शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९४२ - बन्दीप्रत्यक्षीकरण

भाग: २६ साल: २०४१ महिना: असार अंक:

निर्णय नं. १९४२ ने.का.प. २०४१             अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको रिट नं. १७२९

विषय : बन्दीप्रत्यक्षीकरण

निवेदक : पूर्व २ नं. रामेछाप जिल्ला मेलङ्ग घर भै हाल जिल्ला कार्यालय कारागार शाखा काठमाडौमा थुनामा रहेको ठूलो कान्छा भन्ने रामबहादुर तामाङ

विरूद्ध

विपक्षी    : भक्तपुर जिल्ला अदालत

काठमाण्डौ जिल्ला अदालत

वागमती विशेषा अदालत

जिल्ला कार्यालय कारागार शाखाऽ काठमाडौं

आदेश भएको मिति : २०४१।३।१३।३ मा

§  डाँका मुद्दामा कैद वर्ष ६ र रू.१,४०७।३७ जरिवाना तथा सोही डाँका मुद्दामा बागमती विशेष अदालतबाट रु.४००। जरिवाना गर्ने गरी फैसला भएपछि सो कैद भुक्तान नहुँदै चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाका लगतहरू थपी जम्मा कैद १६ वर्ष ६ महीना कैदको लगत कसेको मिलेको नदेखिने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : x

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री इन्द्रराज पाण्डे   

उल्लेखित मुद्दा : x

 

आदेश

          न्या. सुरेन्द्रप्रसाद सिंह : कानून बमोजिम लाग्ने भन्दा बढी कैदको लगत कसी कारागारमा राखेको हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदन पत्रको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

          २.   म निवेदकलाई भक्तपुर जिल्ला अदालतले मिति ०३१।५।२ मा डाँका मुद्दा फैसला गरी ६ वर्ष म्यादी कैद र जरिवाना रु.१,४०७।३७ बापतको कैद नै ३ वर्ष गरी जम्मा ९ वर्ष कैद लगाएको छ । काठमाडौं जिल्ला अदालतले ०३२।११।१० मा चोरी मुद्दा फैसला गर्दा ९ महीना कैद र रु.८४३।८४, मिति ०३३।६।४ मा र ०३४।११।६ मा चोरी मुद्दाको फैसला गर्दा क्रमशः २ वर्ष ९ महीना र ४ वर्ष ४ महीना १५ दिन कैद गर्ने गरी र बागमती विशेष अदालतले डाँका (पुरानो मूर्ति) मुद्दामा फैसला गर्दा रु.४००। जरिवाना गर्ने गरी फैसला भएको छ । भक्तपुर जिल्ला अदालत र बागमती विशेष अदालतले फैसला गरेको डाँका मुद्दा एउटा मात्र हो । चोरीका २८ नं. ले लाग्नु पर्ने बिगो नतिरे बापतको कैद वर्ष ४ र म्यादी कैदवर्ष ६ समेत १० वर्ष मात्र कैद हुनु पर्नेमा १६ वर्ष ६ महीना कैदको लगत कसिएको छ । दण्ड सजायका ४१ नं. ले जुन ठूलो कलमको कैद छ सो मात्र लाग्दछ । मलाई ०३०।७।२८ गतेदेखि थुनामा राखीएकोमा ०४० साल कार्तिक २८ गते म जेल बसेको १० वर्ष भयो तसर्थः ऐन विपरीत ठेकेको कैद ६ वर्ष ६ महीना लगत घटाई संविधानको धारा ७१ अन्तर्गत बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी कारागारबाट मुक्त गरिपाउँ भन्ने समेतको ठूलो कान्छा भन्ने रामबहादुर तामाङको रिट निवेदन पत्र ।

          ३.   यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षी हरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस अदालत सिं.बे.को ०४०।८।१९ को आदेश ।

          ४.   शेरबहादुर लामाको जोहरीले श्री ५ को सरकार भएको डाँका मुद्दामा ०३९।५।२ मा कैद वर्ष ६ र जरिवाना रु.१४०७।३७ भई कैद वर्ष ६ भुक्तान भएपछि जरिवाना बापत कैदवर्ष ३ गाभी ९ वर्ष कैदको लगत कसिएको कानून अनुरूप नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको भक्तपुर जिल्ला अदालतको लिखितजवाफ रहेछ ।

          ५.  शेरबहादुर लामाको जोहरीबाट श्री ५ को सरकार वादी भएको डाँका (१०० वर्ष नाघेको मूर्ति) मुद्दामा निवेदकलाई रु.४००। जरिवाना गरी यस अदालतबाट फैसला भएको हो । द.स.को ४१ नं. मा कैदको कुरा मात्र उल्लेख छ जरिवानातर्फ सो ऐनले कुनै बन्देज गरेको छैन रिट निवेदकले पनि जरिवानातर्फ कुनै उल्लेख गर्न सकेको छैन र लामो समय पछि मात्र निवेदन पर्न आएको देखिँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको बागमती विशेष अदालतको लिखितजवाफ रहेछ ।

          ६.   विपक्षी मध्येका काठमाडौं जिल्ला अदालत जिल्ला कार्यालय कारागार शाखा काठमाडौंका नाउँमा रीतपूर्वकको म्याद तामेल भएकोमा लिखितजवाफ पर्न आएको नदेखिएको ।

          ७.  नियम बमोजिम साप्ताहिक एवं दैनिक मुद्दा पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदन पत्रमा विपक्षी भक्तपुर जिल्ला अदालत समेतको तर्फबाट खटिई आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।

          ८.   निर्णयतर्फ विचार गर्दा, यसमा निवेदक कान्छा भन्ने रामबहादुर तामाङलाई भक्तपुर जिल्ला अदालतका मिति ०३१।५।२ का फैसलाले डाँका मुद्दामा कैद वर्ष ६ र जरिवाना रु.१,४०७।३७ बापतको कैद वर्ष ३ गरी जम्मा ९ वर्ष कैदको सजाय गरेपछि सोही डाँका (पुरानो मूर्ति) मुद्दामा बागमती विशेष अदालतले २०३३।२।२६ का फैसलाले रु.४००। जरिवाना गरी काठमाडौं जिल्ला अदालतबाट ०३२।११।१० मा चोरी मुद्दामा फैसला गर्दा ९ महीना कैद रु.८४३।८४ जरिवाना, ०३३।६।४ मा चोरी मुद्दामा फैसला गर्दा २ वर्ष ९ महीना कैद तथा ०३४।११।६ मा चोरी मुद्दामा फैसला गर्दा ४ वर्ष ४ महीना १५ दिन कैद गरी जम्मा १६ वर्ष ६ महीना कैदको लगत कसेको देखिन्छ । मुलुकी ऐन दण्ड सजाएको ४१ नं. एकै मानिसलाई एकै वा धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको सवभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्छ । त्यसरी कैद ठेकिएकोमा कैद भुक्तान हुन नपाउँदै अर्को कलममा कैद ठेक्नु पर्ने भयो र अघि ठेकिएको जम्मा कैद भन्दा पछि ठेक्नु पर्ने कलमको हद बढी छ भने अघि कैद ठेक्दा थुनामा परेको मितिदेखि पछि ठेकिएको कलमको हद ननाघ्ने गरी कैद ठेक्नु पर्छ । अघि ठेकिएको कैद भन्दा पछि ठेक्ने कलमको हद घटी रहेछ भने थप कैद ठेक्नु पर्दैन ।भन्ने व्यवस्था भएको पाइन्छ । सो अनुसार रिट निवेदकलाई भक्तपुर जिल्ला अदालतले २०३१।५।२ मा डाँका मुद्दामा कैद वर्ष ६ र रु.१,४०७।३७ जरिवाना तथा सोही डाँका (पुरानो मूर्ति) मुद्दामा बागमती विशेष अदालतबाट रु.४००। जरिवाना गर्ने गरी फैसला भएपछि सो कैद भुक्तान नहुँदै चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाका लगतहरू थपी जम्मा कैद १६ वर्ष ६ महीना कैदको लगत कसेको मिलेको देखिएन । भक्तपुर जिल्ला अदालतका ०३१।५।२ का फैसला अनुसार ६ वर्ष कैद र सोही फैसला अनुसारको जरिवाना रू.१,४०७।३७ तथा बागमती विशेष अदालतले गर्ने गरेको जरिवाना रु.४००। समेत जम्मा रु.१,८०७।३७ बापत मुलुकी ऐन चोरीको २८ नं. बमोजिम हुने कैद वर्ष ४ समेत निवेदकलाई १० वर्ष कैदको लगत कस्नु पर्ने देखिन्छ निज मिति ०३०।७।२८ गतेदेखि थुनामा रहेको देखिएको मितिले ०४०।७।२७ गते सो १० वर्ष कैद भुक्तान भइसकेको देखिनाले रिट निवेदक ठूलो कान्छा भन्ने रामबहादुर तामाङलाई थुनाबाट अविलम्व छाडी दिनु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षी कार्यालयहरूमा पठाई नियम बमोजिम गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४१ साल आषाढ १३ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु