निर्णय नं. १९२८ - उत्प्रेषण

निर्णय नं. १९२८ ने.का.प. २०४१ अङ्क ३
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको रि.नं. १८३८
विषय : उत्प्रेषण
निवेदिका : मोरङ जिल्ला सोरभाग गा.पं. वा.नं. ४ सिमराह बस्ने फुलियादेवी गंन्गाइ
विरूद्ध
विपक्षी : श्री भूमिसुधार अधिकारी मोरङ
योगेन्द्र कुमार धिताल
उदय बहादुर कार्की
नारायण प्रसाद गौतम
दादर बेरिया गा.पं. वा.नं. ४ बबिया बस्ने तेजनु राजवंशी
आदेश भएको मिति : २०४१।३।२।६ मा
§ अ.बं.११० बमोजिम रीतपूर्वक म्याद टाँस गरी निवेदकहरूलाई प्रतिवाद गर्ने मौका दिएको नदेखिएकोले प्राकृतिक न्याय सिद्धान्तको विरूद्ध गरेको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा
विपक्षी तर्फबाट : विद्वान अ.श्री भरतबहादुर कार्की र विद्वान सरकारी अ.श्री वलिराम कुमार
उल्लेखित मुद्दा : x
आदेश
न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा विपक्षीको ०३९।१०।१७ को टिप्पणी र आदेश बदर गरी हक प्रचलत गराई पाउँ भन्ने रिट निवेदकको रिट निवेदन ०४०।३।५।१ मा दर्ता भएको रहेछ ।
२. मोरङ दादर वेरिया गा.पं. वा.नं. ४ ङ कित्ता नं. २० को ०–११–१० जग्गा निरजंग विष्टबाट मैले ०३८।११।१ मा जोत पोत दुवै रजिष्ट्रेशन पास गराई भोगी आएको छु विपक्षी तेजनुले मोहियानीमा कमाएको छु भनी झुठ्ठा व्यहोराको निवेदन जग्गावाला निरजंग विष्ट देखाई विपक्षी भू.सु.का.मा दिएछ । जग्गाधनी निरजंग विष्ट तथा मेरो वतन लेखिएको ठाउँमा समेत म्याद सूचना केही नदिई मिति ०३८।१०।१७ मा निर्णय भएछ । ०४०।२।२४ गते नक्कल लिँदा थाहा पाएँ । मैले राजीनामा गराई लिएको लिखतमा उल्लेख भएको मोरङ सोराभाग गा.पं. वा.नं. ४ सिमराहको वतन लेखी पठाएकोमा सो वतनमा म्याद तामेल नै नगरी मलाई प्रतिवाद गर्ने मौका नदिई प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुने गरी निर्णय गरिएको हुँदा भू.सु.ऐन, ०२१ दफा ३१क ३२ तथा भूमिसम्बन्धी नियमहरू, २०२१ समेतमा भएको कानूनी व्यवस्थानुसार क्षेत्राधिकार नाघी टिप्पणीलाई सदर गर्ने निर्णय गर्नु कुनै प्रचलित कानूनले मिल्ने नहुँदा त्यस्तो दूषित निर्णय बदरभागी हुन्छ । विपक्षी तेजनु यस जग्गाको मोही हुँदै होइन । मोरङ जिल्लामा सर्भे नापी २०२४/२०२५ सालमा भएको छ । मौकैमा उजूर नगरी यतिका वर्ष विपक्षी चुप लागी वस्नु पर्ने अवस्थै थिएन । उक्त विपक्षीको भू.सु.का.को निर्णयले मेरो हक हनन भएकोले मिति ०३९।१०।१७ मा विपक्षी भू.सु.का.ले गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी मेरो हक प्रचलन गराइपाउँ भनी रिट निवेदकले जिकिर लिएको रहेछ ।
३. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालतको सिङ्गलबेञ्चको आदेश अनुसार प्राप्त हुन आएको लिखितजवाफ यस प्रकार छन् ।
४. विपक्षीलाई जानकारी गराउन ०३९।५।१५ मा रीतपूर्वकको सूचना टाँस गरी सुनवाई गरिने जानकारी गरिएको व्यहोरा उक्त टिप्पणी आदेश उतारबाट स्पष्ट हुन्छ । विपक्षीले दिनुभएको आधारहिन भ्रामक रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको तेजनु राजवंशीको लिखितजवाफ रहेछ ।
५. भू.सु.ऐन नियमले व्यवस्था गरे अनुसार ४ नं. जो.अ.नि.पाएका मोहीलाई हाल स्थायी प्रमाणपत्र अनुसूची नं. ३ दिने सम्मको कार्य भएकोले उक्त निर्णयबाट रिट निवेदकको संवैधानिक हक अधिकार हनन् नभएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.मोरङको लिखितजवाफ रहेछ ।
६. तारेखमा रहेका रिट निवेदक फूलियादेवी गंगाईको वारेस प्रेमबहादुर के.सी.लाई ३ पटक सम्म पुकार गर्दा बेञ्च समक्ष उपस्थित नभएकोले विपक्षी तेजुनुको वारेस गोकुलबहादुर कार्कीलाई रोहवरमा राखी रिट निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री लोकभक्त राणा र विपक्षी तेजनुतर्फबाट विद्वान अधिवक्ता भरतबहादुर कार्की र विपक्षी भू.सु.का मोरङको तर्फबाट खटी उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमारको बहस समेत सुनियो ।
७. प्रस्तुत रिट निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनुपरेको छ ।
८. यसमा विपक्षी तेजनु यस जग्गाको मोही नै होइन । मेरो मोरङ सोराभाग गा.पं. वा.नं. ४ सिमराह वतनमा म्याद तामेल नै नगरी मलाई प्रतिवाद गर्नै मौका नै नदिई प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुने गरी विपक्षी भू.सु.का.मोरङले मिति ०३९।१०।१७ मा निर्णय गरेको हुँदा बदर गरिपाउँ भनी रिट निवेदकले जिकिर लिएको देखिन्छ ।
९. प्रस्तुत मुद्दामा निवेदक वादी तेजनु राजवंशीलाई हाल देखिएका ज.ध.हरूका नाउँमा कायम जग्गा मध्ये ज.ध.फुलियादेवीका नाउँ दर्ताको दादर वेरिया गा.पं. वा.नं. ४ को कि.नं. २० बाट ०–११–१० ज.ध.सोमराज तिवारीको नाउँ दर्ता (ङ) दादर वैरिया गा.पं. वा.नं. ४(घ) कि.नं. को ०–११–३ ऐ कि.नं. ३९ को ज.बि.०–१३–० र ज.ध.पुष्पकुमारी बस्नेतका नाउँ दर्ताको दादर वैरिया गा.पं. वा.नं. ४घ कि.नं. ३५ को ज.बि.०–१६–० समेत जग्गा मोहियानी प्रमाणपत्र दिन यस कार्यालयको मोही लगत शाखा र ज.ध.श्रेस्ताको मोही महलमा नाम चढाई दिनका लागि मालपोत कार्यालय मोरङ समेतमा लेखी पठाउनु पर्ने देखिँदा र सरजमीन मुचुल्का र ०३९ सालको बाली जग्गाधनी भन्नेको पुष्पकुमारीको तर्फबाट बुझी लिएको भर्पाईको नक्कल पेश भएकोले उक्त व्यहोरा मनासिब ठहर्छ भनी ०३९।१०।१७ मा भू.सु.का.मोरङले निर्णय गरेको पाइन्छ ।
१०. प्रस्तुत मुद्दाको रिट निवेदक फुलियादेवी गंगाई समेतको नाउँको म्याद टाँस गर्दा वार्ड नं. ४ को वविया टोलको दोकान भएको चोकको आँपको रूखमा टाँस भएको कुरा सरकारी वकीलको फाइलबाट देखिन आउँछ । यसरी अ.बं.११० बमोजिम रीतपूृर्वक म्याद टाँस गरी निवेदकहरूलाई प्रतिवाद गर्ने मौका दिएको नदेखिएकोले प्राकृतिक न्याय सिद्धान्तको विरूद्ध ०३९।१०।१७ मा भू.सु.का.मोरङले गरेको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिएको छ । निवेदकहरूको नाउँमा कानून बमोजिम म्याद टाँस गरी पुनः निर्णय गर्नु भनी परमादेशको आदेश दिने ठहर्छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियम बमोजिम फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४१ साल आषाढ २ गते रोज ६ शुभम् ।