शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९४० - बिक्री बदर

भाग: २६ साल: २०४१ महिना: असार अंक:

निर्णय नं. १९४०   ने.का.प. २०४१                   अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३९ सालको दे.पु.नं. ४७५

मुद्दा : बिक्री बदर

पुनरावेदक/वादी : जि. दोलखा चरिकोट भेडपु गा.पं. वडा नं. ७ बस्ने धनबहादुर तामाङ

विरूद्ध

विपक्षी/प्रतिवादी : ऐ ऐ गैरोटोल बस्ने ज्यामल सिंह लामा

फैसला भएको मिति :  २०४१।२।३०।३ मा

§  लेनदेन व्यवहारको २६ नं. मा अघि लेखाई लिएको बन्धकी जग्गा पछिल्लोले हक छुटाई लिएको रहेछ भने अघिल्लोको बन्धकी थैली तिरी लिखत बमोजिम भोग गर्न पाउँ भनेमा पाउँछ भन्ने व्यवस्था भएको पाइने ।

(प्रकरण नं. १२)

पुनरावेदक वादी तर्फबाट : x

विपक्षी प्रतिवादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ ।

          २.  श्रीमाला तामाङनीबाट खोपी ढुङ्गासमेत ३ कित्ता जग्गा २०२१।१।२९ मा रु.१८००। मा भोगबन्धकी पारित गरी लिई भोगी आएको सो जग्गा २०२७।३।१ मा गंगामाया ज्यामल सिंह लिने श्रीमाला दिने गरी राजीनामा गरेछन् सो बिक्री बदर गरिपाउँ भन्ने फिराद दावी ।

          ३.  बन्धकी थैली ऋण साधन भइसकेको हुँदा राजीनामा लिनु दिनु गरेको हो बिक्री बदर हुनु पर्ने होइन भन्ने समेत प्रतिउत्तर ।

          ४.  प्र.गंगामाया र श्रीमालाले शुरू म्यादै गुजारी बसेको रहेछ ।

          ५.  प्रतिवादी जिकिर अनुसार ऋण साधन भएको सबूत दाखिल हुन नपाएकोले बिक्री बदर हुने ठहर्छ भन्ने दोलखा जि. अ.को फैसला ।

          ६.  उक्त फैसलामा चित्त बुझेन भन्ने ज्यामल सिंहको पुनरावेदन ।

          ७.  २०२७।३।१ को राजीनामा देखिँदा भोगबन्धकी वालाको थैली तिरी लिखत बमोजिम राजीनामावालाले भोग गर्न पाउने देखिँदा लिखत बदर हुने ठहर्‍याएको शुरूको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको फैसला ।

          ८.  उक्त इन्साफमा चित्त बुझेन इन्साफ जाँच गरिपाउँ भनी वादीले दिएको बिन्तिपत्रमा इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएको ।

          ९.  धनबहादुरले भोगबन्धकी लिएको र ज्यामल सिंहले राजीनामा गराई दिएको हुँदा पछिल्लोले अघिल्लोको बन्धकी थैली तिरी भोग गर्न पाउने व्यवस्था भएको र बन्धकी थैली ऋण साधन भइसकेको सबूत प्रमाण दाखिल नभएको हुँदा ज्यामल सिंहले धनबहादुरको थैली नबुझाएसम्म विवादको जग्गामा धनबहादुरको भोग अधिकार रहने र बन्धकी थैली तिरी भोग गर्न चाहेमा भोग गर्न पाउने नै हुँदा राजीनामा बिक्री बदर हुन सक्तैन भन्ने समेत म.क्षे.अ.को फैसला।

          १०. उक्त म.क्षे.अ.को इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी धनबहादुर तामाङले दिएको निवेदनमा यसमा २०२१।१।२९ मा भोगबन्धकी लिई भोगी आएको जग्गा ०२७।३।१ मा राजीनामा गरेको बदर गरिपाउँ भन्ने वादीको फिराद परी कारवाई चलेको प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको २६ नं. को उल्लेख गर्दै बिक्री बदर हुन नसक्ने ठहर्‍याई म.क्षे.अ.बाट निर्णय भएको देखिन्छ । लाग दावी तथा प्रतिउत्तर लेखाइबाट समेत लेनदेन व्यवहारको २६ नं. प्रस्तुत मुद्दामा प्रयोग गरी क्षे.अ.ले गरेको निर्णय त्रुटिपूर्ण देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्त्वको हुँदा न्या. प्र.सु.ऐनको दफा १३(५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छभन्ने समेत २०३९।९।१६ को यस अदालत डिभिजन बेञ्चको आदेश रहेछ ।

          ११.  वादी प्रतिवादी दुवै थरको वारिसलाई रोहवरमा राखी मिसिल संलग्न कागजातहरू हेरी म.क्षे.अ.ले गरेको निर्णय मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने प्रश्न उपस्थित हुन आएको छ ।

          १२. यसमा २०२१।१।२९ मा श्रीमाला तामाङनीबाट भोगबन्धकीमा लिएको ३ कित्ता जग्गा २०२७।३।१ मा गंगामाया ज्यामल सिंह तामाङ लिने र श्रीमाला तामाङनी दिने गरी राजीनामा गरेछन् सो बिक्री बदर गरिपाउँ भनी फिराद दावी लिएकोमा बन्धकी थैली ऋण साधन भइसकेको नदेखिएको र ज्यामल सिंहले धनबहादुरको थैली नबुझाएसम्म बिक्री बदर गरिपाउँ भनेको जग्गामा धनबहादुरको भोगाधिकार रहने र बन्धकी थैली तिरी भोग गर्न चाहेमा भोग गर्न पाउने नै हुँदा राजीनामा बिक्री बदर हुन सक्तैन भन्ने समेत म.क्षे.अ.बाट निर्णय भएको देखिन्छ । म.क्षे.अ.को उक्त निर्णय मिले नमिलेको के हो त्यसतर्फ हेर्दा वादी धनबहादुर तामाङले बिक्री बदर गरिपाउँ भनेको जग्गा २०२१।१।२९ मा भोगबन्धकी लिएको र प्र.ज्यामल सिंह लामाले उक्त जग्गामा २०२७।३।१ मा राजीनामा गराई लिएको कुरामा विवाद देखिन्न लेनदेन व्यवहारको २६ नं. मा अघि लेखाई लिएको बन्धकी जग्गा पछिल्लोले हक छुटाई लिएको रहेछ भने अघिल्लोको बन्धकी थैली तिरी लिखत बमोजिम भोग गर्न पाउँ भनेमा पाउँछभन्ने व्यवस्था भएको पाइन्छ । यस्तो स्थितिमा प्र.ज्यामल सिंह लामाले बन्धकीवाला साहु वादी धनबहादुरको बन्धकी थैली नबुझाए सम्म बिक्री बदर गरिपाउँ भनेको जग्गामा वादीको भोगाधिकार कायम रहने र वादीको बन्धकी थैली तिरी जग्गा भोग गर्न चाहेमा प्र.ज्यामल सिंह लामाले राजीनामा बमोजिमको जग्गा भोग गरी खान पाउने नै हुँदा प्र.ज्यामल सिंह लामाको राजीनामा बिक्री बदर हुन नसक्ने ठहराएको म.क्षे.अ.को निर्णय मिलेकै देखिन्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन । कोर्टफी राखी पुनरावेदन गरेको हुँदा पुनरावेदकलाई केही गरी रहन परेन । मिसिल नियमानुसार बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४१ साल ज्येष्ठ ३० गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु