ने समेत रविप्रसाद आचार्यको रिट निवेदन जिकिर ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाउने भन्ने सिङ्गलबेञ्चको ०३७।२।६ को आदेश ।
५. आनन्द शमशेरको जग्गा भए यस कचहरीबाट पञ्च खान्गीको जग्गा भनी मिति ०३५।१।१५ मा टाँस गरेपछि मात्र रविप्रसाद आचार्यले उक्त जग्गा रैकर परिणत गरिपाउँ भनी का.माल कार्यालयमा निवेदन दिई कारवाही चलाएको निवेदन मालपोतबाट प्राप्त हुन आएको सो मिसिल झिकाई कारवाही गरेपछि मात्र २०३६।५।२१।५ मा बकसपत्र पाएको भन्ने देखिन्छ । यस कचहरीबाट कारवाही हुँदाको मितिसम्म उल्लिखित जग्गा रैकरमा परिणत गराएको छैन । यस कचहरीको जग्गा आनन्द शमशेरको भनी लेखाएकोमा आनन्द शमशेरका हकदार लिलेन्द्र, राज्यलक्ष्मी समेतलाई म्याद तामेल गर्दा हाजिर नभई गुजारेको, जोताहाले रैकर परिणत गर्न निवेदन दिई कारवाही चलाएको मिसिल यसै कचहरीबाट मालपोत कार्यालयसँग लेखापढी गरी झिकाएपछि आफ्नो सम्पत्तिमा स्वामित्व भएको कारण देखाई उजूर गर्न आउनु पर्ने सो नआई ०३६।१२।१८।२ मा नक्कल सारी पाउँदा थाहा भयो भन्ने निवेदकको लेखाई गलत छ । यस कचहरीले पञ्च प्रधान खान्गीमा साविकमा रोपनी १ भई हालमा रोपनी ५ हुन आउन सक्ने नै हुनाले र गोपालकृष्ण वहालीवाला मात्र नभई उजूरवाला समेत भएकोले निजका नाउँमा मोही कायम गराएको हुँदा रिट खारेज गरिपाउँ भन्ने श्री पशुपति अमालकोट कचहरीको लिखितजवाफ ।
६. यो रिट निवेदन गर्नु अघि नै मेरो हक अधिकारको जग्गामा विपक्षी रविप्रसाद आचार्य समेत भई मिली गैरकानूनी तरिकाबाट मेरो हक अधिकारमा आघात पार्न आए भनी रिट नं. १०६० मा म निवेदकले निवेदन गरेको हुँदा मिसिल सामेल भएको यी तिर्जा जनिएको जग्गा होइन अलग जग्गा हो भनी संज्ञा दिनुभएको छ सो जग्गा पशुपतिनाथ अमालकोट कचहरीको होइन भने मैले लिलाम बिक्रीमा सकार गरी लिएको जग्गा यो हो भन्न सक्नु पर्ने सो नसकेकोबाट समेत रिट निवेदन खारेज गरिपाउँ भन्ने गोपालकृष्ण श्रेष्ठको लिखितजवाफ ।
७. निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा विपक्षी भएका आनन्द शमशेर समेतलाई म्याद पठाई रैकरमा परिणत गरी ज.ध.प्र.पूर्जा पाउँ भनी ०३५ साल आषाढमा दरखास्त गरेको र रविप्रसाद आचार्यले जोताहाको अस्थायी निस्सा लिएको समेतको मिसिल मालपोत कार्यालय काठमाडौंमा छ भनी गोपालकृष्णले दरखास्त गरी मिसिल दाखिल भएको रहेछ । त्यसबाट विर्ता हो वा गुठीको हो भनी झगडा देखिन आएपछि ०३५।११।८ गते गोपालकृष्णका नाममा दर्ता गर्ने गरी पशुपतिनाथ अमालकोट कचहरीबाट फैसला भएको हुँदा हक जाने भएको रविप्रसादलाई बुझेको देखिएन निजको सबूत नबुझी किनारा भएको फैसला अ.बं.२८४(क) विरूद्ध देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने डिभिजन बेञ्चको ०३८।८।८।२ को निर्णय ।
८. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय तथा विपक्षी रिट निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तको बहस समेत सुनियो ।
९. यसमा सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।८।८।२ का इन्साफ मिलेको छ छैन भनी हेर्दा सर्वप्रथम प्रस्तुत रिट निवेदनमा रिट निवेदकको निवेदन गर्ने हकदैया छ छैन भन्ने प्रश्न उपस्थित हुन आएको छ । रिट निवेदकले आफ्नो रिट निवेदनको प्रकरण २ मा विवादको जग्गा आनन्द शमशेरको शेषपछि वहाँको सन्तानहरूले झंकुमारी उपाध्याय, विन्दु शर्मा आचार्य र अरूणा शर्मा ढुंगेल व्यक्तिहरूलाई दिनुभएछ र निजहरूले पनि उक्त जग्गा मलाई बकसपत्र गरी मिति ०३६।५।२१।५ मा दिनु भयो । मैले पनि उक्त जग्गा मिति ०३६।५।२२।६ मा मोहनमान जोशी, फणिन्द्रबहादुर बस्नेतलाई र शारदा खड्कालाई बिक्री गरी राजीनामा गरी दिई उक्त जग्गा निजहरूको हक भोगमा छ भन्ने उल्लेख गरेको पाइन्छ । उक्त लेखाइबाट विवादको जग्गा रिट निवेदकको हक भोग स्वामित्वमा रहेको भन्ने देखिँदैन । विपक्षी रिट निवेदकले जुन मिति अर्थात ०३६।५।२१।५ मा बकसपत्र गरी लिएको हो त्यही मितिमा राजीनामा गरी दिएपछि सो जग्गा निजको स्वामित्वमा रहने स्थिति पनि रहेन ।
१०. रिट निवेदकले आफ्नो निवेदनको प्रकरण ४ मा २०२२ सालमा नापी हुँदाको बखतमा नै विवादको जग्गामा आफू जोताहा मोही भएको भन्ने पनि उल्लेख गरेको पाइन्छ सो सन्दर्भमा हेर्दा, शुरूमा जोताहा भए पनि निवेदकको दावी बमोजिम ०३६।५।२१।५ को बकसपत्रद्वारा जग्गाको स्वामित्व प्राप्त भइसकेपछि सोही मितिको राजीनामाद्वारा जग्गा हस्तान्तरण गरिसकेकोले अब विवादको जग्गामा मोहियानी हक बाँकी रहने कुरा आउँदैन । उक्त जग्गामा अझै पनि मोही छु भनेर रिट निवेदकले भन्न र प्रमाण पुर्याउन सकेको पाइँदैन । रिट निवेदकको रिट निवेदन ०३७।१।६।६ मा यस अदालतमा दर्ता हुँदाको अवस्थामा विवादको जग्गा रिट निवेदकको हक भोग स्वामित्वमा नरहेपछि सो जग्गामा दावी गर्ने रिट निवेदकको हकदैया भएको भन्न मिलेन तसर्थ उजूर गर्ने हकदैया नै नभएको स्थितिमा रिट निवेदकको हक प्रचलन गर्ने प्रश्न नै उठ्न नसक्ने भएबाट विपक्षी रिट निवेदकका अन्य जिकिरहरूतर्फ विचार गरिरहनु परेन ।
११. अतः उपर्युक्त कारणबाट प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।८।८।२ को निर्णय मिलेको देखिएन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव,
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल आषाढ ६ गते रोज ३ शुभम् ।