निर्णय नं. १९३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १९३१ ने.का.प. २०४१ अङ्क ३
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री जोगन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको रिट नं. १८५१
विषय : उत्प्रेषण
निवेदक : का.जि. का.न.पं. साविक वडा नं. १९ को हाल वडा नं. १७ क्षेत्रपाटी बस्ने न्हुछेनारायण मानन्धर
विरूद्ध
विपक्षी : बागमती अञ्चल अदालत
जि.का. न.पं. वडा नं. १ हिटी दरबार बस्ने प्रमोद सम्सेर राणा
ऐ ऐ बस्ने रमा राणा
आदेश भएको मिति : २०४१।३।२३।६ मा
§ वडासचिव पञ्चायतको साक्षी बसी ऐन बमोजिम क्षेत्रपाटीमा नै म्याद तामेल भएकोमा रिट निवेदक म्यादभित्र हाजिर नभई म्याद गुजारी बसेको देखिएको हुँदा निर्णयमा कुनै त्रुटि भए गरेको नदेखिँदा निवेदन पत्र खारेज हुने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानांग
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित र विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दा : x
आदेश
न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार रहेछ :
२. का.जि. हिटी दरवारको घर भत्किई पाताल भइरहेको उत्तर दक्षिण पूर्व ३ नै तिर पर्खाल समेतको पाताल जग्गा रोपनी ०–८–१–२ जग्गा रुपैयाँ ७९०००। मा ०३३।२।२८।५ मा र.नं. ७२१२ को राजीनामा रजिष्ट्रेशन पास गरी दिनु भयो । जसको नक्कल यसै साथ पेश गरेको छु । शहरी क्षेत्रको घर जग्गा नापी आउँदा म नभएको मौकामा विपक्षी प्रमोदशमशेर राणाको श्रीमती रमा राणाले उक्त राजीनामा भित्रको पूर्व पर्खाल आफ्नो कि.नं. ५०६ मा घुसाई नापी गराएको झिकी मेरो र मेरा दाजु गोपाल समेतले खरीद गरेको जग्गा कि.नं. ६३८ मा नापी भएकोले सो पर्खालको नाम मेरो कि.नं. ६३८ मा पारी पाउँ भनी नापीमा उजूर गरेकोमा सो पर्खालको जग्गा विपक्ष रमा राणाको नाउँमा अस्थायी दर्ता गरी चित्त नबुझे ३५ दिनभित्र अदालतमा उजूर गर्नु भनी मलाई सूचना दिए बमोजिम म्याद ३५ दिनभित्रै अस्थायी दर्ता बदर गरी पूर्व सीमानाको पर्खाल मेरो कि.नं. ६३८ मा समावेश गरिपाउँ भनी प्रमोदशमशेर र निजको श्रीमती रमा राणाका नाउँमा मैले ०३७ फाल्गुणमा नालिश गरेकोमा सो पूर्व पर्खालको जग्गा राजीनामा भित्र पर्दैन भन्ने लोग्ने स्वास्नी दुवैको प्रतिउत्तर परेकोमा ३ नै तिरको पर्खाल समेतका पाताल जग्गा ०–८–१–२ मा भनी राजीनामाको कैफियत महलमा उल्लेख गरेको देखिँदा कि.नं. ५०६ मा पर्खाल पारी नापी अस्थायी दर्ता गरिदिने गरेको ०३७।८।२९ को पर्चा बदर हुने भई पर्खालको जग्गा वादीको हक कायम हुने ठहर्छ भनी ०३८।१२।२० मा का.जि. अ.बाट गरेको फैसलाको नक्कल यसैसाथ छ । सो कानून अनुसारको इन्साफ थियो । उक्त इन्साफलाई असत्यमा परिणत गर्न विपक्ष प्रमोदशमशेर राणाका लोग्ने स्वास्नीले वा.अं.अ.मा पुनरावेदन गरेको रहेछन् सो पुनरावेदनबाट अ.बं.२०२ नं. र ११० नं. बमोजिम मलाई दिनु पर्ने कानूनी हक मौका सुविधाबाट बञ्चित गरी अर्थात कानूनी हक हनन् गर्दै प्रचलित अ.बं.२०२ नं. र ११० समेतको प्रत्यक्ष कानूनी त्रुटि गरी शुरूको बदर हुने ठहर्याई वा.अं.अ.बाट फैसला भयो । वा.अं.अ.को ०३९।३।११।६ को आदेश बमोजिमको म्याद भनी वेरीतसँग तामेल भएको रहेछ । अतः सो वा.अं.अ.को फैसला उपर उत्प्रेषणको रिट या उपयुक्त रिट र जो चाहिने आज्ञा, आदेश जारी भई सो वा.अं.अ.को ०३९।६।१२ को फैसला बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।
३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत स.अ.सि.बे.को आदेश ।
४. बागमती अं.अ.बाट मिति २०३९।६।१२ मा फैसला गर्नु अघि विपक्षी निवेदकको नाउँमा जारी भएको म्याद कानूनबमोजिम तामेल भएकोले यसबाट निवेदकको कुनै हकहनन भएको नदेखिनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रमोदशमशेर राणा समेतको लिखितजवाफ रहेछ ।
५. उक्त वादी न्हुछेनारायण मानन्धरको र प्र.प्रमोदशमशेर राणा भएको निर्णय बदर हक कायम मुद्दा मिति २०३९।३।११।६ मा बेञ्च समक्ष पेश भएकोमा शुरूको इन्साफ विचारणीय हुँदा अ.बं.२०२ नं. बमोजिम झगडिया झिकाई पेश गर्नु भन्ने मिति २०३९।३।११।६ मा भएका आदेशानुसार विपक्ष निवेदकले आफ्नो फिरादपत्रमा उल्लेख गरेको ठेगाना का.जि. का.न.पं. वडा नं. १९ क्षेत्रपाटी बस्ने न्हुछेनारायण मानन्धरका नाउँमा म्याद जारी भई मिति २०३९।४।१५ मा यसमा लेखी जारी भई आएको मानिस न्हुछेनारायण मानन्धरका नाउँको १५ दिने म्याद बुझी लिई म्याद तामेल गर्न भनी का.जि. का.न.पं. वडा नं. १९ क्षेत्रपाटीमा गई निज म्यादवाला मानिस र निजको घर डेरा जहान परिवार समेतलाई पटक–पटक खोजी गर्न जाँदा फेला नपरेकोले २ जना भलाद्मीहरूको रोहवरमा यो बमोजिमको १ प्रति म्याद सोही टोलको सबैले देख्ने मूल सडकको विजुलीको खम्बामा यो बमोजिमको १ प्रति म्याद टाँस गरी दियौं भन्ने व्यहोरा उल्लेख गरी का.न.पं. वडा नं. १७ बस्ने रामराज श्रेष्ठ १ र ऐ बस्ने प्रकाश मानन्धर १ साक्षी राखी का.न.पं. वडा नं. १९ को हाल नं. १७ क्षेत्रपाटीका वडा सचिव जनकदेव मानन्धर पञ्चायतको साक्षी बसी तामेल भई आएकोमा कानूनको रीतपूर्वक देखिएको सो म्यादभित्र र यस अदालतबाट थमाई पाउने म्यादभित्र निज विपक्षी निवेदक यस अदालतमा उपस्थित नभई थमाउन पाउने म्याद सकिए पछि भए सम्मको प्रमाण अनुसार मिति २०३९।६।१२ मा जिल्ला अदालतले वादीको हक ठहर्याएको र दर्ता बदर हुने ठहराएको समेत इन्साफ गल्ती हुने ठहर्छ भनी पुनरावेदन फैसला भएकोमा निवेदकले छलफलको लागि मौका नदिई अ.बं.११० र २०२ नं. बमोजिम विपरीत गरी फैसला भएको भन्ने दावी झुठ्ठा प्रष्ट हुँदा निवेदको माग दावी बमोजिम फैसला बदर भई उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने निवेदन दावी खारेज गरी पाउन सम्मानित अदालत समक्ष अनुरोध गर्दछु भन्ने समेत वा.अं.अ.को लिखितजवाफ रहेछ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा निवेदक न्हुछेनारायण मानन्धरलाई बेञ्चबाट तीन पटक सम्म बोलाउन लगाउँदा उपस्थित नभएको र विपक्षी प्रमोदशमशेर समेतको वा.गणेशमान डंगोललाई रोहवरमा राखी निवेदकको तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता गजेन्द्रबहादुर प्रधानांग विपक्षी प्रमोद शमशेर समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता मोतिकाजी स्थापित र विपक्षी अं.अ.को तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता भैरवप्रसाद लम्सालको बहस जिकिर समेत सुनियो।
७. प्रस्तुत विषयमा निवेदकका माग बमोजिमको आज्ञा, आदेश जारी हुने नहुने के हो ? निर्णय दिनु पर्ने हुन आयो ।
८. यसमा मलाई दिनु पर्ने कानूनी हक सुविधाबाट वञ्चित गरी प्रचलित अ.बं.२०२ नं. र ११० नं. समेतको प्रत्यक्ष कानूनी त्रुटि गरी शुरू जि. अ.को फैसला बदर हुने ठहर्याई वा.अं.अ.को ०३९।३।११।६ को आदेश बमोजिमको म्याद पनि वेरीतसँग तामेल गरी वा.अं.अ.बाट ०३९।६।१२ मा भएको फैसला बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर देखिन्छ ।
९. वा.अं.अ.ले अ.बं.२०२ नं. बमोजिम झगडिया झिकाउने भन्ने २०३९।३।११।६ मा आदेश गरी निवेदकले आफ्नो फिरादपत्रमा उल्लेख गरेको ठेगाना का.जि. का.न.पं. वडा नं. १९ क्षेत्रपाटीमा न्हुछेनारायण मानन्धरका नाउँमा म्याद जारी भई मिति २०३९।४।२५ मा यसमा लेखी जारी भई आएको मानिस न्हुछेनारायण मानन्धरका नाउँको १५ दिने म्याद बुझी लिई म्याद तामेल गर्न भनी का.जि. का.न.पं. वडा नं. १९ क्षेत्रपाटीमा गई निज म्यादवाला मानिस र निजैको घर डेरा जहान परिवार समेतलाई पटक–पटक खोजी गर्न जाँदा फेला नपरेकोले २ जना भलाद्मीहरूको रोहवरमा यो बमोजिमको १ प्रति म्याद सोही टोलको सबैले देख्ने मूल सडकको विजुलीको खम्बामा यो बमोजिमको १ प्रति म्याद टाँस गरी दियौं भन्ने व्यहोरा उल्लेख गरी का.न.पं. वडा नं. १७ बस्ने रामराज श्रेष्ठ १ र ऐ ऐ बस्ने प्रकाश मानन्धर १ साक्षी राखी का.न.पं. वडा नं. १९ को हाल वा.नं. १७ क्षेत्रपाटीका वडा सचिव जनकदेव मानन्धर पञ्चायतको साक्षी बसी ऐन बमोजिम क्षेत्रपाटीमा नै म्याद तामेल भएकोमा रिट निवेदक म्यादभित्र हाजिर नभई म्याद गुजारी बसेको देखिएको हुँदा अं.अ.ले मिति २०३९।६।१२ मा गरेको निर्णयमा कुनै त्रुटि भए गरेको नदेखिँदा प्रस्तुत रिट निवेदन पत्र खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४१ साल आषाढ २३ गते रोज ६ शुभम् ।