निर्णय नं. १९४३ - घर भत्काई चलन चलाई पाउँ

निर्णय नं. १९४३ ने.का.प. २०४१ अङ्क ३
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
सम्वत् २०३९ सालको दे.पु.नं. ४६६
मुद्दा : घर भत्काई चलन चलाई पाउँ
पुनरावेदक/प्रतिवादी : भ.पु.बागेश्वरी गा.पं. वडा नं. ३ बस्ने विष्णुप्रसाद लामिछाने
विरूद्ध
विपक्षी/वादी : ऐ ऐ बस्ने ज्ञानबहादुर भारती
फैसला भएको मिति : २०४१।३।२५।१ मा
§ जवरजस्ती घर बनाएको भन्ने समेत सबूत प्रमाणबाट देखिन आएका आधारमा मुलुकी ऐन घर बनाउनेको ४ नं. अन्तर्गत घर भत्काई दिने ठहर्याई गरेको इन्साफ मनासिब ठहर्ने ।
(प्रकरण नं. १०)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री विष्णु प्रसाद नेपाली
विपक्षी वादी तर्फबाट : विद्वान अधिबक्ता श्री गंगा प्रसाद उप्रेती
उल्लेखित मुद्दा : x
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : म.क्षे.अ.को इन्साफ उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ ।
२. देवीप्रसादको हकको बागेश्वरी गा.पं. वडा नं. ३(ख) कि.नं. १७१ को जग्गा रोपनी १–८–० रु.३५००। मा विपक्षको श्रीमती डोलकुमारीलाई ०२८।१२।६ मा बिक्री गरेको थाहा पाई धरौट राखी निखनाई पाउँ भनी निवेदन गरेकोमा जग्गा निखन्न पाउने भू.प्र.का.भ.पु.बाट फैसला भए उपर विपक्षीको प्र.जि. अ.का.मा पुनरावेदन परी भू.प्र.का.को निर्णय सदर भई निखनी पाएको जग्गामा मेरो मञ्जूरी बेगर जग्गा मिची घर बनाएकोले नालेश गर्न आएको छु । उक्त घर बनाउनेको ४ नं. बमोजिम भत्काई पाउँ भत्काई नलगेमा मेरो सदर गरिपाउँ भन्ने समेत फिराद दावी ।
३. जग्गाधनीले गरी दिएको स्वीकृति कागज बमोजिम उक्त जग्गा घर ०२७ सालमै तयार गरी बसी आएको छु । वादी जिकिर झुठ्ठा हो भन्ने समेत प्रतिउत्तर ।
४. वादीको साक्षी कुमार, गोपालप्रसाद, रामबहादुर, रामचन्द्रप्रसाद, भोजराज समेतको बकपत्र तथा मूल्य निर्धारण मुचुल्का भएको ।
५. घर बनाउनेको ४ नं. अनुसार घर भत्काई दिने ठहर्छ भन्ने समेत भ.पु.जि. अ.को फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुनरावदेन ।
७. घर बनाउनेको ४ नं. अन्तर्गत घर भत्काई दिने ठहर्याएको भ.पु.जि. अ.को इन्साफ सदर भन्ने समेत म.क्षे.अ.को फैसला ।
८. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन परेकोमा न्या. प्र.सु.ऐनको दफा १३(५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत २०३९।८।९ गतेको डिभिजन बेञ्चको आदेश रहेछ ।
९. पुनरावेदक प्रतिवादी विष्णुप्रसाद लामिछानेका तर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपालीले र विपक्षी वादी तर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले गर्नुभएको बहस समेत सुनियो मुख्यतः मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णय मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१०. यसमा यिनै पक्ष विपक्ष भएको दे.पु.नं. ४६७ को र फौ.पु.नं. ३२२ को जालसाजी मुद्दा समेतमा शुरूको इन्साफ मनासिब ठहर्याई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब ठहरी आजै यसै बेञ्चबाट फैसला भएको र वादीको निखनाई पाउँ भन्ने उजूर परिसकेपछि जबरजस्ती घर बनाएको भन्ने समेत सबूत प्रमाणबाट देखिन आएका आधारमा मुलुकी ऐन घर बनाउनेको ४ नं. अन्तर्गत घर भत्काई दिने ठहर्याई शुरू भक्तपुर जिल्ला अदालतले गरेको इन्साफ मनासिब ठहर्याई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी वास्तोला
इति सम्वत् २०४१ साल आषाढ २५ गते रोज १ शुभम् ।