शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९३८ - लिखत पास

भाग: २६ साल: २०४१ महिना: असार अंक:

निर्णय नं. १९३८ ने.का.प. २०४१               अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको दे.पु.नं. ५२७

मुद्दा : लिखत पास

पुनरावेदिका/प्रतिवादी : ल.पु.जि. न.पं. वा.नं. ५ विक्रम भवन बस्ने शुशिला रानी राणा

विरूद्ध

विपक्षी/वादी :   होटल जया ईन्टरनेशनलको तर्फबाट का.जि. कान्तीपथ बस्ने आनन्दबहादुर श्रेष्ठ

फैसला भएको मिति :  २०४१।३।३०।६ मा

§  मुद्दा गर्ने भन्ने कुरा नलेखेको भन्नेबाट सञ्चालक समितिले गर्नुपर्ने कार्य अरूबाट हुन सक्दछ भन्ने तर्क गर्न मिल्ने होइन ।

(प्रकरण नं. १२)

पुनरावेदक तर्फबाट :   विद्वान वरिष्ठ अधिवक्ता श्री मधुप्रसाद शर्मा

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल

उल्लेखित मुद्दा : x

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३८।३।२९ मा भएको निर्णयमा कानूनी त्रुटि विद्यमान भएकोले पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदनको लगतमा दर्ता भई नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :

          २.   अन्यायवालीले रजिष्टर्ड नं. ६२४।०३० मिति ०३०।८।२७ को प्रमाणपत्र अनुसार स्थापित होटल जया ईन्टरनेशनल प्रा.लि.ललितपुरसँग ०३४।८।२९।४ मा घरखर्च र घर बनाउन भनी रू.१,५०,०००। (कर्जा लिई निजका नाउँमा तत्कालीन भू.प्र.का.ललितपुरमा दर्ता रहेको ल.पु.न.पं. वार्ड नं. ५(ग) कि.नं. २७६ को जग्गा रोपनी १११० र कि.नं. २७८ को जग्गा रोपनी ०१३० समेत जग्गा र कि.नं. २७६ मा बनेको पक्का र्इंटको १ तल्ला पूर्व पश्चिम ४६ फिट र उत्तर दक्षिण ५८ फिटमा बनेको घर १ समेतका घर जग्गाहरू राजीनामा गरी दिनुभएको थियो । उक्त राजीनामा लिखत पास गरी दिनुहोस् भन्दा आलटाल गरेकोले अ.बं.८२ बमोजिम रजिष्ट्रेशनको ५ नं.को म्याद ६ महीना नाघेको ३५ दिनभित्र फिराद दिन आएको छु । लिखत पास गराई पाउँ भन्ने समेत होटल जया ईन्टरनेशनल तर्फबाट आनन्दबहादुर श्रेष्ठको २०३५।३।२।५ को फिरादपत्र ।

          ३.   कम्पनी ऐन अन्तर्गत स्थापित प्रा.लि.को तर्फबाट नालेश उजूर गर्न विपक्षी आनन्दबहादुरलाई कम्पनीले के कस्तो अधिकार दिएको हो अथवा कम्पनीका के कस्ता हैसियतका व्यक्ति निज आनन्दबहादुर हुन् भन्ने कुराको फिरादमा कुनै प्रमाण नभएकोले व्यक्ति विशेषको हैसियतले कम्पनीको सम्बन्धमा गरेको नालेश खारेज हुनु पर्ने दायर हुन सक्ने भए पनि दावा अनुसारको रुपैयाँ लिई मैले कागज गरेको होइन । उक्त घरजग्गा कम्पनीलाई दिन मञ्जूर गरेपछि घरजग्गाको मोल थोरै रु.१,५०,०००। कायम गरी सो जग्गा मैले कम्पनीलाई राजीनामाको लिखत गरिदिने र सो लिखत पास भएपछि उक्त मूल्य भरको कम्पनीको शेयरको प्रमाणपत्र मलाई दिने कुरा सल्लाह तय भयो । लिखत पनि पास गरौं प्रमाणपत्र पनि दिनुहोस् भनी मैले भन्दा पास गर्न जाने बेलामा प्रमाणपत्र दिने भनी आलटाल गरी बसेको र शेयरको प्रमाणपत्र दिने तर्फ कुनै उच्चारण नगरी विना दामै लिने खाने नियत गरी नालेश गरेको हुन् प्रमाण बुझी गलत दावाबाट फूर्सतपाउँ भन्नेसमेत शुशिला रानीको ०३५।४।५ को प्रतिउत्तर पत्र ।

          ४.   ,५०,०००। लिएको भन्ने प्र.को लिखत समेत देखिएको लिखतको नामाकरण गर्न प्र.ले म्याद समेत गुजारी बसेको उक्त लिखत रीतपूर्वकको देखिई हदम्यादभित्रै नालेश पर्न आएको समेतबाट ०३४ साल मार्ग २९ रोज ४ को लिखत वादी दावी अनुसार पास हुने ठहर्छ भन्ने समेत ललितपुर जिल्ला अदालतको ०३६।८।६ को फैसला ।

          ५.   उक्त लिखत पास हुने ठहराएको इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा ०३६।१०।२०।१ मा परेको पुनरावेदन रहेछ ।

          ६.   लिखतमा लेखिएको रुपैयाँ बुझी नलिएको भन्ने कुराको सबूत प्रतिवादीले दिन नसकेको र होटल जया ईन्टरनेशनल प्रा.लि.तर्फबाट वादी आनन्दबहादुर वारेस अख्तियारनामा गरी दिए अनुरूप फिराद दर्ता रहेको देखिन आएबाट ल.पु.जि. अ.ले वादी दावीको लिखत पास हुने ठहराएको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।३।२९।२ को पुनरावेदन फैसला ।

          ७.   हकदैया नै नभएको व्यक्तिले दायर गरेको फिरादको आधारमा लिखत पास हुने ठहराएको ल.पु.जि. अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफमा अ.बं.८२ नं. को कानूनी त्रुटि विद्यमान भएकोले पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन पर्न आएकोमा यस अदालतको डिभिजन बेञ्चबाट कम्पनी ऐन, ०२१ को दफा ६९(४) बमोजिम अधिकार सुम्पी आफ्नो प्रतिनिधि खडा गर्न सक्ने व्यवस्था भए त्यसको अभावमा वादीलाई फिराद गर्ने हकदैया नहुँदा लिखत पास हुने ठहराएको फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने ०४०।१।१६ मा आदेश भएको ।

          ८.   पुनरावेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मधुप्रसाद शर्माले होटलसँग कारोवार भएको अवस्थामा कम्पनी ऐन अनुसार उक्त होटलले सो सम्बन्धमा नालेश गर्न होटलका तर्फबाट अधिकार सुम्पनु पर्नेमा यस मुद्दामा वादी आनन्दबहादुरलाई होटलका तर्फबाट के कसले अधिकार दिएको हो सो खुल्दैन हक अधिकार नभएको व्यक्तिले दिएको नालेश अ.बं.८२ नं. ले खारेज योग्य छ भन्ने समेत र विपक्षी तर्फबाट रहनुभएका भएका विद्वान अधिवक्ता श्री चुडामणीराजसिंह मल्लले होटलका तर्फबाट वादी आनन्दबहादुरबाट फिराद दर्ता भएकोले फिराद अ.बं.८२ नं. को प्रतिकूल नभएको कम्पनी ऐन, ०२१ को दफा ६९ का उपदफा (४) मा मुद्दा मामिलामा अधिकार सुम्पने व्यवस्था नभएको समेतबाट लिखत पास हुने ठहर्‍याएको शुरू इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          ९.   प्रस्तुत मुद्दामा मध्माञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के हो ? सो तर्फ नै मुख्य निर्णय दिनु पर्ने हुन आयो ।

          १०.  यसमा निर्णयतर्फ हेर्दा लिखत पास गरिपाउँ भनी होटल जया ईन्टरनेशनलका तर्फबाट आनन्दबहादुर श्रेष्ठको वा डिल्लीबहादुर कार्कीबाट फिराद दायर भएको देखिन्छ ।

          ११.   होटल जया इन्टरनेशनल कम्पनी ऐन, २०२१ बमोजिम संस्थापित भएको प्राइभेट कम्पनी हो भन्ने कुरामा कुनै विवाद देखिँदैन । उक्त कम्पनी ऐन, २०२१ को दफा ६९ ले कम्पनीको सम्पूर्ण कारोवारको प्रवन्ध अधिकारहरूको प्रयोग र कर्तव्यको पालन सञ्चालक समितिले गर्नेछ भन्ने लेखिएको छ । उक्त दफाको उपदफा (४) मा सञ्चालक समितिले आफू मध्येका कुनै संचालकलाई वा कम्पनीको कुनै कर्मचारीलाई सबै वा केही अधिकार सुम्पी आफ्नो प्रतिनिधि खडा गर्न सक्ने व्यवस्था गरेको देखिन्छ । प्रस्तुत फिरादपत्र उक्त ऐन बमोजिम सञ्चालक समितिले दायर गरेको देखिँदैन । होटलसँग कारोवार भएको यस्तो अवस्थामा सो सम्बन्धमा नालेश दिँदा आनन्दबहादुरले सञ्चालक समितिको तर्फबाट कस्तो अधिकार प्राप्त गरी यो नालेश दिएको हो सो फिरादमा कहीँ उल्लेख गर्न सकेको छैन साथै तत्सम्बन्धी कुनै कागज पनि मिसिलमा पेश गरेको देखिँदैन । फिरादमा होटल जया ईन्टरनेशनल प्रा.लि.को तर्फबाट भन्ने वाक्य लेख्दैमा उक्त ऐनको उद्देश्य परिपूर्ति भयो भन्न मिल्ने हुँदैन ।

          १२.  वादी तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ताले कम्पनी ऐन, २०२१ को दफा ६९ को उपदफा (४) मा मुद्दा मामिला गर्ने अधिकार सुम्पने व्यवस्था छैन, तसर्थः मुलुकी ऐन अ.बं.१७५ को देहाय ३ यसमा लागू हुन्छ भन्ने बहस प्रस्तुत गर्नुभएको छ, कम्पनी ऐन, २०२१ को दफा ६९ को उपदफा (१) मा यस ऐन र नियमावलीमा लेखिएका कुराहरू र साधारण सभाद्वारा समयसमयमा गरिएका निर्णयहरूका अधीनमा रही कम्पनीको सम्पूर्ण कारोवारको प्रवन्ध अधिकारहरूको प्रयोग र कर्तव्यको पालन सञ्चालक समितिले गर्नेछ भन्ने लेखिएको पाइन्छ । सो अनुसार उक्त उपदफाले कम्पनीको सम्पूर्ण अधिकारहरूको प्रबन्ध अधिकारहरूको प्रयोग गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्दछ भने उक्त ऐनको उपदफा (४) मा मुद्दा गर्नु भन्ने कुरा नलेखेको भन्नेबाट सञ्चालक समितिले गर्नुपर्ने कार्य अरूबाट हुन सक्दछ भन्ने तर्क गर्न मिल्ने होइन । अ.बं.१७५ को देहाय ३ मा बैंक कम्पनी वा अन्य संगठित संस्थाका मुख्य भई दैनिक प्रशासनको काम चलाउनेले सो बैंक कम्पनी वा संस्थाको लिने दिने हक दावी कायम गर्ने विषयको भन्ने लेखिएको देखिन्छ । उक्त ऐन बमोजिम उक्त कम्पनीको मुख्य भई दैनिक प्रशासनको काम चलाउने व्यक्ति आनन्दबहादुर हो भन्ने कुराको कुनै प्रमाण मिसिल सामेल रहेको देखिँदैन । फिरादपत्रमा पनि आनन्दबहादुरको पदाधिकार उल्लेख भएको देखिँदैन ।

          १३.  तसर्थ कम्पनीलाई गरिदिएको लिखत पारित गरिपाउँ भन्ने नालेश गर्ने अधिकार आनन्दबहादुरलाई भएको देखिएन । अधिकार नभएको व्यक्तिद्वारा दायर भएको यो नालेश अ.बं.८२ नं. ले खारेज हुने ठहर्छ लिखत पारित हुने ठहर्‍याई जिल्ला अदालतले गरेको निर्णय सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको देखिएन । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्न परेन.................. १

वादीलाई प्रतिवादीबाट शुरू ललितपुर जि. अ.का ०३६।८।६ का फैसलाले भराउने गरेको कोर्टफी अरू दस्तूर समेत जम्मा रू.१६। भरी भराउ गर्न नपर्ने हुँदा सो लगत कट्टा गरी दिनु भनी ल.पु.जि. अ.मा लेखी पठाउन का.जि. अ.मा लगत दिनु ..........................२

वादी दावीको लिखत शुरूले पास पूर्जि गरी दिने गरेको मुद्दा खारेज भएकोले सो बमोजिम पास पूर्जि गरी रहन परेन........................३

मिसिल नियम बमोजिम गरी बुझाई दिनु .....................४

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल आषाढ ३० गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु