शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९२५ - अंश

भाग: २६ साल: २०४१ महिना: असार अंक:

निर्णय नं. १९२५ ने.का.प. २०४१             अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३९ सालको विविध नं. १३४

मुद्दा : अंश

फैसला भएको मिति : ०४१।३।२६।२ मा

निवेदक/वादी : जि. सुनसरी हासपोसा गा.पं. वडा नं. ७ बस्ने अकलीदास थरूनी

विरूद्ध

विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने रतनलाल चौधरी

ऐ ऐ बस्ने पाचु चौधरी

ऐ ऐ बस्ने बोकार्इ चौधरी

ऐ ऐ बस्ने बेचन चौधरी

फैसला मिति : २०४१।३।२६।२ मा

§  वादीले अंश पाएको प्रमाण प्रतिवादीबाट पेश दाखिल नभएकोले अंश पाउने ठहर्ने ।

(प्रकरण नं. ११)

निवेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री प्रभुनारायण चौधरी

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शुभाष नेम्वाङ

उल्लेखित मुद्दा : x

फैसला

          न्या. बासुदेव शर्मा : पूर्वाञ्चल क्षे.अ.बाट २०३८।१२।१०।३ मा भएको फैसला जाँच गरिपाउँ भनी ०३९।९।२१।४ मा श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्रमा इन्साफ जाँची कानूनबमोजिम गर्नु भन्ने ०३९।९।२५।१ मा हुकुम बक्स भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ ।

          २.   ससुरा वहुरीदासका ४ छोरामा जेठा विपक्षी वेचन, वोकाईको बाबु दसन माहिला मेरो पति पोसन साहिलो रतन र कान्छो पांचु चौधरी हुन ससुरा र पति समेत परलोक भई सकेपछि जग्गा मौखिक शर्तले खाई आएकोमा वृद्ध अवस्था भएकीले दान धर्म कर्म समेत गर्नाका लागि विपक्षीहरूसँग गई अंश माग्दा तँ बूढीलाई अंश दिदैनौं जे गर्न पर्छ गर भनेकाले फिराद गर्न आएको छु ४ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको अक्लीदास थरूनीको फिरादपत्र रहेछ ।

          ३.   वादी दावी बमोजिम बहुरीका ४ छोरा होइन बाबुका जम्मा ३ छोरा पोसनको श्रीमती होइन यी अर्कै परिवारकी मानिसले हामी उपर झुठ्ठा उजूर दिएको मात्र हो यी वादीलाई अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोराको रतनलाल दशनलाल पाचु चौधरी समेत ३ जनाको संयुक्त प्रतिउत्तरपत्र रहेछ ।

          ४.   वादीले प्रतिवादीहरूबाट अंश दिलाई पाउँ भन्ने समेत झुठ्ठा दावी लिई उजूर गरेको समेत ठहर्छ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतलको फैसला रहेछ ।

          ५.  सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको अकलीदास थरूनीको पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावदेनपत्र परेको रहेछ ।

          ६.   प्र.हरूको बाबु बहुरी र प्र.हरुले जिउनी बारे गरेको ०१६ सालको जिउनी र प्र.हरू बीचको ०२१ सालको बण्डापत्र समेतको पारित लिखतहरूबाट पनि वादी बहुरीको बुहारी हुन् भन्ने देखिन आउँदैन । ती लिखतहरूलाई वादीले उजूर दावी गरी अन्यथा प्रमाणित गराउन सकेको पनि देखिँदैन । नामसारी गराउन प्र.ले दिएको भनेको दर्खास्तहरूमा पनि पोसलनाई आफू सरहकै अंशियार मानेको छ भनी पु.वे.वादीले जिकिर लिई दर्खास्तको प्रतिलिपि पेश गरेको देखिन्छ । तर त्यसको सकल प्राप्त हुन आएको छैन । दा.खा.गरिने कुरा के बाट पर्ने गयो वादीले खुलाउन सकेको छैन । वादी अंशियार नै हुन भन्ने कुराको सबूत केही छैन शुरू जि. अ.को इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।१२।१०।३ को फैसला रहेछ ।

          ७.  इन्साफ जाँच गरिपाउँ भन्ने समेत व्यहोराको अकलीदास थरूनीले चढाएको बिन्तिपत्रमा, यो बिन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए यसमा लेखिएको पू.क्षे.अ. बाट छिनिएको अंश मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानून बमोजिम गर्नु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने ०३९।९।२५।१ मा हु.प्र.भई आएको रहेछ ।

          ८.   जग्गा दाखिल खारेज गरिपाउँ भनी दिएको दर्खास्तमा निवेदिका वादीलाई पोसनकी श्रीमती भनी स्वीकार गरेको र निज निवेदिकालाई उमेर पुगेपछि अंश दिउँला भनी उल्लेख भएको र सम्बन्धित गा.पं.को भोटर लिष्टमा पनि घरको मुलीको साथै निवेदिका अकलीको नाम पनि उल्लेख भएकोबाट वादी प्रतिवादी एउटै परिवारको अंशियार देखिन आएकोले अंशमा दावी गर्ने वादीलाई प्रतिवादीहरूले अंश दिइसकेको कुनै प्रमाण प्रतिवादीबाट पेश दाखिल भएको देखिन नआएकोले वादीले अंश पाइसकेको भन्न नमिल्ने हुँदा अ.बं.२०२ नं. र सर्वोच्च अदालत नियमावली, ०२१ बमोजिम प्रतिवादीहरूलाई छलफलको निमित्त झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४१।१।१०।१ को आदेश रहेछ ।

          ९.   नियम बमोजिम कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदिका अकलीदास थरूनीको वारेस प्रसुराम चौधरीलाई र पांचु चौधरी, वेचनलाल चौधरी, वोकाई चौधरी, रतनलाल चौधरी समेतको वारेस ओमकारमान श्रेष्ठलाई रोहवरमा राखी अकलीदास थरूनीका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री प्रभुनारायणले र प्रतिवादी रतनलाल चौधरीसमेतका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शुभाष नेम्वाङले गर्नुभएको बहस समेत सुनियो ।

          १०.  क्षेत्रीय अदालतले गरेको फैसला मिले नमिलेको के हो ? सोमा निर्णय दिनुपरेको छ।

          ११.  यसमा वादीले म पोषनको श्रीमती भएकोले ४ भागको १ भाग अंश पाउँ भनी दावी लिएकोमा वादीका साक्षी भजनदास चौधरीले भैरवदासका २ छोरा पुरन र रामलाल, पुरनका छोरा गौरिदास गौरीदासको ४ छोरा दसन, पोजन, रतन र पांचु हुन । यी वादी अकलीदास स्वर्गीय पोषणकी श्रीमती हुन अंशयिार हुन अंश पाउनेवाला हुन भनी र अर्को साक्षी फागु चौधरीले पुरनको छोरा वहुरीदास, वहुरीको छोरा दसन, पोषन, रतन पांचु समेत ४ भाइ हुन यी वादी पोसनकी श्रीमती हुन । वादी अंशियार हुन अंश लाग्ने हो पोषणको एउटा छोरी जायजन्म भएको पनि किटानी बकपत्र गरेको देखिएको र बहसको दौरानमा वादीको तर्फबाट रहेका अधिवक्ता श्री प्रभुनारायणले प्रमाण निमित्त पेश गरेको २०२६।११।२०।३ को पास राजीनामामा वहुरीदासकी नातिनी पोषणकी छोरी दुखिनी थरूनी भन्ने उल्लेख भएको देखिएकोले निज वादी निवेदिका वहुरीदासको छोरा पोषणको श्रीमती हो भन्ने देखिन ठहर्न आउँछ । वादी अकलीदास थरूनी एकै परिवारकी मानिस नभई प्रतिवादीहरूको अंशियार नै भएको र निज वादीले अंश पाएको प्रमाण प्रतिवादीबाट पेश दाखिल नभएकोले वादी अकलीदास थरूनीले ४ भागको १ भाग अंश पाउने ठहर्छ । सो ठहर्नाले कानून बमोजिम रीतपूर्वकको तायदाती लिई वादीलाई चार भागको एक भाग अंश दिलाई दिनको लागि मिसिल शुरू सुनसरी जिल्ला अदालतमा पठाई दिनु । वादीले अंश नपाउने गरी जिल्ला अदालतको फैसला सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले २०३८।१२।१०।३ मा गरेको फैसला गल्ती ठहर्छ । कोर्टफी रही दायर भएको हुँदा हाल केही गरी रहन परेन ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०४१ साल असार २६ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु