शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९३३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: असार अंक:

निर्णय नं. १९३३     ने.का.प. २०४१                        अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामक्त माथेमा

सम्वत् २०३९ सालको रिट नं. १८३२

आदेश भएको मिति : २०४१।२।१२।६ मा

निवेदक : जि. सप्तरी डिमन गा.पं. वडा नं. ३ बस्ने पुहुपलाल यादव

विरूद्ध

विपक्षी     : भू.सु.का.सप्तरीका भू.सु.अ.

जि. सप्तरी कोर्इलाडी गा.पं. वार्ड नं. ३ बस्ने तारा प्रसाद सिंह राजपुत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

§  रिट निवेदकलाई मुद्दामा सम्मिलित नै नगरी निजलाई तारिखमै नराखी प्रत्यर्थी भूमिसुधार कार्यालयले गरेको निर्णय त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार

उल्लेखित मुद्दा : x

आदेश

            न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने निवेदन पत्रको संक्षिप्त तथ्य यस प्रकार छ ।

            २.    विपक्षीसँग मोही मुद्दा सर्वोच्च अदालतबाट ०३९।६।१७ मा नियर्णयानुसार मोहीको लगत कट्टा गरिपाउँ भनी विपक्षीको निवेदन परेकोमा विपक्षी कार्यालयले निर्णय गर्दा यस कार्यालयको ०३७।३।२ को फैसला माथि चित्त नबुझी सर्वोच्च अदालतमा रिट परी नं. ८० को जग्गा क्षेत्रफल २१५१८ मध्ये पूर्व तर्फबाट ज.बि.०० कित्ताकाट गरी विपक्षी पुहुफलाललाई मोहीको प्रमाणपत्र दिने निर्णय गरेको भू.सु.अ.सप्तरीको ०३७।३।२ को निर्णय मिलेको नदेखिंदा उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । यिनै पक्ष विपक्ष भएको रि.नं. ९७५ मा कानून बमोजिम निर्णय गर्न परमादेश जारी भई ०३८।८।४ मा निर्णय भएको पनि सोही जग्गा सम्बन्धी भई साथै निर्णय गर्नुपर्ने हुँदा कानून बमोजिम गर्नु भनी २०३७ सालको रि.नं. ९७४ मिति २०३९।६।१७ मा निर्णय भई सर्वोच्च अदालतबाट जारी भएको परमादेशानुसारको नं. ८० मध्ये ०० जग्गा समेत मोही लगत कट्टा भइसकेकोले यसबाट अरू केही गर्नु नपर्ने ठहर्छ भनी २०४०।१।१५ गते विपक्षी कार्यालयबाट निर्णय भएको छ । मिति २०४०।२।६ मा गई नक्कल सारी लिएबाट थाहा पाएँ ।

            ३.    सक्कल मिसिल नझिकाई मलाई थाहा खबर नगरी प्राकृतिक न्याय सिद्धान्त खिलाप गरी त्रुटिपूर्ण आदेश भएछ ।

            ४.    कि.नं. ८० मध्ये उक्त ०० जग्गा भू.सु.ऐन नआउँदै देखि जोती खाई आएको मोही हुँ । ४ नं. जो.अ.निस्सा मैले पाएको छु । फिल्डबुकमा मेरो नाउँमा दर्ता छ उक्त २०४०।१।१५ को निर्णय उत्प्रेषण आदेशद्वारा गराई पाउँ भन्ने समेत व्यहोराको पुहुपलाल यादवको उजूरी निवेदन ।

            ५.    प्रत्यर्थी भू.स.का.सप्तरी र ताराप्रसाद सिंह राजपूतका नाउँमा म्याद पठाई लिखितजवाफ प्राप्त हुन आएपछि अथवा पूर्ण अवधि पुगेपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत सिङ्गलबेञ्चको आदेश ।

            ६.    यसमा यिनै पक्ष विपक्षको हाल विवाद देखिएको कि.नं. ८० को जग्गाको सम्बन्धमा समेत मोही लगत कट्टा गरी दिनु पर्नेमा सो नगरेको फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम गर्नु भू.सु.का.सप्तरीका नाउँमा २०३८।८।४ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट परमादेश समेत जारी भएको देखिन्छ । सोही कि.नं. ८० को २१५१८ जग्गा मध्ये पूर्वतर्फबाट ज.वि.०० कित्ताकाट गरी विपक्षी पुहुपलाल यादवलाई मोही प्रमाणपत्र दिने निर्णय गरेको भू.सु.का.सप्तरीको ०३७।३।२ को निर्णय मिलेको नदेखिई त्रुटिपूर्ण थियो उक्त नियर्णय उत्प्रेषण आदेशद्वारा बदर गरी दिएको छ । यिनै पक्ष विपक्ष भएको रिट नं. ९७५ मा कानूनबमोजिम परमादेश जारी भई मिति ०३८।८।४ मा निर्णय भएको र प्रस्तुत विषय पनि सोही जग्गा सम्बन्धी भई साथै निर्णय गर्नुपर्ने हुँदा कानून बमोजिम गर्नु भनी विपक्षी भू.सु.कार्यालय सप्तरीका नाउँमा परमादेश समेत जारी हुने ठहर्छ भनी श्री सर्वोच्च अदालत डिभिजन बेञ्चबाट २०३७ को रिट नं. ९७४ मिति २०३९।६।१७ मा भएको आदेशबमोजिम नै यस कार्यालयबाट नि.नं. ५४१।०३९ मिति २०४०।१।१५ मा उक्त कि.नं. ८० मध्ये ०० जग्गाको लगत कट्टा गर्ने गरी भएको निर्णय कानूनसंगत भएको हुँदा प्रस्तुत रिट निवेदन खारेज हुन अनुरोध भएको हुँदा प्रस्तुत रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने समेत भू.सु.का.सप्तरीको लिखितजवाफ ।

            ७.    ताराप्रसाद सिंह राजपूतका नाउँमा जारी भएको म्याद मिति २०४०।५।१२ मा तामेल भएका म्याद गुजारी बसेको रहेछन् ।

            ८.    निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री ईच्छाहर्ष बज्राचार्यले पहिले रिट निवेदन परी परमादेशको आदेश समेत जारी भई कार्यालयमा गएकोमा निवेदकलाई बुझ्दै नबुझी निवेदकको मोही हक कट्टा गर्ने गरी गरिएको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत छ भन्ने र प्रत्यर्थी कार्यालयतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले सबूत प्रमाणको मूल्याङ्कन गरी कार्यालयबाट भएको निर्णयमा कुनै त्रुटि छैन रिट खारेज हुन पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

            ९.    प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी हुन पर्ने हो होइन सो को निर्णय दिनु पर्ने हुन आएको छ ।

            १०.    यसमा निर्णयतर्फ हेर्दा पुहुपलाल यादवलाई मोहीको प्रमाणपत्र बनाई दिने गरी ०३७।३।२ मा भू.सु.का.सप्तरीबाट गरेको निर्णय उपर प्रत्यर्थी ताराप्रसाद सिंहको रिट निवेदन पर्दा सो निर्णय त्रुटिपूर्ण भएकोले उत्प्रेषणको आदेशद्वारा बदर भई परमादेश जारी गर्ने गरी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३९।६।१७ मा निर्णय गरेको देखिन्छ । सो निर्णय बमोजिम मोहीको लगत कट्टा गरिपाउँ भनी प्रत्यर्थी ताराप्रसाद सिंहले निवेदन दिएकोमा निजलाई मात्र तारेखमा राखी कि.नं. १३५ को ०१५१७ र कि.नं. ८० मध्ये ०० पक्षको नाउँको मोहियानी लगत कट्टा हुने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार कार्यालय सप्तरीबाट ०४०।१।१५ मा निर्णय गरेको देखिन्छ ।

            ११.    त्यसरी प्रत्यर्थी ताराप्रसाद सिंहको रिट निवेदन परी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भू.सु.अ.को ०३७।३।२ को निर्णय उत्प्रेषणको आदेशले बदर गरी कानून बमोजिम निर्णय गर्न परमादेशको आदेश जारी गरेको पाईन्छ यसबाट भूमिसुधार अधिकारीले उक्त विवादको कुरामा कानून बमोजिम फेरि न्यायिकनिर्णय गर्नुपर्दा पक्षविपक्ष दुवैलाई झिकाई तारेखमाराखी निजहरूको कथनलाईसमेत विचाराधिनमा लिई सबूत प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नुपर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा ताराप्रसाद सिंहले दिएको निवेदनबाट निजलाई मात्र तारिखमा राखी रिटनिवेदकलाई मुद्दामा सम्मिलित नै नगरी निजलाई तारिखमै नराखी प्रत्यर्थी भूमिसुधार कार्यालयले मिति ०४०।१।१५ मा गरेको निर्णय त्रुटिपूर्ण देखिने ।

            १२.   अतः उपरोक्त उल्लेख भए अनुसार प्रत्यर्थी भूमिसुधार कार्यालय सप्तरीले गरेको मिति ०४०।१।१५ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ कानून बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारीको निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन म.न्या. कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

           

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल ज्येष्ठ १२ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु