शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: असार अंक:

निर्णय नं. १९४५   ने.का.प. २०४१           अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०४० सालको रिट नम्बर १८५५

विषय : उत्प्रेषण

निवेदक : जि. सिन्धुपाल्चोक वाडे गा.पं. वार्ड गा.पं. वार्ड नं. ७ पञ्यू बस्ने थिरबहादुर तामाङ

विरूद्ध

विपक्षी   : सिन्धुपाल्चोक जिल्ला अदालत

दिप बहादुर गिरीके जाहेरीले श्री ५ को सरकार, मार्फत स.स.अ. तथा स.स.अ.को कार्यालय सिन्धुपाल्चोक

आदेश भएको मिति :   २०४१।३।३०।६ मा

§  तपसीलका साक्षीहरूमा भलादमी तीनजना र स्थानीय गाउँ पञ्चायतका सदस्य पनि बसी तामेल भएको देखिनाले म्याद अ.बं.११० नं. को रीतपूर्वक तामेल नभएको भन्न नमिल्ने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ

उल्लेखित मुद्दा : x

आदेश

          न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ ।

          २.  थिरबहादुर, संचार तामाङ उपर जिउ मास्ने बेच्नेको १ नं. र दावा ग्याल्वोलाई ऐ ४ नं. अनुसार सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवदेन परेकोमा ग्याल्वो सावित हुँदा कैद वर्ष ५ हुने र थिरबहादुरको नाउँको म्याद ०३८।३।९ मा तामेल भएकोमा गुजारी बसेको र सरजमीनले अपराध गरेको भनी बकपत्र गरेकोले केटी बिक्री गरी नसक्दैको हुँदा जिउ मास्ने बेच्नेको १ नं. ले १० वर्ष कैद हुने ठहर्छ भन्ने समेत सि.पा.जि. अ.बाट ०३९।३।१८ मा फैसला भएको रहेछ । सो कुरा २०४० बैशाखमा नक्कल सारी हेर्दा थाहा पाएँ ।

          ३.  मैले कुनै कसूर गरेको छैन । मेरो नाममा ०३८।३।९ मा तामेल भएको भनेको म्याद वेरीतको छ । वार्ड गा.पं. वडा नं. ७ मा बसोवास नभएको भनी लाकुरीको बोटमा टाँसेको भनी टाँस्दै नटाँसी झुठ्ठा व्यहोरा उल्लेख भएको रहेछ । सो म्याद उपर उजूर गरेकोमा कानून बमेजिम गर्नु भनी म.क्षे.अ.बाट आदेश भएको छ । मेरो घर सोही ठाउँमा छ । घर फेला नपरे वादीबाट अ.बं.१३३ नं. बमोजिम कागज गराई खुलाउनु पर्नेमा सो गरिएको छैन । विपक्षी अदालतबाट ०३८।२।२१ मा पनि एउटा म्याद मेरा नाउँमा तामेल भएको रहेछ । त्यसमा मेरो घर डेराको ठेगानामा टाँसेको भन्ने उल्लेख भएको रहेछ सो म्याद बदर भएको रहेछ । पहिलो म्यादमा घर पत्ता लाग्ने पछिल्लो म्यादमा घर बसोवास पत्ता नलाग्ने भन्ने काम कारवाही परस्पर बाझिएको छ । यसरी उक्त म्याद अ.बं.११० नं. तथा ११२ नं. को रीत नपुगेको हुँदा मैले प्रतिवाद गर्ने मौकाबाट समेत वञ्चित हुनु परेकोले सि.पा.जि. अ.को मिति ०३९।३।१८ को फैसला प्राकृतिक न्याय सिद्धान्त विपरीत हुँदा मलाई असर गरेको सम्म उत्त फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम प्रतिवाद गर्ने मौका दिई फैसला गर्नु भनी परमादेश आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन ।

          ४.  विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालतको आदेशानुसार प्राप्त हुन आएका लिखितजवाफहरू यस प्रकार छन् :

          ५.  सम्मानीत अदालतबाटै समाहृवान जारी भई पक्राउ गरी सजाय हुन अनुरोध गरिएकोमा म्याद गुजारी बसेको भनी फैसलामा उल्लेख भएको छ । यस कर्यालयसँग सम्बन्धित नभएको कुरामा जिकिर लिएको रिट खारेज हुनुपर्दछ भन्ने समेत स.स.अ.तथा स.स.अ.कार्यालय सिन्धुपाल्चोकको लिखितजवाफ ।

          ६.  म्याद तामेली झुठ्ठा भए कीर्ते कागजको ३ नं. बमोजिम १८ नं. का म्यादभित्र जालसाजीमा उजूर गर्न सक्नु पर्ने सो गरिएको छैन । म्याद वेरीत भए पनि अ.बं.२०८ नं. बमोजिम पुनरावेदन तहमा प्रतिवाद गर्न पाउनेमा सो गरिएको छैन । यस्तो कानूनी उपचारको मार्ग नअपनाई असाधारण क्षेत्रमा रिट निवेदन गर्न आएको र यस अदालतको ०३९।३।१८ को फैसला कानून अनुरूप हुँदा समेत रिट खारेज गरिपाउँ भन्ने समेत सिन्धुपाल्चोक जिल्ला अदालतको लिखितजवाफ ।

          ७.  रिट निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले विपक्षी अदालतबाट रिट निवेदकका नाउँमा अ.बं.११० नं. को प्रतिकूल म्याद तामेल भएको हुँदा प्रतिवाद गर्न नपाई प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय भएको हुँदा सि.पा.जि. अ.को निर्णय बदरभागी छ भन्ने समेत र विपक्षी अदालत समेतका तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले रिट निवेदकका नाउँमा रीतपूर्वक म्याद तामेल भएकोमा म्यादमा उपस्थित भई प्रतिवाद गर्न नसकेको हुँदा प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय गरेको भन्न मिल्दैन । म्याद वेरीत भए अ.बं.२०८ नं. बमोजिम पुनरावेदन तहमा प्रतिवाद गर्नुपर्ने हो । तसर्थः रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          ८.  प्रस्तुत विवादमा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुरामा निर्णय दिनुपरेको छ ।

          ९.  निर्णयतर्फ विचार गर्दा यसमा सिन्धुपाल्चोक जिल्ला अदालतले प्राकृतिक न्याय सिद्धान्तको विरूद्ध र अ.बं.११० नं. ११२ नं. को विपरीत प्रत्यक्षतः कानूनी त्रुटिपूर्ण फैसला गरी नेपालको संविधानको धारा ११(२)(ङ) धारा १० समेतबाट प्राप्त मेरो मौलिक हक हनन् गरेकोले नेपालको संविधनको धारा १६।७१ अन्तर्गत निवेदन गर्न आएको छु भन्ने समेत रिट निवेदन पत्रमा लेखिएको पाइन्छ ।

          १०.  रिट निवेदकका नाममा मिति २०३८।३।९ मा तामेल भएको म्याद हेर्दा उक्त म्याद टाँस हुँदा देहायका मानिस बसेको भनी तपसीलका साक्षीहरूमा भलादम्ी तीनजना र स्थानीय गाउँ पञ्चायतका सदस्य पनि बसी तामेल भएको देखिनाले उक्त म्याद अ.बं.११० नं. को रीतपूर्वक तामेल नभएको भन्न मिलेन सो म्याद नलेखिएको पञ्चायत वडामा रिट निवेदकको घर धुरी बसोबास छैन भनी तामेल भएकोमा सोही ठाउँमा घरबास छ भनी रिट निवेदकको भनाई भएकोमा घरबास भएकोलाई घरबास छैन भनी म्याद तामेल गरेमा सो म्याद उपर प्रचलित कानूनले नालेश लाग्न सक्ने अन्य उपचारको बाटो भएकै देखिन्छ मिति २०३८।२।२१।४ मा सोही सि.पा.जि. अ.बाट म्याद तामेल हुँदा घरबास देखिएकोले सोही ठाउँमा घरबास छ भन्ने रिट निवेदकको भनाईको हकमा समयसमयमा घरबास धुरी परिवर्तन भई रिट निवेदक अन्यत्र सर्न पनि सक्ने नै हुँदा त्यतिकै नाताबाट उक्त मिति २०३८।३।९ मा रीतपूर्वक तामेल भएको म्यादलाई अ.बं.११० नं. को रीत पुगेन भन्न मिल्ने देखिएन तसर्थः मिति २०३८।३।९ मा तामेल भएको म्याद रीतपूर्वक तामेल भएको देखिँदा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. त्रिलोकप्रताप राणा

 

इति सम्वत् २०४१ साल आषाढ ३० गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु