निर्णय नं. १९३४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १९३४ ने.का.प. २०४१ अङ्क ३
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३९ सालको रिट नं. १४४७
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : जि. बारा बुनियाद गा.पं. वार्ड नं. ९ बस्ने मोतीलाल साह सोनार
विरूद्ध
विपक्षी : भू.सु. अधिकारी, भू. सुधार कार्यालय बारा
जि. बारा प्रसौनी गा.पं. वार्ड नं. ५ बस्ने छेदी प्रसाद कलवार
आदेश भएको मिति : २०४१।३।१३।३ मा
§ अर्कै सन्दर्भमा भएको बयानलाई प्रमाण लगाई प्रत्यर्थी भूमिसुधार कार्यालयबाट विवादित जग्गामा मोही नामसारी गर्न नमिल्ने भनी सो जग्गाको हकमासम्म गरेको निर्णय त्रुटिपूर्ण देखिने।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
उल्लेखित मुद्दा : x
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय बाराको मिति ०३९।११।२२ को फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :
२. विपक्षी छेदीप्रसाद नाउँ दर्ताको जि. वारा बुनीयाद गा.पं. वार्ड नं. ७ कि.नं. ३ को जवि.२–१०–० जग्गा र सिताराम तथा श्यामाप्रसादको समेतको दर्तावाला मोही मेरो पिता सटहु शाह सोनार परलोक हुनुभएकोले मेरो नाउँमा मोही नाउँसारी गरिपाउँ भन्ने समेत मेरो निवेदन परेकोमा विपक्षी छेदीप्रसादले निवेदकका नाउँमा मोही नामसारी हुनपर्ने होइन मलाई पत्याउन बाध्य गराउन पाउने समेत होइन ०३७।८।२५ मा विपक्षीलाई पत्याई मोही कायम गर्ने निवेदन दिएकोमा इन्कारी बयान गरेकोबाट यसै कार्यालयबाट खारेज भएको छ उसै विषयमा पुनः निवेदन नलाग्ने र मोही लगत कट्टा गर्न ०३८।१।२९ मा मेरो निवेदन समेत परेको छ भन्ने समेत बयान गरेका र अन्य ज.ध.हरूको समेत बयान भएको थियो ज.ध.छेदीप्रसादका नाउँको बुनीयाद गा.पं. वार्ड ७ कि.नं. ३ ज.बि.२–१०–० माग अनुसार मोही नामसारी गर्न नमिल्ने र अन्य ज.ध.को दावी मध्येको अन्य कित्तामा निवेदकको इन्कारी नदेखिँदा मोही नामसारी हुने ठहर्छ भनी विपक्षी अधिकारीले ०३९।११।१२ मा फैसला गर्नुभयो ।
३. विपक्षी छेदीले म र आमा जानकीदेवी उपर बारा जि. अ.मा कूत मोही निष्कासन मुद्दा दिएको त्यसबाट प्रथम हक आमाको हुनु पर्ने विचारले ०३७।१०।२२ मा बयान गर्दा मोही नामसारी गर्न आमाको निवेदन परी रहेकोले आमाको नाउँमा मोही नामसारी कायम होस भनी बयान गरेको थिएँ । त्यसबाट मैले जग्गा कमाउन सक्दिन मलाई मोहियानी हक चाहिदैन भनी इन्कारी बयान गरेको भन्ने अर्थ गर्न मिल्दैन सो उजूरीमा विपक्षी कार्यालयबाटै ०३८।१।२ मा मोतीलालको मोही नामसारी गरिपाउँ भन्ने दावी उजूर परेमा उसै बखत कारवाई हुने हुँदा उजूरी तामेलीमा राखी दिने भनी फैसला भएबाट सबै व्यहोरा दर्शाई मैले मोही नामसारीमा दावी लिएकोमा पूर्व फैसलाहरूको ख्यालै नराखी एक पक्षीय ढंगबाट मेरो दावी भन्दा बाहिर गई मोही लगत कट्टा गरी दिने भनी गरिएको फैसला प्रतिपादित सिद्धान्त र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६(१) को त्रुटियुक्त छ । आमाले निवेदन दिँदा आमालाई नपत्याई मलाई पत्याउने र हाल मैले निवेदन दिँदा मलाई नपत्याई पत्याउन बाध्य गराउन नमिल्ने भनेबाट मोहियानी समाप्त गराउने दुरूत्साहन गरेको भन्ने देखिएकै छ । मैले इन्कार गरेको मोही नामसारी गर्न नमिल्ने भनी गरिएको हदसम्मको फैसला सबूत प्रमाणको मूल्याङ्कन विहिन भू.सं.ऐन, ०२१ को दफा २६ (१) को प्रत्यक्ष त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने समेत निवेदन जिकिर ।
४. विपक्षीहरूसँग लिखितजवाफ लिई पेश गर्ने भन्ने समेत ०३९।१२।९ को स.अ.सिङ्गलबेञ्चको आदेश ।
५. विवादित जग्गा कमाउन इन्कार गरी ०३७।१०।२२ मा बयान गरेपछि अब मोहीमा दावी गर्न प्रमाण ऐन, ०३१ को दफा ३४ ले रोक लगाउँछ । पत्याएको बखत कबूलियत गरी मोहीमा कमाउन इन्कार गर्नेले पछि आई भू.सं.ऐन, ०२१ को दफा २६(१) अनुरूप दावी लिन मिल्दैन । रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत छेदीप्रसाद कलवारको लिखितजवाफ ।
६. रिट निवेदकले कमाउन इन्कार गरी बयान गर्नुभएको आफूले दावी छाडी सकेकोमा पुनः दावी लिन निवेदकलाई अधिकार नभएको रिट निवेदन निराधार छ भन्ने भू.सु.का.बाराको लिखितजवाफ ।
७. निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले रिट निवेदकले मोही हक छाडेको छैन । निवेदकको आमा जानकीदेवीले मोही नामसारीको दावी गरेको निजका नाउँमा मोही नामसारी कायम होस् भनी बयान गरेको हो । त्यसलाई मोही हक छाडेको भन्न मिल्दैन रिट निवेदकका नाउँमा मोही नाउँसारी गरी दिन पर्नेमा नगरी मोही लगत कट्टा गर्ने गरेको त्रुटि हुँदा सो निर्णय बदरभागी छ भन्ने समेत र प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले रिट निवेदकलाई जग्गाधनीले पत्याएकोमा कबूलियत गरी जग्गा कमाउन इन्कारी सकेपछि अब फेरि मोही नामसारीमा दावी गरेको प्रष्ट छ । अतः प्रमाणको आधारमा मोही लगत कट्टा गर्ने गरेको निर्णयमा त्रुटि छैन भन्ने समेत र प्रत्यर्थी छेदीप्रसाद कलवार तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले मोही हकमा इन्कार गरी बयान गरी सकेपछि पुनः मोही नामसारीमा दावी गरेको कानूनसंगत छैन मोही लगत कट्टा गर्ने गरेको निर्णयमा कुनै त्रुटि छैन भन्ने समेत बहस गर्नुभयो।
८. प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुन पर्ने हो होइन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा प्रत्यर्थी छेदिप्रसाद कलवारले निवेदकलाई निजको पिताको मृत्यु भएकोले मोही पत्याउँछु, मोहीको कबूलियत गराई पाउँ भनी छुट्टै निवेदन दिएकोमा रिट निवेदकले निजको आमाले पति पछि निजको मोहियानी आफ्नो नाउँमा नामसारी गरिपाउँ भनी भूमिसुधार अधिकारी समक्ष निवेदन दिई कारवाही चलिरहकोले मोहीको कबूलियत गर्न मञ्जूर छैन भनी प्रतिवाद गरेको पाइन्छ । उक्त प्रत्यर्थी छेदीप्रसादले निवेदन दिएको मुद्दामा भूमिसुधार अधिकारीबाट ०३८।१।२ गते यो रिट निवेदक मोतीलालको मोही नामसारी गरिपाउँ भन्ने दावी उजूरी परेमा उसै बखत कारवाई हुने नै हुँदा उजूरी तामेलीमा राखी दिने निर्णय गरेको देखिन्छ । यसबाट जग्गावाला छेदीप्रसाद कलवारले दिएको मुद्दामा मोही सम्बन्धमा कुनै निर्णय नगरी तामेलीमा राखेको देखिन्छ सो मुद्दामा रिट निवेदकले गरेको बयानको आधारमा विवादित जग्गाको मोही नामसारी नगर्ने निर्णय गरेको पाइन्छ मिति २०३८।१।२ को भू.सु.का.बाराको निर्णयमा मोहीको दरखास्त परे ठहरे बमोजिम हुने भन्ने निर्णय गरेपछि सो अनुसार मोहीको निवेदन परेको मुद्दामा सबूत प्रमाणको आधारमा निर्णय गर्नुपर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा कानून बमोजिम सबूत प्रमाणको मूल्याङ्कन गरी निर्णय गरेको देखिँदैन । सबूत प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नु पर्नेमा सबूत प्रमाणको मूल्यांकन नगरी अर्कै सन्दर्भमा भएको बयानलाई प्रमाण लगाई प्रत्यर्थी भूमिसुधार कार्यालय बाराबाट विवादित कि.नं. ३ को ज.बि.२–१०–० जग्गामा मोही नामसारी गर्न नमिल्ने भनी सो जग्गाको हकमा सम्म गरेको निर्णय त्रुटिपूर्ण देखिन आयो ।
१०. अतः उपयुक्त उल्लेख भए अुनसार प्रत्यर्थी भूमिसुधार कार्यालय बाराबाट विवादित कि.नं. ३ को ज.बि.२–१०–० को सम्बन्धमा सम्म गरेको मिति ०३९।११।२२ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानून बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०४१ साल आषाढ १३ गते रोज ३ शुभम् ।