शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९४६ - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: असार अंक:

निर्णय नं. १९४६ ने.का.प. २०४१             अङ्क ३

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०३९ सालको रिट नम्बर ११४१

विषय : उत्प्रेषण

निवेदक : जिल्ला सर्लाही साविक गा.पं. लक्ष्मीपुर वा.नं. २ हाल फुलपरासी वडा नं. १ बस्ने चुल्हाई राय यादव

विरूद्ध

विपक्षी    : जिल्ला भूमिसधार कार्यालय सर्लाही

जि. सर्लाही साविक गा.पं. लक्ष्मीपुर वा.नं. २ हाल फुलपरासी वडा नं. १ बस्ने देवन राय यादव

ऐ ऐ बस्ने रामजानकी मठके पुजारी गोपाल दास बैरागी

आदेश भएको मिति : २०४१।३।२९।५ मा

§  भु.सं.ऐन, २०२१ को दफा २५(२) अन्तर्गतको मोही हुनलाई सोही ऐनको दफा ३४(१) बमोजिम कबूलियत हुनु पर्ने र त्यस्तो कबूलियतको प्रतिलिपि स्थानीय पञ्चायतमा समेत दाखिल भएको हुनु पर्ने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामकुमार श्रेष्ठ

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

उल्लेखित मुद्दा : x

आदेश

          न्या. त्रिलोकप्रताप राणा : भूमिसुधार कार्यालय सर्लाहीको मिति २०३९।३।१४ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य रिट निवेदन जिकिर यस प्रकार रहेछ :

          २.   जिल्ला सर्लाही गा.पं.फुलपरासी वडा नं. ४ कि.नं. ६६ को रामजानकीका नाउँको क्षेत्रफल ०३ जग्गा एवं ऐ ऐ वा.नं. १ कि.नं. १५१ को गोपालदास वैरागीका नाउँको क्षेत्रफल ०५ जग्गा समेत दुई कित्ता जग्गा ०३५ सालदेखि म निवेदकले जग्गाधनी एवं रामजानकी मठका पुजारी गोपालदास वैरागीबाट प्राप्त गरी भू.सम्बन्धी ऐन, २०२१ एवम् तत्सम्बन्धी नियमावली बमोजिम जोताहाको हैसियतले जोतकोड गरी जग्गाधनीलाई बुझाउनु पर्ने कूत बुझाई कानून बमोजिम भर्पाई जग्गाधनीसँग बुझ्दै आएको छु । जग्गाधनी गोपालदास वैरागीले कमाउन दिएका दिनदेखि हालसम्म अटूट रूपमा उक्त दुवै किता जग्गाहरू जोत भोग गरी जग्गाधनी प्रतिको दायित्व मोहीको हैसियतले बहन गर्दै आएको छु जसको फलस्वरूप म निवेदकले मोहियानीमा उपयुक्त व्यहोराका साथै उक्त जग्गाको साविक मोही जनिएको व्यक्ति भारतीय नागरिक रहेको, निज ८।१० वर्ष पहिले नै भारत फर्किसकेको एवं उक्त जग्गा ३ वर्ष देखि म निवेदकले नै जोती कमाई बाली बुझाई भर्पाई लिँदै आएको समेत प्रष्ट खुलाई मोही कायम गरी प्रमाणपत्र पाउँ भनी भू.सु.का.समक्ष निवेदन गरेकोथिएँ ।

          ३.   मिति ०३८।१२।१६ का दिन विपक्षी देवन राय यादवले बयान गर्दा निवेदनमा दावी गरेको जग्गाको मोही म हुँ । जग्गाधनी गोपालदास वैरागी र निवेदक दुवैजना मिली जालसाजी गरी भर्पाई लिनुदिनु गरेछन् उक्त जग्गा मेरो नाउँमा मोही कायम छ भन्ने समेत प्रतिवाद जिकिर । विपक्षी देवन राय यादवले ०३७ साल फाल्गुणमा गोपालदास वैरागी समेत उपर भू.सु.का.सर्लाही समक्ष भर्पाई दिलाई पाउँ भनी उजूर गर्नुभएकोमा सो उजूर उपर भू.सु.का.बाट भर्पाई नपाउने गरी फैसला भएको छ । २०३५ सालदेखि म निवेदकले उक्त जग्गा कमाई आएको कुरा उक्त मुद्दाको प्रतिउत्तरमा निज गोपालदासले उल्लेख गर्नुभएकोछ ।

          ४.   उल्लिखित जग्गामा साविक मोही देखिएको सो मोही मौजूद हुँदाहुँदै अर्को मोही हुन सक्ने अवस्था नभएको हुँदा दावी खारेज हुने ठहर्छ भनी भू.सु.का.बाट मिति २०३९।३।१४ मा निर्णय भयो ।

          ५.  उक्त निर्णय भु.सु.ऐन, २०२१ को व्यवस्थाको विपरीत छ । उक्त ऐनले जग्गाको अटूट कमोद वेगर मोही हक कायम रहन नसक्ने अवस्था गरेको छ । ऐ ऐ को दफा २५(२) बमोजिम म निवेदकले मुख्य वार्षिक उब्जनीको एकवाली सम्म मात्र पनि मोहीको हैसियतले कमाई सकेपछि म निवेदक स्वतः उक्त जग्गाहरूको हक प्राप्त मोही हुने प्रष्टै छ । जबकी म निवेदकले ०३५ सालदेखि नै उक्त २ कित्ता जग्गा मोहीको हैसियतले कमाउँदै आएको छु । जग्गाधनी एवं पूजारी गोपालदासलाई बुझ्दै नबुझी एवं अधिकार प्राप्त निकाय समक्ष भर्पाई निश्चय गर्न नपठाई प्रमाण नलगाई गरिएको भू.सु.का.सर्लाहीको निर्णय एकपक्षी सुनवाईमा आधारित हुन गई प्राकृतिक न्यायको प्रत्यक्ष उल्लंघन पूर्ण रहनुका अतिरिक्त प्रमाण ऐन, २०२१ को दफा ५४ को प्रतिकूल भएको छ । नेपालको संविधानको धारा १०(१) ११(२)(ङ) र १५ द्वारा प्रदत्त मौलिक हकमा समेत कुण्ठा तथा आघात पुर्‍याएकोले अन्य उपचार नहुँदा ऐ को धारा १६।७१ अन्तर्गत निवेदन गर्न आएको छु । उल्लिखित भू.सु.का.सर्लाहीको मिति ०३९।३।१४ को निर्णय बदर गरी उल्लिखित जग्गा मोहीको हैसियतले कमाउने जोताहा म निवेदक नै हुँदा म निवेदक नै मोही कायम हुने गरी उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि समेत जारी गरिपाउँ भन्ने समेत लिखितजवाफ रहेछ ।

          ६.   विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत स.अ.सिङ्गलबेञ्चको आदेश रहेछ ।

          ७.  रिट निवेदकले मोहीमा जोती आएको भनेको जग्गाको मोही हुँ ०३७ सालको बाली बुझाएको भर्पाई दिलाई पाउँ भन्ने लक्ष्मीपुर गा.पं. वा.नं. २ जि. सर्लाही बस्ने देवन रायको मिति ०३७।११।८ मा निवेदन परेको रहेछ सो भर्पाई दिलाई पाउँ भन्ने उजूरी अनुसारको वालीमा जगाधनीले कुनै दावी गरेको नदिएकोले भर्पाई नदिए पनि कुनै असर नपर्ने भएकोले मिति ०३९।३।१४ मा तामेली निर्णय भएको सोही जग्गाको रिट निवेदकले मोही कायम गरी माग्ने ०३८।९।१८ मा निवेदन दिई कारवाही हुँदा सो जग्गामा दोस्रो व्यक्ति मोही कायम भइसकेको र मोहीको कर्तव्य निजबाट नै पूरा हुँदै आएको देखिएकोले रिट निवेदकलाई मोही कायम गर्ने नमिल्ने हुँदा ०३९।३।१४ मा मोही कायम गरी माग्न निज रिट निवेदकबाट पर्न आएको उजूरी खारेज हुने ठहर्‍याई गरेको निर्णय कानूनसंगत नै हुँदा रिट निवेदनको संवैधानिक तथा मौलिक हकमा कुनै असर नपर्ने भएकोले रिट निवेदकका निवेदन खारेज गरिपाउन सादर अनुरोध गर्दछु भन्नेसमेत भू.सु.सर्लाहीको लिखितजवाफ ।

          ८.   विपक्षीले झुठ्ठा कुराहरूको रिट निवेदन दावी गर्नुभएकोले भू.सु.का.सर्लाहीको निर्णयमा कानूनी त्रुटि समेत नभएबाट रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको विपक्षी देवन राय यादवको लिखितजवाफ रहेछ ।

          ९.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा निवेदकको वा.मकरमान श्रेष्ठलाई बेञ्चबाट नियमानुसार बोलाउन लगाउँदा उपस्थित नभएको र निवेदकको तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता रामकुमार श्रेष्ठ र भू.सु.का.को तर्फबाट खटिई आउनुभएका विद्वान सरकारी अधिवक्ता भैरवप्रसाद लम्सालको बहस जिकिर समेत सुनियो ।

          १०.  प्रस्तुत विषयमा निवेदकका मागबमोजिमको आज्ञा, आदेश जारी गर्नुपर्ने हो होइन निर्णय दिनुपर्ने हुनआयो ।

          ११.  यसमा ०३५ सालदेखि जग्गा कमाई आएको छु भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) बमोजिमको मोही हुँ भन्ने चुल्हाई राय यादवको जिकिर छ । भू.सं.ऐन, २०२१ को दफा २५(२) अन्तर्गतको मोही हुनलाई सोही ऐनको दफा ३४(१) बमोजिम कबूलियत हुनु पर्ने र त्यस्तो कबूलियतको प्रतिलिपि स्थानीय पञ्चायतमा समेत दाखिल भएको हुनुपर्छ तर सो भएको देखिन्न । यस्तो कबूलियतको अभावमा निवेदकलाई मोही मान्न नमिल्ने र त्यस्ताको हक प्रचलन गराउन सकिने किसिमको समेत देखिएन । अधिकार प्राप्त अधिकारीले कानून बमोजिम निर्णय गरेको हुँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बासुदेव शर्मा

 

इति सम्वत् २०४१ साल आषाढ २९ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु