निर्णय नं. १९२७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १९२७ ने.का.प. २०४१ अङ्क ३
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको रि.नं. १४८६
विषय : उत्प्रेषण
निवेदक : सिरहा जि. थलहाकटहा गा.पं. वडा नं. ९ बस्ने रामपलट साहु सुडी
ऐ ऐ बस्ने बुनीलाल साहु
ऐ ऐ बस्ने राम प्रसाद साहु सुडी
विरूद्ध
विपक्षी : जिल्ला सिरहा गा.पं.थलहा कटहा वार्ड नं. ९ बस्ने महेन्द्र साहु सुडी
ऐ ऐ वार्ड नं. ८ बस्ने सिया यादव
जिल्ला भूमि सुधार कार्यालय सिरहाका भूमिसुधार अधिकारी
आदेश भएको मिति : २०४१।३।३०।६ मा
§ अदालतबाट हक कायम गराउनु पर्ने विषयमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास र विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दा : x
आदेश
न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार रहेछ ।
२. रधुनन्दन साहुको ४ छोरा मध्ये जेठा विपक्षी महेन्द्र साहु माहिला म रामपलट साहु माहिला म बुन्नीलाल साहु र कान्छा म रामप्रसाद साहु भएको, माता पिता स्वर्गवास भएपछि दाजु महेन्द्र साहुबाट हामीहरूले अंश फाँट छुट्याई माग्दा अंश छुट्याई नदिनुभएकोले हामीहरूले दाजु महेन्द्र साहु उपर अंश दर्ता चलन मुद्दा सिरहा जिल्ला अदालतमा दियौं हामीहरूले दाजु महेन्द्र साहुबाट अंश पाउने ठहरी सिरहा जिल्ला अदालतबाट २०३३।८।२३ गतेमा फैसला भयो । ०३४।१०।१५ मा सि.जि. अ.बाट अंश पनि छुट्याई दियो जिल्ला सिरहा गा.पं.थलहा वटहा वार्ड नं. ७ को कि.नं. २३ को जग्गा कठ्ठा ०–१८–१५ मध्ये उत्तर तर्फबाट ०–४–१३१/३ मा रामपलटको अंश भागमा उत्तर पश्चिमतर्फबाट ०–४–१३१/३ बुन्नीलालको अंश फाँटमा र दक्षिण उत्तरतर्फबाट ०–४–१३१/३ रामप्रसादको अंश फाँटमा पर्यो । ऐ ऐ वार्ड नं. ८ को कि.नं. ३४ को जग्गा बिगहा १–५–१२१/३ मध्ये ०–६–८१/३ रामपलटको भागमा ०–६–८१/३ बुनीलालको भागमा र ०–६–८१/३ रामप्रसादको भागमा पर्यो हामीहरूको अंश भागमा परेको उक्त जग्गा र अरू जग्गा समेत आफैंले खेती गरी भोगी चर्ची आएका छौं । कसैलाई मोहियानीमा जोत्न दिएका थिएनौं । उक्त कि.नं. २३ र २४ को जग्गामा कहिले पनि मोही थिएन । सर्भे हुँदासम्म पनि फिल्डबुकमा जग्गावाला र किसानको महलमा महेन्द्र साहुकै नाम लेखिएको छ । अंश फाँट छुटी सकेपछि विपक्षी मध्येका दाजु महेन्द्र साहुले विपक्षी सिया यादवसँग मिली २०४०।२।६ गतेमा कि.नं. २३ तथा कि.नं. ३४ को सम्पूर्ण जग्गाको मोहियानीको कबूलियत र २०२९ र २०३९ सालको भर्पाई पनि अघिको मितिमा बनाई दिनु भयो । उक्त कबूलियत र भर्पाईको आधारमा २०४०।२।६ गतेमा सिया यादवले भू.सु.का.सिरहामा मोहियानी हकको प्रमाणपत्र पाउँ भनी निवेदन दिनु भयो । विपक्षी महेन्द्र साहु मिलुवा प्रतिवादी हुन भएकोले सिया यादवको कथनलाई भू.सु.का.मा गई समर्थन गरिदनु भयो । हामीहरूले उक्त कामकाजको विषयमा थाहा पाएपछि मोहियानी हक कायम नहोस् भनी निवेदन लेखी भू.सु.का.मा दर्ता गराउन जाँदा श्री अधिकारीले दर्ता गर्ने मञ्जूर गर्नुभएन । आखिर हुलाकद्वारा रजिष्ट्री गरी त्यो निवेदन पठायौं २०४०।२।३० गतेमा त्यो निवेदन भू.सु.का.मा पुग्यो महेन्द्र साहु सुडीको नाउँमा दर्ता भएको गा.पं.थलहा कट्टहा वार्ड नं. ७ को कि.नं. २३ को ०–१७–५ र वा.नं. ८ को कि.नं. ३४ को १–५–१२– जग्गा समेतको वादी सिया यादवको नाउँमा मोही हकको प्रमाणपत्र बनाई दिने ठहर्छ भनी अधिकारीबाट २०४०।३।१३ गतेमा फैसला भयो । उक्त फैसलाको अनुहारबाटै देखिने त्रुटिहरूको अतिरिक्त निम्नलिखित कानूनी त्रुटिहरू छर्लङ्ग देखिन्छन् ।
३. २०२९।१।१५ गतेको मिति परेको कबूलियतको एक प्रति स्थानीय गा.पं.मा दिनु पर्नेमा दिएको देखिँदैन र गा.पं.मा नदिएको कुरा कबूलियतबाट प्रष्ट छ । २०४०।२।२ गतेमा खडा भएको कबूलियतमा पञ्चायत तथा भू.सु.का.मा एक प्रति कबूलियत दाखिल गर्ने कुरा लेख्न नमिल्ने भएकोले नलेखिएको हो यो कबूलियत ऐनको दफा ३४(१) को विपरीतको हुँदा अमान्य र बदरभागी छ । अंश मुद्दा चल्दा दाखिल भएको तायदातीमा सिया यादवको नाम छैन सर्भे फिल्डबुक र मोठ श्रेस्ता समेत कहीँ पनि सिया यादवको नाम मोहीमा छैन । २०३४।१०१५ गतेमा अंश छुट्टी आएको मुचुल्का तयार भएको छ । त्यसमा पनि सिया यादवको नाम उल्लेख छैन । अ.बं.१३९ नं. बमोजिम हामीलाई बुझी निर्णय गर्नुपर्नेमा नबुझी निर्णय गर्नु भएको कारणले पनि यो फैसला अवैध भई बदरभागी छ । अ.बं.१८४, १८५, १८९ को विपरीत भएको छ । अतः उक्त २०४०।३।१३ मा भएको फैसला बदर गरी हाम्रो संवैधानिक हक संरक्षण तथा प्रचलन गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने स.अ. सिङ्गलबेञ्चको आदेश ।
५. जग्गाधनी महेन्द्र साहु सुडीले विपक्षी सिया यादवलाई कूत कबूलियतनामा कागज गरी दिएको र साल बसाली बाली कूत समेत बुझाउँदै आएको देखिनुको साथै मालपोत कार्यालयबाट पनि दर्ता उतार मगाई हेर्दा वादी दावी अनुसारको जग्गा विपक्षी जग्गाधनी महेन्द्र साहु सुडीको नाममा नै दर्ता देखिएको र उक्त जग्गाको मोही महलमा पनि निजै महेन्द्र साहु सुडीलाई बुझ्दा कूत कबूलियतानामा गरी जग्गा निज विपक्षी सिया यादवलाई मोही कायम गरी दिएमा मेरो मञ्जुर छ भनी कागज समेत गरेकोले उपरोक्त परिवन्दको आधारमा भू.सं.ऐन, २०२१ को दफा ३४ अनुसार विपक्षी जग्गाधनी महेन्द्र साहु सुडीको नाउँमा दर्ता भएको गा.पं.थलहा कटहा क.कि.नं. ७ को कि.नं. २३ को ०–१७–५ र वा.नं. ८ को कि.नं. ३४ को १–५–१२ जग्गा समेतको वादी सिया यादवको नाउँमा मोही हकको प्रमाणपत्र बनाई दिने गरी निर्णय भएकोले कानूनको विपरीत निर्णय भएको हो भन्न नमिल्ने भएकोले सधैं निर्णय न्याय अनुकूल नै छैन तसर्थः रिट निवेदन खारेज गरी दिनु हुन सादर अनुरोध गरिन्छ भन्ने समेत भू.सु.का.को लिखितजवाफ ।
६. अधिकार प्राप्त अधिकारीबाट आफ्नो अधिकार क्षेत्रभित्र सिमित रही ऐन कानूनको परिधि भित्र निर्णय गरिएको हुनाले बदर हुनपर्ने होइन रिट निवेदन नै खारेज गरिपाउँ भन्ने समेत सिया यादवको लिखितजवाफ रहेछ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा निवेदकको वा संजयकुमारलाई र विपक्षीको वा रामदयाललाई बेञ्चबाट बोलाउन लगाउँदा उपस्थित नभएको र निवेदकको तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता कुञ्जबिहारीप्रसाद सिंह र महादेवप्रसाद यादव तथा विपक्षी महेन्द्र साहु सुडी समेतको तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता कमलनारायण दास तथा विपक्षी भू.सु.का.को तर्फबाट खटी आउनुभएका विद्वान सरकारी अधिवक्ता भैरवप्रसाद लम्सालको बहस जिकिर समेत सुनियो ।
८. प्रस्तुत विषयमा निवेदकका माग बमोजिमको आज्ञा, आदेश जारी गर्नुपर्ने हो होइन ? निर्णय दिनु पर्ने हुन आयो ।
९. यसमा आफैंले खेती गरी भोगी आएको कि.नं. २३ र ३४ को मेरो अंश भागमा परेको समेत सम्पूर्ण जग्गाको विपक्षी महेन्द्र साहुले अघिको मिति बनाई कबूलियत गरी दिएको आधारमा मलाई बुझ्दै नबुझी विपक्षी सिया यादवको नाउँमा मोही हकको प्रमाणपत्र बनाई दिने ठहराएको भू.सु.का.को निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर देखिन्छ । रिट निवेदन दर्ता गर्नु भन्दा अगावै विवादको कि.नं. २३ र ३४ को जग्गा विरेन्द्रप्रसाद गोहीवालाई बकसपत्र गरी दिएको पाइन्छ । उक्त बकसपत्र बदर गरिपाउँ भनी नालेश पनि परेको देखिन्छ । अदालतबाट हक कायम गराउनु पर्ने विषयमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने हुँदा प्रस्तुत रिट निवेदन पत्र खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल जेठ ३० गते रोज ६ शुभम् ।