निर्णय नं. १९४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १९४१ ने.का.प. २०४१ अङ्क ३
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री जोगन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको रि.नं. १२९५
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : जि. नुवाकोट खड्का भञ्ज्याङ गा.पं. वडा नं. ९ बस्ने कुवरबहादुर राई
विरूद्ध
विपक्षी : ऐ ऐ वडा नं. ८ बस्ने झपराज अधिकारी
मालपोत विभाग मुकाम अर्थ मन्त्रालय
नुवाकोट माल कार्यालय, नुवाकोट
आदेश भएको मिति : २०४१।३।९।६ मा
§ लगत कट्टा गर्ने गरेको मालपोत विभागको निर्णयको आधारबाट मालपोत कार्यालय नुवाकोटले लगत कट्टा गरेको कानून बमोजिम नै कट्टा भएको देखिने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : x
विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ
उल्लेखित मुद्दा : x
आदेश
न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषण लगायत जुन उपयुक्त हुन्छ, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने समेत २०३९।११।१ मा रिट निवेदन पर्न आएको रहेछ ।
२. संक्षिप्त तथ्य तथा निवेदन जिकिर : २०१९ सालदेखि आवाद भएको सोही सालदेखि बाली आउने गरी सिमली भन्ने खेत मोही कुवेर राई भनी मेरा नाउँमा दर्ता भएको मोठ खडा गरी दिएकाले सो बमोजिम तिरो भरो गरी जोती आएको र जो.अ.नि.समेत पाएको अवस्था विपक्षी झपराजले उक्त जग्गा सन्धी सर्पन गर्ने भनी मालमा उजूर गरेछन् र त्यसैको आधारमा मालबाट लगत कट्टा गर्ने भनी लेखी पठाई मालपोत विभागबाट ०३६।४।२७ मा नियम बमोजिम लगत कट्टा गराउन लेखी पठाउने निर्णय भएको र मालपोत कार्यालयले मेरो दर्ताको लगत कट्टा गरी दिएको रहेछ । नापीमा उक्त जग्गा खड्का भञ्ज्याङ गा.पं. वडा ९ कि.नं. ३०७ मा कुलो चौर भनी जग्गाधनी महलमा लेखिएको रहेछ ज.ध.प्र.पू.माग्न जाँदा नापीमा कुलो र चौर भई नापी भएकोले दिन मिलेन भनी ज.ध.प्र.पू.मलाई दिइएन । उजूरीवाला र दर्तावालाको बीचमा तेरो मेरो भएपछि तेरो मेरो भएकोमा मालपोत विभागलाई निर्णय गर्न कुनै अधिकार छैन । अतः अ.बं.३५ नं. को प्रतिकूल छ । मेरो दर्ता तिरो भरोको जग्गाको लगत कट्टा गर्ने र नापी फिल्डबुकमा जनाउन पूर्जि लेख्ने समेत सबै कार्य गैरकानूनी छ । अतः मालपोत विभागको ०३६।४।२७ को लगत कट्टा गर्न लेखी पठाउने निर्णय र सो निर्णय आधारबाट नुवाकोट माल कार्यालयले लगत कट्टा गरेको समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी निजलाई ज.ध.प्र.पू.दिनु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने रिट निवेदन जिकिर रहेछ ।
३. यसमा के कसो भएको हो ? सम्बन्धित विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत सिङ्गलबेञ्चको ०३९।११।३ को आदेश रहेछ ।
४. झपराज समेतले कुवेर राईले सन्धिसर्पनको जग्गा आवाद गरे भन्ने उजूरीमा तत्कालीन धादिङ मालबाट जग्गा जाँच किल्लापूर्व चौतारो मुनि बाटो भनेकोमा चौतारा नेरको सानो खहरे छिचलिने मलेसो पश्चिम पानी आँपको रूख खोल्सी उत्तर चौतारो भनेकोमा चौतारा देखि १० हात तल चौर साँध दक्षिण कुलो सिमली भन्ने पाखो जग्गा मोही कुवेर राई बुधसिं ढकाल टार सेर्मा रु.।५० लागेको जग्गा अन्तिम अपीलको अवस्था नाघेपछि आलिवालीको लगत कट्टा गर्न जाहेर गर्ने फैसला भए उपर प्र.जि. अ.कार्यालयमा पुनरावेदन परी वादी दावी बमोजिम ५ गाउँको पानी घाट भएकोले सो जग्गा सन्धिसर्पन कायम राखी बीच मिल्नमा मञ्जूर छ भनी निवेदन दिई २०२९।६।२५ मा मिलापत्र भई सो मिलापत्र बमोजिम मालपोत विभागबाट लगत कट्टा गर्ने निर्णय भई आए अनुसार लगत कट्टा गरिएको हो । गैरकानूनी तरिकाले लगत कट्टा गरिएको छैन होइन । अतः रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत मालपोत कार्यालय नुवाकोटको लिखितजवाफ ।
५. विपक्षी स्वयंले ७।१४ नं. फाराम भरेको भएतापनि सन्धिसर्पन पर्ने भएकोले जग्गाधनी स्वामित्व छाडी मिलापत्र गरी सकेपछि पुनः अस्थायी निस्सा लिएको प्रमाण ऐनको दफा ३४ ले विबन्धन लाग्ने प्रष्ट नै छ । निजले जो.अ.नि.पाएको सबूत दिन सक्नुभएको समेत छैन । धादिङ जिल्ला कार्यालयमा भएको मिलापत्र बमोजिम भएको कारवाई गैरकानूनी भन्न मिल्दैन र सो मिलापत्रको कुरा लुकाई निवेदन गर्नुभएकोबाट मिलापत्र गैरकानूनी भन्ने दावी लिनुभएको पनि छैन । म लिखित जवाफवालाले मालपोत कार्यालय र जिल्ला कार्यालय धादिङको मिलापत्र बमोजिम फैसला कार्यान्वयन गरी पाउन दरखास्त दिई कार्यान्वयन सम्म भएको हो यस्तोमा तेरो मेरोको प्रश्न उठ्नै सक्तैन । नापीले गलत नापी गरेको भए समयमै उजूर वाजुर गर्ने अधिकार छँदै थियो सो नगरी असाधारण अधिकार क्षेत्र गुहार्न आएको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी हुने होइन खारेज गरिपाउँ भन्ने समेत झपराज अधिकारीको लिखितजवाफ ।
६. मालपोत विभागले लिखितजवाफ प्रस्तुत गरेको रहेनछ ।
७. निवेदक र विपक्षीको वारिसलाई रोहवरमा राखी मालपोत कार्यालयको तर्फबाट खटिई आउनुभएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले गर्नुभएको बहस समेत सुनी निवेदकको माग बमोजिमको आदेश जारी हुने हो होइन ? निर्णय दिनु पर्ने प्रश्न उपस्थित हुन आएको छ ।
८. यसमा मेरो नाउँ दर्ताको मेरो तिरो भोगको जग्गाको लगत कट्टा गर्ने गरेको मालपोत विभागको ०३६।४।२७ को निर्णयको आधारबाट नुवाकोट माल कार्यालयबाट लगत कट्टा गरेको समेत गैरकानूनी हुँदा बदर गरिपाउँ भन्ने समेत निवेदकको भनाई भएकोमा सो बमोजिम गर्न मिल्ने हो होइन भनी त्यसतर्फ हेर्दा झपराज समेतले कुबेरराजले सन्धिसर्पनको जग्गा आवाद गरे भन्ने उजूरी उपर सन्धिसर्पनको जग्गा आवाद गरेको मालपोत कार्यालयको ठहर उपर प्र.जि. अ.का.धादिङमा पुनरावेदन पर्दा कुवेर राईले जिकिर लिए बमोजिमको सेराको चौरको चौतारा मुनिको खहरे भन्ने जग्गा खनजोत गरी भू.सु.को ७ –१४ नं. फाराम भरेको छु । तापनि वादी दावी बमोजिम ५ गाउँको पानी घाट भएकोले सो जग्गा सन्धिसर्पन कायम राखी मिल्नमा मञ्जूर छु भनी कुवेर राई समेतको बीचमा मिलापत्र भएको आधारमा मालपोत विभागबाट लगत कट्टा गर्ने निर्णय भई सो निर्णय बमोजिम लगत कट्टा गरिएको हो भन्ने मालपोत कार्यालय नुवाकोटको लिखितजवाफमा लेखिएको हुँदा लगत कट्टा गर्ने गरेको मालपोत विभागको निर्णयको आधारबाट मालपोत कार्यालय नुवाकोटले लगत कट्टा गरेको कानून बमोजिम नै कट्टा भएको देखिनाले निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । रिट निवेदन खारेज हुने ठहर्छ फाइल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४१ साल आषाढ ९ गते रोज ६ शुभम् ।